विश्वकप छनोटको ‘अवे’ खेलमा नेपाल ९-० को फराकिलो अन्तरले पराजित भएको थियो । जोर्डनमा ठूलो अन्तरले पराजित भएपछि टिममा स्वभाविक रूपमा हलचल मच्चियो ।
खेलाडी तथा अफिसियल नेपालमा कसरी मुख देखाउने ? समर्थकले के भन्लान ? विमानस्थलबाटै गालीको वर्षा खेप्नुपर्ने होला । जस्ता कुरा मनमा खेलाउँदै घरेलु खेलका लागि स्वदेश फर्कियो ।
एक सातापछि नै नेपालले पुनः उही टोलीसँग खेल्नुपर्ने थियो । अव भने घरेलु मैदानमा खेल्न पाउने भएकाले एकखालको फाइदामा टिम थियो । घरेलु खेलमा प्रत्येक टिमसँग फाइदासँगै दबाब पनि हुने गर्छ । खासगरी फुटबल अत्यन्तै लोकप्रिय भएको देशमा अवे खेलमा त्यति पिडादायी पराजय भोगिसकेको अवस्थामा चाँही नेपालजस्तो ‘अन्डरडग’ टिमले घरेलु खेलको फाइदा उठाउने भन्दा झन् बढि दबाब सामना गर्ने सम्भावना रहन्छ ।
साउने झरीको मौसममा अत्याधिक वर्षाका कारण दशरथ रंगशालाको मैदान भैसी आहाल बस्ने जस्तो हिलाम्मे थियो । अघिल्लो ‘लेग’ मा ९ गोल खाएपछि समर्थकबाट साथ नपाउने मनोदशा टिमका प्रत्येक खेलाडीको मानसपटलमा थियो ।
तर, रंगशालाको दृष्य अनुमान गरिएभन्दा ठीक विपरित रह्यो । एसियाली फुटबलको महारथी जोर्डनविरुद्धको खेल हेर्न आएका घरेलु दर्शकले दशरथ रंगशालाको प्यारापिट खचाखच भयो ।
समर्थकले १२औं खेलाडीको भूमिका निर्वाह गर्दै असाधारण साथ दिए पनि नेपाल पछि पर्यो । घरेलु खेलमा पनि जोर्डनले नै गोलको खाता खोल्यो । नेपाल १-० ले पछि पर्यो ।
सुविधाहिन मैदानमा खेल्न अभिसप्त हुनुको पनि कहिलेकाँही फाइदा पुग्ने गर्छ । हो, नेपाली टोली हिलो मैदानमा खेल्न जति अभिसप्त थियो, त्यतिनै अनुभवी पनि । त्यसैले होला दशरथ रंगशालाको हिलाम्मे मैदानमा गोल खाए पनि नेपालले खेल आफ्नै पकडमा राखेको थियो ।
त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवास राष्ट्रिय टोलीमा भर्खरै स्थापित हुँदै गरेका युवा खेलाडी थिए । अखिल नेपाल फुटबल संघको एन्फा एकेडेमीका उत्पादन भरतमा प्रतिभा र क्षमता प्रचुर थियो । मौका पाउनुमात्र पर्थ्यो, उनी जस्तोसुकै कठिन परिस्थितीमा पाएका अवसरलाई पनि गोलमा परिणत गर्न सक्षम थिए ।
सानो कद भए पनि शारिरीक फुटबल खेल्न सक्ने भरतको तीव्र गति नेपाली टिमको अर्को सबल पक्ष थियो । त्यसैले त पहिलो लेगमा अत्यन्तै निराशाजक हार भोगेको नेपाललाई घरेलु लेगमा बराबरीको सम्मानजनक नतिजा दिलाउन भरत सफल भए ।
दोस्रो हाफमा भरतले सनसनीपूर्ण गोल गर्दै नेपाललाई त्यो सम्मानजनक नतिजाको हकदार बनाएका थिए । सन्दीप राईको फ्रि-किकमा फरवार्ड सन्तोष साहुखलले दायाँ विंगबाट मिलाएको पासलाई पेनाल्टी बक्स भित्रबाट भरतले उत्कृष्ट फिनिसिङ गरे ।
‘पहिलो खेलमा ९ गोल खायौं । नेपालनै नजाने कि, कसरी मुख देखाउँने ? मान्छेले के भन्ने हुन् ? भन्ने लाग्थ्यो । एयरपोर्टबाटै गाली खान सुरु हुने डर थियो । फेरि एक हप्तापछि खेल थियो । पानी परिरहेको थियो,’ भरत त्यतिबेलाको मनोदशा सम्झन्छन्, ‘नौ गोल खाएर आएको, मान्छे हेर्न आउँदैनन् कि भन्ने भन्ने थियो । तर त्यति ठूलो झरी पर्दा पनि समर्थक हरू टोलीको हौसला बढाउन आउनु भयो । म बेन्चमै थिएँ । प्रशिक्षकले पछि मलाई छिराउँनु भयो । सन्दीप राईको फ्रि-किकमा सन्तोष दाईले ‘कट ब्याक’ गर्दिनु भयो । त्यसपछि गोल भयो ।’
जोर्डनविरुद्धको त्यो घरेलु खेल नेपाली फुटबल इतिहासकै ‘हाइलाइट्स’मध्येको एक हो । अनि, भरतका लागि त त्योभन्दा बढि ।
त्यसो त! भरतको करियरमाथि चर्चा गर्दा सम्झनै पर्ने यस्ता थुप्रै सफलताका क्षणहरू छन् । एएफसी च्यालेन्ज कप २०१४ को छनोट प्रतियोगिताको पहिलो चरणमा नर्दन मारियाना आइल्यान्डमाथि ६-० को जित हासिल गर्दा भरतको नाममा ह्याट्रिक दर्ता भएको थियो । नेपाली फुटबलको इतिहासमा ह्याट्रिक अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने उनी चौथो स्ट्राइकर हुन् । उनीअघि गणेश थापा, नरेश जोशी र निराजन रायामाझीले मात्र यस्तो सफलतामा नाम लेखाएका थिए ।
मोरङको हरैँचा गाउँबाट अन्तर्राष्ट्रिय स्तरसम्म फुटबल करियर पुर्याउने क्रममा भरतले गरेका संघर्षको कथा पनि कम्ति रोचक छैन ।
नेपाली फुटबलका स्टार भरतले हरैचाको थारु गाउँमा अन्य बालकझै मोजाको बल खेलेर फुटबलसँगको साइनो सुरु गरेका थिए । कमजोर आर्थिक अवस्थाको परिवारमा जन्मिएका भरतको दैनिकी बिहान घाँस काटेर सुरु हुन्थ्यो । त्यसपछि हतार हतार स्कुल जानुपथ्र्यो ।
स्कुल पुगेपछि मध्यान्तरको खाजा समय उनको फुटबल यात्राका लागि महत्वपूर्ण हुन्थ्यो । ४५ मिनेटको त्यो ब्रेक अरु साथीहरूका लागि गफिने समय थियो । भरतका लागि भने आफूजस्तै फुटबल रुचाउनेहरूसँग खेल्ने । मध्यान्तरमा खेल्ने गरेको फुटबल बिस्तारै उनको दैनिकीको सबभन्दा महत्वपूर्ण र प्रिय हिस्सा बन्न थाल्यो । थाहै नपाइकन फुटबल भरतको लागि ‘लत’ बन्यो ।
भरतलाई समय ठ्याक्कै थाहा छैन । उनका काकाहरू उत्तर खवास, राम खवास र प्रदीप खवास ‘ग्यालेक्सी टिम’बाट फुटबल खेल्न थालेका थिए । गाउँ र स्कुले फुटबलमा राम्रै हथौडी भएका भतिजालाई उनीहरूले खेल्नकै लागि काठमाडौं झिकाउने प्रयास गरे । छनोटका लागि विराटनगर लगियो । एक दिन गएको भरमा छनोट हुने कुरा भएन । समय समयमा गइरहनुपर्ने पर्ने ।
छनोटमा भाग लिन नियमित विराटनगर जान चढ्नुपर्ने गाडी भरतका लागि खेल्नुभन्दा निक्कै गाह्रो काम थियो । गाडीमा यात्रा गर्नु भरतको सबभन्दा अप्रिय काम थियो । किनभने गाडी चढ्यो की उनलाई बान्ता आइहाल्ने । त्यो समस्या अझै पनि उनले झेल्नुपर्छ । त्यसैले उनलाई नियमित विराटनगर लाने र ल्याउने काम उनका बुबाले आफै गरे । बिहानै छोरालाई लिएर मैदान पुग्ने, दिनभर छोराको खेल हेर्ने र साँझ छोरा लिएर घर फर्किने उनका बुबाको दैनिकी पनि फुटबलमय बन्यो ।
पिताको त्यही साथ पाएका कारण त भरत आज यहाँ छन् । नेपालको सपुत बनेका छन् र शानका साथ भन्छन्, ‘मेरा बुबा महान् ।’
खवास बाबुछोराको मिहिनेत खेर गएन । भरतले विराटनगरको १८ सदस्यीय टोलीमा स्थान बनाए । त्यही टोली केन्द्रीय छनोटका लागि काठमाडौं आउने भयो । देशभरबाट आएका आफूजस्तै १० हजार बाल खेलाडीको बीचमा अब्बल कला प्रस्तुत गर्न सकेकैले पहिलो पटक सातदोबाटोको एन्फा कम्प्लेक्स देखेका भरत त्यही समय भरत एन्फा एकेडेमीका लागि छानिए ।
काठमाडौं आउँदाको कथा पनि कम रोचक छैन । बुबा आउन नपाउने । यति टाढा आएर कहाँ बस्ने, के गर्ने ? अब, भरतलाई फेरी बान्ता आउने डर । काठमाडौंमा पहिलो पटक पाइला टेक्दा भरतले यात्राकै दौरान १२ पटक बान्ता गरेका थिए ।
काठमाडौं प्रवेश गरेपछि भरत सुन्धारामा बसे । एक हप्ता यतै बिताए । सुरुमा एन्फा एकेडेमीमा छानिन आएका आफूजस्तै १० प्रतिस्पर्धीलाई देखेर उनी तर्सिएका थिए । ‘यति धेरै प्रतिस्पर्धीलाई उछिनेर कसरी अगाडी बढ्ने’ भन्ने उनलाई लागिरहन्थ्यो ।
‘देशभरबाट छनोटका लागि आएका खेलाडी देख्दा आशा मरिसकेको थियो । नसकिने भयो जस्तो लाग्यो । मलाई नै थाहा छैन, कसरी छनोट भएँ भनेर । धेरै कुरा बुझ्ने उमेर पनि थिएन,’ अहिले ३० वर्ष पुगेका भरत सम्झन्छन्, ‘सायद यो बच्चा ऊर्जावान छ, मिहिनेती छ । यसले राम्रो गर्छ भनेर एन्फाको छनोट कमिटीले लिनु भयो होला । म १० हजारको भिडबाट छानिएका ७८ भित्र परेँ ।’
भरतको ब्याचमा छानिएका खेलाडीमध्ये एन्फाले काठमाडौं, धरान र पोखरामा २६/२६ जनालाई राख्यो । १० वर्ष मुनिको उमेर समूहमा छनोट भएका भरतको नाम पोखराको लिटल स्कुलमा पर्याे ।
भरत १ वर्ष पोखरामा बसे । पोखराको एकेडेमीको व्यवस्थापन राम्रो नभएपछि भरत सहितको टोलीलाई काठमाडौं ल्याइयो । काठमाडौंमा भरतको टोलीले ल्याब स्कुलबाट खेल्यो ।
यसपछि एन्फाले ‘सुब्रतो कप’ खेल्ने युवा टोलीलाई भारत लैजाने भयो । यतिबेला सम्म ‘ग्यालेक्सी स्कुल’ ले सुब्रतो कपमा सहभागिता जनाउँथ्यो । यस पटकबाट एन्फाले आफ्ना एकेडेमीबाट खेलाडी छनोट गरेर प्रतियागितामा लैजाने भयो ।
भरतले १४ वर्ष मुनिको उमेर समूहमा एक पटक र दुई पटक १७ वर्ष मुनिको उमेर समूहमा रहेर सुब्रतो मुखर्जी कप खेले । उनी सहभागी भएको तीन पटक नै नेपाली युवा टोलीले उपाधि जित्यो । १४ वर्ष मुनिको टोलीबाट खेल्दा सात गोलका साथ भरत नै सर्वाधिक गोलकर्ता बनेका थिए ।
