- रमेश सुवेदी
कुवेत । एएफसी एसियन कप फुटबलको छनोट चरणका लागि टिम भेला पारेर प्रशिक्षण सुरु गर्दा नै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यसलाई ‘मिसन इम्पोसिबल’ भनिसकेका थिए । त्यसैले कुवेतको प्रचण्ड गर्मीमा नेपाली टोलीले बेहोरेको नतिजाबारे धेरै माथापच्ची गर्नुको खास अर्थ नरहला ।
|
एउटा ठूलो युद्धका लागि सेनालाई तयार गर्दै गर्दा कमाण्डरले ‘यो लडाइँमा तिमीहरूको हार निश्चित छ’ भन्नु आफैंमा सही थियो कि गलत, त्यसलाई पनि फरक तरिकाले विश्लेषण गर्न सकिएला । अल्मुताइरीले तयारीकै क्रममा एसियन कपमा आफ्नो टोली छनोट नहुने घोषणा गर्दा पनि त्यसको आलोचना र प्रशंसा दुवै भयो । एउटा पक्ष प्रतियोगिताअघि प्रशिक्षकले त्यस्तो भन्नु सर्वथा गलत रहेको तर्क दिन्छन् भने उनका समर्थकले ‘सही कुरा बोल्ने आँट गरेको’ भन्दै अल्मुताइरीको प्रशंसामा सामाजिक सन्जालका भित्ता रंगाए ।
खासमा अल्मुताइरीले सही नै भनेका थिए । उनले भनेका थिए, ‘हाम्रा प्रतिद्वन्द्वी निकै बलिया छन् । सबै विपक्षी टिममा उच्च स्तरको व्यावसायिक फुटबल खेल्ने खेलाडीको बाहुल्य छ । हाम्रो ग्रासरुट फुटबल भएन ।’
प्रतियोगिताको मिति नजिकिँदै थियो । मैदानभित्र भन्दा बाहिरको वातावरण खराब बन्दै गयो । खेलाडी र प्रशिक्षकबीचको विवाद सतहमा आयो । खेलाडीले प्रशिक्षकलाई आरोप लगाए भने प्रशिक्षकले खेलाडीको खेदो खने । टोलीका नियमित १० खेलाडीलाई क्याम्प (होटल)बाट निकालियो । माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बुले पनि आफ्ना सहकर्मी खेलाडीमाथिको अन्याय सहन सकेनन् । अन्यायविरुद्ध सामाजिक सन्जालमा आफ्ना टिममेटसँग ऐक्यबद्धता जनाउँदै लेखे ।
आफू अराजकताको हद पार गर्ने भए पनि खेलाडीलाई भने सधैं अदबमा राख्न खोज्ने अल्मुताइरी पछि हट्ने वाला थिएनन् । १० खेलाडी त निकालिसकेका थिए, त्यसपछिको पालो किरणको थियो । फेसबुकमा स्टाटस आउनुको नतिजा थियो, ‘किरण पनि टिमबाट आउट’ ।
११ जना मुख्य खेलाडी निकालेपछि प्रशिक्षक अल्मुताइरीले चार नयाँ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिए ।
|
लगत्तै नेपाली टिम कुवेत सिटीमा हुने प्रतियोगिताको तयारी र उस्तै मौसमसँग घुलमिल हुन कतारको दोहा पुग्यो । दोहामा केही हप्ताको प्रशिक्षण र मैत्रीपूर्ण खेलपछि नेपाली टिम जेठ २१ मा कुवेत ओर्लिएको थियो ।
आधिकारिक खेलमा ‘डेब्यु’ गर्न बाँकी रहेका सात खेलाडीसहित ३२ सदस्यीय नेपाली टिमले कुवेतमा तीन खेलका लागि १० दिन बितायो । यसक्रममा नेपालले समूह ‘ए’ मा जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्यो ।
अनुभवी तथा नियमित ‘प्लेइङ सेट’ बाहिरै थियो । जसका कारण कुवेतको तयारीका लागि दोहामा रहँदा नयाँ खेलाडीलाई तयार गर्नुपर्ने बोझ अल्मुताइरीसामु थियो । युवा खेलाडीका लागि भने दोहाको मैत्रीपूर्ण खेल आफूलाई चिन्दै अगाडि बढाउने अवसर पनि थियो । दोहामा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग क्रमशः २–२, १–१ र ०–२ को नजिता निकाल्यो ।
टिमोर लिस्टेसँग २–० ले पछि परेको स्थिति उल्टाउनु, श्रीलंकासँग १–० ले पछि परेको स्थितिमा बराबरी गर्नु र बलियो ओमानविरुद्ध युवा खेलाडीले देखाएको जोसले कुवेती नागरिक अल्मुताइरीको पनि जोस बढायो । हात उठाइसकेको प्रतियोगिताका लागि कुवेत पुगेपछि पनि नेपाली टिमले साँझको ३५–४० डिग्री तापक्रममा पनि पूरा प्रतिबद्ध तयारीलाई निरन्तरता दियो ।
