महिला-भेट्रान पुरुष खेलाडी मैत्री खेलः रेनुकाको जस्तो स्थिति दोहोरिएको भए जवाफदेही को ?

काठमाडौं । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा शुक्रबार नेपाली राष्ट्रिय महिला टोलीले भेट्रान पुरुष खेलाडी टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्यो ।

लेबनानको बेरुतमा जुलाई ८ देखि हुने चार देशसम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेको नेपाली महिला टोली भेट्रान टोलीसँग ३-१ ले पराजित भएको छ ।

पुरुष भेट्रान खेलाडीसँग महिला खेलाडीले हार बेहोर्नु स्वाभाविक हो । तर, यहाँ विषय कस्ले जित्यो, कस्ले हार्यो भन्ने होइन । कुरा हो, फुटबलको नियामक निकाय एन्फाको चरम लापरबाही ।

नेपाली महिला टोलीले गत वर्षको फागुनमा वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । साउदी अरेबियामा भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । जतिबेला नेपाली खेलाडीहरूले विश्वभरबाट प्रशंसा बटुलेको थियो । फाइनलमा बलियो टोली जोर्डनसँग टाइब्रेकरसम्म पुगेको नेपाल अन्तिम पेनाल्टी अवसरमा चुकेको थियो ।

त्यतिबेला खेलाडीको एउटै गुनासो थियो । उनीहरू भन्थे, ‘हामीले कुनै पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलविना नै यो प्रतियोगिता खेल्नुपर्यो । सायद केही मैत्रीपूर्ण खेलको एक्सपोजर पाएको भए हामीले अझ बलियो चुनौती प्रस्तुत गर्न सक्थ्यौं ।’

अहिले नेपाली टोली अर्को प्रतियोगिता खेल्न जाँदै छ । प्रतियोगिता आउन २० दिनभन्दा कमको समय बाँकी छ । यो समय हो नेपाली टोलीले केही अन्तर्राष्ट्रिय एक्सपोजर पाउने । तर, सातदोबाटोमा शुक्रबार जे देखियो, त्यसले नेपाली फुटबलको लापरबाही छर्लङ्ग पारिदिएको छ ।

महिला शारीरिक रूपमा पुरुषभन्दा कमजोर हुन्छन् । यसरी अनावश्यक मैत्रीपूर्ण खेल खेलाइँदा खेलाडीहरू घाइते हुने सम्भावना प्रबल हुन्छ । यस्तोमा एन्फाले यी दुई टोलीबीच मैत्रीपूर्ण खेल खेलाउनु कत्तिको सही हो ? प्रश्न त्यत्तिकै उठेको होइन ।

दुई वर्षअघि मात्र नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको छैटौं संस्कणको आयोजना गरेको थियो । त्यतिबेला पनि साफकै तयारीका लागि भनेर एन्फाले महिला टोली र भेट्रान खेलाडीबीच मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो । उक्त खेलमा कप्तान रेनुका नगरकोटे घाइते हुन पुगिन् । उनले घरेलु मैदानमा भएको साफ च्याम्पियनसिप गुमाइन् । जसको प्रत्यक्ष असर उपाधि दाबेदार नेपाली टोलीमा परेको यथार्थ छ ।

चार पटकको उपविजेता नेपाल छैंटौं प्रयासमा उपाधि घर ल्याउने लक्ष्यका साथ मैदान उत्रिएको थियो । तर, सेमिफाइनलमा भारतलाई हराएको नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले निराश बन्यो । सायद रेनुका घाइते नभएकी भए कथा अर्कै हुन सक्थ्यो कि ?

शुक्रबार सातदोबाटोमा पनि दुई वर्षअघिको घटना दोहोरिन सक्थ्यो । धन्न, त्यस्तो नराम्रो घटना घटेन । पुरुष राष्ट्रिय टोली अन्तर्राष्ट्रिय खेलको तयारीमा रहँदा विभागीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ । तर, महिलाको सन्दर्भमा यो सम्भव छैन । किनभने महिला टोलीमा अधिकांश खेलाडी विभागकै छन् । जसले गर्दा विभाग र महिला टोलीबीच मैत्रीपूर्ण खेल सम्भव छैन ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङ भने खेलाडीको स्तर मापन गर्न मैत्रीपूर्ण खेल खेलेको तर्क दिन्छन् ।

‘हामीले खेलाडीलाई प्रतियोगिताअघि शारीरिक रुपमा बलियो बनाउन भेट्रान टोलीसँग मैत्रीपूर्ण खेल खेलेका हौं । वाफ च्याम्पियनसिपमा पनि हामीले शारीरिक रुपमा बलियो जोर्डनसँग खेलिसकेका थियौं । यो मैत्रीपूर्ण खेल खेलाडीको बल र कमजोरी छुट्टयाउनका लागि खेलाइएको हो । यसमा नकारात्मक पक्षहरु छैनन्, ’ प्रशिक्षक तामाङले भने, ‘अब आउने प्रतियोगितामा सबै टोली शरीरिक रुपमा बलिया छन् । लेबनान र जोर्डनसँगै बंगलादेश जस्तो राम्रो टोलीसँग खेल्नुपर्ने भएकाले यो खेल हाम्रो लागि महत्वपूर्ण थियो । ’

खेलाडी घाइते हुने सम्भावनाको विषयमा बोल्दै उनले भने, ‘हामीले सबै तयारी गरेर नै यो खेल खेलाएका हौं । रेफ्रि पनि खेलाडीलाई पर्ने नोक्सानका बारे जानकार थिए । त्यस्तै हामीसँग फिजियो, डाक्टर, मेडिकल टोलीहरु पनि सँगै थिए ।’ 

देशमा महिला लिग नभएको दुई वर्षभन्दा बढी भइसक्यो । त्यत्तिकै त महिला खेलाडीको भविष्य डामाडोल छ, यस्तोमा करिअर नै दाउमा राखेर यसरी पुरुष भेट्रान टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेलाउनुले एन्फामाथि थप अर्को प्रश्न थपेको छ ।

जुलाई ८ बाट सुरु हुने चार देशसम्मिलित प्रतियोगिता आठ दिनसम्म चल्नेछ ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar