असार १७, २०८२ मंगलबार | १०:२४:४२
अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक
शनिबारको दिन

फुटबलको छटपटीमा चोटबाट गुज्रिरहेका हिरा र दीपा

काठमाडौं । साफ च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपालले भुटानविरुद्ध खेल्दै थियो । खेलको ६९औं मिनेटमा विपक्षी फरवार्ड देकी ल्हाजोमको आक्रमणलाई रोक्ने क्रममा मिडफिल्डर दीपा शाही मैदानमा लडिन् । दायाँ खुट्टाबाट नमिठो आवाज आयो । त्यतिबेलै दीपाले थाहा पाइसकेकी थिइन्, मेरो एसिएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट, घुँडामा लाग्ने एकप्रकारको गम्भीर चोट) गयो भनेर ।

एसिएल इन्जुरीका बारेमा दीपा त्यति जानकार थिइनन् । उनलाई यतिमात्र थाहा थियो कि एसिएल चोट लाग्यो भने फेरि ठिक भएर लयमा फर्किन धेरै संघर्ष गर्नुपर्छ । फिजियोथेरापिस्ट नवीना श्रेष्ठले यस्तै भनेकी थिइन् । अनि एसिएल चोट लागेको संकेत बुझ्ने परिस्थितिहरूबारे पनि नवीनाले जानकारी गराएकी थिइन ।

यही कारण हो, खुट्टाबाट आवाज आउनेबित्तिकै नवीनाले भनेका कुरा दीपाको दिमागमा झ्ल्यास्स आइहाल्यो । त्यसपछि दीपाले मन थाम्न सकिनन् । ‘नवीना म्यामले खुट्टाबाट आवाज आयो कि एसिएल जाने सम्भावना धेरै हुन्छ भन्नुभएको थियो । म डराएँ,’ दीपा घाइते हुँदाको त्यो दिन सम्झिन्छन् ।

ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा एसिएलको शल्यक्रियाअघि दीपा शाही र हिराकुमारी भुजेल (सर्जीकल गाउनमा), तस्वीर सौजन्यः एन्फा ।

दीपालाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर निकालिएको थियो । त्यस दिन स्ट्रेचरको सहायतामा मैदान छाड्ने दीपा दोस्रो नेपाली खेलाडी थिइन् । दीपाअघि पहिलो हाफको इन्जुरी समयमा नेपालले हिराकुमारी भुजेललाई एसिएलकै कारण गुमाएको थियो । विपक्षी फरवार्ड छिरिङ याङ्देनको बल हेडमार्फत क्लियरेन्स गर्न गएकी लेफ्ट ब्याक हीरा ल्यान्डिङ नमिल्दा घाइते भएकी थिइन् ।

 नेपालले लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजय बहोर्यो । त्यो हारले दीपा र हिरालाई सहनै नसक्ने चोटको पीडामा नुन छर्किदिने काम गर्यो ।

‘खेलमा त्यस्तो दबाब थिएन । खेल स्लो नै थियो । खासै महत्त्वपूर्ण पनि थिएन । मेरो हकमा म अभागी साबित भएँ । त्यो दिनलाई सम्झन पनि चाहन्न,’ हिरा सुनाउँछिन् ।

दुवैको दुई दिनपछि ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा शल्यक्रिया भयो । दुवै ९ महिना मैदान बाहिर रहने भए । नेपालले लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजय बहोर्यो । त्यो हारले दीपा र हीरालाई सहनै नसक्ने चोटको पीडामा नुन छर्किदिने काम गर्यो ।

साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि जितेपछि बंगलादेशी खेलाडीमा खुसी, तस्वीरः सरोज सापकोटा/खेलाडी

सेमिफाइनल र फाइनलका लागि भनेर अस्पतालले बिरामी कोठामै प्रोजेक्टरको सुविधासहित खेल हेर्ने वातावरण मिलाइदिएको थियो । विवादास्पद सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा हराउँदै नेपालले छैटौं पटक फाइनलको यात्रा गरेको थियो । सेमिफाइनलमा साम्बा (सावित्रा भण्डारी)को त्यो बराबरी गोल सम्झँदा हिरा अहिले पनि जिउ सिरिङ्ग पार्छिन् ।

सावित्राको त्यो गोल वास्तवमै हेर्नलायक थियो । त्यो गोलका कारण दीपाले एकैछिन भए पनि आफ्नो चोटको दुखाइ बिर्सिएकी थिइन् ।

नेपालले खेलेको इतिहासकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय खेलमा स्ट्राइकर सावित्राले मिडफिल्डर प्रीति राईको सुन्दर थ्रु पासलाई सनसनीपूर्ण तरिकाले बराबरी गोलमा परिणत गरेकी थिइन् । गोलपछि सावित्राले नेपाली फुटबल इतिहासमै बिरलै देखिने खालको आइकोनिक सेलिब्रेसन गरिन् । मनै लोभ्याउने खालको ।

उनको सेलिब्रेसनले विश्व फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको झलक दिइरहेको थियो । सन् २०१८ को एल क्लासिकोमा रोनाल्डोले बार्सिलोनाविरुद्ध आइकोनिक जर्सी सेलिब्रेसन गरेका थिए । सावित्राले पनि त्यही गरिन् । सुरुमा जर्सी फुकालेर फालिन् अनि सहकर्मीसँग खुसी साटिसकेपछि दर्शकलाई जर्सी देखाइन् । पछि टाइब्रेकरमा नेपालले भारतलाई ४-२ ले हराएको थियो । यसअघि रेफ्रीको विवादास्पद निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली खेलाडीले मैदान छाडेपछि खेल करिब सवा एक घण्टा रोकिएको थियो ।

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भारतविरुद्धको सेमिफाइनलमा बराबरी गोल फर्काएपछि नेपाली फरवार्ड सावित्रा भण्डारीको सेलेब्रेसन,  तस्वीरः सरोज सापकोटा/खेलाडी

सावित्राको त्यो गोल वास्तवमै हेर्नलायक थियो । त्यो गोलका कारण दीपाले एकैछिन भए पनि आफ्नो चोटको दुखाइ बिर्सिएकी थिइन् ।

‘सर्जरी गर्दा जुन पीडा थियो, साम्बा दिदीको गोलले त्यसलाई बिर्साइदियो,’ दीपा फिस्स हाँस्छिन् ।

सावित्राले पनि खेलपछि आफ्नो गोल सहकर्मी दीपा र हिरालाई समर्पित गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले दीपा र हिराले भोगेको पीडा महसुस गरेको छु । म पनि यो ‘डार्क फेज’ पार गरेर आएको खेलाडी हुँ । यो गाह्रो समयमा उनीहरूको अभिभावक भनेको हामी नै हौं । हामी नै हुनुपर्छ । आज दीपा र हिराका लागि भए पनि जित्नुपर्छ भन्ने थियो ।’

झन्डै आठ महिनाको ‘रिकभरी पिरियड’ पछि दीपा र हिराले ‘ग्राउन्ड रिह्याब’ सुरु गरिसकेका छन् । एन्फाको होस्टेलमै बस्दै आएकी हिरा पछिल्लो समय यु-१९ महिला टोलीका बहिनीहरुसँग मिलेर ‘बल फिलिङ’ गरिरहेकी छिन् 

बिएन्डबीमा १४ दिन बिताएपछि दीपा र हिरालाई अखिल नेपाल फुटबल संघ (एन्फा) होस्टेलमा सार्यो । दुवैको दैनिकी अब एन्फाले गत वर्षदेखि सञ्चालनमा ल्याएको ‘फिजियोथेरापी एन्ड रिह्याबिलिटेसन डिपार्टमेन्ट’मा फिजियोमार्फत चाँडै मैदान फर्किने प्रयासमा समर्पित हुन थाल्यो । डिपार्टमेन्टको नेतृत्व फिजियोथेरापी र रिह्याबिलिटेसन सेवामा एक दशकभन्दा बढीको अनुभव भएकी डाक्टर नवीनाले गरिरहेकी छन् । जहाँ सिनियर, उमेर समूहका राष्ट्रिय खेलाडी र क्लब स्तरका फुटबल खेलाडीको उपचार हुने गर्छ ।

