काठमाडौं । घरेलु लिग लगातार दोस्रो वर्ष नहुँदा ‘वर्ष २०८१’ मोफसलमय बन्यो । देशमा लिग नहुँदा खेलाडी जोखिम मोलेरै भए पनि दिन बिराएर मोफसलका प्रतियोगिता खेल्न बाध्य भए । शीर्ष डिभिजनका क्लबहरू पनि मोफसल प्रतियोगिताबाटै आफ्नो आर्थिक जोहो गर्नमै व्यस्त रहे ।
पछिल्लो ६ महिना करिब दुई दर्जन मोफसल प्रतियोगिता सम्पन्न भए । एन्फाले भद्रगोल व्यवस्थापनले गर्दा कात्तिकदेखि सुरु भएको मोफसल सिजन अस्तव्यस्त बन्न पुग्यो । यही कारण गर्विलो इतिहास बोकेका दुई छुट्टा छुट्टै मोफसल प्रतियोगिताको मिति जुध्न पुग्यो । जसको प्रत्यक्ष असर क्लब र खेलाडीलाई परेको थियो । प्रतियोगिताहरू जुध्दा क्लबहरूले दुई भिन्नाभिन्नै टोली मैदान उतार्नुपरेको थियो ।
एक वर्षभित्र चर्च ब्वाइजले मात्र आधा दर्जन उपाधि हासिल गर्यो ।
मोफसलमा यसपालि पछिल्लो एक दशक नेपाली फुटबलमा उदाएका चर्च ब्वाइज र मछिन्द्र सक्रिय रहँदा गर्विलो इतिहास बोकेका क्लबहरू मनाङ मर्स्याङ्दी र थ्री स्टारको सक्रियता त्यति प्रभावकारी देखिएन ।

यो वर्ष थ्री स्टारले आफूलाई केही प्रतियोगितामा सीमित गर्दा मनाङ भने गुमनाम नै रह्यो । पछिल्ला केही वर्षयता पहिले जस्तो मोफसलका प्रतियोगितामा नदेखिए पनि मनाङले आहा-रारा पोखरा गोल्डकपमा भने सहभागिता जनाउने गरेको थियो । टोलीले यसपालि यो प्रतियोगितामा पनि सहभागिता जनाउने इच्छा देखाएन । सायद मनाङले मोफसलका कुनै पनि प्रतियोगितामा सहभागिता नजनाएको यो नै पहिलो पटक हो ।
घरेलु फुटबलका चर्चित अनुहार समेटिएका दुई क्लब चर्च ब्वाइज र एनआरटीले यसपालि अधिकांश उपाधि आफ्नो पोल्टामा पार्यो । एक वर्षभित्र चर्च ब्वाइजले मात्र आधा दर्जन उपाधि हासिल गर्यो । २४औं आहा रारा गोल्डकपको उपाधि पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जित्दा बुढासुब्बा गोल्डकपमा एनआरटी च्याम्पियन बन्यो । चर्च ब्वाइजले तिलोत्तमा, मेचीनगरसँगै अन्य चार उपाधि हासिल गर्यो । राजधानीमा आयोजित सभापति कपमा संकटा च्याम्पियन बन्दा केपी ओली कपमा मछिन्द्रले आफ्नो रवाफ कायम राख्यो । केपी ओली कपले तीन संस्करण पार गर्दा मछिन्द्रले तीनै पटक उपाधि उचालेको छ । केपी ओलीपछि दशरथ रंगशालामा फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजन चलिरहेको छ ।
एन्फाले गत साता मात्र एपिएफ र खुमलटार दुवैलाई समेट्दै वर्ष २०८२ को सुरुआती महिनामा लिगकम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।

डिभिजन फुटबलको ‘साइकल’ पूरा भइनसक्दा एन्फाले शीर्ष डिभिजन लिग यस वर्ष पनि गर्न सकेन । २०८० को चैत महिनाबाट सुरु भएको ‘सी’ डिभिजन लिग २०८१ को जैठमा समापन भयो । शीर्ष स्थानमा रहँदै सर्लाहीको बागमती युवा क्लब र दोस्रो स्थानमा रहँदै सुर्खेतको आरसी ३२ क्लब ‘बी’ डिभिजनमा उक्लियो । फागुन २५ बाट सुरु भएको ‘बी’ डिभिजन लिग मध्यभागमा आइपुग्दा डिभिजन फुटबलको ‘साइकल’ पूरा हुने अनुमान गर्न सकिन्छ । यो सँगै एन्फासँग अब शीर्ष डिभिजन लिग नगर्ने बहाना रहने छैन ।
तर, यसो भनिरहँदा शीर्ष डिभिजन लिग वर्ष २०८२ मा पनि हुने सम्भावना न्यून छ । किनभने एन्फा पछिल्लो लिगको मुद्दा सुल्झाउन सकिरहेको छैन । २०८० को जेठमा सम्पन्न लिगबाट अंकका आधारमा विभागीय टोली एपिएफ क्लब र खुमलटार एफसी रेलिगेसनमा परेका थिए । तर, अन्तिम खेलमा आएर रेलिगेसन टारेको थ्रीस्टार क्लबले अवैधानिक खेलाडी खेलाएको भन्दै एपिएफले दुई वर्षअघि हालेको उजुरीमाथि एन्फाले निर्णय गरिसकेको छैन । जसका कारण एपिएफ र थ्रीस्टारमध्ये कसले शीर्ष डिभिजनको हैसियत गुमाउने भन्ने टुंगो लागिसकेको छैन ।

फेरि एन्फाले गत साता मात्र एपिएफ र खुमलटार दुवैलाई समेट्दै वर्ष २०८२ को सुरुआती महिनामा लिगकम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्दैछ । वैशाख २० देखि सुरु हुने प्रतियोगिता विजेताले एफसी क्लब च्याम्पियनसिप २०२५-२६ सिजनमा सहभागिता जनाउने बताइएको छ । यसबाट के थाहा हुन्छ भने एन्फा यो वर्ष पनि लिग गर्ने मनसायमा छैन ।