असार २१, २०८२ शनिबार | ०५:१५:४१
देश हार्ने लडाईं इतिहास फेर्ने दिन उपाधि रक्षाको अभियानमा यु-१६ नेपाली टिम डियोगो जोटाले रोजेको पूर्णविराम उज्वेकिस्तानसँग बराबरी भए के हुन्छ ? आर्मीको पुनरागमन जित तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स देश हार्ने लडाईं इतिहास फेर्ने दिन उपाधि रक्षाको अभियानमा यु-१६ नेपाली टिम डियोगो जोटाले रोजेको पूर्णविराम उज्वेकिस्तानसँग बराबरी भए के हुन्छ ? आर्मीको पुनरागमन जित तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स
शनिबारको दिन

इतिहास फेर्ने दिन

काठमाडौं । आज जुलाई ५, शनिबार । नेपाली फुटबलका लागि विशेष दिन । खुलेर भन्न गाह्रो भएको मात्र हो, आज नेपाली महिला फुटबलको मुहार फेर्ने दिन हो । साढे दुई दशक लामो समयको प्रतीक्षा समाप्त हुने दिन हो । इतिहास फेर्ने दिन हो । ऐतिहासिक पहिलो पटक एसियन कपमा स्थान बनाउने दिन हो ।

आज उज्वेकिस्तानको राजधानी तास्केन्दमा नेपालले घरेलु टोलीसँग एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको निर्णायक खेल खेल्दैछ । खेलको नतिजा आफ्नो पक्षमा पारे नेपालले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गर्नेछ । यो भनेको २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपको १०औं संस्करणको नजिक पुग्नु हो । त्यसैले आजको दिन नेपाली फुटबलका लागि खास छ ।

तर नेपाली फुटबलको यो विशेष दिनको व्याख्या गरिरहँदा खुलेर बोल्न नसक्ने कारण चाहिँ के ? जवाफ सबैलाई थाहा छ । नेपाली महिला राष्ट्रिय फुटबल टोली जहिल्यै अन्तिममा आएर चुक्ने गरेको इतिहास छ । टोलीले सरोकारवालाहरुलाई कहिल्यै खुसी पार्न सकेको छैन । ४० वर्षे अन्तर्राष्ट्रिय इतिहासमा नेपाली महिला टिमले एक दर्जनभन्दा बढी फाइनलमा निराशा भोगेको छ । उपाधिबाट वञ्चित हुनु परेको छ । उज्वेकिस्तानसँगको खेल पनि नेपालका लागि फाइनल जस्तै हो । अझ त्योभन्दा पनि बढी महत्वपूर्ण ।

कप्तान सावित्रा भण्डारी एक्लैको नाममा ७ गोल छ । सावित्राले दुवै खेलमा ह्याट्रिक गरिन् । 

सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको नेपालले त्यसपछि १९८९ र १९९९ को संस्करण खेल्यो । जतिबेला टोली सोझै एएफसी च्याम्पियनसिपमा छनोट हुने गर्थे ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा लाओसको अवसरमा बाधक बन्दै नेपाली गोलकिपर अन्जना रानामगर, तस्वीर सौजन्यः लाओ फुटबल महासंघ ।

सन् २००६ मा अस्ट्रेलियामा भएको १५औं संस्करणदेखि छनोट चरण पार गर्ने टोलीले मात्र एसियन कपमा स्थान बनाउने नियम लागू भयो । अघिल्लो संस्करण नेपालले अन्तिम केही मिनेट सम्हालिन नसक्दा फिलिपिन्सविरुद्ध हार बेहोरेको थियो । जसका कारण एसियन कप पुग्न नेपालले थप चार वर्ष कुर्नुपरेको हो । शनिबार उज्वेकिस्तानलाई हराउन नसके नेपालले अर्को चार वर्ष यही प्रतिक्षामा खेर फाल्नेछ ।

छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९-० ले हरायो । दोस्रो खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्धन्द्धी श्रीलंकाको पोस्टमा ८ गोल गर्यो । कूल १७ मध्ये कप्तान सावित्रा भण्डारी एक्लैको नाममा ७ गोल छ । सावित्राले दुवै खेलमा ह्याट्रिक गरिन् । पछिल्लो एक दशक अन्तर्राष्ट्रिय मञ्चमा जितको मुख्य आधार बन्दै आएकी सावित्रासँग आज पनि नेपाली टोलीले भर गर्नेछ ।

