काठमाडौं । ‘फुटबलले मनोरञ्जन त दिइरहेको छ । दर्शक पनि उतै आकर्षित छन् । तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले फुटबलबाट के पाइरहेको छ त ?’
सोमबारको दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरभित्र रहेको नेपाल कराते महासंघ (एनकेएफ)को केन्द्रीय कार्यालयमा महासचिव दावा गुरुङले यसो भनिरहँदा मैदानबाट दर्शकको ‘काठमाडौं ! काठमाडौं !’ भन्ने चिच्याहट सुनिन्थ्यो ।
त्रिपुरेश्वर क्षेत्र अहिले फुटबलमय छ । नजिकै रहेको खेलाडी चोकमा चिया–नास्ता खाने जमात ह्वात्तै बढेको छ । दुई साता भयो, त्रिपुरेश्वरमा धेरथोर मानिसको ओइरो लाग्न थालेको । किनभने नेपालकै ठूलो दशरथ रंगशालामा अहिले फ्रेन्चाइज फुटबलको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चलिरहेको छ ।
समर्थकहरू कसरी कभर्डहल पुग्न सकुन् ? कराते महासंघले यसका लागि गतिलो पहल नै गरेन । प्रतियोगिता सीमित भयो त केवल सम्बन्धित खेलाडी, पदाधिकारी र सरोकारवालाबीच मात्र ।
यसबीच शनिबार र आइतबार रंगशालासँग जोडिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना भयो । फुटबलसँग तुलना गर्र्ने हो भने यो प्रतियोगिता फुटबलको साफजस्तै हो । तर, विडम्बना खेलाडी चोकका पसलहरूमा फुटबल हेर्न आउने दर्शकमात्र आए । कसैले करातेको गुनगान गाएनन् । दक्षिण एसियाली कराते हुँदै छ भन्ने थाहा नै पाएनन् सायद । थाहा पाए पनि होलान् तर यसको महत्व बुझेनन् ।
समर्थकहरू कसरी कभर्डहल पुग्न सकुन् ? कराते महासंघले यसका लागि गतिलो पहल नै गरेन । प्रतियोगिता सीमित भयो त केवल सम्बन्धित खेलाडी, पदाधिकारी र सरोकारवालाबीच मात्र ।
महासंघले प्रतियोगिताका लागि कुनै प्रचारप्रसार नै गरेन । कभर्डहल सानो भएकाले पनि यस्तो भएको हुनसक्छ । यसबीच नेपाल ६२ स्वर्णमध्ये ३० स्वर्ण पदक जित्दै टिम च्याम्पियन बन्यो । फेरि एक पटक देशले गर्व गर्ने ठाउँ पायो ।
नेपाली खेलकुदको इतिहास त्यति लामो छैन । छोटो इतिहासबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व संधै सहभागितामै सीमित रहने गरेको छ । नेपाली खेलकुदको लाज कसैले ढाकेको छ त त्यो मार्सल आर्ट्सले नै हो । मार्सल आर्ट्सको प्रमुख खेलमध्ये एक हो कराते । एसियाली खेलकुदमा नेपालले कुल २६ पदक जितेको छ । त्यसमध्ये करातेले एक रजत र तीन कांंस्य पदक जितेको छ ।
चीनको हाङचउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालका लागि एरिका गुरुङले ऐतिहासिक रजत पदक जित्दै नेपालको प्रतिष्ठा जोगाएकी थिइन् । २ सय ५३ खेलाडीको जम्बो टोलीमा नेपालको लाज ढाक्ने पदक थियो त उनै एरिकाको रजत र पहिलो पटक देशको प्रतिनिधित्व गर्न पाएको महिला कबड्डीको कांस्य ।
यसै वर्ष एरिकाले चीनमा पदक जित्नुअघि इन्डोनेसियामा १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा पनि स्वर्ण हासिल गरेकी थिइन् । एरिकाको स्वर्णसँगै नेपालले थप ३ रजत र ५ कांस्य पदक जितेको थियो ।
‘एसियाली खेलकुदपछि नेपाली खेलकुद नै कराते भन्ने भएको थियो । यस सफलतापछि कराते झन् माथि पुगेको महसुस भएको छ,’ रंगशाला मैदानमा काठमाडौं रेजर्स र एफसी झापाबीचको फुटबल चलिरहँदा महासचिव गुरुङले आफ्नो कार्यालयमा कुराकानीका क्रममा भनेका थिए, ‘प्रतिष्ठा र मनोरञ्जन दुई भिन्न कुरा हुन् । होला ! फुटबलमा मान्छे भरिभराउ होलान् । तर, जब देशको कुरा आउँछ, करातेले सधैं गौरव बढाएको छ ।’
यसै वर्ष एरिकाले चीनमा पदक जित्नुअघि इन्डोनेसियामा १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा पनि स्वर्ण हासिल गरेकी थिइन् । एरिकाको स्वर्णसँगै नेपालले थप ३ रजत र ५ कांस्य पदक जितेको थियो ।
पछिल्लो सफलता हेर्ने हो भने कराते आफ्नो साख फर्काउने प्रयासमा रहेको देखाउँछ । महासंघका वर्तमान अध्यक्ष युवराज लामा भन्छन्, ‘करातेको पुनर्जीवित भन्छु म यसलाई । पदकको हिसाब अनि व्यवस्थापनको हिसाबले हामीलाई के लागेको छ भने यो हाम्रो नयाँ सुरुआत हो । अब कराते हिजोका दिन जस्तो हुने छैन । नयाँ पद्धति र नयाँ सोचका साथ कराते अगाडि बढ्ने छ । विगतका दिनमा हामी कता चुकेका थियौं, त्यसलाई समीक्षा गरेर अगाडि बढ्ने छौं ।’
नेपालमा कराते आधिकारिक रूपमा २०३३ सालबाट सुरु भएको हो । त्यति बेला पुलिस र आर्मीबाहेक अरूले यो खेल खेल्न पाउँदैन थिए । नेपालमा पहिलो डोजो खोल्ने व्यक्तिहरू थिए, गोपालमान सिंह गुरुङ र श्याम थापा ।
नेपाल कराते महासंघको स्थापना भने २०४५ सालमा भएको हो । महासंघ स्थापना हुनुभन्दा आठ वर्षअघि नै पहिलो राष्ट्रिय कराते च्याम्पियनसिप भएको थियो ।
दुवैले पहिलो पटक २०३५ सालमा राजधानीको डिल्लीबजारमा डोजो स्थापना गरेका थिए । दुवै पुलिसमा प्रशिक्षण गरेका खेलाडी हुन् । त्यसअघि विभागमा आवद्ध नभएकाहरू अन्डरग्राउन्ड प्रशिक्षण गर्थे । महासचिव गुरुङले पनि सुरुआती दिनहरूमा अन्डरग्राउन्ड प्रशिक्षण नै गरेका हुन् ।
२०३५ सालमै अध्यक्ष युवराज लामाले बौद्धमा दोस्रो डोजो स्थापना गरेका थिए । बौद्धपछि भक्तपुर, बनेपा र निजगढमा पनि डोजोहरू सञ्चालनमा आएको थियो ।
नेपाल कराते महासंघको स्थापना भने २०४५ सालमा भएको हो । महासंघ स्थापना हुनुभन्दा आठ वर्षअघि नै पहिलो राष्ट्रिय कराते च्याम्पियनसिप भएको थियो । र, यो आजको दिनमा ५५औं संस्करणमा आइपुगेको छ । २०३८ साल भदौ महिनामा काठमाडौंमा भएको प्रथम बृहत राष्ट्रिय खेलकुदमा पनि कराते समावेश थियो । जतिबेला करातेलाई मार्सल आर्ट्सभित्रकै एउटा मुख्य खेलको रूपमा राखिएको थियो । राष्ट्रिय खेलकुदले नवौं संस्करण पार गरिसक्दा कराते सबै संस्करणमा समावेश छ ।
एसियाली खेलकुदको कुरा गर्ने हो भने एरिकाअघि तीन खेलाडीले नेपालका लागि पदक जितेका छन् । हिरोशिमा १९९४ को १२ औं संस्करणमा सीताकुमारी राई, बैंकक १९९८ को १३औं संस्करणमा समरबहादुर गोले र इन्चोन २०१४ को १७ औं संस्करणमा विमला तामाङले कांस्य पदक जितेका थिए ।
सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणदेखि नै नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउन थालेको हो । नयाँ दिल्लीदेखि अहिले हाङचउसम्म आइपुग्दा एसियाडले १८ संस्करण पार गरिसकेको छ । यसबीच नेपालले मनिला, १९५४ र जकार्ता, १९६२ बाहेक सबै संस्करणमा सहभागिता जनाएको छ ।
२४ वर्षअघि काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा देशका लागि १४ स्वर्ण जितेपछि करातेको इतिहास एकाएक चुलिएको थियो ।
२४ वर्षअघि काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा देशका लागि १४ स्वर्ण जितेपछि करातेको इतिहास एकाएक चुलिएको थियो । त्यतिबेला अहिलेको दक्षिण एसियाली खेलकुद (साग) को रूपमा रहेको साफमा पहिलोपल्ट कराते समावेश गरिएको थियो । २० वर्षपछि २०१९ मा काठमाडौंमै भएको १३औं संस्करणमा नेपालले १० स्वर्ण जितेको थियो ।
पूर्वाधार, खेलाडी र रेफ्रीहरूको स्तरवृद्धिका कामहरू करातेको अहिलेको योजनामा छ । दक्षिण एसियाली च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको नेपालले आउने दिनमा एसियन च्याम्प्यिनसिप गर्ने सोचसमेत बनाएको छ । यसका लागि कराते महासंघले एसियाली कराते महासंघसमक्ष निवेदन दिएको महासचिव गुरुङले सुनाए, ‘हामीले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न सक्छौं भनेर देखाइसकेका छौं । विश्व कराते महासंघले हाम्रो काम देखेको छ । अबको हाम्रो योजना भनेको एसियाली कराते च्याम्पियनसिप आयोजना गर्नु हो । जसले हामीलाई आर्थिक रूपमा पनि फाइदा हुन्छ ।’
कराते ‘मासगेम’ फुटबल र क्रिकेट जत्तिको लोकप्रिय त नहोला तर देशलाई सदैव गर्व महसुस गराइरहन सफल रहने विश्वास महासचिव गुरुङ दिलाउँछन् । त्यही विश्वासमा देशका गौरवशाली खेल भनेर मरिहत्ते गर्ने नेपाली समर्थकलाई पनि कराते आकर्षित गर्ने आस गर्न सकिन्छ ।