कोभिड–१९ को महामारीले नेपाली खेलकुदका केही नक्षत्रलाई चुँडेर लैजाँदा वर्ष २०७८ खेलक्षेत्रका लागि पीडादायक रह्यो । कोरोनासँगै अन्य कारणबाट पनि केही खेलकर्मी अवसान भएको छ ।
वैशाखमै क्योकुसिन करातेको पहिलो पुस्ताका खेलाडी रामजीप्रसाद वज्राचार्यलाई चुँडेको महामारीले लगत्तै सहारा क्लब हङकङका उपाध्यक्ष बिल तामाङलाई डोर्यायो । यसैगरी भदौमा करातेका आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (हालको साग)का स्वर्ण पदकधारी खेलाडी कृष्णबहादुर राईको ज्यान गयो ।
क्योकुसिन करातेका ब्रान्च चिफ रहेका वज्राचार्यको वैसाख २१ गते ६६ वर्षको उमेरमा कोभिड–१९ संक्रमणबाट निधन भयो । संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएका उनको पाँच दिनको उपचारपछि निधन भएको थियो ।
उनले सन् १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए ।
यसैगरी कोभिड–१९ संक्रमणकै कारण पूर्व राष्ट्रिय फुटबल खेलाडी बिल तामाङको जेठ ४ मा पोखरामा निधन भयो । संक्रमण पुष्टि भएपछि वैशाख २६ देखि अस्पताल भर्ना भएका उनको ४६ वर्षको उमेरमा ज्यान गुमाउनुपरेको थियो ।
लामो समयदेखि हङकङ बसोबास गर्दै आएका तामाङ गत वर्षको आहा–रारा गोल्डकपका लागि नेपाल आएका थिए । भारतको पटियालाबाट प्रशिक्षक तालिम लिएर फर्केका बिल सहाराका पूर्वप्रशिक्षक पनि हुन् ।
जेठकै तेस्रो साता कुस्तीका भीष्म पितामह मानिने पूर्वप्रमुख प्रशिक्षक विद्यासागर पोखरेलको निधन भयो । राष्ट्रिय खेलकुद परिषदका तालिम तथा प्रशिक्षण विभागका पूर्वसहनिर्देशक पोखरेलको जेठ २१ गते ६३ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो ।
फुटबल खेलाडीको रूपमा खेलजीवन अघि बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको कोर्स गरेका थिए । त्यसपछि परिषदमा कुस्ती प्रशिक्षककै रूपमा जागिरे जीवन सुरु गरे । कुस्ती संघमा निरन्तर २६ वर्ष महासचिवको रूपमा कार्यरत उनी उमेरहदका कारण परिषदबाट सेवानिवृत्त भइसकेका थिए ।
त्यस्तै नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं विश्व बुद्धिचाल महासंघका कार्यकारिणी सदस्य तथा अनुशासन कमिटी सदस्य राजेशहरि जोशीको जेठ ३० गते हृदयघातका कारण ललितपुरको बी एन्ड बी अस्पतालमा निधन भयो । जोशीले दुई कार्यकाल अध्यक्षको रूपमा बुद्धिचाल संघको नेतृत्व गरेका थिए ।
सन् १९९९ मा नेपालमा सम्पन्न आठौं साफमा करातेको टिम कातामा स्वर्ण जितेका कृष्णबहादुर राईको भदौ २ मा ५३ वर्षको उमेरमा निधन भएको हो । राईको पनि कोभिड– १९ संक्रमणका कारण निधन भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्मशम्शेर राणाको भदौ २५ गते मृगौलाको समस्याका कारण ८५ वर्षको उमेरमा मृत्यु भएको थियो ।
