चैत्र २३, २०८१ शनिबार | ०४:१०:१५
लखनउको दोस्रो जित प्रशिक्षक नयाँ, चुनौती पुरानै एनएसएललाई १९ देशका ४० खेलाडी मैदानमा तेस्रो एनएसएलका तीन नेपाली प्रशिक्षक दुई अर्धशतकमा लखनउले दियो मुम्बईलाई २०४ रनको लक्ष्य टाइम्सको पहिलो जित चितवनको लगातार दोस्रो जित, बुटवलकाे जितविहीन यात्रा जारी चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए आरसिटी र टुसाल सागमा प्रस्तावित खेलका राष्ट्रिय संघहरूसँग एनओसीको ‘जुम’ बैठक लखनउको दोस्रो जित प्रशिक्षक नयाँ, चुनौती पुरानै एनएसएललाई १९ देशका ४० खेलाडी मैदानमा तेस्रो एनएसएलका तीन नेपाली प्रशिक्षक दुई अर्धशतकमा लखनउले दियो मुम्बईलाई २०४ रनको लक्ष्य टाइम्सको पहिलो जित चितवनको लगातार दोस्रो जित, बुटवलकाे जितविहीन यात्रा जारी चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए आरसिटी र टुसाल सागमा प्रस्तावित खेलका राष्ट्रिय संघहरूसँग एनओसीको ‘जुम’ बैठक
शनिबारको दिन नामसिंह थापा

ओलम्पिकमा पहिलो सहभागिता: नामसिंह भन्छन्- अझै रातो कोटको माया लाग्छ

‘पहिलो’ भन्नेबित्तिकै धेरै कुरा आफैंमा विशेष हुन्छ । शब्दकोष पल्टाउने हो भने पहिलोको अर्थमा लेखिएको छ- गणनाका क्रमले एकको स्थानमा पर्ने । सुरुको । प्रथम ।

पहिलो शब्दको यति चर्चा किन गरिएको हो भने, खेलाडी डटकमले आफ्नो प्रसारण/प्रकाशन सुरु गरेको आजकै दिन पहिलो वर्ष पूरा गरेको छ । त्यसकारण हामीले पहिलोपल्ट नेपालबाट ओलम्पिक खेल्नेहरूलाई सम्झिएका छौं ।

नेपालले पहिलोपल्ट ओलम्पिकमा सहभागिता जनाएको सन् १९६४ को टोकियो ओलम्पिक हो । जसमा नेपालका ६ खेलाडीले दुई खेलमा प्रतिस्पर्धा गरेका थिए । एथलेटिक्सको म्याराथनतर्फ गंगाबहादुर थापामगर र भूपेन्द्र सिलवाल । बक्सिङमा नामसिंह थापा, ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा थिए ।

हुन त सन् १९५२ को हेलसिन्की ओलम्पिकबाट नेपालको ओलिम्पिक यात्रा सुरु भएको भन्ने पनि सुनिन्छ । एथलेटिक्स खेलाडी स्वर्गीय कृष्णबहादुर बर्माले ‘जापानमा मैले के के पाएँ’ भन्ने किताबमा हेलसिन्की ओलिम्पिक खेलेको उल्लेख गरेका छन् । लेखक रमेश खनालका अनुसार बर्मा र नर शमशेर जबराले उक्त ओलम्पिक खेलेका थिए । तत्कालीन राजा त्रिभुवनले उनीहरूलाई ओलिम्पिक पठाएको भनिन्छ । तर, यो तथ्य अहिलेसम्म पुष्टि भने हुन सकेको छैन ।

सन् १९६० को रोम ओलिम्पिकमा भने नेपालले एकजना पर्यवेक्षक पठाइएको भनिएको छ । तर, अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलले नेपालको ओलिम्पिक सहभागितालाई आधिकारिक रूपमा त्यसलाई उल्लेख गरेको पाइँदैन । त्यसकारण पनि ओलम्पिक प्रतियोगितामा सहभागी हुने नेपालको पहिलो औपचारिक अनुभव भने सन् १९६४ को टोकियो ओलम्पिकलाई नै मानिन्छ ।

नेपालको पहिलो ओलम्पिक यात्राको कथा पनि कम रोचक छैन । चार बक्सर खेलाडी हङकङबाट सिधै टोकियो पुगेका थिए । एथलेटिक्स खेलाडी र व्यवस्थापन टोली भने नेपालबाट टोकियो गएका थिए ।

हङकङबाट टोकियो यात्राको अनुभव सुनाउँदा बक्सर नामसिंह थापा रोमाञ्चित भए । उनले भने, ‘सामान बोक्ने सैनिक जहाजमा सामानजस्तै खाँदिएर जापान गएका थियौं । कार्गो प्लेनमा तेल हाल्न भियतनाममा रोकियो । त्यहाँबाट ६ घण्टाको उडानपछि जापानको ओकिनावास्थित अमेरिकन एयर फोर्स बेसक्याम्पमा ओर्लियौं ।’

नामसिंहले नेपालबाट गएका धावक गंगाबहादुर थापामगर र भूपेन्द्र सिलवाललाई पहिलोपल्ट ओलम्पिक भिलेजमा देखेका हुन् । त्यहाँको व्यवस्थापन देखेर नामसिंह छक्क परेको सुनाउँछन् ।

‘गज्जबकै रहेछ । परम्परा भन्दै हामीलाई घरको तीन चक्कर लगाएर मात्र भिलेज छिराइयो । नेपाली झन्डा भएको घर । दुईवटा कार र ड्राइभरसहित एउटा ल्यान्ड रोभर हाम्रा लागि राखिएको थियो । हरेक १० मिनेटमा गाडी गुडिरहने । साइकलहरू सित्तैमा चढ्न पाइने । साइकल टिप्यो, आफू पुग्नुपर्ने ठाउँमा पुग्यो र त्यहीं छोड्यो । ट्रेन पनि सित्तैमा चढ्न पाइने,’ नामसिंहले पहिलो ओलम्पिक यात्राको अनुभव सुनाए, ‘विभिन्न देशको मिल्दोजुल्दो खाना २४ घण्टै पाइन्थ्यो । हामी त छक्क पर्ने नै भयौं । पल्टने मान्छे । यसो बियर खान मनलाग्थ्यो । तर, त्यहाँभित्र कहाँ पाउनु ? बेला-बेला घाँटी खसखसाउँथ्यो ।’

अक्टोबर १०मा उदघाटन समारोह भयो । समारोहमा खेलाडीहरूलाई नेपालबाट लगिएको रातो रंगको कोट दिइएको थियो । नामसिंह थापा भन्छन्, ‘अझैसम्म त्यो कोटको माया लाग्छ ।’

नामसिंहले पहिलो खेल नै अमेरिकी बक्सरविरुद्ध प¥यो । अमेरिकी बक्सरले रोम ओलम्पिकमा कांस्य पदक जितेका थिए । नामसिंह १८ वर्षका थिए । अमेरिकी खेलाडी ३३ वर्षका ।

‘मैले हङकङतिरमात्र भिडेको थिएँ । त्यो खेल जित्न सके मैले कांस्य पदक पाउने थिएँ । जोसका साथ मज्जाले भिडें । तर, उनी अनुभवी थिए । ज्यादै तगडा । पहिलो बाउटमा मैले पेलेको थिएँ । तर, राम्रो छल्ने रहेछ । पूरै थकायो मोराले । दोस्रो बाउटमा मलाई लडायो । २ मिनेट ४५ सेकेन्ड खेलेपछि म धेरै घाइते हुने बुझेर होला रेफ्रीले उनलाई जिताइदिए ।’

टोकियो ओलम्पिकमा सबैभन्दा राम्रो प्रदर्शन ओमप्रसाद पुनको भयो । इथियोपियाका खेलाडी ‘डिस्क्वालिफाइ’ भएपछि उनी दोस्रो चरणमा पुगे । त्यसमा उनी पराजित भए । भीमप्रसाद गुरुङ र रामप्रसाद गुरुङ पनि पहिलो राउन्डमै पराजित भए । नेपालबाट सहभागी कुनै बक्सरले पदक जित्न सकेनन् । म्याराथनमा भूपेन्द्र र गंगाबहादुर दुवैले ४२.१९५ किलोमिटरको दुरी पूरा गर्न सकेनन् ।

खेल हारे पनि नेपालबाट गएका पदाधिकारीले दुःखी नहुन आग्रह गरेका थिए । नामसिंहले सम्झिए, ‘अर्को ओलम्पिकका लागि ट्रेनिङ गर्नू ।’

नामसिंहको नेपालबाट गएका प्रतिनिधिहरूसँग खासै धेरै कुराकानी भएन । उनी भन्छन्, ‘एथलेटिक्सका दुई जनासँग पनि खासै भेट भएन । उनीहरू आफ्नै ठाउँमा र हामी आफ्नो ठाउँमा अभ्यास गर्न जान्थ्यौं । एकदिन भिलेजबाहिर सहरबजार कस्तो छ भनेर चार जना घुम्न निस्किएका थियौं । तर, कहाँको घुम्न पाउने नि । हामी जवान केटाहरू । त्यहाँ त अटोग्राफ माग्नेहरूको घुइँचो लाग्ने ।’