काठमाडौं । यो खराब समय हो । यतिबेला डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको निधनले सिर्जना गरेको गहिरो पीडा महसुस नगर्न सम्भव नै छैन । जोटा २८ वर्षका थिए । उनका तीन कलिला सन्तान छन् । र एक श्रीमती जोसँग उनले निधन हुनुको ११ दिनअघि मात्र विवाह गरेका थिए ।
खेलमा जे पनि हुनसक्छ । र जे हुन्छ, त्यसको वर्णन नाटकीय हुन्छ । त्यसलाई त्रासदीका रुपमा पनि व्याख्या गरिन्छ । तर यहाँ जोटाको निधन केवल खेल समाचार होइन । यो त मानवीय जीवनमा आइपर्ने सबैभन्दा ठूलो त्रासदी हो । जसले यसलाई भोगेका छन्, उनले झन् गहिरो महसुस गर्न सक्छन् । तर यो कसैले एक्लै महसुस गर्ने घटना होइन । जोटा र उनका भाइको निधनले उनीहरुको परिवार र साथीभाइलाई मात्र होइन, पूरै फुटबल विश्वलाई नै फतक्कै गलाएको छ ।
यद्यपि भन्नैपर्छ, आखिरमा यो खेल समाचार पनि हो । कथा हो । किनभने जोटा प्रतिभावान् खेलाडी थिए । जोसँग माथिल्लो स्तरको फुटबल खेल्ने आँट थियो, जोश र कौशल थियो । फलतः उनले आधुनिक फुटबल युगमा एक असाधारण फुटबलरको जीवन जिउन पाए ।
जब कसैले यत्तिको कलिलो उमेरमा धर्ति छाड्छ, तब यसबारे बोल्न, लेख्न पर्याप्त शब्द भेटिँदैनन् ।
जोटा जहाँ उभिएका थिए, उनले त्यहाँ उभिनुको महत्त्व बुझेका थिए । उनले जे भूमिका निर्वाह गर्नुपर्ने थियो, निर्वाह गरिरहे, सधैँ प्रतिबद्ध भएर । आफ्नो जिम्मेवारीको मनोहरता बुझेकै कारण, यसमा गम्भीर भएकै कारण उनी लिभरपुलमा सबै साथी खेलाडीका लागि प्रिय थिए । फुटबल जगतका लागि असल व्यक्ति थिए । किनभने उनले लिभरपुल, उल्भरह्याम्पटन, पोर्टो, पोर्चुगल, पाकोस डे फेरेरा, जोटा जहाँ जहाँ खेले, त्यहाँ त्यहाँ पूरै ऊर्जा, क्षमता, प्रेम सम्पर्ण गरेर खेले ।

जब कसैले यत्तिको कलिलो उमेरमा धर्ति छाड्छ, तब यसबारे बोल्न, लेख्न पर्याप्त शब्द भेटिँदैनन् । जोटाले आफ्नो दोस्रो जीवन जीउन सुरु गर्न राम्रोसँग भ्याएकै थिएनन् । उनी भर्खर कसैको श्रीमान् बनेका थिए । पिताको भूमिका सुरु गरेको पनि धेरै भएको थिएन । यत्तिकैमा उनी हतारिए । फुटबल समर्थकको जीवनमा फुटबलरको उपस्थिति सधैँ हुन्छ । व्यक्तिगत चिनजान नहुनुले केही फरक पार्दैन, सम्बन्ध प्रगाढ हुन्छ । फुटबलले उपहार दिने यो अनौठो सम्बन्धबारे जोटा जानकार थिए । तब त उनको प्रस्थानले फुटबल समुदायमा सन्नाटा ल्याएको छ ।
जोटालाई सबैले मनपराउँथे । पोर्टो सहरको गोन्डामरबाट यात्रा सुरु गरेका जोटालाई जसले त्यसबेलादेखि देखे, उनीहरुका लागि जोटा गर्व थिए । लिभरपुल समर्थकले पनि जोटाको उपस्थिति, उनले खेलमा ल्याउने बुद्धिमत्ता र देखाउने ऊर्जालाई कहिल्यै नजरअन्दाज गरेका होइनन् । तब त उनीहरुले तीन वर्षअघि जोटाका लागि गीत नै बनाएका थिए । प्रसिद्ध अमेरिकी सांगितीक समूह क्रिडेन्स क्लियर वाटरको एक गीत ब्याड मुन राइजिङको ट्युनमा लिभरपुल समर्थकले जोटाको गीत गाउने गरेका थिए, ‘ही इज ए लाड फ्रम पोर्चुगल, बेटर देन फिगो यु नो’ ।
