मंसिर ६, २०८१ बिहीबार | १५:३७:२२
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन युरोपियन च्याम्पियन्स लिग

इस्तानबुलमा च्याम्पियन्स लिग फाइनलः आशा रोमाञ्चकारी रातको

काठमाडौं । म्यानचेस्टर सिटी यसअघि पनि च्याम्पियन्स लिग जित्न व्याकुल भएकै हो । वर्षेनी महँगा खेलाडी किन्नुको उद्देश्य पनि त यही हो, युरोपियन क्लब फुटबलको सर्वाधिक ठूलो पुरस्कार हात पार्नु । यसपालि चाहिँ सिटीको व्याकुलता अलि बढी छ ।

किन ?  च्याम्पियन्स लिग जिते ऐतिहासिक कीर्तिमान बराबर हुनेछ । कीर्तिमान हो, एकै सिजन तीन उपाधि जित्नु । फेरि यो यस्तो कीर्तिमान हो, जसलाई सजिलै बराबरी मात्र गर्न सकिन्छ, भत्काउन सकिँदैन । बराबरी गर्नै पनि सजिलो छैन । त्यसकारण सिटीको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले सन् १९९९ मा राखेको यो कीर्तिमान अहिलेसम्म कायम छ ।

सिटीले यो सिजन इङ्लिस प्रिमियर लिग जितिसकेको छ । युनाइटेडलाई हराएर एफए कप उचालेको पनि धेरै भएको छैन । अबको लक्ष्य हो, च्याम्पियन्स लिग । इस्तानबुलमा हुने उपाधि भिडन्तमा सिटीले इन्टर मिलानको तगारो पन्छाउनु पर्नेछ ।  

सिटी कुल नौ पटक इङ्ल्यान्डको च्याम्पियन भएको छ । नौमध्ये सात उपाधि सिटीले आबुधाबीको शाही परिवारले स्वामित्वमा लिएपछि जितेको हो । सिटीमा स्वामित्व परिवर्तन सन् २००८ मा भएको थियो । शाही परिवारको प्रवेशसँगै सिटी इङ्लिस फुटबलको नयाँ शक्ति बनेको सत्य हो । तर युरोपियन क्लब  फुटबलमा भने सिटीले अझै धाक देखाउन सकेको छैन ।

उसो त सिटी सन् २०२१ मा च्याम्पियन्स लिग उपाधिनजिक पुगेकै हो । तर चेल्सीले सिटीलाई विजेता बन्न दिएन । अर्को वर्ष त सिटी सेमिफाइनलबाटै बाहिरियो, रियाल मड्रिडसँग पराजित हुँदै । यसपटक सिटीले रियालसँग बदला लियो । संयोगवश बदला सेमिफाइनलमै लिनसक्यो ।

सिटीसँग रियाल पराजित हुनु असामान्य होइन । तर गोलअन्तर भने अनेपक्षित थियो, ५-१ । ‘लामो समयदेखि हामी मेहनत गरिरहेका छौं । हो, हामीले कयौं सफलता हासिल गरेका छौ  ।सँगसँगै निकै हारको पनि सामना गर्नुपरेको छ । तर हारले हामीलाई धेरै सिकाएको पनि छ,’ सन् २०१७ यता सिटीमा रहेका गोलरक्षक एडरसनले भनेका छन् ।

६ सिजनमा पाँच पटक प्रिमियर लिग जितेको सिटीले गत साता एएफए कप फाइनलमा युनाइटेडलाई २-१ ले हराएको थियो । सिटीका दुवै गोल गर्ने खेलाडी थिए, एल्काई गुन्डोवान । यो सिजन मुख्य गोलकर्ता रहेका एर्लिङ हालान्ड भने लगभग शान्त रहे । एएफए कपमा गोल नगरे पनि हालान्ड बलियो लयमा छन् । यही सिजन सिटीसँग आबद्ध भएका उनको नाममा ५२ गोल छ ।

