मंसिर ६, २०८१ बिहीबार | १५:३२:४०
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन फेन्सिङ

दायरा फराकिलो पार्दै फेन्सिङ

फेन्सिङ खेललाई विश्वकै पुरानो खेलमध्ये एकको रूपमा लिइन्छ । सन् १८९६ मा सम्पन्न पहिलो आधुनिक ओलम्पिकमै फेन्सिङ खेल समावेश छ । यसले पनि फेन्सिङको प्रत्यक्ष इतिहास दुई शताब्दीभन्दा लामो रहेको देखिन्छ । सन् २०२२ सम्म आइपुग्दा विश्व फेन्सिङको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फेन्सिङ महासंघमा एक सय ५७ देश सदस्य बनेका छन् ।

फेन्सिङको सुरुआत युरोप महाद्वीपबाट भएको हो । तर, यसको सुरुआत केलाउँदा युरोपमा कुन ठाउँबाट भन्ने बहसमा इटाली र फ्रान्सबीच विवाद रहेको पाइन्छ । इटाली र फ्रान्स दुवैले यसको सुरुआती विन्दु आफ्नो देश भएको दाबी गर्दै आएका छन् ।

फेन्सिङमा प्रयोग हुने भाषा र प्राविधिक शब्दहरूलाई चिन्तन गर्दा यसको सुरुआत फ्रान्सबाट भएको भेटिने बताउँछन् नेपाल फेन्सिङ एसोसिएसनका महासचिव सुजनलाल श्रेष्ठ ।

‘इटाली र फ्रान्सबीच यसको सुरुआतलाई लिएर विवाद रहे पनि फेन्सिङमा प्रयोग हुने भाषा र प्राविधिक शब्द फ्रेन्च भएकाले फ्रान्सलाई नै आधिकारिक मानिन्छ,’ महासचिव श्रेष्ठ भन्छन् ।

कस्तो खेल हो फेन्सिङ ?

झट्ट सुन्दा फेन्सिङ शब्द केही फरक सुनिए पनि सामान्य अर्थमा यो तरबारबाजी हो । यसमा खेलाडीहरूको सुरक्षा कबजसहित तरबारले एकअर्कालाई प्रहार गर्न खोज्छन् र जसले सुरुमा विपक्षीमाथि प्रहार गर्न सक्यो । उसैले अंक पाउँछ ।

श्रेष्ठका अनुसार अंकका लागि ५ सयदेखि ७ सय ग्रामको बल लगाई प्रहार गरेमात्र विपक्षीले अंक पाउँछन् ।

‘सामान्य रूपमा एक फेन्सरले अर्को फेन्सरलाई तरबारले छुँदा वा घोचेर अंक पाउने देखिन्छ । तर, अंकका लागि फेन्सरले विपक्षीलाई ५ सयदेखि ७ सय ग्रामको जोडले शरीरमा प्रहार गरेमा वा छोएमा मात्र सुरक्षाका लागि लगाइएको कवजमा बत्ती बल्छ । अनि फेन्सरले अंक पाएको थाहा पाउँछन् । नत्र छुँदैमा मात्र अंक पाउँदैनन् ।’

तरबारबाजीको खेल भएका कारण झट्टा हेर्दा यो खेल खतरनाक देखिए पनि अन्य खेलहरूको तुलनामा फेन्सिङ निकै सुरक्षित खेल हो । यसका लागि मास्क, ग्लोभ्स र जिउमा सुरक्षा कवज लगाएको हुन्छ । अझ, तरबारको कुनै पनि भाग धारिलो हुँदैन र यसको माथिल्लो भाग चुच्चे पनि हुँदैन । यसैकारण फेन्सरहरूलाई चोट लागेका घटनाहरू बिरलै भेटिन्छ ।

