उत्कृष्ट लयमा भएका खेलाडी घाइते भएर मैदानबाहिर बस्नु एकदमै पीडादायी हुन्छ । केही सयममात्रै बाहिर हुँदा नै खेलाडीको लय र प्रदर्शनमा ठूलो असर पुग्छ । झन् तीन वर्ष भलिबलको कोर्टबाहिर रहँदा कामना विष्टलाई कस्तो भयो होला ?
‘इन्ज्युरीको त कुरै नगरौं न...’ त्यो क्षण सम्झिन चाहँदिनन् कामना । ‘एकदमै गाह्रो भयो,’ लामो श्वास तान्दै उनले सुनाइन्, ‘तर.. मैले कोर्टमा फर्किन्छु भनेर अठोट गरेकी थिएँ । जसरी पनि पुनरागमन गर्छु भन्ने सोचेकी थिएँ, मेरो सपना नै फेरि कोर्टमा उत्रिने बनिसकेको थियो ।’
|
‘त्यतिबेला कमब्याक हुनुभन्दा पनि मानसिक रुपमा बलियो हुन नै गाह्रो भइरहेको थियो । एक्कासि त्यति ठूलो चोट बोकेर लामो समयसम्म बाहिर रहनु पर्दाको पीडा म बयानै गर्न सक्दिनँ,’ उनले खेलाडीसँग भनिन्, ‘चोटलाई जितेर कसरी पुनरागमन गर्ने अनि राष्ट्रिय टिममा पर्ने भन्नेमात्रै सोच थियो । सपना पूरा हुन्छ, हुन्न भन्ने सोचिनँ सपनामात्रै देखिरहें । राम्रो फिजियो, डाक्टरको सहयोग पाएँ । तर समय धेरै लाग्यो ।’
कामनाले २०७६ सालमा त्रिवि शिक्षण अस्पतालमा घुँडाको शल्यक्रिया गराएकी थिइन् । त्यतिबेला राष्ट्रिय टिममा पर्ने प्रबल सम्भावना देखाएकी कामनाले टिममा पर्नका लागि लामो समय कुर्नुपर्यो ।
चोटकै कारण कामनाको राष्ट्रिय टिममा डेब्यु ढिलो भयो । त्योभन्दा धेरै दुःख उनलाई नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्न नपाउँदा लाग्यो ।
‘चोटले गरेर डेब्यु पनि ढिलो भयो, १३औं साग पनि छुट्यो । त्यो समयमा राम्रा मौकाहरू गुमाएँ । केही छैन, राष्ट्रिय टिमबाट सेन्ट्रल जोन खेल्न पाए‘ । खुसी छु, अझ राम्रो गर्दै जाने छु,’ कामनाले गम्भीर हुँदै भनिन् ।
चोटपछि भलिबलमा पुनरागमन भएकी कामनाले एक वर्षअघि बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपबाट राष्ट्रिय टिममा डेब्यु गरिन् । डेब्यु प्रतियोगिताबाटै राष्ट्रलाई स्वर्ण पदक दिलाउन सफल भइन् उनी ।
कामनाले गत महिना माल्दिभ्समा भएको भलिबल एसोसिएसन कपमा माल्दिभ्स पुलिसबाट खेलेकी थिइन् । पुलिसलाई सेमिफाइनलसम्मको यात्रामा पुर्याउन महत्त्वपूर्ण योगदान दिएकी कामनाको यो पहिलो अन्तर्राष्ट्रिय एक्सपोजर थियो ।
अन्य देशका खेलाडीसँग घुलमिल हुन समय लागे पनि त्योे प्रतियोगिताबाट कामनाको आत्मविश्वासमा बढोत्तरी भएको छ ।
‘मैले खेल्ने माल्दिभ्सको टिम कस्तो छ होला भन्ने सोचेकी थिएँ । तर, पुलिस टिम माल्दिभ्सको बलियो टिम रहेछ । म एकजना नेपालीमात्र भएर सुरुमा गाह्रो भएको थियो । तर, बिस्तारै सहज हुँदै गयो,’ उनले माल्दिभ्स यात्राबारे सुनाइन्, ‘विदेशी लिग खेलेर आएपछि आफूमा आत्मविश्वास बढेको महसुस भएको छ । फ्री भएर खेल्न सकिरहेको छु ।’
|
कामनासँगै राष्ट्रिय टिमकी अर्की खेलाडी उषा भण्डारी पनि माल्दिभ्स पुगेकी थिइन् । उषाको टिम दिबेही सिफान्गी समूह चरणबाटै बाहिरिए पनि उनको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो । कामना भन्छिन्, ‘हामीले शतप्रतिशत दिएर खेलेका थियौं । नेपाली खेलाडीले राम्रो खेल्छन् भन्ने छाप छाडेर आएका छौं । अर्काे पटक मौका पायौं भने अझ राम्रो प्रदर्शन गर्ने गरी जानेछौं ।’
माल्दिभ्सबाट आएलगत्तै कामना १९औं एसियाली खेलकुदको लागि बन्द प्रशिक्षणमा छिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भलिबललगायत बाँकी खेलहरूको प्रारम्भिक प्रशिक्षण सुरु गर्न निर्देशन दिएको थियो ।
करिब ४० दिनको प्रारम्भिक प्रशिक्षण सुरु गर्न निर्देशन दिएको राखेपले प्रशिक्षण नरोकिदेओस् भन्ने कामनाको आशा छ ।
‘एसियन गेम्स खेलेर हामीलाई वरीयतामा सुधार ल्याउनु छ । १३औं सागमा भारतसँग हारेका थियौं । भारतसँग खेलेर राम्रो नतिजा ल्याउने मौका छ,’ कामनाले भनिन्, ‘मुख्य कुरा भनेको भारतसँग राम्रो नतिजा निकाल्ने र वरीयतामा सुधार ल्याउनु नै हो । त्यसका लागि प्रशिक्षण नरोकियोस् । निरन्तर प्रशिक्षण होस् ।’
महिला टिमले एभिसी सेन्ट्रल जोनमा लगातार दुई पटक स्वर्ण र सागमा रजत पदक जितेको थियो । त्यही नतिजालाई निरन्तरता दिनका लागि टोलीले जेठ ३० देखि बन्द प्रशिक्षण सुरु गरेको थियो ।
एथलेटिक्सतर्फ जुनियर च्याम्पियन भइसकेकी कामनाले सानैदेखि राष्ट्रिय टिमसम्म पुग्ने लक्ष्य बनाएकी थिइन् । पारिवारिक माहोल पनि खेलकुदमय भएकाले उनलाई सबैको राम्रो साथ थियो ।
|
एथलेटिक्स छोडेर भलिबल नै भविष्य बनाउने योजनाका साथ कामना सन् २०१६ मा पुलिस क्लबमा आबद्ध भइन् । पुलिसकी खेलाडी कोपिला रानाबाट पाएको यो मौका उनको लागि राष्ट्रिय खेलाडी बन्ने सुरुआती चरण बन्यो ।
अलराउन्डर कामना राष्ट्रिय टिममा प्रतिस्पर्धा बढिरहेकाले खेलाडीलाई यसले शतप्रतिशत दिन प्रेरित गर्ने बताउँछिन् ।
‘अहिले निकै प्रतिस्पर्धा बढ्दो छ । म अलराउन्डरको भूमिकामा छु । जुनियर खेलाडी आइरहेका छन् । त्यसले गर्दा देशलाई पनि राम्रो हो । नयाँ खेलाडीहरू आउँदा प्रतिस्पर्धा पनि बढ्छ,’ उनले भनिन्, ‘आफूले शतप्रतिशत दिनुपर्छ, राम्रो हुनुपर्छ भन्ने हुन्छ ।’
कामनाले जस्तोसुकै अवस्थामा पनि भलिबल नछाड्ने अठोट गरेकी छन् ।
‘भाग्य र चोट लागेन भने लामो समयसम्म नै खेल्ने सोच छ । भलिबलमा नै केही गर्ने चाहना छ,’ उनले खेलाडीसँग भनिन्, ‘मान्छेको सोच पनि हो । हुन त नेपालमा केही पनि छैन तर आफूले गर्छु भनेर लाग्यो भने नसक्ने केही छैन जस्तो लाग्छ । किनभने हाम्रा जगदीश गुरु(भट्ट), संघ सबै जना भलिबलमै लागिरहनुभएको छ नि !’
नेपाल भलिबल संघको नयाँ कार्यकालको लागि चुनावी दौडधूप पनि बढिरहेको छ । हालसम्म केन्द्रीय संघको चुनाव हुने मिति सार्वजनिक भएको छैन । तर, आगामी नयाँ कार्यसमितिले भलिबल विकासका लागि र खेलाडीको हकमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने व्यवस्था मिलाउने, एक्सपोजर ल्याएर विभिन्न देशसँग मैत्रीपूर्ण प्रतियोगिता खेलाए हुन्थ्यो भन्ने कामनाको अपेक्षा छ ।