काठमाडौं । ५० गोल, नेपाली महिला फुटबल इतिहासमा यो अद्वितीय प्रदर्शन नै हो । सावित्रा भण्डारीले यही उपलब्धि हात पारेकी छन् । यो कोसेढुंगा सावित्राले साउदी अरेबियामा भइरहेको वाफ फुटबल च्याम्पिनयसिप २०२४ पार गरेकी हुन् ।
इराकविरुद्ध प्राप्त ५-० को जितमा उनले पाँचै गोल गरिन् । खेल सकिएको केही समयपछि उनी सामाजिक सञ्जालमा देखा परिन् र आफ्नो ५० गोलको कोसेढुंगा प्रदर्शनमा खुसी व्यक्त गरिन् । सावित्रा अर्थात् साम्बा अझै भन्नुपर्दा उनी ‘गोल मेसिन’ ।
त्यसको सार थियो, जे-जतिले उनको यो यात्रामा साथ दिए तिनीहरू सबैलाई धन्यवाद । सन् २०१४ बाट सुरु भएको सावित्राको अन्तर्राष्ट्रिय फुटबल यात्राले एक दशक पनि छोइसकेको छ । यसबीच उनले ४४ खेल खेलेकी छन् । खेलको औसतभन्दा पनि बढी गोल गरे । यसबीच केही उतारचढाव आए । एक समय चोटले उनलाई असाध्यै दुःख थियो । तर, प्रत्येक चुनौती पार गर्दै उनले गोलको अर्धशतक बनाएकी छन् । भन्न कर लाग्छ, स्याबास साम्बा ।
सावित्राको ५० गोल यात्राका मुख्य पाँच तथ्य यस्ता छन्:
१. सावित्राले सन् २०१४ को वुमेन्स साफ च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्युको अवसर पाइन् । ठाउँ थियो पाकिस्तानको इस्लामावाद । त्यसमा नेपाल ८-० ले विजयी रहेको थियो । खेलको अन्त्यतिर सब्स्टिच्युटका रूपमा छिरेकी साम्बाले एक गोल गरिन् । उनलाई डेब्युको अवसर दिने प्रशिक्षक थिए, कुमार कटुवाल ।
२. सावित्राले अहिलेसम्म पाँच ह्याट्रिक गरेकी छन् नेपालका लागि । त्यसमध्ये पछिल्लो तीन गोल वा त्यो भन्दा माथिको प्रदर्शन त इराकविरुद्ध नै रह्यो । सन् २०१६ को वुमेन्स साफ च्याम्पियनसिपमा भुटानविरुद्ध ६ र माल्दिभ्सविरुद्ध पाँच गोल गरिन् । भारतको सिलगुढीमा भएको त्यस प्रतियोगितामा उनले एक्लै १२ गोल गरिन् । यो नै उनको अहिलेसम्मको उच्च प्रदर्शन हो ।
३. नेपालका लागि सावित्राले ४४ खेल खेलेकी छन् । त्यसमध्ये २५ खेलमा गोल गरेकी छन् । उनको नेपालका लागि गोल गर्नुको अर्थ हो टिम विजयी रहनु । सावित्राले गोल गरेका २५ खेलमध्ये १७ खेलमा नेपाल विजयी छ । चार खेल बराबरीमा टुंगिदा चार खेलमा भने नेपाल पराजित छ ।
४. कुनै समय त्यस्तो आएको थियो, जतिबेला डर थियो, कतै सावित्राको खेल जीवन चाँडै टुंगिने त होइन ? सन् २०१९ मा उनले घुँडाको चोट बोकिन् । लामै समय जस्तो मैदान बाहिर रहिन् । फेरि एकपल्ट उनलाई सन् २०२२ मा डेंगुले पनि दुःख दियो । दुवै अवसरमा उनको पुनरागमन दमदार रह्यो ।
५. नेपाल अहिले साउदी अरेबियाको जेद्दामा चलिरहेको वाफ वुमेन्स च्याम्पियनसिपमा सावित्राले ६ गोल गरिसकेकी छन् । उनीसामु प्रतियोगिताको उच्च गोलकर्ता हुने अवसर पनि छ । आफ्नो खेल जीवनकै कुनै एक खास प्रतियोगितामा सबैभन्दा बढी गोलको कीर्तिमान बनाउने अवसर हुनेछ ।