जोर्डनले दिलाएको जोस
प्रतियोगिताको पहिलो खेल जेठ २५ मा जोर्डनसँग थियो । खेल नेपाली समयअनुसार राति १ बजे । नेपाली टिम दुई घण्टाअघि नै जबर अल अहमद अन्तर्राष्ट्रिय मैदान पुगिसकेको थियो । त्यतिबेला नेपालका अन्य दुई प्रतिद्वन्द्वी इन्डोनेसिया र घरेलु टोली कुवेतबीच खेल चलिरहेको थियो ।
|
बलियो मानिएको कुवेत १–१ को बराबरीमा खेल्दै थियो । नेपाली टिम ड्रेसिङ रूममा तयारी गर्दै गर्दा कुवेत कागजमा कमजोर मानिएको इन्डोनेसियासँग २–१ को अन्तरमा पराजित भयो । केही समयमात्रै खेल नियाल्न पाएका अल्मुताइरीले ड्रेसिङ रूममा आएर भने ‘असम्भव केही छैन । संयमित भएर खेल्नु । हामी यस्तै नतिजा निकाल्न सक्छौं ।’
खेलाडीमा जोस थियो । फिफा विश्व वरीयतामा आफूभन्दा ७७ स्थान माथि रहेको जोर्डनविरुद्ध पहिलो हाफ गोलरहित बराबरीमा सकियो । आधिकारिक खेलमा ‘डेब्यु’ पाएका गोलरक्षक दीप कार्कीले पहिलो हाफमा पेनाल्टी जोगाएर आफूलाई प्रमाणित गरिदिए । यसले टोलीको मनोबल झनै उच्च बनायो ।
तर, त्यो पर्याप्त थिएन । जोर्डन फुटबलको स्तर नेपालको भन्दा धेरै माथि थियो । अल्मुताइरीले महिनौंअघि घोषणा गरेझै दोस्रो हाफमा जोर्डन २–० को विजय नतिजा निकाल्न सफल भयो ।
खेलको नतिजा आफूअनुकूल नभए पनि खेलाडीमा आत्मविश्वास बढ्यो । रक्षक विकास तामाङले त्यही खेलबाट नेपालको जर्सी लगाएका थिए । पहिलो सेटलाई विवादास्पद तरिकाले घरमै छोडेर मध्यपूर्वको भ्रमणमा निस्केका अल्मुताइरीका लागि त्यो निकै उत्साहजनक नतिजा थियो । पछिल्लो पटक ३–० को हार भोगेको जोर्डनविरुद्ध यो अहिलेसम्मको सबैभन्दा साँघुरो हार थियो । र, त खेलपछि हुने पत्रकार सम्मेलनका लागि लिफ्टबाट जाँदै गर्दा उनले गर्वसाथ प्रश्न गरे, ‘गर्व गर्न लायकको छैन त टिम ?’
दोस्रो खेल कुवेतविरुद्ध थियो । नेपाली टिमले कुवेतको कमजोरी पत्ता लगाइसकेको थियो । घरेलु टोलीभित्रको विवाद नेपालको भन्दा उग्र थियो । पुराना खेलाडीलाई स्थान दिँदा समर्थकसमेत खुसी थिएनन् । त्यसैले त नेपालविरुद्धको खेलमा केहीबेर कुवेती समर्थक नेपालको पक्षमा हल्ला गरिरहेका थिए । कुवेतको त्यही कमजोरीमा फाइदा उठाउने अल्मुताइरीको रणनीति थियो ।
|
जोर्डनसँगको खेलमा ‘सोचेभन्दा राम्रो प्रदर्शन’ पाएपछि अल्मुताइरीले कुवेतविरुद्ध पहिलो रोजाइमा कुनै परिवर्तन गरेनन् । नयाँ खेलाडीलाई खेलाएर ‘रिक्स’ मोल्न चाहेनन् । त्यहीअनुसार नेपालले पहिलो २५ मिनेट कुवेतलाई रोक्यो । तर २८औं मिनेटमा नेपालले गोल बेहोर्यो ।
कमजोर मानिएको नेपालविरुद्ध समयमै गोल ननिस्कँदा कुवेती टिम गोल निकै दबाबमा थियो । पहिलो हाफमा नेपालले काउन्टर अट्याकमा केही अवसर सिर्जना गरेको थियो । दोस्रो हाफमा पनि पूर्ण रूपमा रक्षात्मक खेल्दै काउन्टर अट्याकमा अवसर खोज्ने अल्मुताइरीको रणनीति थियो । त्यहीअनुसार दुई विंगर आयुश घलान र मनीष डाँगीबाट बढी अपेक्षा गरिएको थियो । तर दोस्रो हाफको दोस्रो मिनेटमै नेपालले दोस्रो गोल बेहोर्यो ।
