चैत्र १३, २०८२ शुक्रबार | ०८:४७:१०
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य
शनिबारको दिन

सिक्दै छिन् मनीषा

काठमाडौं । धनगढीकी चेली मनीषा उपाध्यायले गत मंगलबार पहिलो पटक धेरै मिडियालाई फेस गरिन् । मनीषा नर्भस देखिन्थिन् । मनमा डर थियो, कतै बोल्नै नसकिने पो हो कि ? त्यसैले यही कारण पत्रकार सम्मेलनमा उनले राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व कप्तान रुविना क्षेत्रीलाई सँगै ल्याएकी थिइन् ।

नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला शृंखलामा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी मनीषाले त्यस दिन थाइल्यान्डविरुद्ध तीन विकेट लिएकी थिइन् । प्रतियोगिताका ६ खेलमा पाँच इनिङमा बलिङको मौका पाउँदा मनीषाले १७ ओभरमा एक मेडन राख्दै ९७ रन खर्चेर सात विकेट लिएकी थिइन । सातौं ओभरमा दुई खेलाडीलाई पवेलियनको बाटो देखाएकी मनीषाले त्यही ओभरमा एक खेलाडीलाई रन आउटको शिकार पनि बनाएकी थिइन् । १०७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले पाँच रनको दूर्भाग्यजनक हार बेहोर्दा लेफ्ट आर्म स्पिनर मनीषाले चार ओभरमा १८ रन खर्चिएकी थिइन् । शृंखलामा सबै खेल हारेर एउटै अंक जोड्न नसकेको नेपालका लागि त्यो लगातार चौथो हार थियो ।

मनीषाले गण्डकी प्रदेशबाट २०७६ सालमा सम्पन्न प्रधानमन्त्री कपको छैटौं संस्करण खेलेकी थिइन् । यही प्रतियोगितामार्फत नेपाली क्रिकेटको माथिल्लो स्तरमा मनीषाको करियर सुरु भएको थियो ।

खेल सकिएपछि पोस्ट म्याच कन्फरेन्समा मनीषालाई बोलाइयो । रुविना बोल्न अफ्ठ्यारो मानिरहेकी मनीषाको हौसला बढाउन सँगै प्रस्तुत भइन् । मनीषाले यसका लागि रुविनालाई आग्रह गरेकी थिइन् । रुविनाले मनीषालाई सम्झाइरहिन् । ‘केही छैन ! म छु’ भनेर हौस्याइरहिन् । मनीषा नर्भस थिइन् । सायद लगातार चौथो हारले उनलाई हिनताबोध महसुस गराइरहेको थियो ? उनको परिपक्व जवाफले त्यही भनिरहेको थियो ।

 त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध विकेट लिएपछि खुसियाली मनाउँदै मनीषा उपाध्याय, तस्विर सौजन्यः क्यान ।

शृंखलाको पहिलो खेलमा २० वर्षीय मनीषाले अन्तर्राष्ट्रिय ट्वान्टी-२० ‘डेब्यु’को अवसर पाएकी थिइन् । त्यस खेलमा उनलाई ‘डेब्यु क्याप’ हस्तान्तरण गरे पनि कप्तान इन्दु वर्माले बलिङमा मनीषाको प्रयोग नै गरिनन् । त्यसपछिका खेलमा भने मनीषाले पर्याप्त अवसर पाइन् । जहाँ मनिषाले आफूलाई प्रमाणित गर्ने अवसरको पूरा उपयोग गरिन । त्यही सेरोफेरोमा उनलाई सोधियो, ‘डेब्यू खेलमा बलिङ र ब्याटिङ दुवै गर्न नपाउँदा तपाईँलाई उकुस मुकुस भएन ?’

मनीषाको जवाफ यस्तो थियो, ‘राष्ट्रिय टोलीमा खेल्न पाउनु नै सबैभन्दा ठूलो कुरा हो । मैले टोलीलाई केही योगदान दिन सक्थेँ । तर, मलाई त्यस्तो केही नराम्रो लागेन । कप्तानले टोलीको आवश्यकता अनुसार निर्णय गर्नुभयो । मैले नै बलिङ गर्नुपर्ने भन्ने कहाँ छ र ?’

मनीषाले २०२२ जुनमा मलेसियामा सम्पन्न ‘आइसिसी यू-१९ ट्वान्टी-२० विश्वकप २०२३ छनोट’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

मनीषासँगै नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा विकेटकिपर अलिशाकुमारी यादवले पनि ‘डेब्यू’को अवसर पाएकी थिइन् । शृंखलामा यी दुईसँगै अरु तीन स्पिनर रेवती धामी, रचना चौधरी र राजमती ऐरीले पनि पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाए ।

मनीषाले राष्ट्रिय टोलीकी अलराउन्डर कवीता कुंवरलाई देखेर क्रिकेट खेल्न सुरु गरेकी थिइन् । २१ वर्षीय कविता मनीषाको स्कुलकी साथी हुन् । ‘क्रिकेटमा मेरो प्रेरणा कविता नै हो । कवीताले क्रिकेट खेलेको देखेर मलाई पनि खेलौं खेलौं लाग्थ्यो,’ मनीषाले विगत सुनाइन ।

त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा डेब्यु गरेकी मनीषा उपाध्यायलाई डेब्यु क्याप हस्तान्तरण गर्दै कप्तान इन्दु वर्मा (बाँया), तस्विर सौजन्यः क्यान ।

मनीषाले गण्डकी प्रदेशबाट २०७६ सालमा सम्पन्न प्रधानमन्त्री कपको छैटौं संस्करण खेलेकी थिइन् । यही प्रतियोगितामार्फत नेपाली क्रिकेटको माथिल्लो स्तरमा मनीषाको करियर सुरु भएको थियो । दुई वर्षपछि २०७८ को प्रधानमन्त्री कपमा पनि गण्डकी प्रदेशको प्रतिनिधित्व गरेकी मनीषाले त्यही वर्ष भएको मुख्यमन्त्री कप यु-१९ प्रतियोगितामा आफ्नै नेतृत्वमा गण्डकीलाई च्याम्पियन बनाएकी थिइन् । फाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई हराएको थियो । एक वर्षपछि गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा मनीषाले विभागीय टोली नेपाल पुलिस क्लबको जर्सी लगाइन् ।

पुलिसले त्यतिबेला पहिलो पटक रुविना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट टोली तयार पारेको थियो । मनीषा पनि विभागीय टोलीमा जोडिन पुगिन् । विभागीय ‘डर्बी’का रुपमा सम्पन्न रोमाञ्चक फाइनलमा पुलिसले सशस्त्र प्रहरी बलको एपिएफमाथि पाँच रनको जित हासिल गर्दै स्वर्ण पदक जितेको थियो । राष्ट्रिय खेलकुदयता पुलिसले अहिलेसम्म अर्को टोली तयार पारेको छैन । राष्ट्रिय खेलकुदपछि मनीषाको करियरले अर्कै मोड लियो । पुलिसको प्रतिनिधित्व गरेपछि गण्डकीले मनीषासँग आगामी यात्रामा सहकार्य नगर्ने निर्णय गर्यो । मनीषाले त्यसयता बागमती प्रदेशको प्रतिनिधित्व गर्दै आएकी छन् ।

मनीषाले २०२२ जुनमा मलेसियामा सम्पन्न ‘आइसिसी यू-१९ ट्वान्टी-२० विश्वकप २०२३ छनोट’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । तीन खेलमा मौका पाउँदा मनीषाले १२ ओभरमा २६ रन मात्र खर्चिएर पाँच विकेट लिइन् । यही प्रदर्शनको प्रभावका कारण उनी लगत्तै मलेसियामा हुन लागेको एसिसी ट्वान्टी-२० च्याम्पियनसिपको अन्तिम टोलीमा अटाएकी थिइन् । मनीषाले त्यतिबेला हिरण्मयी रोईलाई प्रतिस्थापन गरेकी थिइन् । हिरण्मयी रोई प्राविधिक कारणले मलेसिया जान नपाउने भएपछि मनीषाले त्यो मौका पाएकी थिइन् । तर, मनीषाले मलेसियामा कुनै पनि खेल खेलिनन् । अन्तिम टोलीमा बोलाइनुअघि मनीषाले एपेन्डिक्सको शल्यक्रिया गर्नुपरेको थियो । जसले गर्दा अन्तर्राष्ट्रिय ‘डेब्यु’का लागि उनले थप समय कुर्नुपर्ने भयो ।

‘एकदमै खुसी छु । मलाई प्रशिक्षक र कप्तानले विश्वास गर्नुभयो । सिता (रानामगर), रुविना (क्षेत्री) र इन्दु (वर्मा) दिदीबाट धेरै कुरा सिकिरहेको छु । छुट्टै महसुस गरिरहेको छु,’ मुस्कुराउँदै मनीषा सुनाउँछिन्, ‘सबैको साथ पाउँदा विकेट पनि लिन सफल भएँ । दिदीहरुबाट अझै धेरै कुरा सिक्न बाँकी छ ।’

प्रधानमन्त्री कप महिला ट्वान्टी–२० प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गरेकी मनीषा उपाध्याय बलिङ गर्दै, तस्विर सौजन्यः क्यान ।

मनीषा दुई वर्षयता ललितपुरस्थित हात्तिवनमा रहेको ‘ग्रेट हिमालयन क्रिकेट एकेडेमी’मा प्रशिक्षण गर्दै आएकी छन् । गत वर्षको नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न यू-१९ ट्वान्टी-२० विश्वकप २०२५ को छनोटमा मनीषासम्मिलित नेपाली टोलीले सफलता प्राप्त गर्यो । एसिया छनोटको शीर्ष स्थानमा रहेर नेपालले विश्वकपमा स्थान बनाएको थियो । जहाँ मनीषाले दुई विकेट लिएकी थिइन् ।