सिटीले यसपालि जे जे सफलता हात पारेको छ, तिनमा हालान्डको भूमिका अहम् छ । यो कसैले इन्कार गर्ननसक्ने तथ्य हो । पेप ग्वार्डिओला आफ्नो करियरको तेस्रो च्याम्पियन्स लिग उपाधि उचाल्नेमा आत्मविश्वासी छन् । यसको पनि बलियो कारण उनै हालान्ड हुन् ।

ग्वार्डिओला सन् २०१६ मा सिटीको प्रशिक्षक बनेका थिए । उनलाई सिटीको जिम्मा दिनुको मुख्य उद्देश्य थियो, च्याम्पियन्स लिगमा सफलता । बार्सिलोनालाई दुई पटक च्याम्पियन्स लिग जिताएकाले पनि ग्वार्डिओला गलत छनोट थिएनन् । भलै उनले बायर्न म्युनिखलाई फाइनलसम्म पनि पु¥याउन सकेका होइनन् । अब चाहिँ उनी साँच्चै दबाबमा छन् । युरोपमा ठूलो क्लब कहलिन पनि सिटीले च्याम्पियन्स लिग जित्नुपर्ने उनको भनाइ छ । ‘च्याम्पियन्स लिग त जित्नैपर्छ । नजिती त ठूलो क्लब बनिँदैन । यो मापदण्डलाई नकार्न सकिँदैन,’ ग्वार्डिओलाले भनेका छन् ।गर्विलो इतिहास

सिटी जतिसुकै बलियो भए पनि इन्टर मिलान नजरअन्दाज गर्न मिल्ने टिम होइन । फेरि इन्टरको विगत पनि त्यस्तै छ । सन् १९६० कै दशकमा दुई पटक युरोपियन कप जितेको इन्टरले सन् २०१० मा च्याम्पियन्स लिग जितेको थियो । सुरुमा युरोपियन कप र पछि च्याम्पियन्स लिग भनिन थालिएको यो प्रतियोगितामा इन्टरले ६ पटक फाइनल खेलेको छ । 

इन्टरले पछिल्लो पटक च्याम्पियन्स लिग जितेको सन् २०१० मा हो । त्यस सिजन इन्टरले तीन उपाधि जितेको थियो । मतलब ट्रेबल । जोजे माउरिन्होको नेतृत्वमा रहेको इन्टरले च्याम्पियन्स लिग मात्र होइन, इटालियन सिरी ‘ए’ र कोपा इटालिया पनि जितेको थियो । त्यसयता कुनै इटालियन क्लबले च्याम्पियन्स लिग जितेका छैनन् ।  

अचेल युरोपियन फुटबलको केन्द्रमा पैसा छ । जोसँग अथाह पैसा छ, उही खेलाडी बजारमा शक्तिशाली । खेलाडी बजारमा जसको दबदबा रहन्छ, आखिरमा उपाधिको दाबेदार उही हुन्छ । हाल भइरहको त्यही छ । युरोपमा मात्र होइन विश्व फुटबलमै सर्वाधिक कमाइ गर्ने क्लब हो, सिटी । डेलोइट फुटबल मनी लिगका अनुसार सिटीले सन् २०२२ मा ७० करोड युरो कमाएको थियो ।

सिधा हिसाब यही हो, सिटीको कमाइ इन्टरको भन्दा ठ्याक्कै दोब्बर छ । फेरि इन्टर अहिले ऋणमा डुबेको छ । तर कम कमाइ वा ऋणले इन्टरको विगतलाई छायामा पार्न सक्दैन । इन्टरको विगत गर्विलो छ । गर्विलो विगत भएको इन्टरको लक्ष्य यही हो, च्याम्पियन्स लिग च्याम्पियन बन्ने ।‘हामी ठूलो क्लब हो । हामीमाथि समर्थकको अपेक्षा छ । अपेक्षा भनेको उपाधि हो । जब इन्टर फाइनलमा पुग्छ, अपेक्षा जितकै हुन्छ । यो क्लबमा हामी सबै प्रतिभाशाली खेलाडी छौं । हामीलाई फाइनल कसरी खेल्ने भन्ने थाहा छ,’ इन्टरका प्रशिक्षक सिमोने इन्जागी भन्छन् ।

