काठमाडौं । इङ्ल्यान्डले सन् १९९९ को सातौं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।
इङ्ल्यान्डले आयोजना गरेको यो चौथो विश्वकप क्रिकेट हो । यसअघि सुरुआतका तीन संस्करण पनि इङ्ल्यान्डमै आयोजना भएका थिए ।
|
इङ्ल्यान्ड मुख्य आयोजक भए पनि प्रतियोगिताका दुई खेल आयरल्यान्ड तथा समान एक खेल स्कटल्यान्ड, वेल्स र नेदरल्यान्ड्समा पनि खेलाइएको थियो ।
छैटौं संस्करणसम्म विश्वकप चार वर्षको अन्तरमा गरिएको थियो । तर, यसपटक भने प्रतियोगिता तीन वर्षको अन्तरमा आयोजना भएको थियो ।
मे १४ देखि जुन २० सम्म भएको प्रतियोगिता इङ्ल्यान्डका १७ र आयरल्यान्ड, स्कटल्यान्ड, वेल्स र नेदरल्यान्ड्सका समान एक गरी २१ मैदानमा खेलाइएको थियो ।
प्रतियोगितामा ९ टेस्ट र ३ एसोसिएट गरी १२ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा टेस्ट राष्ट्रको रूपमा इङ्ल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बावे, भारत, अस्ट्रेलिया, पाकिस्तान, वेस्ट इन्डिज र न्युजिल्यान्डले प्रतिस्पर्धा गरेका थिए । यसैगरी एसोसिएट राष्ट्रका रूपमा बंगलादेश, स्कटल्यान्ड र केन्या विश्वकपका प्रतिस्पर्धी थिए ।
यसपालि छैटौं संस्करणमा सहभागिता जनाएको नेदरल्यान्ड्स र युएई अनुपस्थित हुँदा बंगलादेश र स्टकल्यान्ड नयाँ टोलीका रूपमा थपिएका थिए । दुवै टोलीको यो डेब्यू विश्वकप थियो ।
|
प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा इङ्ल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बावे, भारत र केन्या तथा समूह ‘बी’ अस्ट्रेलिया, पाकिस्तान, वेस्ट इन्डिज, न्युजिल्यान्ड, बंगलादेश र स्कटल्यान्ड थिए ।
दुवै समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाएका थिए । समूह ‘ए’ बाट दक्षिण अफ्रिका, भारत र जिम्बावे तथा समूह ‘बी’ बाट पाकिस्तान, अस्ट्रेलिया र न्युजिल्यान्ड सुपर सिक्समा स्थान बनाउन सफल भए ।
जिम्बावेले पहिलो पटक समूह चरण पार गर्दा आयोजक इङ्ल्यान्ड र साबिक विजेता श्रीलंका भने समूह चरणबाटै बाहिरिएका थिए । प्रतियोगितामा केन्या र स्कटल्यान्ड जितविहीन बनेका थिए ।
अस्ट्रेलियाले लगातार दोस्रो र समग्रमा चौथो तथा पाकिस्तानले दोस्रो पटक एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएका थिए ।
अर्को समूहबाट आएको टोलीसँग प्रतिस्पर्धा गरेपछि सुपर सिक्सबाट शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।
पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्यान्डले अन्तिम चारमा स्थान बनाउँदा भारत र जिम्बावे सुपर सिक्सबाट बाहिरिए ।
सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई रोक्दै फाइनलमा स्थानमा बनायो । सेमिफाइनलमा दुवैले समान २१३ रन बनाएपछि खेल टाइ भएको थियो । तर सुपर सिक्समा दक्षिण अफ्रिकाभन्दा अस्ट्रेलियाले राम्रो रनरेटसहित शीर्ष स्थानमा रहेका कारण फाइनल पुग्न सफल भयो । अर्को सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ९ विकेटले हराएर उपाधि भिडन्त पक्का गरेको थियो ।
लर्डस मैदानमा भएको यस संस्करणको फाइनलमा पाकिस्तानमाथि ८ विकेटको सहज जित निकाल्दै अस्ट्रेलिया दोस्रो पटक विश्व च्याम्पियन बन्यो ।
अस्ट्रेलियाले लगातार दोस्रो र समग्रमा चौथो तथा पाकिस्तानले दोस्रो पटक एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएका थिए ।
सन् १९८७ को च्याम्पियन अस्ट्रेलिया सन् १९७५ र १९९६ मा उपविजेता बनेको थियो । यसैगरी सन् १९९२ को फाइनल खेलेको पाकिस्तान च्याम्पियन नै बनेको थियो ।
लर्डस मैदानमा भएको यस संस्करणको फाइनलमा पाकिस्तानमाथि ८ विकेटको सहज जित निकाल्दै अस्ट्रेलिया दोस्रो पटक विश्व च्याम्पियन बन्यो ।
फाइनलमा पाकिस्तानले अस्ट्रेलियासामु १ सय ३३ रनको रनको सामन्य लक्ष्य प्रस्तुत गरेको थियो । शेन वार्नले ४ विकट लिएपछि टस जितेर ब्याटिङ गरेको पाकिस्तानी टोली ३९ ओभरमै अलआउट भएको हो । एडम गिलक्रिस्टले अर्धशतक (५४ रन) बनाएपछि अस्ट्रेलियाले सहजै लक्ष्य पूरा गरेको थियो ।
|
दक्षिण अफ्रिकका लान्स क्लुस्नर प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगिताभर १७ विकेट लिनुका साथै २ सय ५० रन बनाएका थिए । ४ सय ६१ रन जोडेका भारतका राहुल द्रविड प्रतियोगिताको उच्च रनकर्ता बने । न्युजिल्यान्डका जियोफ एलोट र अस्ट्रेलियाका शेन वार्न समान २० विकेटका साथ सर्वाधिक विकेट लिने बलर बने ।
कुल ४२ खेल भएको प्रतियोगिताको फाइनल खेल हेर्न ३० हजार ४० दर्शक लन्डनस्थित लर्डस मैदान पुगेका थिए ।