मंसिर ६, २०८१ बिहीबार | १५:४५:२७
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन काभा महिला भलिबल च्यालेन्ज कप

काभा च्यालेन्ज कप : स्तर सुधारिएको विश्वास

काठमाडौं ।  नेपाली भलिबल इतिहासमै एनभिए-काभा महिला भलिबल च्यालेन्ज कप २०२३ घरेलु भूमिमा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता बनेको छ । तर, तेस्रो स्थानमा सीमित भएसँगै नेपाली महिला राष्ट्रिय भलिबल टोलीले घरैमा ट्रफी उचाल्ने अवसर भने गुमाएको छ ।

सन् २०१९ र २०२१ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप जितेको नेपालले यस प्रतियोगितालाई उपाधिमाथि ह्याट्रिक गर्ने अवसरको रूपमा लिएको थियो ।

बंगलादेश, भारत र किर्गिस्तानसँगै नेपाल समूह ‘ए’ मा रहेको थियो । समूहमा बलियो भारत र नेपाललाई सेमिफाइनल पुग्ने टोलीको रूपमा हेरिएको थियो ।

भयो पनि त्यस्तै । नेपालले पहिलो दुई खेलमा किर्गिस्तान र बंगलादेशमाथि समान ३-० को सोझो सेटमा जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा स्थान बनायो । भारत पनि किर्गिस्तान र बंगलादेशविरुद्ध सहज जित निकालेर एक खेलअगावै सेमिफाइनल पुग्यो ।

नेपाल र भारत समूह विजेताका लागि भिडेका थिए । जहाँ भारतले बाजी मार्यो । नेपालले भारतलाई ३-१ को सेटमा नतिजा सुम्पिएसँगै उपविजेता भएर अन्तिम चारमा पुग्यो ।

सन् २०१९ मा घरेलु भूमिमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदै रजत पदकमा समेटिएको नेपाल यसपालि पनि भारतको चुनौती पार गर्न असफल भयो ।

नेपालले सेमिफाइनलमा प्रतियोगिताकै बलियो टोलीको रूपमा देखिएको काजकिस्तानसँग ३-२ को प्रतिस्पर्धात्मक सेटमा नतिजा सुम्पिएको थियो । काजकिस्तानविरुद्ध पहिलो सेट गुमाए पनि दोस्रो र तेस्रो सेट जित्दै जित नजिक पुगेको नेपाल चौथो र पाँचौं सेटमा निरीह देखिएपछि फाइनलको टिकट काट्न असफल भयो ।

तेस्रो स्थानका लागि भएको खेलमा भने नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो । भारत भने काजकिस्तानलाई हराउँदै उपाधि जित्न सफल भयो ।

घरेलु भूमिमा आयोजना हुने प्रतिष्ठित प्रतियोगिताका लागि नेपालले तीन महिनायता बन्द प्रशिक्षण सुरु गरेको थियो । प्रतियोगिताको सफल आयोजना र उपाधिमा ह्याट्रिक गर्ने चुनौती रहेको भन्दै नेपाल भलिबल संघले पटक–पटक रटान लगाएको थियो । तर, उपाधि ह्याट्रिक गर्ने सपनामात्र देखेको भलिबल संघले पर्याप्त मैत्रीपूर्ण खेल नखेलाउनुको गतिलो मूल्य भने चुकाएको छ ।

किर्गिस्तान र बंगलादेशमाथिको जितपछि नेपालका प्रशिक्षक यान डे ब्रान्टले भारतसँग आफ्नो टोलीको असली परीक्षा हुने बताएका थिए ।

भारतविरुद्ध खेल गुमाएपछि नेपालकी कप्तान अरुणा शाहीले आफूभन्दा बलियो टोलीहरूसँग पर्याप्त अभ्यास खेल खेलको भए नतिजा आफ्नो पक्षमा ल्याउन सक्ने बताएकी थिइन् ।

‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका थियौं,’ कप्तान शाहीले भनेकी थिइन्, ‘तर अनुभवी भारतसामु हामी चुक्यौं । सायद प्रतियोगिताअघि बलियो टोलीहरूसँग पर्याप्त अभ्यास खेल खेलेको भए हामीले हाम्रो टोलीको स्तर थाहा पाउने थियौं र तयारी पनि त्यहीअनुरुप गर्ने थियौं । यद्यपि टोलीले गरेको प्रदर्शनप्रति भने म सन्तुष्ट छु ।’

काजकिस्तानसँग पनि नेपालको अवस्था उही रह्यो । युवा खेलाडीले भरिएको काजकिस्तान टिमले आफ्नो स्तरअनुरुप खेल्दै नतिजा आफ्नो पक्षमा पार्यो । उक्त खेलपछि प्रशिक्षक ब्रान्टले अहिलेको तयारीले भारत, काजकिस्तान जस्ता बलिया टोलीलाई हराउन गाह्रो हुने बताएका थिए । उनले भनेका थिए, ‘भारत र काजकिस्तानका खेलाडी राम्रा छन् । ब्लक राम्रो गर्छन् । हामीले ब्लकबाट जम्मा एक तथा काउन्टरबाट २\३ अंकमात्र ल्याउन सक्यौं ।’

प्रशिक्षक ब्रान्टले थपे, ‘डिफेन्स र सर्भिस पनि राम्रो भएन । टोलीमा अनुभवी खेलाडी कम छन् । हामीले राम्रोसँग अभ्यास पनि गर्न पाएनौं । ट्याक्टिकल रूपमा उनीहरू राम्रा रहे । अहिलेको तयारीमा हामीले भारत र काजकिस्तानलाई हराउन गाह्रो छ ।’कप्तान अरुणा शाहीले तयारीअनुसार टोलीले राम्रो प्रदर्शन गरेको दाबी गरिन् । उनले भनिन्, ‘फाइनल पुग्नु मात्रै ठूलो हैन । स्तर कस्तो थियो । कस्तो प्रदर्शन गर्यौं त्यो पनि हेर्नुपर्छ । काजकिस्तान हामीभन्दा हाइ लेभलको छ । पहिलाभन्दा राम्रो प्रदर्शन गरेका छौं । फिजिकल रूपमा सशक्त टोलीविरुद्ध यो प्रदर्शन राम्रो हो । अहिलेको टोली नै सबैभन्दा राम्रो हो । सोचेजस्तो खेलेका थियौं । टोलीमा नयाँ खेलाडी छन् । कम समयको तयारीले यत्तिको प्रदर्शन गर्नु नराम्रो होइन । ब्लकमा समस्या छ । त्यसमा सुधार गर्नुपर्छ ।’

उनी काभा महिला च्यालेन्ज कपमा प्राप्त अनुभव एसियाली खेलकुदका लागि फाइदाजनक हुने बताउँछिन् । ‘हामीले एभिसी सेन्ट्रल जोन भलिबल जित्दा भारत र काजकिस्तानजस्ता बलियो टोलीविरुद्ध खेल्नुपरेको थिएन,’ अरुणाले भनिन्, ‘तर यसपालि हामीले यी दुई बलियो टोलीविरुद्ध खेल्ने अवसर पायौं । उपाधि जित्न असफल भयौं तर यहाँ प्राप्त अनुभव हाम्रा लागि एसियन गेम्समा निकै फाइदाजनक हुनेछ । त्यहाँ हामीले अझ माथिल्लो स्तरको टोलीविरुद्ध खेल्नुपर्छ । हामीसँग प्रशिक्षणका लागि अझ केही महिना बाँकी छ । एसियन गेम्सका लागि टोलीमा केही खेलाडी थप हुनेछन् ।’

प्रशिक्षक ब्रान्टले राम्रोसँग तयारी गर्न पाएको खण्डमा टोली अर्कै स्तरको बन्ने सुनाएका छन् । ‘यो टोलीको भविष्य राम्रो छ । नयाँ खेलाडीको राम्रो सुरुआत छ । ४-५ जना टेक्निकल्ली रूपमा राम्रा छन् । एसियन गेम्सका लागि राम्रोसँग तयारी पाए उत्कृष्ट प्रदर्शन गर्न सक्छौं । सबै खेलाडी सबै पोजिसनमा राम्रा छन् । टोली अर्को स्तरको बन्न सक्छ ।’

व्यक्तिगत विधातर्फ चार भारतले, दुई काजकिस्तान, नेपाल र उज्वेकिस्तानले १-१ उपाधि जितेका थिए । नेपालका लागि सलिना श्रेष्ठले उत्कृष्ट लिबेरोको ट्रफी दिलाइन् ।