भाद्र २३, २०८१ आइतबार | ०८:३७:१३
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने
शनिबारको दिन गोरक घले

बेल्जीयन फुटबलको राजमार्गमा नेपालका गोरकको सवारी

काठमाडौं । गौरिका सिंह नेपाली खेलकुदले खोजेजस्तै अपवाद हो । यस्तो अपवाद जो नेपाली खेलकुदका लागि अपरिहार्य छ । नेपाललाई चाहिएको प्रतिभा नै गौरिकाजस्तो उच्चस्तरको हो । जसले ओलम्पिकमै सबभन्दा कान्छी सहभागी भएर नेपालको नाममा कीर्तिमान लेखिन । जसले पौडीजस्तो खेलमा दक्षिण एसियाली स्तरमा नेपालले कहिल्यै जित्न नसकेको एकल स्वर्ण पदक जितिन् । देशलाई थुप्रै अन्तर्राष्ट्रिय गौरवको हकदार बनाइन ।

खासमा उनी बेलायतमै जन्मेहुर्केकी नेपालकी छोरी हुन् । बेलायतमै परिवारको लगाब र पौरखको फुलबारीमा फुलेकी गुराँस हुन् । जसले नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा साच्चै गर्व गर्न लायक अवस्थामा प्रस्तुत गरिन ।

नेपालमा जन्मिएर विदेशमा हुर्किएका वा विदेशमै जन्मिएका धेरै प्रतिभावान नेपाली छोराछोरीका लागि त गौरिका एउटा रोल मोडल हुन् । प्रचुर प्रतिभा हुनाका बावजुद देशका लागि खेल्न नपाइरहेका वा खेल्न पाइन्छ भन्ने भेउ नै नपाएकाका लागि गौरिका आँखा खोलिदिने द्योतक हुन् ।

गौरिकाले जस्तै फुटबलमा मनिष डाँगी, लाकेन लिम्बु, स्यान्सु भुषालहरुले विदेशमा हुर्किएर, उतै खेलेर पनि देशका लागि आफ्नो प्रतिभा समर्पित गरिरहेका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको चर्चा गर्ने हो भने धेरै यस्ता खेलाडी छन्, जसले भारतमा जन्मिएर वा हुर्किएर क्रिकेट सिके र त्यसलाई नेपालका लागि प्रयोग गरिरहेका छन् । नेपाल दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेलिरहँदा भारतमै क्रिकेट सिकेका यस्तै खेलाडीको योगदान बयान गरिनसक्नु छ ।

हो, विश्वस्तरमा नेपाली खेलकुदको रवाफिलो उपस्थितीका लागि यस्तै प्रतिभाको साथ अपरिहार्य छ । कम्तिमा देशले आफै ठूलो लगानी गरेर मेची–महाकालीकै भुगोलभित्र असाधारण प्रतिभा हुर्काउने अवस्था नरहेसम्मका लागि त विदेशमा जन्मेहुर्केका प्रतिभाको प्रेरणा अनिवार्य नै हुन्छ ।

नेपालमै जन्मिएको, नेपालमै हुर्किएको वा नेपालमै खेलेको भन्ने संकिर्ण भावनालाई नेपाली खेलकुदले नै धेरै अगाडि पाखा लगाइसकेको छ । फेरि ‘ग्लोबल भिलेज’ वा ‘बोर्डरलेस सोसाइटी’ जस्ता पछिल्लो समय विश्वव्यापी रुपमै लोकप्रिय बन्दै गएका सव्दावलीले पनि नेपाली खेलकुदलाई भनिरहेका छन्, ‘संकिर्णता त्यागेर विश्वभर छरिएको नेपाली समुदायबाट उच्चस्तरीय प्रतिभा खोज गर र ती प्रतिभामार्फत चन्द्र सूर्यको झण्डालाई अझ माथि फहराउ ।’

यहाँ चर्चा गर्न खोजिएको विषय बेल्जियमको फुटबलमा उदाउँदै गरेका यस्तै एकजना ताराको हो । जो भविश्यमा गौरिकाहरुजस्तै नेपाली खेलकुदको प्रेरणा बन्न सक्छन् । जसले नेपाली फुटबललाई कम्तिमा एसियाली स्तरमा गर्विलो पारामा प्रस्तुत गर्नेछन् ।

उनी हुन्, अघिल्लो महिनामात्र १६ वर्ष पूरा भएर १७ टेकेका गोरक घले । गोरकको पुर्ख्यौली थलो गोर्खाको मान्बु हो । तर उनी उतै बेल्जियमको आन्ट्वेर्पेनमा जन्मिएका हुन् । आन्ट्वेर्पेनमा उनी आमाबाबु विना र राम घले तथा भाइ गणेशसँगै बस्छन् ।

परिवारको फुटबलप्रेमबाट सुरु भएको गोरकको यात्राले विश्व फुटबलमै पृथक र प्रतिष्ठित छवि बोकेको बेल्जियममा राजमार्ग समाइसकेको छ । विश्व फुटबलकै एउटा जबरजस्त महारथी बेल्जियमको यु–१५ टिमबाट नेपाली छोरा गोरकले खेलिसकेका छन् । र, अहिले त उनले युरोपेली फुटबललाई ठूल्ठुला स्टार खेलाडी दिने प्रतिष्ठित क्लब एन्डरलेकको यु–१८ टिममा व्यावसायिक अनुबन्धन पाएका छन् ।

सेन्ट्रल र अट्याकिङ मिड्फिल्डबाट खेल्ने गोरकले बेल्जियमको १५ वर्ष मुनिको टिमबाट पाँच खेल खेल्दै एक गोल पनि गरेका छन् । पिता रामका अनुसार गोरकले २०१५ बाट फुटबल खेल्न थालेका थिए । पिताकै मार्गदर्शनमा स्थानीय एकेडेमीहरुबाट आधारभूत सिप सिकेका उनले सन् २०१७ मा केएफसी सिन्ट जब क्लबबाट खेल्न थाले ।

दुई वर्षपछि एन्ट्रेप फुटबल स्कुलमा अनुबन्धन पाएका उनले त्यहाँ तीन वर्ष बिताए । एन्ट्रेपबाट सिप थप निखारेपछि दुई वर्षअघि सन् २०२२ मा गोरकको प्रतिभामाथि बेल्जियन फुटबलको महारथी एन्डरलेकको नजर पर्यो । १४ वर्षको उमेरका उनलाई त्यही वर्ष एन्डरलेकले आफ्नो युवा टिममा अनुबन्ध गर्यो । जसले गोरकको करियरलाई अझ ठूलो राजमार्गमा मात्र पुर्याएन, साँचो अर्थमा उनमा प्रचूर फुटबलिङ क्षमता भएको पनि प्रमाणित गर्यो ।

यसको प्रमाण थियो, गतवर्ष अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बेल्जियमको राष्ट्रिय युवा टिम घोषणा गर्दा उनको नाम समावेश हुनु । अनि उमेरले भ्याएसम्म टिममा निरन्तर रहने क्रममा लगातार पाँच खेलमा मैदान उत्रिने मौका पाउनु । गोरकले सन् २०२३ मार्च २ मा नेदरल्यान्ड्सको युवा टोलीविरुद्ध खेल्दै बेल्जियमको यु–१५ टिमबाट ‘डेब्यु’ गरेका थिए ।

त्यही वर्ष मे १० मा मोन्टेनेग्रो, मे ११ मा बोस्निया, मे १२ मा स्लोभाकिया तथा मे १४ मा क्रोएसियाका यु–१५ टिमविरुद्ध गोरकले बेल्जियमको युवा टोलीबाट खेलेका थिए । त्यसक्रममा गोरकले स्लोभाकियासँग १–१ को बराबरी नतिजा निकालेको खेलमा एक गोल गरेका थिए ।

व्यावसायिक फुटबलमा एन्डरलेकको १६ वर्ष मुनिको टिमका लागि र अन्तर्राष्ट्रिय स्तरमा बेल्जियमको युवा टोलीक लागि गरेको उच्च प्रदर्शनमा एउटा विश्वस्तरीय खेलाडी बन्ने प्रतिबद्धतासहितको मिहिनेत थपिँदा गोरकको प्रतिभा निरन्तर निखारिइरहेको थियो । यही कारण हो उनले एन्डरलेककै यु–१८ टोलीमा बढुवा पाए । गत सातामात्र गोरक र एन्डरलेकबीच जुलाई २० बाट लागु हुने गरि नयाँ सम्झौता भएको थियो ।

एन्डरलेक बेल्जियन फुटबलको एउटा यस्तो क्लब हो, जसले पूरा युरोपेली क्लबहरुका लागि उच्चस्तरीय प्रतिभा दिने एकेडेमीको भूमिका निर्वाह गरिरहेको छ । आफैले च्याम्पियन्स लिग नजिते पनि एन्डरलेक युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको नियमित सहभागी हो । तर टोलीले युरोपमात्र नभई पूरा विश्व हल्लाउने थुप्रै च्याम्पियन सुपरस्टारहरु उत्पादन गरेर फुटबल बजारलाई दिएको छ ।

भिन्सेन्ट कोम्पनी, मारोने फेलानी, रोमेलु लुकाकु, युरी टेलेमेन्स र द्रिइस मार्टिन्स विश्व फुटबललाई एन्डरलेकले दिएका सुपरस्टारहरुमध्येका केही उदाहरण हुन् । गोरक एन्डरलेकको लामो सूचिमा नयाँ नाम बन्न सक्छन् । बेल्जियममा गोरकको बाल्यकाल नियालेका पूर्व खेल पत्रकार कपिल ज्ञवाली भन्छन्, ‘बेल्जियमको उमेर समूहको राष्ट्रिय टिमका साथै एन्डरलेकजस्तो टिममा मौका पाउनु भनेको ठूलो कुरा हो । हामीले भोलीका दिनमा उनलाई युरोपका अन्य ठूला क्लबमा देख्ने सम्भावना बलियो हुन्छ । चेल्सी, म्यानचेस्टर सिटी, बार्सिलोना, रियाल मड्रिड वा अरु कुनैमा । एन्डरलेकले ठूलो सम्भावना नभएका खेलाडीलाई धेरै महत्व दिँदैन । तर गोरकलाई उनीहरुले धेरै गम्भीरतापूर्वक लिएका छन् ।’

ज्ञवाली गोरकको प्रतिभाबाट नेपाली फुटबलले फाइदा लिन सक्ने बताउँछन् । उनको विचारमा युरोपकै विभिन्न देशमा गोरकजस्ता थुप्रै नेपाली किशोर–किशोरीहरुले फुटबल र अन्य खेलमा राम्रो गरिरहेका छन् । अमेरिका, अस्ट्रेलियालगायत अरु देशमा पनि राम्रो गरिरहेका नेपाली छोराछोरीलाई पनि आकर्षित गर्न सके नेपाली फुटबलले तत्काल अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली रुपमा आफूलाई प्रस्तुत गर्न सक्ने उनको विश्वास छ ।

भन्छन्, ‘हामीले विश्वभरबाट स्काउटिङ गर्नुपर्छ । उनीहरुबाट नेपाली खेलकुदलाई तत्कालका लागि माथि उठाउन सकिन्छ । अनि दीर्घकालका लागि विस्तारै देशभित्र लगानी बढाएर थप प्रतिभा यहीँबाट निकाल्न सकिन्छ ।’

गोरकजस्ता खेलाडीले युरोपका फुटबल महारथी देशको सिनियर राष्ट्रिय टिमबाट खेल्ने मौका पाउन गाह्रो हुने भएकाले उनीहरु सहजै नेपालबाट खेल्न तयार हुन्छन् ।

