मंसिर ६, २०८१ बिहीबार | १५:२०:१९
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन नेपाली भलिबल

के छ भलिबलको खबर ? ‘सबै खेल हारियो’

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप खेलेर नेपाली राष्ट्रिय भलिबल टोली भर्खरै स्वदेश फर्किएको छ । अघिल्लो साता किर्गिस्तानको बिस्केकमा नेपाली टोलीसँग प्रतियोगिताको बिर्सनलायक अनुभव थियो ।

प्रतियोगितामा नेपाली टोली ६ पटक कोर्टमा उत्रियो । दुर्भाग्य, सबै अवसरमा नेपालको नतिजा हारमा रह्यो । दुई वर्षपछि अन्तर्राष्ट्रिय कोर्टमा फर्किएको नेपाल एसियाली महारथीहरूसँगको प्रतिस्पर्धामा निरीह देखिनु स्वाभाविक थियो ।

आयोजक किर्गिस्तानको दोस्रो दर्जाको ‘बी’ टोलीसँग पाँच सेट खेल्नु नै नेपाली टोलीको ठूलो उपलब्धि देखियो । भनिन्छ नि खेलकुदमा सबै स्पर्धा जित्नका लागि हुँदैनन् । सिक्नलाई पनि हुन्छन् । अनुभव बटुल्नका लागि पनि हुन्छन् । मित्रताका लागि हुन्छन् । खेलभावना प्रवर्धन गर्न पनि हुन्छन् । नेपाली भलिबलका लागि किर्गिस्तान भ्रमण जितबाहेक अन्य यस्तै उद्देश्यका लागि रह्यो । त्यसमा भने सफलता हात लाग्यो ।

‘प्रतियोगितामा कुनै पनि खेल जित्न त सकेनौं । तर, एसियाका ठूला टोलीसँग अनुभव साट्ने मौका पायौं,’ नेपाली भलिबल टोलीका कप्तान हरिहजुर थापाले भने, ‘विगतमा भन्दा यसपालि राम्रो प्रदर्शन गर्यौं । सर्भिस, रिसिभ, डिफेन्स र ब्लकमा केही हदसम्म खेल सुधारिएको छ । नयाँ खेलाडीले पनि ठूला टोलीविरुद्ध अवसर पाए, आगामी दिनमा हाम्रो टोली राम्रो बन्ने छ ।’

कप्तानसँग लय मिलाउँदा मात्र होइन, नेपाली टोलीको पछिल्लो विगत हेर्दा पनि किर्गिस्तान भ्रमणबाट सन्तुष्ट हुने थुप्रै आधार भेटिन्छ । नेपाली राष्ट्रिय टोली २०७८ मंसिरमा बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितापछि पहिलो पटक संगठित रूपमा कोर्टमा उत्रिएको हो ।

प्रतियोगितामा इरान, मंगोलिया, किर्गिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान र किर्गिस्तानको ‘बी’ टोली सहभागी थिए । ढल्कँदो उमेरका नियमित कप्तान इम रानामगर टोलीमा थिएनन् । यही कारण ३१ वर्षीय सेटर हरिहजुरले दसौं कप्तानको हैसियतमा राष्ट्रिय टोलीको नेतृत्व गर्ने मौका पाए । यही प्रतियोगिताबाट मिडिल ब्लकर सफल विश्वकर्मा, स्पाइकर हेमन्तबहादुर मल्ल, लिबेरो भीम गाहामगर र सेटर लोकेन्द्र गिरी देशका लागि पहिलो पटक कोर्ट उत्रने संयोग जुर्यो ।

मंगोलिया, किर्गिस्तान र तुर्कमेनिस्तानसँग ३-१ को समान सेटमा पराजित भएको नेपालले इरान र उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा नतिजा सुम्पियो । किर्गिस्तानको ‘बी’ टोलीविरुद्ध पराजित भए पनि पाँचौं सेटसम्म खेल लम्ब्याउन सक्नु नेपालको सबैभन्दा सफल नतिजा थियो ।

पूर्वकप्तान भरत शाह छोटो तयारी र कम अनुभवका कारण नेपाली टोलीको नतिजा सुखद हुन नसकेको बताउँछन् । ‘हाम्रो तयारी नै कम भयो । एक महिनाभित्र खुला छनोट गरेर टोली तयार गरेका थियौं । अभ्यास पनि राम्रो हुन सकेन,’ कप्तानको हैसियतमा १६ वर्ष नेपाली राष्ट्रिय टिमको नेतृत्व गरेका शाह भन्छन्, ‘प्रतियोगितामा हामीले इरान र किर्गिस्तानजस्ता स्तरीय टोलीसँग खेल्नुपर्यो । तर सबै सेटमा २२/२४ अंक जोडेका छौं । अनुभवको कमीले गर्दा केही जित्नैपर्ने खेल हार्यौं । लगातार अभ्यास भए राम्रो नतिजाको आस गर्न सकिन्छ ।’

