असार २२, २०८२ आइतबार | ११:५४:४१
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि
शनिबारको दिन

बेलायती फुटबलः खेलमा रमाउन छाडे फुच्चे फुटबलर, किन ?

लन्डन । मध्य लन्डनको कोरम्स फिल्ड्सको एक मैदानमा यो पंक्तिकार आइपुगेको छ । जहाँ किशोरहरू मैदान उत्रँदै छन् । यहाँको कृत्रिम मैदानमा म ११ वर्षमुनिका खेलाडीको खेल हेर्दै छु । कलिला खेलाडीको बुटले बल हान्दा आउने आवाज, बीचबीचमा रेफ्रीको सिठी अनि मैदानबाहिरबाट निरन्तर आइरहेको चर्को निर्देशनात्मक समर्थन । माहोल फुटबलमय छ ।

खेलाडी मेरो बल मेरो बल भन्दैछन् । दुई प्रशिक्षक निर्देशन दिइरहेका छन्, ‘प्रेस गर’ ‘वाइडमा बस’ ‘रेफ रेफ’ आदि । प्रशिक्षकहरू स्वाभाविक रूपमा बेन्चअघि उभिएका छन् । उनीहरूभन्दा केही पर छन्, खेलाडीका पिताहरू । एक माता पनि देखिन्छिन्, तर उनी खासै चिच्याएको सुनिएको छैन ।

यी पिताहरूको परिचय एउटा मात्र छैन । उनीहरू चर्को फुटबल समर्थक हुन् । सँगसँगै आआफ्ना छोराका लागि ‘पार्टटाइम प्रशिक्षक’ पनि । यति मात्र होइन, उनीहरू यी फुच्चे खेलाडीहरूको ‘फिजिकल ट्रेनर’ पनि हुन् ।

किशोर टिमहरू भिड्दा मैदानमा प्रशस्त पिताहरू भेला हुन्छन् । छोरा खेलाडीसँग उनीहरूको माग उही हुन्छ, राम्रो खेल । तब त प्रशिक्षकहरू सँगसँगै मैदानबाहिरबाट लगातार निर्देशन दिइरहेका हुन्छन् । ती पिताहरूमध्ये एकचाहिँ अलि बढी चिच्याउने खालका हुन्छन् । यो हरेक खेलमा देखिने दृश्य हो । ‘बल क्लियर गर’ उनी आफ्नो छोराको टिमको डिफेन्सलाई निर्देशन दिइरहेका छन् । उनको यो निर्देशन टिमको प्रशिक्षकको आदेशभन्दा ठ्याक्कै उल्टो छ । प्रशिक्षक चाहन्छन्, आफ्नो डिफेन्सले सजिलोसँग बल नियन्त्रणमा राख्दै मिडफिल्डमा पास देओस् । आजकल यो चलनलाई ‘बिल्ड फ्रम द ब्याक’ भन्छन् ।

नर्थम्बरल्यान्ड फुटबल लिगमा प्रतिस्पर्धा गर्दै खेलाडी । 

तिनै पिता रेफ्रीको निर्णयप्रति पनि पटक पटक आपक्ति जनाइरहेका छन् । ‘रेफ्री, यस्तो पनि हुन्छ ?’ उनी रेफ्रीलाई प्रश्न गर्दै छन् । १७ वर्षीय रेफ्री मैदानबाट आइरहेको प्रश्न ध्यान दिने पक्षमा छैनन् ।

केही समयअघि केन्टमा चल्दै गरेको १० वर्षमुनिको फुटबल प्रतियोगितामा दुई टिमका खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि पिताहरू नै मैदान छिरेछन् । त्यसपछि त मुक्का हानाहान हुने भइहाल्यो । 

‘भोकल’ देखिएका यी पिताको धेरैजसो निर्देशन आफ्ना छोराप्रति नै हुन्छ । विङ्गमा खेल्दै गरेका छोरालाई पटक पटक भन्दै छन्, ‘वाइडमा बस’ ‘प्रेस गर, बल खोस’ ‘मुख छ होइन ? बोल्न आउँछ होइन ? बल मागेको खोइ ?’

