बाल्यकालमा मात्रै होइन, किशोर हुँदा पनि शेन वार्नको स्वभाव परिवर्तन भएको थिएन । उनी लजालु नै थिए । मेलबर्न सहरको बाहिरी भेगमा जन्मेका वार्न कुनै दिन विश्व क्रिकेटको नायक बन्छन् भनेर सायदै कसैले अनुमान गरेको थियो । सन् १९९० र २००० को दशकमा आइपुग्दा वार्न स्टार मात्रै बनेनन्, ‘लेग स्पिन’ विधालाई नै परिवर्तन गरेर देखाइदिए ।
|
जब वार्न तन्नेरी भए, स्क्यान्डलमा तानिए । आरोप थियो, म्याच फिक्सर बाट पैसा लिएको । उनी लागूऔषधको दुव्र्यसनमा पनि फसे । तर असाध्यै आत्मविश्वासी वार्नको करियरलाई कुनै स्क्यान्डलले छायाँमा पार्न सकेन । त्यसपछि त उनी अस्ट्रेलियाको नायक बनि नै हाले । खेल करियरबाट संन्यास लिएपछि प्रख्यात कमेन्टेटरमा रुपान्तिरत भए । उनको यो परिचय निधन हुनुअघिसम्म कायम थियो ।
मेलबर्नका वार्न सिड्नी पुग्नसाथ बग्रेल्ती तस्बिर लिन्थे । बलिउडका कलाकारले झैँ पोज दिन्थे । सिड्नीमा उनको अर्को काम पनि हुन्थ्यो, सेन्ट किल्डा रुल्स फुटबल टिमको पक्षमा हुटिङ गर्ने । त्यसकै रिजर्भ टिमबाट उनले केही समय खेले पनि ।
तर उनको मुख्य प्राथमिकता भने क्रिकेटमै थियो । अस्ट्रेलिया एकेडेमी अफ स्पोर्ट्समा क्रिकेट सिक्दा उनी १९ वर्षका थिए । अनि पहिलो श्रेणीको क्रिकेटमा डेब्यु गर्दा उनको उमेर २१ पुगिसकेको थियो । त्यसको एक वर्षपछि त उनले टेस्ट करियर नै सुरु गरे ।
जतिबेला वार्न अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राख्दै थिए, त्यसबेलाका कप्तानहरु सोच्थे, लेग स्पिन जोखिमयुक्त कला हो । मतलब, एक्स्ट्रा स्पिनका कारण बढी गल्ती हुनसक्छ । फलतः विपक्षीले बढी रन बनाउन सक्छन् ।
|
वार्नले टेस्टमा सुरुवाती चार इनिङ्स बलिङ गर्दा एक विकेट लिएका थिए । त्यो पनि ३३५ रन खर्चिएर । यस्तो लाग्थ्यो, उनको बलिङ कमजोरीहरुले भरिएको छ । तर लगत्तै उनले यस्तोे धारणा बनाउने समर्थकलाई गलत सावित गरिदिए, ३१ बलमा तीन श्रीलंकनलाई पभेलियन फर्काइदिएर । कोलोम्बोको त्यो प्रदर्शनले वार्नको ओज बढ्यो । त्यसपछि वेस्ट इन्डिज र न्युजिल्यान्डविरुद्धको प्रदर्शन, इंग्ल्यान्डसँगको खेलमा ‘बल अफ दी सेन्चुरी’ आदिले वार्नलाई उत्कृष्ट बलरका रुपमा स्थापित बनायो ।
वार्नको मुख्य हतियार थियो ‘एक्युरेसी’ । उनी एक वा दुई घण्टा बलिङ गर्दा मात्रै खराब बल फ्याक्थे । उनलाई मानिसहरु बलसँग खेल्ने जादूगर भनेर चिन्न थालिसकेका थिए । यसबाहेक उनको अर्को परिचय पनि थियो, ‘इन्टरटेनिङ बलर’ । बलिङ गर्दा अनेक क्रियाकलाप देखाउँथे । उनको शारिरीक हाउभाउको फ्यान को थिएन होला ?