एन्फाको फिजियोथेरापी एन्ड रिह्याबिलिटेसन डिपार्टमेन्ट’मा फिजियोथेरापिस्ट नवीना श्रेष्ठसँग दीपा शाही (दायाँ) र हिराकुमारी भुजेल (बायाँ), तस्वीर सौजन्यः नवीना श्रेष्ठको फेसबुकबाट ।

झन्डै आठ महिनाको ‘रिकभरी पिरियड’ पछि दीपा र हिराले ‘ग्राउन्ड रिह्याब’ सुरु गरिसकेका छन् । एन्फाको होस्टेलमै बस्दै आएकी हिरा पछिल्लो समय यु-१९ महिला टोलीका बहिनीहरुसँग मिलेर ‘बल फिलिङ’ गरिरहेकी छिन् । दीपा भने आफू हिँड्न सक्ने भएयता आमासँग कपनस्थित कोठामै बस्दै आएकी छन् । पूर्ण फिटनेसमा आउन यी दुईलाई अझै दुई महिनाको समय लाग्नेछ ।

यो रिकभरी पिरियडमा दुवैले भावनात्मक, मानसिक र शारीरिक पीडासँग ठूलो लडाईं लड्नुपरेको छ । मनमा खेल्ने अनेकौं कुराहरूसँग जुध्नुपरेको छ ।

‘खुट्टा एकदमै दुख्थ्यो । सर्जरीपछिको दुई तीन महिना राम्ररी सुत्न पनि सकिन । राती खुट्टा उचालेर बस्थें,’ दीपा भावुक हुन्छिन्, ‘सोचमग्न हुन्थें । मनमा प्रश्नहरू उब्जिरहन्थे । मलाई मात्र यस्तो हो कि सबैलाई यस्तै हुन्छ भन्ने लाग्थ्यो ।’

वर्ष २०८१ महिला फुटबलका लागि सुखद रह्यो । सुखद यस अर्थमाकि खेलाडीहरू लगभग ८-९ महिना घरेलु फुटबलमा व्यस्त रहे ।

हिरालाई पनि कमब्याक हुनै सक्दिनँ कि भन्ने चिन्ताले सताइरह्यो । पछिल्लो समय भने स्वास्थ्यमा सुधार आएपछि आत्मविश्वास बढ्न थालेको छ । भन्छिन्, ‘यो मेरो दोस्रो सर्जरी हो । सुरु सुरुमा धेरै गाह्रो भयो । कमब्याकलाई लिएर नकारात्मक कुरा मनमा खेल्थे । अहिले अवस्था फेरिएको छ । बल फिलिङ गर्दा पनि सकारात्मक उर्जा मिलिरहेको छ ।’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बाप्पो सुब्बा, रक्षक हिरा कुमारी भुजेल र नवनियुक्त प्रशिक्षक प्याट्रिक डे विल्डे कुराकानीमा व्यस्त, तस्वीर सौजन्यः एन्फा ।

डेढ वर्षअघि सम्म पनि महिला खेलाडीको प्रशासनसँग एउटै गुनासो रहने गथ्र्यो । म्याच एक्सपोजर पाएनौं, लिग समयमै भएन जस्ता खेलाडीको आलोचना नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले सुन्दै आएको धैरै भइसकेको थियो । अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको असीमित क्षमता र सम्भावनाका बावजुत महिला फुटबलले एन्फाबाट कहिल्यै महत्व पाएको थिएन । तर, वर्ष २०८१ महिला फुटबलका लागि सुखद रह्यो । सुखद यस अर्थमाकि खेलाडीहरू लगभग ८-९ महिना घरेलु फुटबलमा व्यस्त रहे ।

महिला फुटबलको बढ्दो क्रेजबीच पूर्वी झापादेखि पश्चिम नेपालगन्जसम्म घरेलु प्रतियोगिता भए । दुई वर्षपछि आयोजना भएको राष्ट्रिय महिला लिग पनि झन्डै झण्डै ६ महिना सञ्चालन भयो । यसबीच घरेलु भूमिमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता भए ।

घरेलु फुटबलमा एक दशकभन्दा लामो समय बिताइसकेकी २९ वर्षीया हिराले यसअघि महिला फुटबलको यस्तो क्रेज कहिल्यै देखेकी थिइनन् । उनका साथीहरू गाउँदेखि सहरसम्म पुगे । देशका विभिन्न ठाउँका समर्थकसँग सेल्फी खिच्न उनीहरूलाई भ्याइनभ्याइ थियो । उनको टोली एपिएफ क्लबले भएजति सबै उपाधि जित्यो । अफसोच ! हिराले यो माहोल मैदानमा डटेर आत्मसात गर्न पाइनन् ।

गोलको खुसीः एन्फा राष्ट्रिय महिला लिग २०८१ अन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको फाइनल खेलमा गोल गरेपछि एपिएफ फुटबल क्लबका खेलाडीको सेलेब्रेसन, तस्वीरः सरोज सापकोटा/खेलाडी

त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्दै आएकी दीपाको हकमा यसरी लामो समय फुटबलबाट टाढिनुपर्दा उनले जीवनकै अमूल्य पाठ सिकेकी छन् । 

उपाधि जित्दा मैदानमा रहेका साथीहरूलाई सुरक्षाकर्मीको घेरा लगाएर बाहिर ल्याएको दृश्य होस्टेलको ओछ्यानमा बसेर हेर्नुबाहेक हिरासँग अरू विकल्प पनि त थिएन । तर, हिरा निराश छैनन् । यसले त झन् हिरालाई मैदानमा फर्कन उर्जा थपिदिएको छ । हाँस्दै सुनाउँछिन्, ‘जसरी महिला फुटबल अगाडि बढिरहेको छ । मलाई यसले झन् चाँडै कमब्याक हुन प्रेरणा मिलेको छ । नेपाली समर्थकले हामीलाई दिएको मायाले मलाई उर्जा मिलेको छ ।’

त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्दै आएकी दीपाको हकमा यसरी लामो समय फुटबलबाट टाढिनुपर्दा उनले जीवनकै अमूल्य पाठ सिकेकी छन् । २१ वर्षीया दीपा भन्छिन्, ‘मैले यो एसिएलको चोटसँग लडिरहँदा जीवनमा धैर्य भन्ने कुरा एकदमै महत्त्वपूर्ण रहेछ भन्ने बुझें । हामी जहिल्यै आजको भोलि सफलता खोजिरहेका हुन्छौं । तर, सफलता त्यत्तिकै आउँदैन । केही पाउन केही गुमाउनुपर्ने रहेछ । जिरोबाट हिरो बन्न संघर्षका खुड्किला पार गर्नुपर्छ । म अहिले जिरो लेभलमा छु, सफलता हासिल गर्न धैर्यका साथ संघर्ष गर्न तयार छु । मलाई लाग्छ खेलाडी सफल हुने सूत्र नै यही हो ।’

उदयपुरकी हिराले सन् २०१६ फेब्रुअरीमा भारतको सिलोङमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन् । बंगलादेशविरुद्धको पहिलो खेलमा हिराले अन्तर्राष्ट्रिय डेब्यू गरिन् । त्यसयता उनले राष्ट्रिय टोलीको जर्सीबाट ५५ अन्तर्राष्ट्रिय खेल खेलेकी छन् । नेपाली फुटबलकी अनमोल ‘हिरा’ले एक खेल छाडेर सबैमा पूरा ९० मिनेट मैदानमा बिताइन् ।