खेलमा मध्यान्तर भयो । प्रशिक्षक आफ्ना सबै खेलाडी बटुल्छन् । निर्देशन दिन थाल्छन् । त्यहाँ ती पिता पनि जोडिन्छन् । पहिलो हाफको प्रदर्शनबारे आफ्नो विचार व्यक्त गर्छन् । 

खासमा युवा फुटबलमा यी दृश्य नौला होइनन् । आफ्ना बच्चाहरूको खेल हेर्न आएका अभिभावकहरू यत्तिको गम्भीर हुन्छन् नै । कोही बढी चिच्याउँछन्, कोही कम । यो स्वाभाविक हो । तर, कतिपय अवस्थामा अभिभावकहरू बढी नै उत्तेजित बनिदिन्छन् ।

केही समयअघि केन्टमा चल्दै गरेको १० वर्षमुनिको फुटबल प्रतियोगितामा दुई टिमका खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि पिताहरू नै मैदान छिरेछन् । त्यसपछि त मुक्का हानाहान हुने भइहाल्यो । खबर अनुसार त्यसबीचमा आक्रामक बनेका एक पिता कुनै एक फुच्चे खेलाडीमाथि जाइलाग्न खोज्दैथे । सम्भवतः ती खेलाडी उनको छोरा थिएनन् ।

केन्टमाको १० वर्षमुनिको फुटबल प्रतियोगितामा झगडा गर्दै अभिभावक ।

बेलायतको युवा फुटबलमा यो नयाँ समस्या होइन । करिब एक दशकअघि ग्यारी लिनेकरले अभिभावकहरू मैदानबाहिरबाट आफ्ना खेलाडी छोराछोरीमाथि कसरी आक्रामक रूपमा प्रस्तुत भइरहेका हुन्छन् भन्नेबारे लेखेका थिए । अभिभावकहरूको यो व्यवहारका कारण उनीहरूका बच्चाको फुटबल प्रेम घटिरहेको लिनेकरको बुझाइ थियो ।

गएको सिजन क्लबहरूविरुद्ध भएका ३४९ कारबाही दर्शकदीर्घाबाट भएको दुव्र्यवहारसँग सम्बन्धित थिए ।  

बेलायती समाजमा देखिने यो समस्याबारे पंक्तिकारले कोरम्स फिल्ड्समा रहेका नर्थम्बरल्यान्ड फुटबल लिगका निर्देशक इयान कोएट्ससँग कुराकानी गरेको थियो । ‘खेलमा एउटा बच्चा साथी खेलाडीलाई बल पास गर्छ । पास गर्नासाथ ऊ साइडलाइनमा रहेका आफ्ना पितातिर पुलुक्क हेर्छ । किनभने उसले गरेको पास पिताले सही मानेनन् कि भन्ने डर हुन्छ,’ कोएट्स भन्छन्, ‘जब म किशोर खेलाडीलाई प्रशिक्षण गराउँछु, तब म उनीहरूलाई भन्छु तिमीहरूले अनुमोदन खोज्ने मबाट मात्र हो । यदि बुवाआमाले बाहिरबाट केही भने उनीहरूलाई चुप लाग्नुस् भन भन्छु । त्यति गर्दा पनि आक्रामक भइरहे म ठिक पार्छु ।’

त्यसो गर्न कोएट्सले भनेजस्तो सजिलो छैन । कसैले कोही अभिभावकलाई शान्त रहन भनिहाले उनीहरूको सिधा जवाफ आउँछ, ‘मेरो छोरा हो, म जेसुकै गरौँ, के मतलब ?’ तर उनीहरूलाई कसले भन्दियोस् यो सरासर बाल दुव्र्यवहार हो भनेर । र, यसका लागि उनीहरूलाई सजाय हुनसक्छ ।

