मंसिर ६, २०८१ बिहीबार | १५:२३:५४
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन नेपाली फुटबल

पश्चिम फुटबलको ‘दीप’ जगाउँदै दीपक

काठमाडौं । दैलेखका लोकबहादुर शाही कुनैबेला नेपाली राष्ट्रिय फुटबल टोलीको गोलपोस्ट सम्हाल्थे । यो कुरा सन् १९८० को दशकको हो । त्यतिबेला फुटबलमा पश्चिम नेपालको प्रतिनिधित्व गर्ने शाही एक्ला खेलाडी थिए । शाहीले एक दशकभन्दा बढी समय राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाले । खेलजीवनबाट शाहीले संन्यास लिएपछि लामै समय पश्चिमका खेलाडीहरु राष्ट्रियस्तरसम्म आउनै सकेनन् ।

सन् २००९ मा काठमाडौंमा भएको एएफसी च्यालेन्ज कप छनोटमा प्यालेस्टाइनविरुद्ध सुर्खेतका रोहित चन्द ठकुरीले अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरे । यसबीच पश्चिमबाट नेपाली फुटबलमा राष्ट्रियस्तरसम्म कुनै पनि खेलाडी आएनन् । आए होलान्, तर छिनमै हराएजस्तो भयो । प्रस्ट रुपमा भन्दा रोहित र शाहीले जसरी उनीहरुले करियरलाई निरन्तरता दिन सकेनन् ।

हाल राष्ट्रिय टोलीको रक्षापंक्ति सम्हालिरहेका रोहितले ‘डेब्यु’पछि पछाडि फर्केर पनि हेर्नुपरेको छैन । क्यापकै कुरा गर्ने हो भने रोहितसँग ७७ अन्तर्राष्ट्रिय क्याप छ । जुन सबैभन्दा धेरै क्याप भएका गोलकिपर किरण चेम्जोङभन्दा ७ खेलमात्र कम हो ।

केही वर्ष भयो नेपाली फुटबलमा एउटा मतभेद चलेको । रोहितपछि पश्चिम नेपालको साख जोगाउने को त ? पश्चिमी फुटबलका लागि यो एउटा गम्भीर विषय हो । विषय तुच्छ भएको भए सायद रोहितले खेलेका १३ वर्षभित्र कम्तीमा पनि एकजना पश्चिमी खेलाडी स्टार पथमा हुन्थे ।

तर, पछिल्लो केही समययता एउटा नाममाथि भने सबैको आस पलाएको छ । ती हुन्, दीपकराज सिंह ठकुरी । जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बुधबार लाओसविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरेका दीपक यतिबेला चर्चाको केन्द्रबिन्दुमा छन् । दीपकलाई नेपाली फुटबलको भविष्यका रुपमा हेरिन थालिएको छ । धेरैले भन्न थालिसकेका छन्, रोहितपछि पश्चिम नेपालको साख जोगाउने दीपक नै हुन् ।

‘खोइ ! सुरुआती रोजाइमा पर्ने नपर्ने कुरा सबै प्रशिक्षकको हातमा हुन्छ । हामीलाई यो बारेमा थाहा नै हुन्न,’ लाओसविरुद्ध खेल्नुभन्दा दुई दिनअघि मात्र बन्द प्रशिक्षणमा रहेका दीपकले सुनाएका थिए ।

पहिलो रोजाइमै खेल्न पाइन्छ भनेर दीपकले सोचेका थिए होलान् । पहिलो रोजाइमै ‘डेब्यु’को सौभाग्य अन्तर्राष्ट्रिय फुटबलमा कमैले मात्र पाउँछन् । दीपक पनि यसको अपवाद बनेनन् । तर, जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ का उच्च गोलकर्ता दीपकको मिहिनेत र लय बेवास्ता गर्न नमिल्ने खालको थियो । नेपालका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस यसबारे जानकार नै थिए ।

एनेसले लाओसविरुद्ध चार नयाँ अनुहारलाई अन्तर्राष्ट्रिय ‘डेब्यु’को अवसर दिए । सनिश श्रेष्ठ पहिलो रोजाइमै परे । बाँकीले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । एक त दीपक भइहाले । त्यसमा सुमित श्रेष्ठ र मणिकुमार लामा पनि थिए ।

निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा नवयुग श्रेष्ठलाई प्रतिस्थापन गर्दै पाँच हजार एक सय ७० दर्शकसामू दीपकले ‘डेब्यु’ गरे । दीपकको सपना पूरा भयो । करियरकै सबैभन्दा ठूलो उपलब्धि हासिल गरे दीपकले । उनले यो उपलब्धि शीर्ष श्रेणीमा दोस्रो अनुभव बटुल्दै गर्दा प्राप्त गरेका हुन् ।

बाँके जिल्लाको खजुरा गाउँपालिकामा आमा दीपा र बुवा भक्तबहादुर सिंह ठकुरीका कान्छा छोरा दीपकले फुटबल खेल्न थालेको धेरै भएको छैन । स्कुले जीवनको उत्तरार्धमा मात्रै उनले फुटबल खेल्न सुरु गरेका थिए ।

२३ वर्षीय दीपक करियरको प्रारम्भिक दिनहरुमा विभिन्न टोलकपहरु खेले । त्यतिबेलासम्म दीपक एउटा साधारण नाममात्र थियो । २०७६ सालमा धनगढीमा भएको चौथो सुदूरपश्चिम खप्तड गोल्डकपपछि भने उनले असाधारण छवि बनाउन थाले । फाइनलमा शीर्ष डिभिजन क्लब थ्री स्टारलाई १-० ले पराजित गर्दै आयोजक सुदूरपश्चिम ११ ले पहिलो पटक सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जित्यो । खेलको निर्णायक गोल दीपकले नै गरेका थिए । दीपकले थ्री स्टारका डिफेन्डरहरुको कमजोर तालमेलको फाइदा उठाएका थिए ।

फाइनलअघि पनि दीपकले क्वाटरफाइनलमा र सेमिफाइनलमा समान दुई गोल गरेका थिए । धनगढीमा दीपक प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ता घोषित भए । एकथान मोटरसाइकल पनि प्राप्त गरे ।

‘धनगढीमा सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि स्थानीयमाझ चिनिन थालें । त्यसपछि पनि अरु मोफसलका गोल्डकप खेलें । त्यहाँ पनि धेरैको माया पाएँ,’ दीपकले विगत सम्झिए ।

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दीपकले सातदोबाटो युथ क्लबबाट ५ खेलमा ४ गोल गरिसकेका छन् । सातदोबाटोमा दीपकको यो दोस्रो सिजन हो । गत सिजन दीपकले सातदोबाटोबाट शीर्ष डिभिजनमा ‘डेब्यु’ गरेका थिए । यसबीच दीपकले चार वर्ष अगाडि प्लानिङ ब्वाइजबाट ‘सी’ डिभिजनको एक खेल खेले ।

पहिलो सिजन दीपकले घरेलु लिगमा १० खेल खेल्दा एक गोल गरे । त्यतिबेला दीपक प्रायः लेफ्ट विंगरका रुपमा बढी देखिएका थिए । दीपकको मुख्य पोजिसनचाहिँ सेन्ट्रल स्ट्राइकर हो । यसपालि दीपक सबै खेलमा स्ट्राइकरमै खेलिरहेका छन् । आफ्नो गतिले विपक्षी डिफेन्सलाई समस्या दिन सक्ने दीपकको खुबी हो । काउन्टर अट्याकमा उनको जवाफ छैन ।

‘दीपक भाइ मोफसलबाट निस्केका राम्रा खेलाडी हुन् । नेपालगन्ज घर भएर घरेलु लिगमा ढिला आइपुग्यो । उसको खेल कौशल देखेर नै हामीले उसलाई सातदोबाटोमा मौका दिएका हौं,’ गत सिजन सातदोबाटोमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका मेघराज केसीले भने ।

गत सिजन सातदोबाटोले पहिलो अनुभवमै चौथो स्थानमा रहेर लिग टुंग्याएको थियो । जारी सिजन पनि पाँचौं चरण सकिँदासम्म टिम पहिलो स्थानमा छ । यसपालि सातदोबाटोको खेल दीपकप्रेरित भन्दा फरक पर्दैन । तीन पटक त म्यान अफ द म्याच नै घोषित भइसकेका छन् दीपक ।

लिग सुरु हुनुभन्दा एक साताअघि भएको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा पनि दीपकले दुई गोल गर्दै उच्च गोलकर्ताको उपाधि जितेका थिए । उक्त च्याम्पियनसिपमा सातदोबाटोले फाइनलसम्म यात्रा गरेको थियो । फाइनलमा मछिन्द्रले सातदोबाटोलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