उमेर समूहका सबै राष्ट्रिय टोलीबाट मुख्य खेलाडीका रूपमा खेलेका भरत उमेरअनुसार १२ वर्ष, १४ वर्ष, १६ वर्ष, १७ वर्ष, १९ वर्ष, २२ वर्ष र २३ वर्ष मुनिको राष्ट्रिय टोलीका मुख्य हिस्सा थिए । यसक्रममा उनले २२ वर्ष मुनिको राष्ट्रिय टोलीलाई कप्तानको रूपमा नेतृत्व पनि गरे ।
व्यावसायिक फुटबलमा पनि भरत नेपालका सफल खेलाडी हुन् । घरेलु सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोलको कोसेढुंगा छुने अत्यन्तै थोरै खेलाडीमध्येका एक भरतले संकटा क्लबबाट शीर्ष डिभिजनको उडान भरेका थिए ।
एन्फा एकेडेमीको बसाईपछि १८ वर्षको उमेरमा भरतले व्यवसायिक फुटबल करियर सुरु गरेका थिए । एन्फाले एकेडेमीका १६ खेलाडीलाई एकसाथ संकटालाई बेचेको थियो ।
भरत ९० हजार रूपैयाँ पारिश्रमिकमा संकटाबाट शीर्ष डिभिजनको लिग खेल्ने भए । २०६३ सालमा संकटाबाट लिग खेल्दा ४ गोल गरेका किशोर खेलाडीमाथि विभागीय टिम पुलिसको आँखा पर्यो । यसपछि पुलिस पुगे । तर, करारमा खेल्नुपर्ने र स्थायी जागिर नहुने भएपछि उनलाई पुलिसले लोभ्याउन सकेन ।
भरत कुपन्डोलको फ्रेण्ड्स क्लबतर्फ लागे । ०६४-६५ सालको लिगमा फ्रेन्ड्सबाट खेले । एक सिजन फ्रेण्ड्सबाट खेलेपछि उनी फेरी पुलिस क्लबमै फर्किए । अब, भने पुलिसले जागिर दिने भयो । पुलिसबाट खेल्दा एक पटक सहिद स्मारक लिग र राष्ट्रिय लिगको उपाधि जितेका भरत दुवै प्रतियोगितामा सर्वाधिक गोल गर्दै उत्कृष्ट फरवार्ड घोषित भएका थिए ।
०६८ सालको अन्त्यतिर भरतले प्रहरी सहायक निरिक्षक (असई)मा प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय टोलीमा एउटा स्टारका रूपमा स्थापित भइसकेका भरतलाई असईको परीक्षामा सफलता मिलेन । जसका कारण पुलिसप्रति उनको मोह टुट्यो । असईमा नाम ननिस्किए पनि पुलिसको टोलीबाट मासिक ६० हजार रूपैयाँ पारिश्रमिकमा लिग खेल्न प्रस्ताव आयो । भरत त्यसको पछि लागेनन् ।
सुरक्षा फौजप्रति विशेष मोह भएका भरत पुलिसको परीक्षामा असफल भएपछि आर्मीको अफिसर क्याडेट (अधिकृत) मा भिडे । नाम पनि निकाले । यसयता भरत आर्मीबाट लगातार घरेलु फुटबल खेल्दै आएका छन् । र, एएफसीको लाइसेन्स पाउने पहिलो नेपाली टोली आर्मीका कप्तान हुन्, भरत ।
भरतले ०६५ सालमा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका भरतले ‘फर्स्ट टच’ मै गोल गरेर सनसनी मच्चाएका थिए । पोखरामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा प्रदीप महर्जनको स्थानमा मैदान छिर्दै भरतले ‘फष्ट टच’ मै गोल गरेका थिए । त्यस यता, भरतले नेपाली टोलीबाट आफूलाई निरन्तरता दिरहेका छन् ।
