काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा भुटानी प्रशिक्षक निकोला डेमिनले भनेकी थिइन्, ‘हामीले प्रतियोगिताका लागि तयारी सुरु गरेको ९ महिना भइसक्यो । मैले भुटानको फुटबल संस्कृतिबारे नजिकबाट बुझ्ने प्रयास गरेको छु । हाम्रो लक्ष्य भनेको उत्कृष्ट खेलेर सेमिफाइनल प्रवेश गर्नु हो ।’
भुटानको समूह ‘बी’ अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालसँग खेलेको थियो । खेल हुनुअघि डेमिन बोलिन्, ‘यो खेलमा दबाब नेपाललाई हुनेछ, किनभने नेपाल घरमा खेल्दै छ ।’
डेमिन आत्मविश्वासी थिइन् । तर, कागजमा हेर्ने हो भने नेपाल खेलका लागि निर्विकल्प दाबेदार थियो । त्यस्तो किन ? नेपाल भुटानविरुद्ध त्यस खेलअघि साफ च्याम्पियनसिपमा चार पटक खेलेको थियो । यी चार खेलमा नेपालले भुटानको पोस्टमा २३ गोल गरेको थियो । जहाँ ८-० को विजय नतिजा दुई पटक सम्भव भएको थियो । भुटानले भने नेपालविरुद्ध एक गोल पनि गर्न सकेको थिएन/ छैन ।
यसपालि डेमिनले भनेजस्तै भयो । नेपालले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । जसका कारण साफ च्याम्पियनसिप इतिहासमै नेपालले भुटानसँग बराबरी खेल्नुपर्यो ।
सेमिफाइनलमा अघिल्लो संस्करणमा नेपालले भारत र भुटानले बंगलादेशविरुद्ध खेलेको थियो । यसपालि पनि यही समीकरण तयार भएको छ । दुवै सेमिफाइनल आइतबार हुनेछ ।
यिनै दुई टोलीले समूह ‘बी’ बाट अन्तिम चारमा स्थान बनाए । नेपालविरुद्धको खेलपछि डेमिनले फेरि प्रतिक्रिया दिइन्, ‘अबको हाम्रो लक्ष्य भनेको बाँकी टोली श्रीलंका र माल्दिभ्सविरुद्ध बढीभन्दा बढी गोल गर्ने अनि सेमिफाइनल समीकरण सहज बनाउने ।’
डेमिनले बोल्न मात्र बोलिनन्, गरेरै देखाइन् । दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले निराश पारेको भुटान तेस्रो खेलमा माल्दिभ्समाथि १३-० को जित हासिल गर्न सफल रह्यो । जसको मतलब भुटानले तीन खेलमा ७ अंक जोड्यो ।
समूह ‘बी’ को अन्तिम खेल नेपालविरुद्ध श्रीलंकाको थियो । यो खेलको निर्धारित समयसम्म पनि भुटान शीर्षस्थानमा थियो । जतिबेलासम्म नेपाल ५-० ले अगाडि थियो । तर, अन्त्यमा नेपाल एक गोल थप्दै शीर्षस्थानमा उक्लियो । भएको के थियो ?नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले पराजित गरेको थियो । भुटानले तेस्रो खेलमा माल्दिभ्सविरुद्ध फराकिलो अन्तरको जित हासिल गरेसँगै नेपालमाथि दबाब थपिएको थियो । नेपालले शीर्षस्थानमा रहेर अन्तिम चारमा प्रवेश गर्नु थियो भने अन्तिम खेलमा श्रीलंकालाई कम्तीमा पनि ६ गोल अन्तरले हाराउनुपर्ने स्थिति सिर्जना भयो । श्रीलंकाविरुद्ध नेपालले निर्धारित समयसम्म ५ गोलमात्र गर्न सक्यो । ५ गोलपछि लामो समयसम्म गोल नै निस्केको थिएन । इन्जुरी समयमा फरवार्ड रश्मिकुमारी घिसिङको हेडर गोलमार्फत नेपालले आफ्नो इज्जत जोगायो र समूह विजेता बन्यो ।
नेपालसँगको हारसँगै श्रीलंकाको यात्रामा पूर्णविराम लाग्यो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको श्रीलंकाले नेपाललाई हराउन सक्थ्यो भने सेमिफाइनलमा प्रवेश गथ्र्यो र पाँच पटकको उपविजेता नेपाल प्रतियोगिताबाट बाहिरिन्थ्यो ।
लगातार दुई संस्करण सेमिफाइनल पुगेको भुटानले साफ च्याम्पियनसिप इतिहासमा विपक्षी टोलीलाई यत्तिको दबाब दिन सकेको यो पहिलो पटक हो । भुटानले इतिहासमै पहिलो पटक अपराजित रहेर समूह चरण टुंग्याएको छ । अनि माल्दिभ्सविरुद्धको त्यो फराकिलो अन्तरको जित भुटानी फुटबलमै सबैभन्दा बढी गोल अन्तरको जित रह्यो । त्यसैले नेपालको नजर उपाधि हो, त्यसमा कुनै शंका छैन । भुटानको पनि लक्ष्य त्यही नै हुनेछ ।
माल्दिभ्सविरुद्धको खेलपछि डेमिनको त्यो प्रतिक्रियाले पनि प्रस्ट हुन्छ, उनीहरू पनि उपाधिका लागि भोकाएका छन् । उनले भनेकी थिइन्, ‘म भुटानी महिला फुटबलको स्तर माथि आएको छ भनेर दाबी त गर्न सक्दिनँ, किनभने मैले भुटानी फुटबल सम्हालेको धेरै भएको छैन । तर, हामी राम्रो फुटबल खेल्न सक्ने टोली भएका छौं । भुटान सेमिफाइनललाई तयार छ ।’
सेमिफाइनलमा अघिल्लो संस्करणमा नेपालले भारत र भुटानले बंगलादेशविरुद्ध खेलेको थियो । यसपालि पनि यही समीकरण तयार भएको छ । दुवै सेमिफाइनल आइतबार हुनेछ ।