जोटाको पूरा नाम डियाेगो होसे टेक्सेरा दा सिल्भा हो । उनी आफ्नो गृहनगरको उत्तरपूर्वमा रहेको पाकोस डे फेरेरामा हुर्किए । त्यहाँ उनले देखाएको कौशलले लोभिएको स्पेनी क्लब एट्लेटिको मड्रिडले उनलाई सन् २०१६ मा आफ्नो बनायो । जोटाले एट्लेटिकोमा खेल्न पाएनन् । उनलाई सुरुमा पोर्चुगलकै एफसी पोर्टोमा पठाइयो । त्यसपछि उनी इङ्ल्यान्डको उल्भरह्याम्पटन पुगे । सन् २०१८ मा उल्भरह्याम्पटनले उनलाई स्थायी रुपमै अनुबन्ध गरेको थियो ।
जोटोसँग भेटेका, उनलाई नजिकबाट देखेका कसैले पनि निसंकोच भन्नसक्छ, जोटा साह्रै असल थिए । सँगसँगै तीक्ष्ण पनि ।
उल्भरह्याम्पटनको वातावरणमा अभ्यस्त हुन उनलाई अप्ठ्यारो भएन । सहरको बीचमा रहेको पोर्चुगाली क्याफे एरोम डे पोर्चुगल क्याफेमा उनी अक्सर भेटिन्थे । स्थानीय समर्थकसँग गफिन्थे । क्रिकेट खेल्थे । कोमल भावका जोटा सधैँ मुस्काुराइरहन्थे । उनको व्यक्तित्वकै असर मान्नुपर्छ, कुनै समय एभरटनको तारिफ गर्ने गरेको भए पनि लिभरपुल समर्थकका लागि त्यो समस्याको विषय कहिल्यै बनेन ।

जोटोसँग भेटेका, उनलाई नजिकबाट देखेका कसैले पनि निसंकोच भन्नसक्छ, जोटा साह्रै असल थिए । सँगसँगै तीक्ष्ण पनि । अपूर्व ‘फुटबल इन्टिलिजेन्स’ भएकै कारण सन् २०२० मा लिभरपुलसँग अनुबन्धित हुनसाथ उनको यात्राले वेग समात्यो । नत्र त इङ्लिस प्रिमियर लिगमा साना भनिएका क्लबबाट ठूला क्लबमा जाँदा धेरैजसो खेलाडीलाई लय समात्न समय लाग्छ । तर जोटाले लिभरपुलमा सुरुआती १० खेलमै सात गोल गरेर आफू को हो भन्ने देखाइदिए । योर्गन क्लपको त्यो प्रतिस्पर्धात्मक टिममा जोटाले ल्याएको रफ्तार, ऊर्जा र गोल गर्ने क्षमता अद्भूत थियो ।
फरवार्ड जोटाले लिभरपुलका लागि १८० खेल खेले । जहाँ उनले मोहम्मद सालाह, साडियो माने, रोबर्टो फरमिन्हो, डिभक ओरिगी, लुइस डियाज, कोडी गाक्पो र डार्विन नुनेजसँग सहकार्य गरे । यत्तिका प्रतिभाशाली फरवार्डको बीचमा हुँदा पनि जोटाले आफ्नो अलग परिचय बनाउन सके । किनभने उनको ‘इन्टिलिजेन्स’ र ‘फिनिसिङ’ लिभरपुलका लागि काम लागिरह्यो । उता पोर्चुगाली राष्ट्रिय टिमका लागि जोटाले ४९ खेल खेल्न भ्याए । चार साताअघि पोर्चुगलले नेसन्श कपको उपाधि भिडन्त जित्दा जोटा १५ मिनेट मैदानमा थिए । त्यही खेल उनको जीवनको अन्तिम खेल बन्यो ।
जोटा अब यादमा सीमित छन् । सधैँ खुलेर बोल्ने जोटालाई कसैले बिर्सनसक्ने छैनन् ।
अब हाम्रा अगाडि जोटाले रोजेको पूर्णविराम छ । लिभरपुल समर्थकबाहेकलाई पनि उनको निधनले चोट पुगेको छ । सायद उनको यो प्रिय खेलमा देखाएका जादूका कारण । जोटा असाध्यै तीव्र गतिमा खेल्थे । यस्तो लाग्थ्यो उनी मैदानको दुबो नमारी खेल्छन्, उनको मुभमेन्ट नै त्यस्तै असाधारण थियो । मुहारमा कहिल्यै थकान नदेखाउने, अन्तिम मिनेटसम्म उही भोक, विपक्षीको क्षेत्रमा जसरी हुन्छ छिरिहाल्ने । यस्तै थिए उनी ।
