मंसिर ६, २०८१ बिहीबार | १५:२४:२८
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन फिफा महिला विश्वकप २०२३

रौनक छर्दै महिला विश्वकप फुटबल

काठमाडौं । यसपालिको फिफा महिला विश्वकप फुटबल विगतका संस्करणभन्दा दुई कारणले फरक हुँदै छ । ती हुन्, सहभागी टिमको संख्यामा बढोत्तरी र दुई फरक महादेशीय संघका सदस्य राष्ट्र आयोजक । एसियाको अस्ट्रेलिया र ओसियानाको न्युजिल्यान्डमा जुलाई २० देखि हुने विश्वकपमा कुल ३२ टिम सहभागी हुनेछन् ।

सन् २०२६ को पुरुष विश्वकप खेल्ने टिमको संख्या ३२ बाट ४८ पुर्याइएको छ । यही मेसोमा महिला विश्वकप खेल्ने टिमको संख्या पनि बढाइएको हो । सन् २०१९ मा २४ टिमले महिला विश्वकप फुटबल खेलेका थिए । सन् २०१६ मा ११ टिममात्र प्रतिस्पर्धी थिए ।

यस्तोमा के भन्न सकिन्छ भने यो महिला विश्वकप अहिलेसम्मकै बृहत् हुनेछ । यो विश्वकप विश्व महिला फुटबलमा महत्त्वपूर्ण विन्दु पनि हो । यसको कारण त अघि भनेजस्तै टिमको संख्यामा बढोत्तरी नै हो । विश्वकप खेल्ने टिमको संख्या ह्वात्तै बढ्नुको सन्देश हो, महिला फुटबलमा विश्वव्यापी चासो बढेको छ ।

फेरि महिला फुटबलमा गम्भीर हुने देशको संख्या पनि बढेको छ । पछिल्लो एक दशकमा विश्वकप दाबेदार टिमको संख्या बढ्नुले पनि यसको प्रस्ट संकेत गर्छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा अमेरिकालाई मात्र दाबेदार मानिने छैन । यो त पक्का हो ।

आयोजक अस्ट्रेलिया आफैं पनि बलियो दाबेदार हो । यो टिमको केन्द्रमा साम केर हुनेछिन्  । इङ्लिस क्लब चेल्सीबाट खेल्ने केर अस्ट्रेलियाकी उच्च गोलकर्ता हुन् । अमेरिकी लिगमा समेत सबैभन्दा बढी गोल गर्ने कीर्तिमान उनकै नाममा छ ।

उच्च गोल लयमा रहेकी केरलाई घरेलु समर्थकको साथ रहनेछ । यदि अस्ट्रेलिया अगस्ट २० मा हुने उपाधि भिडन्तमा पुग्ने हो भने यसको मुख्य कारण उनै केर हुनेछिन् ।

उसो त यो विश्वकपलाई सहभागी टिमको संख्याका आधारमा मात्र बृहत मानिन लागिएको होइन । यसको अर्को आधार हो पुरस्कारमा वृद्धि । कतिसम्म भने विश्वकपका लागि खेलाडी फुकुवा गर्ने क्लबहरूकै लागि १५ करोड अमेरिकी डलर क्षतिपूर्ति छुट्याइएको छ । जबकि चार वर्षअघि यो रकममात्र ५ करोड थियो । झन् सन् २०१५ मा त डेढ करोडमात्र थियो ।

क्लबहरूका लागि छुट्याइने रकममा यत्तिको वृद्धिको संकेत हो, विश्व महिला फुटबल अब आर्थिक रूपमा समृद्ध हुँदै छ । यो संकेत यस्तो बेला देखापरेको छ, जतिबेला महिला फुटबल हेर्ने दर्शकको संख्या पनि निरन्तर बढिरहेको छ । चाहे युरोपेली च्याम्पियन्स लिग होस् वा अन्तर्राष्ट्रिय खेल, रंगशाला पुग्ने दर्शक संख्या लोभलाग्दो छ ।

विश्व महिला फुटबलमा छुट्याइँदै गरेको रकम आकर्षक छ । तर, पुरुष फुटबलको तुलनामा यो अझ पनि असाध्यै थोरै हो । पुरुष विश्वकप सन् २०२२ मा करिब ४४ करोड अमेरिकी डलर पुरस्कारका लागि छुट्याइएको थियो ।

कमाइका हिसाबले पुरुष फुटबल महिलाभन्दा कयौं कोस पर छ । पुरुष विश्वकपको टेलिभिजन प्रसारण अधिकार खरिदमा हुने हानथाप यसको मुख्य कारण हो । महिला विश्वकपको प्रसारण अधिकार बिक्री त गत महिनामात्र टुंगो लागेको हो । महिला फुटबलको मुख्य बजार युरोपमा प्रशारण अधिकार बिक्रीलाई लिएर फिफा र टेलिभिजन कम्पनीहरू कयौं महिनासम्म भिडिरहे ।

जर्मनी, बेलायत, फ्रान्स, इटाली र स्पेन महिला फुटबलका लागि मुख्य बजार हुन् । यी देशमा विश्वकप कसले, कति रकम तिरेर देखाउने भन्ने टुंगो ढिलोगरी मात्र लागेको हो ।

त्यसअघि यी ५ देशमा विश्वकप प्रसारण नगर्ने चेतावनी प्रसारकहरूले दिएका थिए । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले प्रसारण अधिकार खरिदमा असाध्यै थोरै रकम प्रस्ताव गरेको भन्दै आलोचना गरेपछि प्रसारकहरु आक्रोशित बनेका थिए ।