तीन साताअघि मलेसियामा भएको विश्वकपमा भने उनी अन्तिम टोलीमा अटाइनन् । यही समयमा धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रधानमन्त्री कपको १०औं संस्करण सम्पन्न भएको थियो । जहाँ मनीषाले पाँच इनिङमामा प्रतियोगिताकै सर्वाधिक १० विकेट लिँदै बागमतीलाई सुपर फोरसम्म पुर्याइन् । उत्कृष्ट बलरको अवार्ड पनि जितिन् । जुन प्रदर्शनले मनीषालाई राष्ट्रिय टोलीमा फेरि फर्कायो । यसपालि भने उनले राष्ट्रिय टोलीको जर्सी लगाएर देशका लागि खेल्ने मौका पनि पाइन् ।

‘एकदमै खुसी छु । मलाई प्रशिक्षक र कप्तानले विश्वास गर्नुभयो । सिता (रानामगर), रुविना (क्षेत्री) र इन्दु (वर्मा) दिदीबाट धेरै कुरा सिकिरहेको छु । छुट्टै महसुस गरिरहेको छु,’ मुस्कुराउँदै मनीषा सुनाउँछिन्, ‘सबैको साथ पाउँदा विकेट पनि लिन सफल भएँ । दिदीहरुबाट अझै धेरै कुरा सिक्न बाँकी छ ।’

 त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध विकेट लिएपछि कप्तान इन्दु वर्मासँग खुसियाली मनाउँदै मनीषा उपाध्याय, तस्विर सौजन्यः क्यान ।

मिडियासामू मनीषालाई सुरुमा खुल्न गाह्रो भइरहेको थियो । विस्तारै उनले यसलाई सहज रुपमा लिन थालिन् । सञ्चारकर्मीले पनि मनीषालाई बोल्न प्रेरित गरिरहेका थिए । यसबीच मनीषालाई सोधियो, ‘यसरी विकेट लिनुको राज के हो ?’ नर्भस देखिएकी मनीषा गलल्ल हाँसिन् । अनि थाहा भयो, यो त कडा परिश्रमको प्रतिफल पो रहेछ ।

मनीषा भन्छिन्, ‘मैले आफ्नै तरिकाले बल फ्याँकिरहेको छु । टियु मैदामा लेफ्ट आर्म स्पिनरलाई सजिलो त हुन्छ । तर, यो सबै मेरो मिहिनेतका कारण सम्भव भएको हो । मैले अभ्यासका दौरान जसरी बल फ्याकिरहेको हुन्छु । त्यही कुरालाई मैदानमा देखाउने प्रयास गर्छु । विकेट पनि त्यही अनुरुप आइरहेको छ ।’

अन्तर्राष्ट्रिय अनुभवको सुरुआती दिनमा यसरी लगातार हार बेहोरिरहँदा चाहिँ मनीषालाई कस्तो महसुस हुन्छ त ? मनीषा आत्मग्लानी महसुस गर्छिन् । तर, हाँसेर प्रतिक्रिया दिनुबाहेक उनीसँग तत्कालका लागि विकल्प पनि त छैन । उनी फेरि हास्छिन्, अनि मिठास भरिएको सुदूरपश्चिमे शैलीमा छोटो जवाफ दिन्छिन्, ‘नराम्रो लागिरहेको छ ।’

 त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत खेलअघि अभ्यास गर्दै नेपाली स्पिनर मनीषा उपाध्याय, तस्विर सौजन्यः क्यान ।

वस ! यति ?

हो ! मनीषाले दिन सक्ने उत्तर भनेको अहिलेका लागि यति नै हो । तत्कालका लागि मनीषाको यो प्रतिक्रिया पर्याप्त भन्दा बढी छ । उनी सिक्दै छिन् । विस्तारै आत्मविश्वास बढ्दै जानेछ । मैदानभित्र र बाहिरका अवसरलाई सदुपयोग गर्दै जानेछिन् । अहिलेलाई भने उनीबाट निडर बोलीभन्दा पनि निडर प्रदर्शनको अपेक्षा रहनेछ ।

छेउमै बसेकी रुविना नेपाली क्रिकेटले नयाँ प्रतीभा पाएकोमा खुसी छिन् । भन्छिन्, ‘मनीषा जस्तो प्रतिभाशाली लेफ्ट आर्म स्पिनर पाउनु भनेको नेपाली टोलीलाई एकदमै फाइदाजनक हो । पाएका अवसरलाई राम्ररी सदुपयोग गरिरहेकी छन् । यही लयलाई कायम राख्ने हो भने उनीबाट हामीले अझ बढी विकेटको अपेक्षा राख्न सक्छौं, पावरप्लेमा पनि र पावरप्ले पछि पनि । मनीषाको भविष्य म एकदमै उज्जवल देख्छु ।’