एसोसिएटको जगजगीमा नेपाल बन्यो ‘अन्डर डग’

काठमाडौं । डेल स्टेन, विश्व क्रिकेटले पाएको अहिलेसम्मकै उत्कृष्ट तीव्र गतिका बलर हुन् । दक्षिण अफ्रिकी यी पूर्व क्रिकेटरले भनेका शब्द अहिले सामाजिक सञ्जालमा खुबै चर्चामा छ ।

वेस्ट इन्डिजको किङस्टनस्थित आर्नोस भेल रंगशालामा नेपालले समूह चरणको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनको नमिठो हार बेहोरेको थियो ।

प्रतियोगितामा कमेन्ट्री गरिरहेका खेलपछि स्टेयनले यसो भनेका थिए, ‘नेपाल र दक्षिण अफ्रिकाबीचको खेल जारी विश्वकपकै सर्वोत्कृष्ट खेल हो । म जहिल्यै अन्डरडगलाई समर्थन गर्ने गर्छु । आज पनि म नेपाललाई समर्थन गरिरहेको थिएँ । आफ्नै देशविरुद्ध भए पनि मलाई नेपाल जितोस् जस्तो लागिरहेको थियो ।’

नेपालविरुद्ध दक्षिण अफ्रिका जस्तो बलियो टेस्ट टिमले मात्र ११५ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको नेपाल १७औं ओभरसम्म जित जित निजक थियो । तर, त्यसपछि एकाएक दक्षिण अफ्रिका खेलमा हाबी भयो । अन्तिम बलमा नेपाललाई जितका लागि २ रन चाहियो । तर, स्ट्राइकमा रहेका गुलसन झाले सुझबुझपूर्ण रन लिन नसक्दा नेपाल पराजित भयो । यी अन्तिम ओभरहरूमा स्टेयनको मुखबाट एउटै शब्द दोहोरिएका थिए । त्यो हो, ‘कम अन नेपाल ।’

यसपालि ९ एसोसिएट टोलीमध्ये सबैभन्दा प्रभाव जमाउन सफल टोली रह्यो आयोजक अमेरिका । अमेरिका सुपर एटमा पुग्ने एकमात्र एसोसिएट टोली हो ।

नमीठो हारका बावजुद नेपालले विश्वभरबाट धेरै प्रशंसा प्राप्त गरेको छ । नेपालको प्रदर्शन र स्टेनले बोलेका ती शब्दहरूले विश्व क्रिकेटमा छुट्टै महत्व बोकेको छ । कम्तीमा पनि आउने दिनमा एसोसिएट टोलीलाई हेर्ने नजरमा परिवर्तन ल्याएको छ ।

अन्डर डगहरू यसपालि बलिया राष्ट्रहरूभन्दा कम नदेखिनुले जारी विश्वकप खास बन्न पुग्यो । जसले गर्दा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई अबको अन्तर्राष्ट्रिय प्रतियोगितामा एसोसिएट राष्ट्रहरूको मात्रा बढाउने चुनौती थपिदिएको छ ।

क्यानाडा र पाकिस्तान भिड्दै

कुल ९ एसोसिएट टोलीको सहभागिता रहेकाले यसपालिको विश्वकप आफैंमा ऐतिहासिक थियो । त्यसमाथि बलिया टोलीविरुद्ध हाबी रहनु, खेललाई सुपर ओभरतर्फ धकेल्नु, सनसनीपूर्ण नतिजा ल्याउनुले एसोसिएट टोलीको सहभागितालाई माइलस्टोनका रूपमा हेरिएको छ । यसले के देखाएको छ भने प्रतियोगिताको स्तर विगतभन्दा द्रुत रूपमा बढेको छ ।

यसपालि ९ एसोसिएट टोलीमध्ये सबैभन्दा प्रभाव जमाउन सफल टोली रह्यो आयोजक अमेरिका । अमेरिका सुपर-८मा पुग्ने एक मात्र एसोसिएट टोली हो ।

पहिलो खेलमा आफ्नो पुरानो प्रतिद्वन्द्वी क्यानडालाई ७ विकेटले पराजित गरेको अमेरिकाले ५ दिनपछि दोस्रो खेलमा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पारेको थियो । त्यसपछि अमेरिकाले पाकिस्तानको चिरप्रतिद्वन्द्वी भारतसँग ७ विकेटको पराजय बेहोरेको थियो । भारतसँग पराजित भए पनि अमेरिकाको सुपर एट पुग्ने सम्भावना जीवितै थियो । यस्तोमा टोलीले भाग्यको साथ पायो । वर्षाका कारण आयरल्यान्डविरुद्धको खेल नहुने भएपछि अमेरिकाले पाकिस्तानलाई एक अंकले पछि पार्दै ऐतिहासिक सफलता हासिल गर्यो । अघिल्लो चरण पुगेसँगै अमेरिकाले अर्को संस्करणको ट्वान्टी-२० विश्वकपमा स्थान बनाएको छ । उक्त संस्करण २०२६ मा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुँदै छ ।

अन्य एसोसिएट राष्ट्रहरूमा क्यानाडा, नामिबिया, युगान्डा, नेदरल्यान्ड्सले एक खेल जित्दा नेपाल, पपुवा न्युगिनी र ओमान जितविहीन रहे । क्यानडाले टेस्ट राष्ट्र आयरल्यान्डलाई १२ रनले पराजित गर्दा नामिबियाले ओमानलाई सुपर ओभरमा निराश पारेको थियो । समूह ’सी’ अन्तर्गत डेब्यु विश्वकप खेलिरहेको युगान्डाले पपुवा न्युगिनीमाथि ३ विकेटको ऐतिहासिक जित हासिल गरेको थियो ।