‘फिफा वाचामात्र गर्दैन, वाचाअनुसार कदम पनि चाल्छ । तर, महिला फुटबल विकासमा फिफा जस्तो प्रतिबद्ध अरू छैनन् । प्रसारक, प्रायोजकहरू पनि फिफा जत्तिकै प्रतिबद्ध हुन जरुरी छ,’ गत मार्चमा इन्फान्टिनोले भनेका थिए । पुरुष विश्वकप प्रसारण र प्रायोजनका लागि प्रस्ताव गरिने रकमको एक प्रतिशत जतिमात्र महिला विश्वकपका लागि प्रस्ताव आउने गरेको उनको भनाइ थियो ।

युरोपेली प्रसारकहरु महिला विश्वकप प्रसारण अधिकार खरिदका लागि अपेक्षाकृत रकम किन प्रस्ताव गरिरहेका छैनन् ? उनीहरूको तर्क छ खेल हुने समय अमिल्दो भएकाले । उदाहरणका लागि सिड्नी र लन्डन वा पेरिसबीच ८ वा ९ घण्टाको फरक छ ।

समय मिल्दो नभए पनि यसपालिको महिला विश्ववकप छुटाउन नहुने बताउँछिन् अमेरिकी मेगान रापिनो । ‘सिंगो महिला खेलकुदका लागि यो जत्तिको ठूलो प्रतियोगिता अर्को छैन । यो विश्वकप हेर्न छुटाउनु भनेको महत्त्वपूर्ण सामाजिक परिवर्तनको हिस्सा नहुनु हो,’ अमेरिकी टिमकी भेट्रान स्टार रापिनोले भनेकी छन् ।

चिन्ता चोटको

महिला फुटबलमा ठूला नाममध्ये एक हुन्, रापिनो । मैदानभित्रको प्रदर्शनले मात्र होइन, बाहिरको सक्रियताले पनि उनलाई लोकप्रिय बनाएको हो । उनीसहितको अमेरिकी महिला खेलाडी समूहले अमेरिकामा पुरुष खेलाडी जत्ति नै तलब पाउनुपर्ने अभियान चलाएको थियो । फलतः अमेरिकी फुटबल संघले विश्वकप खेलेवापत प्राप्त हुने पुरस्कार रकम पुरुष र महिला खेलाडीमा बराबर बाँड्ने घोषणा गरेको थियो ।

विश्वकपको संघारमा क्यानडेली महिला फुटबल पनि विवादमा फस्यो । त्यहाँका खेलाडीले तलब, सुविधा र सम्झौतालाई लिएर आन्दोलन गर्ने धम्की दिए । उता फ्रान्समा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा कम सुविधा पाएको भन्दै विरोध भयो  । प्रशिक्षक परिवर्तन उनीहरूको अर्को माग थियो ।

फलतः फ्रान्सका केही मुख्य खेलाडी विश्वकपमा हुने छैनन् । उसो त महिला फुटबलका अरू कयौं ठूला स्टार पनि अस्ट्रेलिया र न्युजिल्यान्ड पुग्ने छैनन् । यसको कारण हो चोट ।

इङ्ल्यान्डकी कप्तान ली विलियम्सन र मुख्य स्ट्राइकर बेथ मिड इङ्लिस टिममा परेका छैनन् । दुवै घाइते छन् । नेदरल्यान्ड्सकी फरवार्ड भिभियान मिडेमा, फ्रान्सकी डेल्फिन कास्कारिनो तथा मारी एन्टोइनेट काटोटो, अमेरिकाका काटारिनो माकारियो र मालोरी स्वान्सन पनि यस विश्वकपमा देखिने छैनन् ।

यस्तोमा विश्वकपमा सबैभन्दा ठूलो स्टार स्पेनकी एलेक्सिया पुटेलास हुनेछिन्  । बालोन डी’अर विजेता पुटेलास ९ महिनापछि मैदान फर्कन लागेकी हुन् ।

मुख्य दाबेदार इङ्ल्यान्ड

एलेक्सिया पुटेलासले गत सिजन बार्सिलोनाका लागि जम्मा ५ खेलमात्र खेलिन् । घुँडाको चोटका कारण लामो समय मैदानबाहिर रहेकी उनी अझ स्वाभाविक लयमा आउनै बाँकी छ । स्पेनका प्रशिक्षक जोर्ज भिल्डा टिमका बाँकी खेलाडीलाई पुटेलासले स्वाभाविक स्तरको खेलका लागि प्रेरित गर्ने बताउँछन् ।

जेहोस्, स्पेन विश्वकप दाबेदार हो । त्यस्तै दाबेदार युरोपेली च्याम्पियन इङ्ल्यान्ड, जर्मनी, ओलिम्पिकमा रजत जितेको स्विडेन र सन् २०१९ को उपविजेता नेदरल्यान्ड्सलाई पनि मानिएको छ ।

‘हो हामी आशावादी छौं । हामीलाई समर्थकले भरोसा गरेका छन् । विश्वकप जित्ने सपना बोकेरै हामी अस्ट्रेलिया र न्युजिल्यान्ड पुग्दैछौं,’ इङ्ल्यान्डकी प्रशिक्षक सरिना विगमनले भनेकी छन् ।

इङ्ल्यान्डले समूह चरणको आफ्नो पहिलो खेलमा हाइटीको सामना गर्नेछ । पहिलो पटक विश्वकप खेल्न लागेको हाइटीसँग इङ्ल्यान्डको भेट जुलाई २२ मा ब्रिसबेनमा हुने तालिका छ । त्यही दिन अमेरिका एसियाली टिम भियतनामसँग भिड्नेछ ।

विश्वकपको उद्घाटन खेल भने  जुलाई २० मा सहआयोजक न्युजिल्यान्ड र स्विडेनबीच हुनेछ ।  अस्ट्रेलिया भने आफ्नो पहिलो खेलमा आयरल्यान्डविरुद्ध मैदान उत्रनेछ ।