काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणले हिउँदको कठ्याङग्रिने जाडोमा दशरथ रंगशालाको माहोललाई तताइरहेको छ । स्तरीय प्रतिस्पर्धाको अभावमा निरन्तर ओरालो लाग्दै गरेको घरेलु फुटबलमा नयाँ आशा सञ्चार गराउने काममा कम्तीमा एनएसएलले एकखालको माहोल सिर्जना गरिदिएको छ ।
मंसिर अन्तिमसम्म आइपुग्दा लिगका आधा खेल सकिएका छन् । २५ खेल सम्पन्न हुँदा प्लेअफ पुग्ने टोलीको टुंगो लागिसकेको छैन । कागजमा उत्कृष्ट मानिएका स्पोर्टिङ इलाम, झापा र चितवन एफसीजस्ता क्लबको प्रदर्शन कमजोर बनिरहेको छ ।
धनगढी र ललितपुर सिटीले उपाधि दाबेदारीमा आफूलाई बलियो साबित गरिरहेका छन् । पोखरा र बुटवल लुम्बिनीले केही अप्रत्याशित नतिजा निकाल्दै आफू पनि प्रतिस्पर्धामा रहेको संकेत दिएका छन् ।
रंगशाला धाउन विर्सेका दर्शकलाई घरेलु फुटबलको नसामा लठ्ठ पार्ने अभियानचाहिँ अझै अधुरै छ । मंसिर–पुसको ठण्डीमा सेलाएका प्यारापिटका सिटहरू मज्जाले तात्न बाँकी छ । तथापि स्तरीय प्रतिस्पर्धासँग रंगशालाको फुस्रो मैदानको नियास्रो भने धेरै हदसम्म मेटाइरहेको छ । यसको कारण भनेको केही नयाँ विशेषता नै हो । यस्ता विशेषता सुन्दा सामान्य लागे पनि नेपाली फुटबलमा यसअघि कहिल्यै देखिएका थिएनन् ।
एक टोलीले एकै पटक पाँच विदेशी खेलाडी अनुबन्ध गर्न पाउदा खेलहरू प्रतिस्पर्धात्मक बनेका छन् । नत्र राष्ट्रिय स्तरका सय हाराहारीमा खेलाडी विदेसिएर प्रतिभाको खडेरी लागेको नेपाली फुटबल झनै नीरस हुने पक्का थियो ।
दोस्रो पटक चलिरहेको प्रतियोगितामा विश्वकपदेखि युरोपियन लिग खेलेका विभिन्न मुलुकका खेलाडी रंगशालामा देख्न सकिन्छ । जसले कुनै पनि टोलीलाई कमजोर छ भन्ने अवस्था दिएको छैन । अनपेक्षित नतिजाहरूले लिगलाई थप रोचक बनाइरहेको छ ।
के छन् दोस्रो पटक भइरहेको फ्रेन्चाइज लिगका विशेषता ?
एनएसएलले आधा बाटो तय गरिरहँदा खेलाडी डटकमले यसका ६ विशेषता खोजेको छ ।
१. दर्शकलाई निःशुल्क टिकट !