मैदान बाहिर पनि नेपाली भलिबलको अवस्था उस्तै छ । उपलब्धिविहीन । नेपाल भलिबल संघ (एनभिए)को नयाँ कार्यसमिति चलायनमान बन्ने प्रक्रियामा छ । तर, विगतमा निस्क्रिय हुँदा भौगोलिक रूपमा जहाँ पनि खेल्न सकिने भलिबलले देशभित्र प्राथमिकता पाउन सकेन । राष्ट्रिय टोलीका एक खेलाडी भन्छन्, ‘खेलाडीलाई तलबसुविधा छैन । लगातार प्रतियोगिता हुन्छन् तर व्यवस्थापन कहिल्यै गतिलो हुँदैन अनि नतिजा कसरी ल्याउनु ?’

नेपाल सरकारले ०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । तर, राष्ट्रिय खेल भएको ६ वर्ष बितिसक्दा पनि भलिबलले स्तरीय कभर्डहल पाउन सकेको छैन । तीन विभागीय टोलीलाई छाड्ने हो भने भलिबलले राखेपको बहुउद्देश्यीय कभर्डहलमै निर्भर रहनुपरेको छ ।

त्यो पनि बहुउद्देश्यीय कभर्डहल हुँदा भलिबल खेलाडीले राम्रोसँग अभ्यास गर्न पाँउदैनन् । ब्याडमिन्टन, बास्केटबल, मार्सल आर्टसका खेलहरू हुँदा भलिबलले अन्यत्र प्रशिक्षण सार्नुपर्छ । अझ एनभिएले आयोजना गर्ने राष्ट्रिय लिग छाड्ने हो भने विभिन्न संघसंस्था र क्लबहरूले गर्ने प्रतियोगिताको धुलेकोर्टमा खेल्न खेलाडी बाध्य हुन्छन् ।

‘हाम्रो समस्या नै कभर्डहल हो । संघको कभर्डहल नहुँदा हामीले राम्ररी अभ्यास गर्न पाउँदैनौं । खुला चौरमा अभ्यास गरेर पदक आस गर्न उपयुक्त हुँदैन,’ शाह भलिबलको दुखेसो सुनाउँछन् ।

यता, राखेपको पहल र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा मूलपानीको डाँछीमा कभर्डहल बन्ने सम्झौता भए पनि त्यसले गति लिन सकेको छैन । एनभिएका अध्यक्ष जितेन्द्रबहादुर चन्द र नगरपालिका प्रमुख उपेन्द्र कार्कीबीच वैशाख अन्तिम साता सम्झौता भएको थियो ।

फेरि मैदानभित्रकै कुरा । नेपालले पुरुष टोलीले अहिलेसम्म ठूला प्रतियोगिता जित्न सकेको छैन । पुरुष टोलीले सन् २०१७ माल्दिभ्समा आयोजना भएको एभिसी सेन्ट्रल जोनमा कांस्य पदक जित्नु नै अहिलेसम्मको ठूलो उपलब्धि हो । पुरुष टोलीले सन् १९७८ बाट एसियाली खेलकुद खेल्दै आएको छ । त्यसयता सन् १९८२, ०८६ र ०१८ मा एसियाडमा सहभागी भएको थियो । एभिसी सेन्ट्रल जोन सन् २०१५, ०१६, ०१७, ०१८ र ०१९ मा खेल्यो । सागमा सन् २०१० यता सहभागी भएको छ । सन् २०१६ र ०१९ मा निरन्तरता दिएपछि पाँचौं स्थानबाट माथि बढ्न सकेन ।

पूर्वकप्तान शाह भलिबल विकासको लागि ग्रासरुट कार्यक्रम नहुनु मुख्य समस्या बताउँछन् । उनी सरोकारवालाले ग्रासरुट कार्यक्रममा ध्यान दिनुपर्ने बताउँछन् । ‘हामीसँग पूर्वाधारको अभाव त छँदै छ । खेलाडी उत्पादनका लागि ग्रासरुट कार्यक्रम छैन,’ शाहले भने, ‘जति खेलाडी छन् आफ्नै लगावका कारण भलिबल खेलिरहेका छन् । देशैभरबाट खेलाडी खोज गरेर प्रशिक्षण गराउन सक्यौं भने महिला र पुरुष दुवै टोली स्तरीय बनाउन सक्छौं ।’