इङ्ल्यान्डको फुटबल संघ (एफए) को तथ्यांकअनुसार सन् २०२३-२४ मा ग्रासरूट फुटबलमा २ हजार ५६१ दुव्र्यवहारका घटना दर्ता भएका छन् । अघिल्लो सिजनभन्दा यो १३ प्रतिशतले बढी हो । तर दर्ता भएका यी घटना फुटबल मैदानमा भएका दुव्र्यवहार सम्बन्धी मात्र हुन् । अभिभावकले बच्चालाई गर्ने दुव्र्यवहार नसमेटिन सक्छन् । यद्यपि एफएका अनुसार दर्शकदीर्घाबाट हुने दुव्र्यवहार (जहाँ अभिभावक पनि हुन्छन्) का लागि क्लबहरूलाई कारबाही गरिन्छ । गएको सिजन क्लबहरूविरुद्ध भएका ३४९ कारबाही दर्शकदीर्घाबाट भएको दुव्र्यवहारसँग सम्बन्धित थिए ।  

काउन्टी फुटबल संघसँग अझ विस्तृत तथ्यांक छ । संघका कार्यकारी निर्देशक जान पाइकका अनुसार उनको संस्थाले अभिभावक र प्रशिक्षकले टचलाइनबाट गर्ने दुव्र्यवहार (जसमा अनावश्यक रूपमा गाली गर्ने, चिच्याउने पनि पर्छन्) बारे आएको निवेदनको तथ्यांक संकलन गर्ने गरेको छ । दक्षिण पश्चिमी इङ्ल्यान्डमा फुटबल नियमन गर्न सन् १८८५ मा स्थापित समरसेट फुटबल संघका अनुसार युवा फुटबलमा दुव्र्यवहारको घटना बढ्दो छ । सन् २०१८ यता यस्ता घटना प्रत्येक सिजन २ सयभन्दा बढी हुने गरेका छन् । २०२३-२४ सिजनभर २७३ दुव्र्यवहारका घटना घटेका छन् ।

नर्थम्बरल्यान्ड फुटबल लिगमा प्रतिस्पर्धा गर्दै खेलाडी । 

कोभिड महामारीपछिको समयमा स्थिति खराब बन्दै गइरहेको समरसेट एफएको निक्र्योल छ । ‘ग्रासरुट फुटबलमा दुव्र्यवहार गर्नेहरूमा मुख्यतः वयस्कहरू हुन्छन् । ती प्रशिक्षक, व्यवस्थापक, अभिभावक जो पनि हुनसक्छन्,’ पाइकको भनाइ छ ।

हुन त दर्शकले यसो भन्नु खेलको हिस्सा हो । उनीहरू फरक फरक वाक्यको प्रयोग गरेर रेफ्रीलाई गिज्याउँछन् । सम्भवतः यसलाई आफ्नो टिमप्रतिको समर्थन र समर्थनले ल्याउने आवेग पनि मान्न सकिएला ।

पाइकको भनाई आफैंमा अनौठो लाग्ने खालको छैन । ग्रासरुट फुटबल पछ्याउनेका लागि यो नौलो तथ्य होइन । तर, अब समय आएको छ, आआफ्नो स्थानबाट जिम्मेवारीपूर्वक ग्रासरुट फुटबल बचाउन लागिपर्ने । कुनै पनि किशोर खेलाडीले फुटबलको मज्जा लिँदै, रमाउँदै खेल्ने वातावरण बनाउन आवश्यक छ । यी कलिला खेलाडीको प्रदर्शन मूल्यांकन गरेर उनीहरूलाई दुव्र्यवहार गर्न वयस्कहरूलाई छुट छैन ।

पाइकको बुभाइमा कोभिड महामारीपछि अभिभावकहरू टचलाइनमा बढी आक्रामक हुन थालेका हुन् । यो चिट्चिटाहटलाई महामारीपछि सिर्जित विभिन्न कठिनाइसँग पनि जोड्न सकिन्छ । उसो त इङ्ल्यान्डको माथिल्लो स्तरको फुटबलमा दुव्र्यवहार बढेको छ । पाइक सेन्ट जेम्स रंगशालामा भएको एक खेलको उदाहरण दिन्छन् । ‘रेफ्रीलाई एक खेलाडीविरुद्ध फ्रिकिक दिएपछि ती खेलाडीले रेफ्री सही निर्णय नदिएको भन्दै व्यंग्यत्मक भाषाको प्रयोग गरे । लगत्तै दर्शकदीर्घाबाट रेफ्रीलक्षित नारा लाग्यो, यो रेफ्री हस्तमैथुन गर्छ ।’