सहभागी ९ क्लब र आयोजकले दर्शक तान्न विभिन्न प्याकेज ल्याएका छन् । क्लबहरू समर्थकलाई निःशुल्क टिकट बाँडिरहेका छन् । विशेष गरी ललितपुर र चितवन सिटी यस्ता प्याकेज ल्याएको छ । धनगढी र बुटवल लुम्बिनीले पनि विभिन्न प्याकेजसहित दर्शक बोलाउने प्रयास गरिरहेका छन् ।
ललितपुरले आफ्नो हरेक खेलमा एकदेखि दुई हजारसम्म निःशुल्क टिकट बाँडेको छ । ललितपुर र चितवनबीच मंसिर २४ गतेको खेलमा दुवै टोलीले क्रमशः २ हजार र १ हजार टिकट बाँडेको घोषणा गरेका थिए । तर, त्यस दिन आयोजकको तथ्यांकमा जम्मा २ हजार ७ सय दर्शकले मात्रै खेल हेरेका थिए ।
सामाजिक सन्जालमा सर्वाधिक रूचाइएको ‘रुटिन अफ नेपाल बन्द’को फेसबुक पेजले हरेक खेलमा ‘फ्यान अफ द म्याच’ घोषित गर्दै एक समर्थकलाई ५ हजारले पुरस्कृत गर्दै आएको छ ।
२. फुड कोर्ट
सुरक्षाको कारण भन्दै यसअघि हुने अन्तर्राष्ट्रिय तथा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले दर्शकलाई सामान्य झोलादेखि विभिन्न खानेकुरा लैजानमा प्रतिबन्ध लगाउँदै आएको थियो ।
घण्टौंको खेलमा पानीसमेत नपाउँदा फुटबल रोमाञ्चक हुनुको साटो दर्शकका लागि सकसपूर्ण बन्ने गरेको यर्थाथ हो । सुरक्षा त थिएन नै । सुविधा पनि नहुँदा सामान्य फुटबलप्रेमीको पाइला रंगशालातिर मोड्न कुनै आकर्षण हुँदैनथे । क्रेजी समर्थकले मात्र प्यारापिट भरिन्थे ।
यही कारण नेपाली फुटबलको परम्परागत सोचलाई तोड्दै निजी क्षेत्रले गरेको फ्रेन्चाइज लिगले समर्थकको सुविधामा ध्यान दिएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले भोकाएका सथर्मकलाई रंगशालाभित्रै खाने व्यवस्थाका लागि फुडकोर्टको व्यवस्था गरेको छ । जहाँ जाडोमा तात्तातो मःमदेखिका खाजाका प्रकार पाइन्छ ।
मैदानको दक्षिणतर्फको गेट (भिआइपी) र उत्तरतर्फ (आर्मीपट्टिको गेट) मा फुड कोर्ट छ । जहाँ समर्थकले पानीसहित सीमित परिकारका खाजा खान पाउँछन् । फुड कोर्टमा मःम, खाजा सेट, रोललगायतका परिकार पाइन्छ । चिकेन र बफ मःमको २०० रुपैयाँ पर्छ । यसगरी पपकर्न सानोको १०० र ठूलोको १५० रुपैयाँमा पाइन्छ भने ब्ल्याक कफी १५० तथा मिल्क कफीको २०० रुपैयाँ पर्छ । जुसको ५० रुँपैया पर्न आउँछ । यसअघि खाजा सेट र चिकेन रोल रहेपनि समर्थकको मागअनुसार अहिलेलाई यो हटाइएको छ ।
३. खेल स्तर र प्रतिस्पर्धा
रंगशालामा लिगका हरेक खेल प्रतिस्पर्धात्मक छन् । २५ खेल सकिँदा को बलियो र को कमजोर भन्न सकिन्न । जसले जसलाई पनि हराउन सक्ने क्षमता देखाएका छन् ।
ठूलो संख्यामा नेपाली खेलाडी भविष्य खोज्दै अस्ट्रेलियालगायत देशमा पुग्दा यसपालि आयोजकले एक टोलीमा ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनायो । जसमा पाँच विदेशी खेलाडी मैदान प्रवेश गर्न पाउँछन् । हरेक खेलमा दुई टोलीबाट १० विदेशी खेलाडी रहँदा प्रतिस्पर्धा बढेको हो ।