फेन्सिङमा सिनियरतर्फ कुनै उमेरहद हुँदैन । यसमा इपी, फोइल र सेबर गरी तीन इभेन्ट हुन्छ । कुनै पनि प्रतियोगितामा यी इभेन्टहरूमा कुल १२ स्वर्णका लागि प्रतिस्पर्धा हुन्छ । सिनियरमा कुनै क्याटगोरी हुँदैन तर जुनियरमा भने क्याडेट च्याम्पियनसिप र जुनियर क्याडेट क्याटगोरी च्याम्पियनसिप हुन्छ । फेन्सिङमा व्यक्तिगत र टिम दुवैखाले प्रतियोगिता हुन्छ । टिमको हकमा एक समूहमा चारजना हुन्छन् । खासमा तीनजनाको टोली हुने भए पनि एकजान स्पेयर हुने भएकाले चारजना पुग्छन् ।

नेपालमा फेन्सिङको सुरुआत

विश्वमा फेन्सिङको इतिहासमा लगभग दुई शताब्दी लामो भए पनि नेपालमा भने यसको इतिहासले भर्खरै एक दशक छोएको छ । नेपालमा सन् २००९ मा मात्र नेपाल फेन्सिङ एसोसिएसन आधिकारिक रूपमा दर्ता भएको थियो ।

नेपालमा फेन्सिङ खेल भित्र्याउने सम्पूर्ण श्रेय एसोसिएसनका महासचिव सुजनलाल श्रेष्ठलाई जान्छ । सन् २००६ मा कतारको दोहामा भएको एसियाली खेलकुदमा श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी) को तर्फबाट राजदूतका रूपमा त्यहाँ पुगेका थिए । गेम्सका लागि भारतीय ओलम्पिक कमिटीबाट भारतीय फेन्सिङ एसोसिएसनका महासचिव अरुण विजयी सहभागी थिए । प्रतियोगिताको दौरान श्रेष्ठ र विजयीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित भयो ।

सन् २००७ मा विजयीले नै श्रेष्ठलाई नेपाल फेन्सिङको सुरुआत गर्न सल्लाह दिए । सँगै यसका लागि चाहिने सहयोग गर्न भारत फेन्सिङ तयार रहेको समेत प्रतिवद्धता जनाए ।

‘तत्कालीन समयमा राखेपको नेतृत्वमा राजनीतिक पहुँचका मानिस हुने भएकाले सुरुमा मैले विजयीको यो कुरालाई खासै चासो र महत्व दिएनन्,’ श्रेष्ठले भने, ‘पछि विजयीले फेन्सिङ विश्वकै पुरानो खेल हो । नेपालमा यसको सुरुआतका लागि आफूहरू सबै सहयोग गर्न तयार रहेको बताएपछि सन् २००९ मा हामीले फेन्सिङ एसोसिएसन दर्ता गरायौं ।’

त्यसपछि विजयीले नै भारतबाट प्रशिक्षणका लागि प्रशिक्षक र आवश्यक स्रोत–साधन उपलब्ध गराइदिए । अनि सुरु भयो नेपालमा फेन्सिङ ।

विश्व फेन्सिङमा नेपालको उपस्थिति

इतिहास नियाल्दा नेपाल फेन्सिङ अझै पनि विश्व परिप्रेक्ष्यमा चार खुट्टा टेकेर तातेताते खेल्न सिक्दै छ । सन् २००९ मा नेपालभित्र दर्ता भएपछि २०१० मा नेपाल फेन्सिङ महासंघबाट मान्यता पायो ।

‘हामीले सन् २०१० मै भारतको चेन्नईमा सम्पन्न दक्षिण एसियालीस्तरीय फेन्सिङ च्याम्पियनसिपमा सहभागिता जनायौं । त्यसमा नेपाली फेन्सरले तीन कांस्य पदक जिते । त्यसयता, हामीले विश्व फेन्सिङ महासंघको क्यालेन्डरमा आयोजना भएका सबैखाले प्रतियोगितामा सहभागिता जनाउँदै आएका छौं ।’

सन् २०१० मै भारतको चेन्नईमा भएको दक्षिण एसियालीस्तरीय फेन्सिङ च्याम्पियनसिपमा पहिलो पटक नेपाली फेन्सरले सहभागिता जनाए । पहिलो सहभागितामै नेपालले तीन कांस्य पदक जितेको स्मरण गराउँछन् महासचिव श्रेष्ठ ।