हुन त दर्शकले यसो भन्नु खेलको हिस्सा हो । उनीहरू फरक फरक वाक्यको प्रयोग गरेर रेफ्रीलाई गिज्याउँछन् । सम्भवतः यसलाई आफ्नो टिमप्रतिको समर्थन र समर्थनले ल्याउने आवेग पनि मान्न सकिएला । ‘एकछिन मैले यो तर्क माने, तर रेफ्रीलाई त्यसरी गिज्याउने समर्थकहरूबीचमा १३ वर्षे किशोर पनि छ । जो पितासँग खेल हेर्न रंगशाला पुगेको छ,’ पाइक भन्छन्, ‘त्यो किशोरले आफ्नो पितासम्मिलित समूहले लगाइरहेको नारा सुन्छ । रेफ्रीलाई दुव्र्यवहार गर्ने खेलाडीलाई कार्ड नदिएको देख्छ । रंगशालाको पहरा दिइरहेका परिचारक, सुरक्षा गार्ड र प्रहरीले दर्शकलाई आपत्तिजनक नारा लगाउँदा पनि केही नगरेको देख्छ ।’

यसको असर के हुन्छ ? पाइक भन्छन्, ‘अब त्यही किशोर खेलाडीले ग्रासरुट फुटबलमा रेफ्रीको निर्णयविरूद्ध व्यंग्यत्मक टिप्पणी गर्छ र कार्ड खाएर मैदान छाड्न बाध्य हुन्छ । यहाँ उसले रातो कार्ड पाउनु स्वाभाविक हो, फुटबलको नियमअनुसार ।’

यहीबीचमा मैदानबाहिरबाट ती किशोर खेलाडीका पिता रेफ्रीलाई गाली गर्न थाल्छन् । ‘यी पिताहरू शनिबार प्रिमियर लिग वा अरू लिग हेर्न जान्छन् । मन लागेको जे पनि बोल्छन् । आइतबार बिहान उनीहरू छोरा लिएर ग्रासरुट फुटबलमा पुग्छन् । उनीहरूलाई लाग्छ आफू त्यही शनिबारको माहोलमा छु । र, यहाँ पनि जथाभावी बोल्न पाइन्छ,’ पाइक दिक्दारी व्यक्त गर्छन् ।

 नोर्थम्बरल्यान्डमा एक १६ वर्षे रेफ्रीलाई अभिभावक र खेलाडीले मैदानबाट लखेटेका थिए । ‘चेन्जिङ रुममा गएर ढोकाको चुक्कुल लगाएर नलुकेको भए ती रेफ्रीले पिटाइ खाने थिए ।

एन्ट कानाभान लिभरपुलको रंगशाला एनफिल्डमा ‘स्टेवार्ड’ का रूपमा कार्यरत छन् । तल्लो श्रेणीका लिगहरूमा उनी रेफ्री पनि हुन् । सामाजिक सन्जाल फेसबुकमा ‘रेफ्री फोरम ग्रुप’ सञ्चालन गर्ने उनी अभिभावकहरूको व्यवहार २० वर्षयता समस्याका रूपमा विद्यमान रहेको बताउँछन् । ‘कोभिडपछि उनीहरूको व्यवहार झन् बिग्रिएको भान हुन्छ । मानिसहरूको व्यवहारबारे प्रशस्त बहस हुने गरेको छ । विशेषगरी ग्रासरुट र युवा फुटबलमा त यस्तो व्यवहार धेरै नै बढेको छ,’ कानाभानको अनुभव छ ।

रेफ्री  एन्ट कानाभान ।

कानाभानका अनुसार ग्रासरूट फुटबलमा हुने गरेको दुव्र्यवहारको मुख्य कारण पिताहरू हुन् । आखिर किन ? ‘एउटा पिता कुनै समय आर्सनल वा प्रिमियर लिगको कुनै क्लबको ट्रायल दिन गएको हुन्छ । तर ऊ सफल हुँदैन । व्यावसायिक खेलाडी बन्ने उसको सपना पूरा हुँदैन । अब उसले आफ्नो सपना छोरामार्फत पूरा गर्न खोज्छ । यस्ता पिता धेरै छन् । उनीहरू आआफ्ना छोराहरूलाई सफल बनाउन हरसम्भव कोसिस गर्छन् । र, यही बीचमा उनीहरू कसरी व्यवहार गर्ने भनेर भुल्छन्,’ कानाभान भन्छन् ।

‘के उनीहरूलाई आफूले गलत गरिरहेको थाहा हुँदैन ? पक्कै थाहा हुन्छ । तर गर्न छाड्दैनन्,’ कानाभानको बुझाइ छ ।

कानाभानका अनुसार यस्तो व्यवहार क्रिकेट, रग्बी वा अरू खेलमा देखिँदैन । ‘ती खेलका ग्रासरुटमा अभिभावकहरू मुक्का हानाहान गरिरहेका हुँदैनन् । यस्तो फुटबलमा मात्र हुन्छ । लामो समयदेखि इङ्लिस फुटबलमा हुने गरेको उपद्रो, हुलदंगा सन् १९८० को दशकमा दबाइयो । तर, मान्छेमा दुव्र्यवहारको भावना अन्त्य भएको छैन । फेरि यो केवल फुटबलमा मात्र देखिन्छ, मानौँ यो इङ्लिस फुटबलको संस्कृति हो,’ कानाभान भन्छन् ।  

अभिभावकको दुव्र्यवहारका कारण खेल बीचमै रोकेको अनुभव पनि छ कानाभानसँग । ‘म शारीरिक रूपमा बलियो छु । ६ फिट ४ इन्च उचाइ भएको म अरूको दुव्र्यवहारले सजिलै डराउने खालको होइन । तर ती अभिभावकलाई लाग्छ यो रेफ्रीलाई थर्काउन सकिन्छ, निर्णय आफ्नो पक्षमा पार्न सकिन्छ,’ कानाभान अनुभव सुनाउँछन् ।

दुव्र्यवहार गरेको भए किशोर खेलाडीले प्रतिबन्धसम्मको कारबाही भोग्न सक्छ । तर, उसका अभिभावकलाई कारबाहीको भागिदार बनाउन सकिँदैन । किनभने अभिभावकलाई संघले खेलको सहभागी मान्दैन ।

तर, सबै रेफ्री कानाभान जस्ता बलिया, अग्ला हुँदैनन् । कोएट्सका अनुसार नोर्थम्बरल्यान्डमा एक १६ वर्षे रेफ्रीलाई अभिभावक र खेलाडीले मैदानबाट लखेटेका थिए । ‘चेन्जिङ रुममा गएर ढोकाको चुक्कुल लगाएर नलुकेको भए ती रेफ्रीले पिटाइ खाने थिए,’ कोएट्स घटनाको वर्णन गर्छन्, ‘कतिसम्म भने अभिभावकहरू रेफ्रीलाई चक्कु हान्ने धम्कीसम्म दिन्छन् । मेरो छोराविरूद्ध फाउल दिइस् भने तलाई कारपार्कमा ढुकेर चक्कु हान्छु भनिदिन्छन् ।’

यस्ता घटनाको प्रहरीमा उजुरी नहुने होइन । तर अभिभावकहरूलाई बिरलै कारबाही गरिन्छ । उता फुटबल संघले क्लबहरूलाई कारबाही गर्छ । दर्शक, खेलाडी, प्रशिक्षकलाई नियन्त्रणमा राख्न नसकेको भनेर संघले क्लबलाई जरिबाना गराउँछ । यसमा क्लबको तर्क हुन्छ, ‘मैदानबाट ७० यार्ड टाढा रहेका अभिभावकहरूलाई हामी कसरी रोक्न सक्छौं ?’ संघले अभिभावकलाई कारबाही गर्ने नियम छैन, यस्तोमा उसले गर्नसक्ने यत्ति हो, क्लबमाथि जरिबाना ।