लगातारको स्तरीय प्रदर्शनले दीपक राष्ट्रिय टोलीसम्म पुगे । यसका लागि दीपकले धेरै मिहिनेत गरेका थिए ।

‘शीर्ष श्रेणीको दोस्रो अनुभवमै राष्ट्रिय टोलीमा परिन्छ भनेर सोचेको थिइनँ । तर, मिहिनेत गरिसकेपछि परिन्छ भनेर थाहा थियो । धेरै सिनियर दाइहरु बाहिर जानुभएको थियो । यही हो मौका राष्ट्रिय टोलीमा पर्ने भनेर मिहिनेत गरेको थिएँ,’ दीपकले सुनाए ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएको खबर पाउनासाथ दीपकले आफ्ना बुवा भक्तबहादुरलाई टेलिफोनमार्फत खुसीको खबर सुनाए ।

‘बुवा निकै खुसी हुनुभयो । उहाँको सपना थियो छोरा राष्ट्रिय खेलाडी बनोस् भन्ने,’ दीपकले हाँस्दै भने ।

दीपक पश्चिमी युवा खेलाडीका लागि एउटा रोल मोडेल हुन सक्छन् । चैत १४ गते नेपालले थ्री नेसन्स कपमा भुटानको सामना गर्दै छ । भुटानसँग बराबरीमात्र गरे नेपालले फाइनल खेल्नेछ । यस्तोमा यही थ्री नेसन्स कपमा दीपकले तेस्रो अन्तर्राष्ट्रिय क्याप जित्नेछन् । कडा परिश्रमले गर्दा दीपकले राष्ट्रिय टोलीको गन्तव्य कोरिसकेका छन् । उनको लक्ष्य एउटै हो, रोहित (चन्द) जस्तै निरन्तर टिममा स्थान बनाइराख्ने र पश्चिम नेपालको साख जोगाउने ।

फुटबल करियरमा दीपकको यो बल्ल सुरुआत हो । अहिले नै उनको भविष्यको अनुमान लगाउनु हतार हुनेछ । तर, जेहोस् सफलताको मार्ग नै सुरुआत हो नि ।

एन्फा सदस्य रवीन्द्र चन्द भन्छन्, ‘एक वर्ष भयो, मैले दीपक भाइलाई चिनेको , ऊसँग प्रचुर क्षमता छ । मिहिनेत गरेर आफूलाई अगाडि बढाएको खण्डमा निरन्तर राष्ट्रिय टोलीमा स्थान बनाइराख्ने सम्भावना दीपकमा छ ।’

एक वर्षयता दीपकको यो उपलब्धि प्रत्यक्ष अप्रत्यक्ष रुपमा नियालिरहेका सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष रवीन्द्र चन्द ठकुरी पश्चिमको खेलाडी यसरी राष्ट्रियस्तरमा आउँदा गर्व लागेको बताउँछन् ।

लाओसविरुद्धको खेल हेर्दै गर्दा चन्दले दीपकबारे यसरी सुनाए, ‘एक वर्ष भयो, मैले दीपक भाइलाई चिनेको , ऊसँग प्रचुर क्षमता छ । मिहिनेत गरेर आफूलाई अगाडि बढाएको खण्डमा निरन्तर राष्ट्रिय टोलीमा स्थान बनाइराख्ने सम्भावना दीपकमा छ । रोहितपछि अब को त भनेर भनिँदा हामीसँग नामै नआउने अवस्था थियो । अहिले आएर दीपकले राष्ट्रिय टोलीमा रोहित र लोकबहादुर दाइपछि पश्चिमको नाम राख्छ भन्ने विश्वास लागेको छ ।’

पश्चिममा फुटबल प्रतियोगिताहरु एकदमै कम हुने गर्दछ । कम हुँदाहुँदै पनि विभिन्न स्रोतहरु, सुविधाहरु कम रहँदा रहँदै पनि खेलाडीहरु जुन हिसाबले यसरी मिहिनेतका साथ अगाडि बढिरहेका छन्, आफूहरुलाई प्रमाणित गर्न दौडिरहेका छन्, यो देख्दाचाहिँ एकदमै खुसी लाग्छ, गर्व लाग्छ । साँच्चै नै लगनशीलता र संघर्षको फल मीठो हुन्छ भन्ने पाठ हामीले दीपकबाट सिक्न सक्छौं । पश्चिमका अरु भाइहरु पनि दीपकलाई रोल मोडल मानेर अगाडि बढ्न आवश्यक छ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति सदस्य रहेका चन्दले थपे ।