 उज्वेकिस्तानका लागि फरवार्ड निलुफर कुद्राटोभाले ६ गोल गरेकी छन् । 

उज्वेकिस्तान भ्रमण सावित्राका लागि आफैंमा खास रह्यो । लाओसविरुद्ध सावित्राले पहिलो पटक कप्तानको आर्मब्यान्ड लगाइन् । उनले देशको ११औं महिला फुटबल कप्तान बन्ने सौभाग्य पाइन् ।

करिअरकै विशेष क्षणलाई थप यादगार बनाउन उनी तयार छिन् । भन्छिन्, ‘दुई खेलमा हामीले स्पष्ट ६ अंक बटुलेका छौं । यसले खेलाडीमा सकारात्मक उर्जा थपिदिएको छ । अब अन्तिम पाइला बाँकी छ । हामी उज्वेकिस्तानसँग लड्न तयार छौं ।’

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा लाओसको आक्रमणलाई रोक्ने प्रयासमा नेपाली रक्षक गीता राना, तस्वीर सौजन्यः लाओ फुटबल महासंघ ।

उज्वेकिस्तानले पनि विपक्षी पोस्टमा १७ गोल गरेको छ । पहिलो खेलमा श्रीलंकामाथि १०-० को फराकिलो जित हासिल गरेको उज्वेकिस्तानले त्यसपछि लाओसलाई ७-० ले हरायो । उज्वेकिस्तानका लागि फरवार्ड निलुफर कुद्राटोभाले ६ गोल गरेकी छन् । एसियन कपको टिकट काट्ने हो भने नेपालले कुद्राटोभासँगै चार गोल गरेकी अर्की फरवार्ड डियोराखोन काबिबुलाभाको आक्रमणलाई रोक्न आवश्यक छ । यस्तोमा एकदशकयता आफ्नो उपस्थितिले राष्ट्रिय टोलीको रक्षात्मक पर्खाललाई बलियो बनाएकी सेन्टरब्याक गीता रनामाथि गहिरो जिम्मेवारी हुनेछ ।

उज्वेकिस्तानले बेलारुसविरुद्ध दुई तथा जाम्बियासँग एक खेलमा पराजय बेहोरेको थियो । बेलारुस र जाम्बिया दुवै फिफा वरीयतामा उज्वेकिस्तानभन्दा तल रहेका टोली हुन् । 

मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले पछिल्ला दुई खेलमा ३-२-३-२ को फर्मेशनमा टिम उतारेका थिए । जुन नेपाली महिला फुटबलको हकमा नितान्त नौलो फर्मेशन हो । बलियो उज्वेकिस्तानविरुद्ध नेपाल कसरी मैदानमा उत्रिनुपर्छ ?

घरेलु लिग च्याम्पियन एपिएफ फुटबल क्लबका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे यसो भन्छन्, ‘हामी अझै पनि ३-२-३-२ मा अडप्ट भइसकेका छैनौं । उज्वेकिस्तान बलियो टोली हो । त्यसैले तीन जनाको डिफेन्सिभ वालमा खेलाउँदा खतरा बन्न सक्छ । उज्वेकिस्तानविरुद्ध शनिबार हामीलाई जित आवश्यक छ । पूरै डिफेन्सिभ नै खेल्नुपर्ने भन्ने छैन । हामी ४-४-२ को सन्तुलित शैलीमा जान सक्छौं ।’

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाविरुद्ध गोल गरेपछि नेपाली स्ट्राइकर सावित्रा भण्डारीको सेलेब्रेसन, तस्वीरः सरोज सापकोटा/खेलाडी

याे छनाेटअघि उज्वेकिस्तानले पिछल्ला ११ खेलमा सात खेलमा हार बेहोर्दा मात्र तीन खेलमा जित हासिल गरेको थियाे । उज्वेकिस्तानले पछिल्लो महिना भारतसँग दुई मैत्रीपूर्ण खेलमा जित हासिल गर्दा फेब्रुअरीमा जोर्डनलाई पराजित गरेको थियो । भारत र जोर्डन दुवै वरीयतामा उज्वेकिस्तानभन्दा तल छन् ।

उज्वेकिस्तानको छनोट चरण पार गर्न नसकेको इतिहासले पनि नेपाली टोलीको मनोविज्ञानमा ठूलो अर्थ राख्छ ।

यद्यपि उज्वेकिस्तानले आफूभन्दा तल्लो स्तरका टोलीसँग पनि नतिजा सुम्पिएको छ । सात हारमध्ये उज्वेकिस्तानले बेलारुसविरुद्ध दुई तथा जाम्बियासँग एक खेलमा पराजय बेहोरेको थियो । बेलारुस र जाम्बिया दुवै फिफा वरीयतामा उज्वेकिस्तानभन्दा तल रहेका टोली हुन् । बेलारुससँगको दुई मैत्रीपूर्ण खेल तास्केन्दमा भएको थियो । बेलारुसको यो जितले नेपाली खेलाडीलाई उर्जा दिन सक्छ । घरेलु समर्थकको फाइदाबीच पनि उज्वेकिस्तानलाई हराउन सकिन्छ भन्ने आँट भर्न सक्छ ।

उज्वेकिस्तानले एएफसी छनोट प्रतियोगिताको तयारीस्वरुप दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेलमा नतिजा आफ्नो पक्षमा आए पनि भारतमाथि जित निकाल्न उज्वेकिस्तानलाई गाह्रो भएको थियो । दुवै खेलमा उज्वेकिस्तानले १-० को जित हासिल गरेको थियो । वरियतामा नेपालभन्दा ४९ स्थान माथि रहेको उज्वेकिस्तानलाई हराउन सक्ने अर्को आधार यही नै हो ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा लाओसविरुद्ध उज्वेकिस्तान, तस्वीर सौजन्यः लाओ फुटबल महासंघ ।

उज्वेक फुटबल अहिले पुरुष फुटबल टोलीको सफलतामा रमाइरहेको छ । उज्वेकिस्तानले दुई साताअघि मात्र फिफा विश्वकप २०२६ मा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । उत्तरी अमेरिकामा अर्को वर्ष हुने विश्वकप उज्वेक फुटबलको इतिहासमा पहिलो हुनेछ । यो हर्षोल्लासका बीच निश्चय पनि उज्वेक महिला टोलीले आफ्ना समर्थकलाई निराश बनाउन चाहने छैन । टोलीले अहिलेसम्म छनोट चरण पार गरेर एसिया कपमा स्थान बनाउन सकेको छैन । यसपालि घरेलु समर्थकको साथ पाएको उज्वेकिस्तानसँग पहिलो पटक एसियन कपमा पुग्ने अवसर छ । महिला टोलीले पनि ऐतिहासिक उपलब्धि हासिल गर्ने हो भने उज्वेकिस्तानी फुटबलमा ‘डबल सेलेब्रेसन’ हुनेछ ।

उज्वेकिस्तानको छनोट चरण पार गर्न नसकेको इतिहासले पनि नेपाली टोलीको मनोविज्ञानमा ठूलो अर्थ राख्छ । यद्यपि दुई वर्षअघि चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा उज्वेक महिला टोलीले चौथो स्थान हासिल गरेको थियो । उता नेपाली टोली भने समूह चरणबाटै बाहिरिएको थियो ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र उज्वेकिस्तान अहिलेसम्म एकपटक मात्र आमने-सामने भएका छन् ।

उज्वेकिस्तानले एसियन कपको अर्को संस्करण आफैं आयोजना गर्दैछ । घरेलु भूमिमा प्रतियोगिता हुने भएकाले उज्वेक टोली स्वतः प्रतियोगिताका लागि छनोट हुनेछ । यस्तोमा उज्वेक टोली घरेलु भूमिमा हुने एसियन कपअघि कम्तीमा पनि एक पटक छनोट चरण पार गरेर फाइनल चरण खेल्न चाहन्छ ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा लाओसविरुद्ध उत्रिएको उज्वेकिस्तानको पहिलो रोजाई, तस्वीर सौजन्यः लाओ फुटबल महासंघ ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र उज्वेकिस्तान अहिलेसम्म एकपटक मात्र आमने-सामने भएका छन् । उज्वेकिस्तानसँग नेपाली फुटबलको इतिहास पनि जोडिएको छ । नेपालले उज्वेकिस्तानविरुद्ध नै पहिलो अन्तर्राष्ट्रिय गोल गरेको थियो । सन् १९९९ मा फिलिपिन्समा सम्पन्न एएफसी महिला च्याम्पियनसिपमा नेपालले एउटै मात्र गोल गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग ६–१ को हार बेहोर्दा पेमा डोल्मा लामाले देशका लागि ऐतिहासिक पहिलो गोल गरेकी थिइन् । शनिबार अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने दिन हो । जहाँ नेपाली समर्थकलाई यसपालि हार स्वीकार्य हुने छैन ।