जोटाको निधन सुन्दर खेलमा जबरजस्तीको अवरोध हो । यसको कुनै अर्थ छैन । त्यसमाथि युवा उमेरमा यस्तो रोकावट किन ? युवा, सुन्दर, बुद्धिमत्ता, असल मानिसहरुको आयु लामो हुनुपर्ने होइन र ? हुन त यो जगतको वास्तविकता किन त्यस्तो हुन्थ्यो र ? अझ खेलाडीको जीवन त हतारमै बित्छ । खेल, खेलका लागि तयारी, यात्रा र परिवर्तन, यीनैले खेलाडीको जीवनको धेरै अंश खाइदिन्छन् ।

जोटा अब यादमा सीमित छन् । सधैँ खुलेर बोल्ने जोटालाई कसैले बिर्सनसक्ने छैनन् । भित्री व्यक्तित्व जस्तो हो, बाहिर पनि त्यही रुपमा प्रस्तुत हुने भएर होला जोटा हरेकको नजरमा सफा देखिन्थे । उनी भन्ने गर्थे, ‘मेरा लागि हरेक पल महत्त्वपूर्ण छन् । म प्रत्येक पलमा बाँच्छु ।’
लिभरपुलसँग जोडिएका जोटाका लागि ५० हजारभन्दा बढी लिभरपुल समर्थकले एनफिल्डमा गीत गाउनु उनको करिअरको महत्त्वपूर्ण घडी थियो ।
अप्रिल २५, २०२३, एनफिल्ड । टोटनहमविरुद्धको त्यो खेल लिभरपुलले समर्थकले किन बिर्सन सक्थे र ? रिचार्लिसनले ९३ औँ मिनेटमा गोल गरेपछि इङ्लिस प्रिमियर लिगको त्यो खेलमा टोटनहमले लिभरपुलबाट अंक खोस्ने पक्का जस्तै थियो । एनफिल्डमा खेल ३-३ को बराबरीमा पुर्याएको खुसीयाली जर्सी खोलेरै मनाएका रिचार्लिसन र उनका साथीहरु त्यतिबेला स्तब्ध भए जतिबेला जोटाले तुरुन्तै गोल फर्काए ।
त्यो गोल जोटका लागि उनको लिभरपुल करियरको एक ‘हाइलाइट’ थियो । ‘एन्डी रोबर्टसनले मलाई तँ अगाडि जा म लामो पास दिन्छु भनेका थिए । मलाई उनको भनाईले सकारात्मक संकेत दिएझैँ लाग्यो । म अगाडि दौडिएँ, बल आयो मैले गोल गरेँ । धेरै सोच्नै परेन, मेरा लागि बलमाथि सही नियन्त्रण र सही प्रहार मात्र आवश्यक थियो । अन्तिममा त्यही भयो,’ त्यसबेला जोटाले भनेका थिए ।
जोटोको त्यो गोल र जितसँगै लिभरपुल समर्थकले जोटाको गीत गाएका थिए । खेल सकिएको धेरै बेरसम्म एनफिल्डमा जोटाको गीत घन्किएको घन्कियै गर्यो । कोभिड महामारीबीच लिभरपुलसँग जोडिएका जोटाका लागि ५० हजारभन्दा बढी लिभरपुल समर्थकले एनफिल्डमा गीत गाउनु उनको करिअरको महत्त्वपूर्ण घडी थियो । सायद कतिले त्यसलाई जोटाको करिअरकै उत्कर्ष मान्लान् ।
एनफिल्डले जोटालाई सधैँ स्मरण गरिरहनेछ । हो, जोटाको परिवारको यो दुःख केही गरि पनि कम हुनेवाला छैन ।

‘मैले आफ्नो पहिलो सिजनमा लिभरपुलका लागि केही महत्त्वपूर्ण गोल गरेको थिएँ । तर त्यसबेला एनफिल्डमा दर्शक थिएनन् । सबैले भन्थे, एनफिल्ड दर्शकले भरिएका बेला यस्तो गोल गर अनि थाहा पाउँछस् । आज मैले महसुस गरेँ, महत्त्वपूर्ण गोल गर्दा के हुन्छ भनेर । आज मैले विशेष महसुस गरेँ । यो पल मैले कहिल्यै बिर्सने छैन,’ जोटाले भनेका थिए ।
यतिबेला समय उल्टो छ । जोटाले त्यो पल होइन, अब जोटालाई कहिल्यै बिर्सिइने छैन । एनफिल्डले जोटालाई सधैँ स्मरण गरिरहनेछ । हो, जोटाको परिवारको यो दुःख केही गरि पनि कम हुनेवाला छैन । तर यस्तोबेला के गर्ने भनेर कसैले कथा पनि त कोरेको छैन । यद्यपि अहिलेलाई यति चाहिँ भन्न सकिन्छ, जोटाको त्यो गीत र उनीप्रतिको स्नेहले उनको विरासतको जर्गेना गर्नेछ ।
(एजेन्सीहरुको सहयोगमा)