स्थानीय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै एन्ट कानाभान ।

समस्या यही छ । दुव्र्यवहार गरेको भए किशोर खेलाडीले प्रतिबन्धसम्मको कारबाही भोग्न सक्छ । तर, उसका अभिभावकलाई कारबाहीको भागिदार बनाउन सकिँदैन । किनभने अभिभावकलाई संघले खेलको सहभागी मान्दैन । आखिर कारबाही कसले गर्ने त ? प्रहरीले,’ कोएट्सको जवाफ छ, ‘तर, सोमबार उजुरी गर्यो भने प्रहरी मंगलबार पनि आइपुग्दैनन् ।’

कोएट्सका अनुसार अभिभावकलाई पनि प्रतिबन्ध लगाउन सक्ने व्यवस्था नहुन्जेल समस्या समाधान हुनेवाला छैन । मैदान निजी जग्गामा भए त यसो गर्न सम्भव हुन्छ  । तर, सार्वजनिक जग्गामा बनाइएका मैदानमा कसैलाई नआइज भन्न सम्भव छैन ।

फुटबल जस्तो सुन्दर खेल खेल्न बच्चाहरू रमाउँछन् । तर, वयस्कहरूको दुव्र्यवहारका कारण उनीहरू आफूलाई मनपर्ने खेल खेल्न डराउन थालेका छन् ।

इङ्ल्यान्डका केही लिगमा अचेल रेफ्रीहरूलाई क्यामरा भिर्न लगाइन्छ । जुन क्यामरा प्रहरीले पनि प्रयोग गर्छन् । तर साना लिगमा यसो गर्न इङ्ल्यान्ड एफएले अनुमति दिएको छैन । यद्यपि परिचारक, स्वयंसेवकहरूले भने क्यामरा लगाएका हुन्छन् । कोएट्स आफैं पनि यस्तो ‘बडी क्याम’ लगाउँछन् । कुनै किशोर रेफ्रीलाई अभिभावकले गाली गर्न थाल्छन्, तब उनी त्यहाँ पुग्छन् । ताकि दुव्र्यवहारको प्रमाण बटुल्न सकियोस् ।

‘म आफ्नो कोट फुकालेर दुव्र्यवहार गरिरहेका दर्शकको भीडमा पुग्छु । त्यहाँ दुव्र्यवहार गरिरहेका अभिभावकको खेलाडी छोरा पत्याएर उनको खेलको आलोचना गर्छु । त्यसो गर्दा ती अभिभावक मेरो छोरालाई किन दुव्र्यवहार गरेको भनेर सोध्छन् । म जवाफमा रेफ्रीमाथि तिमी अघिदेखि के गरिरहेका छौं भनेर भनेपछि उनी चुप लाग्छन्,’ कोएट्स आफ्नो अनुभव सुनाउँछन् ।

फुटबल जस्तो सुन्दर खेल खेल्न बच्चाहरू रमाउँछन् । तर, वयस्कहरूको दुव्र्यवहारका कारण उनीहरू आफूलाई मनपर्ने खेल खेल्न डराउन थालेका छन् ।

अब कोरम्स फिल्ड्समा दोस्रो हाफको खेल सुरु भएको छ । पहिलो हाफमा चिच्याइरहेका ती पिता अहिले पनि चुप लागेका छैनन् । ‘मिडफिल्डमा खेल्ने त्यो फुच्चे को हो ? किन आफ्नो पोजिसन छाडेको छाड्यै गरेको ?,’ उनी प्रश्न गर्दैछन् । 

(द गार्डियानमा साम वालस्टनले लेखेको रिपोर्टको भावअनुवाद।)