साफ महिला च्याम्पियनसिप २०२२ अन्तर्गत भारतविरुद्ध बल अगाडि बढाउँदै नेपाली मिडफिल्डर दीपा शाही, तस्वीरः खेलाडी ।

हुम्लाकी दीपाको अन्तर्राष्ट्रिय फुटबल यात्रा २०२२ सेप्टेम्बरमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको छैटौं संस्करणबाट सुरु भयो । भुटानविरुद्धको पहिलो खेलमा डेब्यू गरेकी दीपाले अहिलेसम्म देशका लागि १९ खेल खेलेकी छन् ।

राष्ट्रलाई आफ्नो कौशलबाट झन्डै एक दशक योगदान गरिसकेकी हिराको पनि त मन हुँदो हो, यो ऐतिहासिक खेलमा राष्ट्रिय टोलीको जर्सी लगाउने । 

नेपाली टोलीले अबको १५ दिनपछि उज्वेकिस्तानमा अहिलेसम्मकै महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ । जुन २९ देखि हुने एएफसी एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपालले घरेलु टोलीसँगै लाओस र श्रीलंकासँग खेल्नेछ । राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ । उज्वेकिस्तान भ्रमण यस अर्थमा पनि खास छ कि लाओसविरुद्धको पहिलो खेल नेपाली महिला फुटबलको एक सय अन्तर्राष्ट्रिय खेल हो ।

यसअघि नेपालले एसियन कप छनोट प्रतियोगिता नखेलेको होइन । तर, अहिले नेपाली महिला फुटबल ‘गोल्डेन जेनेरेसन’को प्रदर्शनमा रमिरहेको छ । भन्नेले के पनि भन्छन् भने नेपालमा अब यत्तिको टिम जन्मदैन । त्यसमाथि यो समूहमा नेपाल उज्वेकिस्तानपछिको बलियो टोली हो । त्यसैले २०३१ सम्म फिफा विश्वकप पुग्ने सपना बुनेको नेपाली टोलीसँग उज्वेकिस्तानमा चुनौतीसँगै अवसर उत्तिकै छ ।

उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोटको तयारीस्वरुप अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा अभ्यास गर्दै नेपाली राष्ट्रिय महिला टोली, तस्वीर सौजन्यः एन्फा ।

राष्ट्रलाई आफ्नो कौशलबाट झन्डै एक दशक योगदान गरिसकेकी हिराको पनि त मन हुँदो हो, यो ऐतिहासिक खेलमा राष्ट्रिय टोलीको जर्सी लगाउने । पछिल्लो समयकी भरपर्दो खेलाडी दीपाले पनि आफूलाई राष्ट्रिय टोलीमा नभई नहुने खेलाडीका रूपमा स्थापित गरिसकेकी थिइन् । तर दुर्भाग्य ! दुवैसँग मन मार्नुबाहेक विकल्प छैन । वास्तवमा भन्ने हो भने राष्ट्रिय टोलीले उज्वेकिस्तानमा हिराको अनुभव र दीपाको युवा जोसलाई ‘मिस’ गर्नेमा कुनै शंका छैन ।

अहिलेका लागि दीपा र हिरा सुखद पुनरागमनको तयारीमा छन् । रिकभरी पिरियडको यो अन्तिम दुई महिना दुवैलाई भावनात्मक रूपमा गाह्रो हुनेछ । यो समयमा दुवैले स्वयं आफूलाई सम्हाल्न आवश्यक छ । तर, खेलाडीको भावना खेलाडीले मात्र बुझ्न सक्छ ।  

भावुक दीपाको यो भनाइले कसको पो मन रसाँउदैन होला ? उनी भन्छिन्, ‘लामो समय भयो बल हान्न नपाएको । अहिले कमब्याकको नजिक छु । मैदानमा फर्कने दिन जति धेरै नजिकिँदै छ, त्यति नै इमोसनल्ली आफूलाई सम्हाल्न गाह्रो भइरहेछ ।’