‘खासमा कुरा त्यसो पनि होइन । उनीहरु पाएसम्म आफ्नै देशबाट खेल्न चाहन्छन् । देशमा बस्न नपाए पनि देशको माया मनभित्र धेरै हुन्छ । त्यसैले नेपालले यसको फाइदा उठाउन सक्नुपर्छ,’ गोरकका पिता राम भन्छन्, ‘यहाँ अरु धेरै देशबाट स्काउटहरु आइरहन्छन् । हाम्रो नेपालबाट मात्र आएका छैनन् । गोरकको खेल देखेपछि एकजना चीनिया स्काउटले हामीसँग सम्पर्क गरेको थियो । उनीहरुले गोरकलाई चीनिया भन्ठानेछन् । पुश्तौं अगाडिको कुनै मात्र रुटमात्र चीनसँग जोडिएको भए त्यहाँको राष्ट्रिय टिममा प्रमोट गर्छु भन्थे ।’

विगत एक दशकदेखि प्रत्येक दिन छोरालाई एकेडेमी र क्लबहरुमा डोर्याइरहेका राम बेल्जियममै र युरोपका अन्य देशमा अरु पनि थुप्रै प्रतिभावान युवा खेलाडी रहेको बताउँछन् । ‘यतै जन्मिएका वा नेपाल जन्मिए पनि यहाँ आएर हुर्किएका बच्चाहरु निक्कै राम्रो स्तरमा फुटबल खेलिरहेका छन् । इङ्ल्यान्ड र इटालीमा पनि व्यावसायिक क्लबको उमेर समूहका टिमबाट खेलिरहेका छन् । अब यिनीहरुलाई नेपालबाट खेल्ने अवस्था सिर्जना गर्न सकियो भने केही वर्षमै नेपालले एसियाली स्तरमा राम्रो गर्न सक्छ,’ राम विश्वस्त छन् ।

उमेर समूहमा जहाँबाट खेले पनि सिनियर स्तरमा कुन देशबाट खेल्ने भन्नेमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि निर्णय गर्ने अधिकार सम्बन्धित खेलाडीलाई दिएको छ । नेपालको संविधानले पनि हालैमात्र ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने भावनाअनुसार दोहोरो नागरिकताको व्यवस्था गरेको छ । विदेशमा बस्ने नेपाली (एनआरएन)हरुलाई नेपालसँग जोडिराख्ने भावनाले कानुन निर्माणको क्रममा उदारता अपनाइएको हो ।

गोरकहरु इच्छुक छन् र ‘बोर्डरलेस सोसाइटी’को अवधारणालाई फिफाले स्वीकारिसकेको छ । नेपालको संविधानले पनि विदेशमा बस्ने नेपालीलाई राजनीतिवाहेक अरु सबथोक गर्न पाउने गरि नागरिकता नै दिने व्यवस्था गरिसकेको अवस्थामा नेपाली फुटबलले त्यसको फाइदा उठाउन सक्छ । अझ पछिल्ला वर्षहरुमा सयौं राष्ट्रिय स्तरका खेलाडी देशभित्र भविश्य नदेखेर बाहिरिँदा नेपाली फुटबल इतिहासकै कमजोर अवस्थामा रहँदा त यो विकल्प झनै अनिवार्य बनेको छ ।

आजको विश्वमा टिममा खेलाडी कहाँको राख्ने, कहाँको नराख्ने भन्ने विषय कुनै पनि देशको फुटबल संघको नभएर नितान्त खेलाडीको रोजाईमा भर पर्ने कुरा हो । त्यो खेलाडीको आफ्नै अधिकारको कुरा हो । संघको काम भनेको कस्तो स्तरको खेलाडी छान्ने भन्ने मात्र हो । अब एन्फाले निर्णय गर्नुपर्छ, नेपाली टिमलाई गोरकजस्ता युरोपमा खेलेका खेलाडीको स्तर आवश्यक छ की छैन ?