यो सिजन सिरी ‘ए’ मा तेस्रो भएको इन्टर सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै फाइनलमा आइपुगेको हो । त्यसअघि इन्टरले नकआउटका अरु खेलमा बेनफिका र पोर्टोलाई पन्छाएको थियो । दुई सिजनअघि सिरी ‘ए’ च्याम्पियन बनेको इन्टर यसपालि भने कोपा इटालिया उपाधिमै सीमित भयो ।अटाटर्कमा विगत

च्याम्पियन्स लिगको फाइनल इस्तानबुलको अटाटर्क रंगशालामा हुन लागेको हो । संयोगवश इस्तानबुल त्यही सहर हो, जहाँ सिटीले पहिले पटक युरोपियन क्लब फुटबलको स्वाद चाखेको थियो । कुरा सन् १९६८/६९ को हो, सिटी फेनरबाचसँग युरोपियन कपको समूह चरणको खेल खेल्न इस्तानबुल पुगेको थियो । पहिलो लेग बराबरी गरेको सिटी दोस्रो लेगमा फेनरबाचसँग इस्तानबुलमा २-१ ले पराजित भयो ।

त्यसबेलाको सिटी एकसेएक स्टार खेलाडीले भरिएको थियो । फ्रान्सि ली, कोलिन बेल र माइक समरबी सिटीका मुख्य खेलाडी थिए । सन् २००८ अघिको सबैभन्दा बलियो सिटी टिम नै यही थियो ।

सन् २०११ सम्म सिटी युरोपियन क्लब फुटबलको शीर्ष श्रेणीको प्रतियोगितामा पुग्नै सकेन । प्रिमियर लिगको २०१०/११ सिजनमा सिटी तेस्रो भयो । जसकारण सिटी च्याम्पियन्स लिगमा छनोट भयो । सिटीलाई च्याम्पियन्स लिगमा पुर्याउने प्रशिक्षक इटालीका रोबर्टो मान्चिनी थिए ।

अटाटर्कले यसअघि पनि च्याम्पियन्स लिग फाइनल खेलाएको छ । च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक रोमाञ्चक फाइनल पनि यही रंगशाला भएको थियो । आमनेसामने भएका दुई टिम थिए, इटालीको मिलान र इङ्ल्यान्डको लिभरपुल । लिभरपुल पहिलो हाफमा ३-० ले पछि परेको थियो । तर लिभरपुलले दोस्रो हाफमा तीन गोल मात्र फर्काएन, पेनाल्टीमा मिलानलाई स्तब्ध बनायो ।७२ हजार समर्थक अट्ने यो रंगशाला फेरि एकपटक त्यस्तै फाइनलको प्रतीक्षामा छ । खासमा यो रंगशालामा सन् २०२० मै च्याम्पियन्स लिग फाइनल हुनुपर्ने हो । तर कोभिड-१९ महामारीका कारण यहाँ फाइनल हुन सकेन । लिस्बन सर्यो । सन् २०२१ को फाइनल चाहिँ अटाटर्कमै खेलाउने भन्ने भयो । तर फेरि खेलस्थल परिवर्तन भयो । अवसर पोर्चुगलले नै पायो । छानिएको सहर थियो, पोर्टो ।  

यसरी दुई पटक अभागी साबित भएको इस्तानबुल अन्ततः फाइनलको संघारमा पुगेको छ । त के अटाटर्क सन् २००५ कै जत्तिको रोमाञ्चक फाइनलको साक्षी बन्न पाउँला ? अनुमान कसैले गर्नैपर्दैन । जवाफ आउँदो शनिबारले आफैँ दिनेछ ।