‘हामीले सन् २०१० मै भारतको चेन्नईमा सम्पन्न दक्षिण एसियालीस्तरीय फेन्सिङ च्याम्पियनसिपमा सहभागिता जनायौं । त्यसमा नेपाली फेन्सरले तीन कांस्य पदक जिते । त्यसयता, हामीले विश्व फेन्सिङ महासंघको क्यालेन्डरमा आयोजना भएका सबैखाले प्रतियोगितामा सहभागिता जनाउँदै आएका छौं ।’

सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पहिलो पटक फेन्सिङ समावेश भएको थियो । त्यसमा नेपालले तीन रजत र ६ कांस्य पदक जितेको थियो । यसले पनि फेन्सिङ नेपाललाई अन्तर्राष्ट्रिय खेलमा पहिचान स्थापिन गर्न महत्त्वपूर्ण साबित हुनसक्ने देखिन्छ ।

खेलाडीको अवस्था र सम्भावना

खेलको अभिभावक रूपमा रहने संघ नै तातेताते खेल्दै गरेको अवस्थामा खेलाडीको सुरक्षित भविष्यको कल्पना गर्नु नै हतारो हुनसक्छ । अझ, नेपालमा फुटबल र क्रिकेटजस्ता चर्चित खेलहरूका खेलाडीको अवस्था नै सहज नरहेको छ । र, फेन्सिङ अपवाद बनेको छैन ।

अधिकांश नेपाली राष्ट्रिय फेन्सर विभागमा आबद्ध रहेका छन् । महासचिव श्रेष्ठका अनुसार नेपाली फेन्सरहरू धेरैजस्तो त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफमा आवद्ध छन् ।

खेलाडीलाई फेन्सिङप्रति आर्कषित गराउन धेरैभन्दा धेरै प्रतियोगिताहरू आयोजना गर्न आवश्यक रहेको उनी ठान्छन् ।

‘जति धेरै प्रतियोगिता आयोजना गर्न सक्यो त्यति नै खेलाडीहरू आर्कषित हुने हो । यसमा लागि संघले भन्दा पनि सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक छ । फेन्सिङ व्यक्तिगत स्पर्धा भएकाले पनि यसमा नेपालले पदक जित्ने पर्याप्त सम्भावना छ । अहिलेको लगानीले नै भविष्य निर्धारण हुने भएकाले भविष्य उज्ज्वल देख्न अहिलेदेखि नै लगानी बढाउँदै लानुपर्छ ।’

अन्त्यमा,

कोभिड–१९ महामारीका कारण गतिविधि ठप्प भएको फेन्सिङ एसोसिएसनले हालैमात्र ‘वीर गणेशमान स्मृति फेन्सिङ’ प्रतियोगिता सम्पन्न गरको छ । यसबाट केही प्रतिभावान खेलाडीहरूले फेन्सिङमा आशा देखाएका छन् । फेन्सर नै बन्छु भन्ने सोच बनाएकाहरूलाई प्रतियोगिताको सफल समापनले केही उत्साह थपेको छ ।

तर, आफ्नै प्रशिक्षण हल नभएको फेन्सिङ संघ एक्लैले उनीहरूलाई यही क्षेत्रमा टिकाइराख्न नसक्ने प्रस्ट छ । एसोसिएसनले प्रशिक्षण हलका लागि स्थान खोजिरहेको र सरकार वा राष्ट्रिय खेलकुद परिषदले ठाउँ उपलब्ध गराइदिए तत्काल हल बनाउने योजनामा छ एसोसिएसन ।

तर, आफ्नै प्रशिक्षण हल नभएको फेन्सिङ संघ एक्लैले उनीहरूलाई यही क्षेत्रमा टिकाइराख्न नसक्ने प्रस्ट छ । एसोसिएसनले प्रशिक्षण हलका लागि स्थान खोजिरहेको र सरकार वा राष्ट्रिय खेलकुद परिषदले ठाउँ उपलब्ध गराइदिए तत्काल हल बनाउने योजनामा छ एसोसिएसन ।

यसबाहेक, फेन्सिङ एसोसिएसनले ओलम्पिक कमिटीमा एक प्रस्ताव पेस गरेको र कमिटीले उक्त प्रस्ताव पारित गरे नेपालमा फेन्सिङको विकास र विस्तारमा एक कोसेढुंगा साबित हुने महासचिव श्रेष्ठको दाबी छ ।