कुवेतविरुद्धको खेल नेपालका लागि नतिजासँगै प्रशिक्षक अल्मुताइरीको स्वास्थ्यका कारण पनि तनावपूर्ण रह्यो । दोस्रो गोल खाएलगत्तै अल्मुताइरी टचलाइनमै बेहोस भएर ढले । लामो समयदेखि मुटुको समस्याबाट गुज्रिइरहेका अल्मुताइरी त्यही कारण बेहोस भएका थिए । उनलाई तत्काल अस्पताल पुर्याइयो । समस्या धेरै ठूलो नभएकाले भोलिपल्ट बिहानै उनी अस्पतालबाट ‘डिस्चार्ज’ भए ।
नेपालले त्यसपछि थप दुई गोल खायो भने दर्शन गुरुङले एक गोल गरे । सन् १९८२ यता पहिलो पटक कुवेती पोस्टमा सफलता हासिल गर्ने फरवार्डको रूपमा दर्शनले नाम लेखाएका थिए । १९८२ मा वाइबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । त्यो नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा पहिलो आधिकारिक गोल थियो ।
नतिजा जे भए पनि अल्मुताइरीका लागि यो भ्रमणको धेरै महत्व थियो । उनी सधैं विवादमा आइरहन रुचाउने स्वभावका प्रशिक्षक हुन् । खाडीको भ्रमणमा निस्कनुअघि पनि ११ खेलाडीलाई निकालेर उनले ठूलै जोखिम मोलेका थिए । जसबाट स्वाभाविक रूपमा उनीमाथि चर्को दबाब थियो । उनको मुटुको समस्या बल्झिनुलाई धेरैले त्यो विवादसँग पनि जोडेर हेर्ने गरेका छन् ।
कुवेतसँगको हारसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरियो । दुई पहेँलो कार्डका कारण प्रशिक्षक अल्मुताइरी स्वयं अन्तिम खेलका लागि टेक्निकल एरियामा निलम्बनमा थिए । त्यही कारण सहायक प्रशिक्षक किरण श्रेष्ठले टचलाइनबाट टिमको नेतृत्व सम्हाले ।
इन्डोनेसियाविरुद्ध नेपालले फरवार्ड नीरकुमार राई र रक्षक शिव गुरुङलाई पहिलो रोजाइमा राखेरै ‘डेब्यु’ गरायो । प्रतियोगिताबाट बाहिरिए पनि इन्डोनेसियासँग सम्मानजनक नतिजा निकाल्ने नेपाली टिमको योजना थियो । इन्डोनेसियालाई भने प्रभावशाली जित हासिल गर्न सके उत्कृष्ट उपविजेताको रूपमा एसिया कपमा स्थान बनाउने अवसर थियो ।
प्रभावशाली जित हासिल गर्ने प्रतिबद्धताका साथ मैदान छिरेको इन्डोनेसियाले छैटौं मिनेटमै गोलको खाता खोल्यो । त्यसपछि पनि लगातार गोलको वर्षा भइरह्यो । ११औं मिनेटमा लेफ्ट ब्याक सुमन अर्याल दोस्रो पहेँलो कार्ड दर्शन गर्दै मैदान छाडेपछि नेपाल १० खेलाडीमा समेटिएको थियोे । यसपछि दबाबमा आएको नेपाल अन्त्यमा ७–० को लज्जास्पद हार बेहोर्न बाध्य भयो ।
प्रतियोगिताका तीन खेलमा नेपालले १३ गोल खायो भने एक गोल फर्कायो । यद्यपि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन भएको विश्वासमा प्रशिक्षक अल्मुताइरी सन्तुष्ट छन् । युवा टोलीबाट विशेषगरी सुरजज्यू ठकुरी, आयुश, मनीष र विकास खवासबाट उनी बढी प्रभावित छन् ।
प्रतीक्षा असार ६
नतिजा र प्रदर्शनभन्दा माथि यसपालि विवाद थियो । कतार र कुवेतको मैदानमा नेपाली टोलीले बिताएका प्रत्येक क्षण राष्ट्रिय टोली विवाद र एन्फा राजनीतिका लागि महत्त्वपूर्ण थिए । राष्ट्रिय टोली विवाद समाधानका लागि एन्फाले बनाएको छानबिन समितिले यही छनोट प्रतियोगितापछि प्रशिक्षक अल्मुताइरी र व्यवस्थापक मधुसुदन उपाध्यायको विकल्प खोज्न अखिल नेपाल फुटबल संघलाई निर्देशन दिएको छ ।
निकालिएका ११ खेलाडीको राष्ट्रिय टोलीमा पुनरागमन होला कि नहोला ? प्रशिक्षक अल्मुताइरी नेपाली टिमसँग रहलान् कि नरहलान् ? यही असार ६ गते हुने एन्फा निर्वाचनले कुवेतको प्रचण्ड गर्मीभन्दा पनि माहोल तताएका बेला भन्न कठिन छ । दोस्रो प्रश्नको उत्तर भने असार ६ को राति आउने नतिजाले नै निर्धारण गर्नेछ ।