ट्वान्टी-२० विश्वकपः सुपर ८ समीकरण पूरा

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपमा सुपर ८ मा पुग्ने टोलीको टुंगो लागेको छ ।

सोमबार समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशले नेपाललाई २१ रनले हराएसँगै सुपर ८ समीकरण पूरा भएको हो ।

वेस्ट इन्डिज र अमेरिकामा जारी विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । जसबाट हरेक समूहका शीर्ष दुई टोलीले अघिल्लो चरणको यात्रा तय गरे ।

समूह ‘ए’ बाट भारत र अमेरिका, ‘बी’ बाट अस्ट्रेलिया र साविक विजेता इङ्ल्यान्ड, ‘सी’ बाट वेस्ट इन्डिज र अफगानिस्तान तथा ‘डी’ बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुग्न सफल भए ।

सुपर ८ मा स्थान बनाएसँगै यी टोली सन् २०२६ को ट्वन्टी-२० विश्वकपका लागि सीधै छनोट भएका छन् ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाले समूह चरणका चारै खेममा जित हासिल गरे । भारत पनि अपराजित छ । भारतले तीन जित निकाल्दा एक खेलमा अंक बाँडेको छ । 

समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिज र अफगानिस्ताले मंगबार प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेता पनि शतप्रतिश जितका साथ अघिल्लो चरण प्रवेश गर्नेछ ।

यस पटक न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंकाको यात्रा समूह चरणबाट अगाडि बढ्न सकेन ।

१० वर्षपछि ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपाल जितविहिन बन्यो । यसैगरी आयरल्यान्ड र ओमनले पनि जित निकाल्न सकेनन् ।

पपुवा न्युगिनीले आज राति न्युजिल्यान्डको समाना गर्दैछ । यो खेलमा पराजित भए पपुवा न्युगिनी पनि जितविहन बन्दै घर फर्किने छ ।

सुपर ८ को समूह ‘ए’ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश तथा समूह ‘बी’ मा दक्षिण अफ्रिका, इङ्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन् ।

सुपर ८ का खेलहरु बुधबारदेखि सुरु हुने छन् । सुपर ८ का हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

यस्तो छ सुपर ८ मा पुगेका टोलीको प्रदर्शन:

भारत

समूह चरणमा आयरल्यान्डलाई आठ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई सात विकेटले पराजित गरेको भारतले वर्षाका कारण खेल हुन नसक्दा क्यानाडासँग अंक बाँडेको थियो । 

अमेरिका

अमेरिका डेब्यू संस्करणमै सुपर ८ को यात्रा तय गर्न सफल रह्यो । 

क्यानडालाई सात विकेट र पाकिस्तानलाई सुपर ओभरमा हराएको अमेरिकाले आयरल्यान्डसँग अंक बाँड्यो । अमेरिका भारतसँग भने सात विकेटले पराजित भयो । 

अस्ट्रेलिया

उपाधि दावेदार अस्ट्रेलयाले जारी विश्वकपमा सानदार प्रदर्शन गरिरहेको छ । 

समूह चरणमा शतप्रतिशत जित निकालेको अस्ट्रेलियाले ओमानलाई ३९ रन, इङ्ल्यान्डलाई ३६ रन, नामिबियालाई नौ विकेट र स्कटल्यान्डलाई पाँच विकेटले पराजित गर्यो ।

इङ्ल्यान्ड


इङ्ल्यान्ड भने केही भाग्यमानी साबित भयो । स्कटल्यान्डसँग समान अंक भए पनि रन रेटमा अगाडि रहँदा इङ्ल्यान्ड अघिल्लो चरणमा प्रवेश गरेको हो ।

ओमानलाई ८ विकेट र नामिबियालाई ४१ रन (डकवर्थ दुई पद्धतिको आधार) मा हराएको इङ्ल्यान्डले स्कटल्यान्डसँग अंक बाँड्यो । इङ्ल्यान्ड अस्ट्रेलियासँग भने ३६ रनले पराजित भयो ।

वेस्ट इन्डिज
वेस्ट इन्डिजले एक खेल आगवै सुपर ८ मा स्थान सुरक्षित गरिसकेको छ । टोलीले अघिल्ला तीनै खेल आफ्नो पक्षमा पारेको छ ।

वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई पाँच विकेट, युगान्डलाई १३४ रन र न्युजिल्यान्डलाई १३ रनले पराजित गर्यो। वेस्ट इन्डिजले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्दैछ ।

अफगानिस्तान


अफगानिस्तानले जारी प्रतियोगितामा सानदार प्रदर्शन गरिहेको छ । पहिलो पटक सुपर ८ को यात्रा तय परेको अफगानिस्तानले अघिल्ला तीनै खेलमा जित निकालेको छ ।

अफगानिस्तानले युगान्डालाई १२५ रन, न्युजिल्यान्डलाई ८४ रन र पपुवा न्युगिनीलाई सात विकेटले पराजित गरेको छ । अफगानिस्तानले वेस्ट इन्डिजसँग खेल्न बाँकी छ ।

दक्षिण अफ्रिका

समूह चरणका चारै खेलमा जित निकाले पनि  दक्षिण अफ्रिका स्वभाविक लयमा भने छैन ।

दक्षिण अफ्रिकाको ब्याटिङमा केही कमजोरी देखिएको छ । दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई चार विकेट, बंगलादेशलाई चार रन र नेपाललाई एक रनले पराजित गरेको छ ।

बंगलादेश

जारी प्रतियोगितामा बंगलादेशले मध्यम प्रदर्शन गरिरहेको छ । समूह चरणमा टोलीले श्रींलकालाई दुई विकेट, नेदरल्यान्ड्सलाई २५ र नेपाललाई २१ रनले पराजित गर्यो । बंगलादेश दक्षिण अफ्रिकासँग भने चार रनले पराजित भयो ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar