काठमाडौं । विश्व खेलकुदको कुम्भमेला पेरिस ओलम्पिक २६ जुलाईदेखि ११ अगस्टसम्म फ्रान्सको राजधानी सहरमा आयोजना हुँदै छ ।
पेरिससहित १६ सहरमा हुने ओलम्पिकमा ३२ खेलका विभिन्न ३२९ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । त्यसमा १० हजार ५ सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।
६ देशले ओलम्पिक आयोजना गर्ने प्रस्ताव राखे पनि पेरिसले यसको अधिकार पाएको हो । विगतमा जस्तै पेरिस ओलम्पिकमा पनि नेपाली खेलाडीको सहभागिता रहनेछ । यस खेलकुद कुम्भमेलामा नेपालका ६ खेलाडीले सहभागिता निश्चित भइसकेको छ ।
टेबलटेनिसबाट स्यान्टु श्रेष्ठ छनोट प्रतियोगिताबाट छानिएर ओलम्पिक खेल्दैछन् । छनोट खेलेर ओलम्पिक पुग्ने उनी तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट पछि तेस्रो खेलाडीको रुपमा इतिहासमा दर्ज भएका छन् ।
युनिभर्सालिटी कोटामा एथलेटिक्सबाट म्याराथन धाविका सन्तोषी श्रेष्ठ, पौडीबाट डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनबाट प्रिन्स दाहाल र सुटिङबाट सुस्मिता नेपाल छन् ।
स्यान्टु श्रेष्ठ– टेबलटेनिस
टेबलटेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा सिधै छनोट हुने एक्ला खेलाडी हुन् । नेपालमै पहिलो पटक आयोजना भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिताको पुरुष एकलतर्फको फाइनलमा स्यान्टुले आफ्नै देशका संयोग कपालीलाई ४–३ को सेटले पराजित गर्दै ओलम्पिकमा स्थान बनाएका थिए ।
उनी नेपाली टेबलटेनिस इतिहासमा ओलम्पिक खेल्ने पहिलो खेलाडी हुन् । छनोट प्रतियोगिता खेल्न अस्ट्रेलियामा अध्ययनरत उनी नेपाल आएका थिए । सेमिफाइनलमा स्यान्टुले श्रीलंकाका चामिरा गिनिगे पराजित गरेका थिए ।
सन्तोषी श्रेष्ठ– एथलेटिक्सधाविका सन्तोषी श्रेष्ठले पहिलो पटक ओलम्पिक खेल्ने लागेकी हुन् । उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा स्वर्ण पदक जिताएकी थिइन् । उनलाई युनिभर्सालिटी कोटामा ओलम्पिकमा प्रतिस्पर्धा गराउन नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथलेटिक्स संघले सिफारिस गरेका थिए ।
सन्तोषीले असोजमा चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन् । गत वर्ष नै बंगलादेशमा भएको बंगबन्धु म्याराथनको दक्षिण एसियातर्फ उनले स्वर्ण जितेकी थिइन् । घरेलु प्रतियोगितामा उनले थुप्रै उपाधि जितेकी छन् ।
डुवाना लामा– पौडी
पौडीवाज डुवाना लामाले युनिभर्सालिटी कोटा (वाइल्ड कार्ड) मा पेरिस ओलम्पिक खेल्ने भएकी छन् । हाल उनले थाइल्यान्डमा प्रशिक्षण गरिरहेकी छन् । उनका बुवा नेपाली र आमा आइरिस हुन् । डुवानाले नेपालमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गरेकी छन् ।
गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित ९ स्वर्ण जितेकी थिइन् । १३औं सागमा २ सय मिटर बे्रस्टस्ट्रोक र दुई सय मिटर बटरफ्लाईमा रजत पदक जितेकी डुवाना प्रतिभाशाली पौडीवाजमा पर्छिन् ।
एलेक्जेन्डर शाह– पौडीएलेक्जेन्डर शाहले पनि डुवानाझैं वाइल्र्ड कार्ड कोटामै पेरिस ओलम्पिक खेल्ने पक्का गरेका छन् । उनीसँग २०२० को टोकियो ओलम्पिकको अनुभव पनि छ । हाल उनी अहिले अमेरिकामा प्रशिक्षण गरिरहेका छन् । आर्मी क्लबमा आबद्ध एजेक्जेन्डर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
एजेक्जेन्डरले अमेरिका पढाइ र प्रशिक्षण एकसाथ बढाइरहेका छन् । उनले नवौं राष्ट्रिय खेलकुदमा ५० मिटर फ्रिस्टाइलको आफ्नै कीर्तिमान सुधार गरेका थिए । २१ वर्षीय उनले पछिल्लो पटक दोहामा भएको विश्व एक्वाटिक र चीनमा १९औं एसियाली खेलकुद खेलेका थिए ।
प्रिन्स दाहाल– ब्याडमिन्टन
नेपाली ब्याडमिन्टन इतिहासमा प्रिन्स ओलम्पिक खेल्ने पहिलो खेलाडी हुन् । उनले पेरिस ओलम्पिकको तयारीमा जुटिसकेका छन् । जुनियर वरीयताको विश्व नम्बर एक भइसकेका १९ वर्षीय प्रिन्स ओलम्पिकमा आफ्नो सहभागितालाई बलियो पार्न अहिले श्रीलंकामा प्रशिक्षणरत छन् ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) मार्फत प्रिन्सलाई युनिभर्सालिटी कोटाबाट ओलम्पिक स्थान पक्का गराइएको थियो । नेपाल ब्याडमिन्टन संघ, नेपाल ओलम्पिक कमिटी र विश्व ब्याडमिन्टन महासंघको पहलमा प्रिन्सले यो अवसर आत्मसात गरेका थिए ।
सुस्मिता नेपाल–सुटिङसुस्मिता पेरिस ओलम्पिक खेल्ने पक्का भएको तेस्रो महिला खेलाडी हुन् । ३३ औं ओलम्पिकका लागि सुस्मिताले वाइल्ड कार्ड पाएकी हुन् । सुस्मिताले महिला १० मिटर एयर राइफलमा सहभागिता जनाउने छिन् ।
सन् १९८८ को सोल ओलिम्पक देखि नेपालले सुटिङमा भाग लिँदै आएको छ । रियो ओलिम्पक २०१६ मा भने सुटिङमा नेपालको सहभागिता रहेन ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा वाइल्ड कार्डका लागि आवश्यक न्युनतम स्कोर गरेकी कारण उनी योग्य भएकी हुन् । यसै वर्ष जकार्तामा भएको एसियन सुटिङ च्याम्पियनसिपमा उनले ६१६.२ गरेकी थिइन् । जहाँ उनी ५० औं वरीयतामा थिइन् ।
पारा ओलम्पिकमा दुई खेलाडी
पारा तेक्वान्दो खेलाडीद्वय पलेशा गोबर्धन र भरतसिंह महताले पेरिस पारा ओलम्पिक खेल्ने पक्का भएका छन् । पलेशाले एसियाली छनोट प्रतियोगिता जितेर सिधै ओलम्पिक पक्का गरेकी हुन् । चीनको ताइयान भएको एसियाली छनोटको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जितेकी हुन् ।
पलेशा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो पारा खेलाडी हुन् । उनी टोकियो पारा ओलम्पिक खेलाडी हुन् । ओलम्पिकमा दुई खेल जितेकी पलेशाले हाङचाउ एसियाली खेलकुदमा कांस्य जितेर इतिहास रचेकी थिइन् ।
नेपाल तेक्वान्दो संघले जनाएअनुसार भरतसिंहले वाइल्ड कार्ड पाएका हुन् । उनले ओलिम्पिकमा के(४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
दार्चुलाका २७ वर्षीय भरतले एसियाली छनोटमा एक खेल र हालै भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा एक खेल एक खेल जितेका थिए । त्यसले उनको वरीयतामा सुधार आएको थियो ।