सन् १९९९ सकिँदा उनले आफ्नो खातामा ३०० टेस्ट विकेट चढाइसकेका थिए । अनि ह्याट्रिक र ओडीआई विश्वकप पनि । यीबाहेक एउटा शल्यक्रिया । सन् २००० सुरु हुँदा अस्टे्रलियन टिममा नयाँ कप्तान चुन्ने चर्चा सुरु भयो । यसका लागि वार्न पनि हकदार थिए । तर उनको व्यक्तिगत क्रियाकलापका कारण कप्तानी दिनु हुँदैन भन्नेको संख्या धेरै थियो । अस्टे्रयिन क्रिकेट बोर्डमा उनलाई मन पराउने प्रशंसक सायदै थिए । जसकारण उनी कप्तानको उम्मेदवार नै बन्न सकेनन् ।
|
फिटनेसका मामलामा वार्न अभागी सावित हुन थाले । औला र काँधको चोटका कारण उनी लामो समयसम्म मैदान बाहिर रहनु पर्यो । उनी सन् २००३ को विश्वकपका लागि फिट हुने प्रयासमा थिए, तर नयाँ स्कयान्डलले उनलाई घेर्यो । यसपालि उनलाई ड्रग्स सेवन गरेको आरोप लाग्यो । र एक वर्षका लागि प्रतिबन्धमा परे । हरेक व्यवधान चिरेर अघि बढ्ने छवी बनाएका वार्न मैदान फर्किए । अनि जनवरी, २००७ मा टेस्ट करियर टुंग्याए । त्यसबेलासम्म उनले कुल ७०८ विकेट लिए । उनीभन्दा बढी विकेट लिने खेलाडी एक जना मात्रै छन्, ती हुन् मुथैया मुरलिधरण ।
वार्नले राष्ट्रिय टिम छाडे पनि क्रिकेटमा सक्रिय नै थिए । फलतः उनी इन्डियन प्रिमियर लिग आईपीएलको राजस्थान रोयल्ससँग जोडिए । उनकै प्रशिक्षण अनि कप्तानीमा राजस्थानले पहिलो संस्करणको आईपीएल ट्रफी चुम्यो । उनले आफ्नै देशको बिग बास पनि खेले । त्यहाँ उनको टिम थियो, मेलबर्न स्टार्स ।
|
संन्यास लिएका वार्न राष्ट्रिय टिममा फर्कने हल्ला चलिरह्यो । अस्टे्रपलियाको टिममा गतिला स्पिनरको संख्या कम भएपछि वार्नले पुनरागमन गर्ने चर्चा चलेको थियो । तर उनी फर्किएनन् । बरु गल्फ, पोकर जस्ता खेलमा समय व्यतित गरे । उनी विभिन्न च्यारिटी संस्थासँग जोडिए । अनि अन्ततः कमेन्ट्रीमा जमे ।
वार्नप्रति मानिसहरुको लगाव सधैँ उस्तै रहेन । जसरी वार्नको करियरले उकालो ओरोलो गरिरह्यो, त्यसरी नै उनको लोकप्रियता पनि तलमाथि भइरह्यो । तर समग्रमा उनी विश्व क्रिकेटको नायकको पदबाट हटेनन् । विस्तारै मानिसहरुले वार्नलाई वार्नकै नजरबाट हेर्न थाले । सायद वार्नले अर्को रुप धारण गर्न सक्दैनन् भन्ने तथ्य सबैले बुझेको हुनुपर्छ ।
वार्न जस्ता थिए, त्यस्तै रहे । उनी निश्चल थिए । कहिल्यै परिवर्तन भएनन् । उनको खेल पनि परिवर्तन भएन । उनी जादुगर नै रहिरहे । तर आफ्ना जीवनका अध्यारा पाटालाई जादु गरेर हटाउन चाहेनन् । क्रिकेट खेलमा उनले छानेको कला सबैभन्दा गाह्रो खालको थियो । जसलाई उनले आफ्नो बनाएरै छाडे । कसैले खोस्न नसक्ने गरी ।