त्यतिबेला विराज महर्जन, किरण चेम्जोङ, विकाससिंह क्षेत्री र भरतले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । चार खेलाडीमा ‘डेब्यू’को पहिलो मौका भरतले नै पाए ।
भरतले राष्ट्रिय टोलीबाट ४७ खेल खेलिसकेका छन् । यसक्रममा उनको अन्तर्राष्ट्रिय गोलसंख्या १० पुगेको छ । नेपालका लागि सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान पूर्व कप्तानद्वय हरि खड्का र निराजन रायामाझीको नाममा छ ।
यहि ह्याट्रिकपछि भरतलाई विदेशी लिग खेल्न प्रस्ताव आएको थियो । टोलीबाट खेल्ने सबै मेसो मिलिसकेको अवस्थामा अन्तिम समय भरतले माल्टाको शीर्ष डिभिजन लिग खेल्ने अवसर गुमाए ।
‘मलाई माल्टामा अवसर आएको थियो । माल्टाको भिक्टोरिया क्लबबाट प्रस्ताव थियो । ट्रायल पनि दिनुपर्ने । त्यतिबेला महिनाको नेपाली ४ लाख दिने कुरा थियो । त्यो अवसर राष्ट्रिय टोलीका तत्कालिन प्रशिक्षक ग्राहम रोबर्टले मिलाइदिनु भएको थियो । गाडी र बस्ने कुरासमेत सबै पक्का थियो । एएफसी च्यालेन्ज कप भएर त्यो अवसर खेर गयो ।’
भरतले पछिल्लो पटक नेपालमै आयोजना भएको थ्री नेसन्स कप खेले । त्यस यता, चोटका कारण टोलीबाहिर रहँदै आएका छन् । थ्री नेसन्स कपपछि भएको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) क्रममा एफसी चितवनमा आवद्ध भएका कप्तान भरतलाई ह्यामस्ट्रिङ समस्याले दुख दिइरहेको छ । जसका कारण भरत करिब नौ महिना मैदानमा उत्रन सकेनन् । अभ्यासमा फर्कन्थे तर फेरि चोट बल्झिन्थ्यो ।
उपत्यकामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भरतले आर्मीलाई पहिलो पटक उपाधि जिताउने अभियानमा उनी कप्तानका रूपमा टोलीको नेतृत्व गरिरहेका छन् ।
साविक उपविजेता आर्मीसँगै भरतका लागि पनि जारी लिग आफ्नो स्तर प्रमाणित गर्ने अवसर हो । चोटबाट फर्किएपछि भर्खर लय समाउने प्रयासमा रहेका भरतलाई लिगमा उच्च प्रदर्शन गर्दै युवा खेलाडीले भरिएको राष्ट्रिय टोलीमा पुनरागमन गर्नुपर्ने अर्काे चुनौतीपूर्ण काम छ । जुन चुनौती सामना गर्न आर्मी संस्था र भरत तयार छन् ।
‘पछिल्लो पटक नजिक पुगेर पनि हामी च्याम्पियन बन्न सकेनौं । यसपाली हामी सबैलाई गल्ती सुधार गर्दै उपाधि जित्ने मौका छ । मेरो व्यक्तिगत र अन्य खेलाडीको प्रदर्शन सेनाको लागि निकै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘यो लिग मेरो लागिसमेत देखाउने अवसर हो । लिगमा राम्रो गरे राष्ट्रिय टोलीमा पर्छु । मेरो खेलको भविष्य लिगको प्रदर्शनमा निर्भर गर्छ । लिगमा राम्रो गर्दै टोलीमा स्थान बनाउन चाहन्छु ।’