परिषद र एनओसीमा प्रमुखको हैसियतमा दुई दुई कार्यकाल नेतृत्व गरेका राणा अखिल नेपाल फुटबल संघ, नेपाल तेक्वान्दो संघ, नेपाल एमेच्योर एथलेटिक्स संघ र नेपाल स्की संघका पनि पूर्वअध्यक्ष हुन् । भारतका लागि नेपालका राजदूतका रुपमा कूटनीतिक क्षेत्रमा पनि सेवा गरेका राणा ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष थिए ।
यसैगरी फिफा रेफ्री लव खत्रीको असोज १८ गते आश्चर्यजनक रूपमा निधन भयो । नेपाली फुटबलका निर्विवाद रेफ्री खत्रीलाई मर्निङ वाक गरेर घर फर्किएलगत्तै बिहान नुवाईधुवाई सकेपछि आफ्नै कोठामा लडेको अवस्थामा पाइएको थियो ।
खत्रीलाई तत्काल मेडिसिटी अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । २०४६ सालबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका उनले जावलाखेल, थ्री स्टार र देशबन्धु क्लबबाट खेलेका थिए । २०५५ सालमा खेलाडीको रूपमा संन्यास लिएपछि उनले २०५७ सालबाट रेफ्रीको भूमिकामा पुनरागमन जनाए । १८ वर्ष रेफ्रीको भूमिका निर्वाह गर्ने क्रममा उनी अत्यन्तै शान्त, हसिलो र मृदुभाषी निर्णायकका रूपमा चिनिन्थे ।
त्यस्तै नेपाल ओलम्पिक कमिटीका महासचिव एवं राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाले नसासम्बन्धी समस्याका कारण मंसिर ८ गते ५० वर्षको उमेरमा ज्यान गुमाए ।
तीन वर्षदेखि नसासम्बन्धी अत्यन्तै दुर्लभ रोगबाट पीडित बास्केटबल संघका निवर्तमान अध्यक्ष शेर्पाले त्यसबीचमा अमेरिका, भारत र चीनमा उपचार गराएका थिए ।
त्रिभुवन आर्मी क्लब तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी रामकुमार विश्वासको चैत ११ गते मोरङमा ४३ वर्षको अल्पायुमै निधन भयो । २०६० को दशकमा आर्मी तथा राष्ट्रिय टोलीका लागि खेलेका विश्वास आर्मीबाट सेवानिवृत्त भएपछि पारिवारिक आर्थिक दायित्व पूरा गर्न कतार वैदेशिक रोजगारीमा गएका थिए । तर त्यहाँ ब्लड क्यान्सर भएको थाहा भएपछि उनी केही महिनाअघि घर फर्किएका थिए ।
यसैगरी वर्ष २०७८ मा एथलेटिक्सका प्रशिक्षक नरबहादुर शाही, भलिबलका प्रशिक्षक ज्ञानेन्द्र विष्ट र आइटिएफ तेक्वान्दोका पूर्वप्रमुख प्रशिक्षक अञ्जुनाथ श्रेष्ठले पनि ज्यान गुमाए । नेपाली खेलकुदलाई आफ्नो समयमा महत्त्वपूर्ण योगदान गरेर बितेको वर्ष देहत्याग गर्नेमा जर्मन नागरिक होल्गर ओभरमन पनि रहे ।
सन् १९९० को दशकमा उनैले सञ्चालन गरेको युवा विकास परियोजनाबाट उत्पादित खेलाडीको पुस्ताले लामो समय नेपाली फुटबलमा राज गर्यो । नेपाली राष्ट्रिय टोलीका पूर्व स्टारहरू उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, हरि खड्कालगायतका खेलाडीको प्रतिभा प्रस्फुटन गराउन होल्गरको योगदान महत्त्वपूर्ण थियो । नेपाल वुद्धिचाल संघका पूर्व वरिष्ठ उपाध्यक्ष सान्तेषमान सिंह प्रधानले पनि ज्यान गुमाए । नेपाली खेलकुदमा चेसलाई आफ्नो अस्तित्व दिलाउन उनको भूमिका साँच्चै अतुलनीय रह्यो ।
आफ्नो जीवनकालमा नेपाली खेलकुदको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान गरेका सबै दिवंगत खेलकर्मीप्रति खेलाडी डटकमको तर्फबाट हार्दिक श्रद्धाञ्जली !