हरेक खेलमा टोलीहरूले स्तरीय प्रदर्शन गरेका छन् । विश्वकपदेखि युरोपियन च्याम्पियनसिप खेलेका खेलाडीबाट नेपाली खेलाडीले पनि धेरै कुरा सिक्ने अवसर पाएको इलामका प्रशिक्षक मेघराज केसीले बताउँदै आएका छन् ।
४. चियर लिडर्सआयोजकले दर्शकलाई मैदानसम्म ल्याउन तथा खेलको माहोल तताउन चियर लिडर्सको व्यवस्था गरेको छ । खेल सुरु हुनुअघि र मध्यान्ह तथा खेल सकिएपछि उनीहरूले मैदानको पश्चिततर्फ बनाइएको स्टेजबाट नृत्य गर्नेछन् । साथै आयोजकले केही खेलको मध्यान्तरमा कलाकार ल्याउँदै विभिन्न सांगीतिक प्रस्तुति दिँदै आएको छ ।
५. डिजिटल रनिङ बोर्ड
एनएसएलले पहिलो पटक मैदानको वरिपरी डिजिटल रनिङ बोर्ड राखेको छ । यसअघि एन्फाले आफूले आयोजना गर्ने प्रतियोगितामा फ्लेक्स प्रयोग गर्दै आएको थियो । एनएसएलले ठूलो लगानीस्वरुप पहिलो पटक डिजिटल रनिङ बोर्ड राखेको हो । तीन वर्षअघि आयोजना भएको पहिलो संस्करणमा भने यो प्रविधि थिएन ।
डिजिटल रनिङ बोर्डबाट आयोजकले सहभागी क्लबको खेल दिनमा ९ मिनेटको विज्ञापन गर्नेछ । अन्य समयमा आयोजकसँग सहकार्य गर्ने विज्ञापनदाताको विज्ञापन प्रस्तुत गर्दै आएको छ । जसमा कारण हरेक दिन नयाँ नयाँ विज्ञापन रंगशालामा देख्न पाइन्छ । डिजिटल रनिङ बोर्डकै कारण टेलिभिजन प्रत्यक्ष प्रशारण पनि केही फरकपन देखिन्छ ।
६. सफा शौचालय रंगशालामा खेल भइरहँदा उपस्थिति धेरै समर्थकको एउटै गुनासो हुने गथ्र्यो, ‘शौचालय जानै सकिन्न । निकै फोहोर र अव्यवस्थित छ । पानी पनि छैन ।’
यो कथा रंगशालाको मात्र होइन । नेपालमा ठूलो संख्यामा मानिसको आउजाउ हुने सबै सार्वजनिक स्थानको खराव विशेषता हो, शौचालय नहुनु । भइहाले पनि निकै फोहोर हुन्छ, महिनौं सफा नगरिएको ।
दशरथ रंगशाला नेपाली फुटबलको होम (घर) हो । यस अर्थमा नेपाली फुटबलका सबैजसो महत्त्वपूर्ण राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेल यही रंगशालामा हुन्छ । यहाँ जसोतसो शौचालयको सुविधा त छ । तर, यसअघि आयोजकले कहिल्यै पनि त्यसलाई व्यवस्थित र सफा राख्न सकेनन् ।
एनएसएलमा भने आयोजकले शौचालय सफा राखेको छ । प्रत्येक दिन खेलअघि शौचालय मज्जासँग सफा गरिन्छ । खेलका क्रममा तथा मध्यान्तरमा पनि सफाइ कर्मचारीहरूलाई पटक पटक शौचालय सफाइ गरिइरहेको भेटिन्छ । यही कारण हो, अचेल रंगशालाको शौचालयमा दुर्गन्धका कारण नाक थुनेर जानुपर्ने अवस्था छैन ।
शनिबारको अन्य स्टोरी चोटबाट तंग्रिएका दिनेशको लय उचाइतिरसन्तोष खत्रीस् बेवारिसे ‘बालक’देखि राष्ट्रिय खेलाडीसम्मधन्न १ पेलेले देखेनन् सान्तोसको ‘रेलिगेसन’यु–१९ विश्वकपका लागि एसिया कपबाट पाठ सिक्नुपर्छएउटै नियतिमा म्यानचेस्टर र न्युकासलअन्य खेलले सिक्नुपर्ने टेबल टेनिसको ‘यो परम्परा’