टोली बहुसांस्कृतिक खेलाडीले भरिएका कारण अमेरिकाको चर्चा अन्य राष्ट्रभन्दा बढी छ । त्यसमाथि पहिलो अनुभवमै पाकिस्तान जस्तो क्रिकेटको पावर हाउसलाई पराजित गरेपछि उसले विश्वको ध्यान तान्यो । केही खेलाडी अमेरिकामै जन्मेका हुन् भने अधिकांश खेलाडी अरू देशमा जन्मेर पछि अमेरिकाको नेतृत्व पुगेका हुन् । यी खेलाडीले पाकिस्तान, भारत, क्यारेबियन, दक्षिण अफ्रिका र न्युजिल्यान्ड भूमिबाट क्रिकेट अनुभव बोकेका हुन् । यी सबैको नेतृत्व गरेका अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट ल दुई हप्ताअघि मात्र टोलीमा जोडिएका थिए ।

अमेरिका र पाकिस्तान भिड्दै

पाकिस्तानविरुद्ध नायक रहेका बायाँहाते तीव्र गतिका बलर सौरभ नेत्रभल्कर मुम्बईमा जन्मेका हुन् । सुपर ओभरमा १८ रनको लक्ष्य पाएको पाकिस्तान नेत्रभल्करको बलिङमा मात्र १३ रनमा समेटिएको थियो ।

 एउटा रोचक इतिहास नेत्रभल्करसँग के पनि जोडिएको छ भने उनी र उनका सहकर्मी, बायाँहाते स्पिनर हर्मित सिंहले २०१० मा यु-१९ एकदिवसीय विश्वकपमा भारतको प्रतिनिधित्व गरेका थिए ।

सुपर-८मा पहिलो खेल दक्षिण अफ्रिकासँग १८ रनको सम्मानजनक हार ब्यहोरेको अमेरिकाले दोस्रो खेलमा शनिबार वेस्ट इन्डिजको सामना गर्दै छ । त्यसपछि टोलीले इङ्ल्यान्डको सामना गर्नेछ ।

एसोसिएट राष्ट्रमा अमेरिकापछि धेरै प्रभाव छाड्न सफल अर्को टोली हो स्कटल्यान्ड । स्कटल्यान्डले पनि अमेरिकाले जस्तै आफ्नो समूह ‘बी’मा दुई जित र एक बराबरी खेलेको थियो । पहिलो खेलमा वर्षा बाधक बन्दा स्कटल्यान्डले इङ्ल्यान्डसँग अंक बाँडेको थियो । 

दोस्रो र तेस्रो खेलमा एसोसिएट राष्ट्रद्वय नामिबिया र ओमानलाई क्रमशः ५ र ७ विकेटले हराएको स्कटल्यान्डले समूहको अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध बलियो दाबी प्रस्तुत गरेको थियो । पहिले ब्याटिङ गरेको टोलीले पूर्व विजेता अस्ट्रेलियासँग २० ओभरमा १८० रन जोडेको थियो । अन्तमा अस्ट्रेलियाले उक्त लक्ष्य दुई बल बाँकी छँदा पूरा गरेको हो । यति राम्रो प्रदर्शन बावजुत स्कटल्यान्ड नेट रनरेटमा इङ्ल्यान्डभन्दा पछाडि रह्यो र प्रतियोगिताबाट बाहिरियो । स्कटल्यान्डको यो यात्रामा ब्रेन्डन म्याकलनले १४० तथा जियोर्जी मुन्सेले १२४ रनको योगदान गरे ।

अन्य एसोसिएट राष्ट्रहरूमा क्यानाडा, नामिबिया, युगान्डा, नेदरल्यान्ड्सले एक खेल जित्दा नेपाल, पपुवा न्युगिनी र ओमान जितविहीन रहे । क्यानाडाले टेस्ट राष्ट्र आयरल्यान्डलाई १२ रनले पराजित गर्दा नामिबियाले ओमानलाई सुपर ओभरमा निराश पारेको थियो । समूह ’सी’ अन्तर्गत डेब्यु विश्वकप खेलिरहेको युगान्डाले पपुवा न्युगिनीमाथि ३ विकेटको ऐतिहासिक जित हासिल गरेको थियो ।

नेपाल र नेदरल्यान्ड्स भिड्दै

समूह ‘डी’ मा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । उता दक्षिण अफ्रिकालाई हराएको भए नेपालसँग सुपर एट पुग्ने अवसर हुने थियो । दुइ दिनपछि अर्को टेस्ट राष्ट्र बंगलादेशसँगको खेलले नेपालको यात्रा निर्धारण गर्ने थियो । तर, नेपालले दक्षिण अफ्रिकासँग नमीठो हार बेहोरेको थियो । बंगलादेशसँग पनि १०६ को सानो लक्ष्य पछ्याउन सकेन । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध पराजित हुँदा वर्षाका कारण खेल स्थगित भएका कारण श्रीलंकासँग अंक बाँडेको थियो ।

अहिले सुपर-८का केही खेल चलिरहेकाे छ । अमेरिकाले एक्लो एसोसिएट राष्ट्रको प्रतिनिधित्व गरिरहेको छ । अमेरिकाले सेमिफाइनलको यात्रा तय गर्ला नगर्ला त्यो त सुपर-८को प्रदर्शनले निर्धारण होला । सेमिफाइनल तय गरे एसोसिएट राष्ट्रका लागि यो एउटा ठूलो उपलब्धि हुनेछ ।
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar