पुस १६, २०८२ बिहीबार | ०४:४८:१८
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन

ती म्याराडोना, यी मेसी 

अघिल्लो आइतबार एरिना कोरिन्थियन्स लथालिंग देखियो । त्यहाँको माहोल नियन्त्रणमा ल्याउन कोही अघि सर्नुपर्ने थियो । अघि सरे लियोनल मेसी । उनी मैदानको एउटा भागबाट अर्को भागमा पुगे बिनाजर्सी । 

फोटोग्राफरको भेस्ट/पोसाक लगाएका अर्जेन्टिनाका कप्तान मेसी ब्राजिलियन अधिकारीहरूसँग कुरा गरिरहेको देखिन्थे । उनको एउटै उद्देश्य थियो, आफ्ना टिमका चार खेलाडी ब्राजिलियन अधिकारीको नियन्त्रणमा नपरुन् । ती खेलाडीहरूमाथि आरोप थियो, क्वारेन्टाइनबाट मुक्त हुन बेलायतबाट त्यहाँ पुगेको सूचना लुकाएको । 

एरिना कोरिन्थियन्समा के भइरहेको हो ? मेसी यसको प्रश्नको जवाफको खोजीमा थिए । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो खेल रोकिँदा मेसी आक्रोशित देखिन्थे । ‘पूरै विश्वले यो खेल हेरिरहेको छ कि खेल सुरु गरौं कि त खेल रद्द गरौँ,’ मेसीले आफ्ना कुरा राखिरहे । अन्ततः उनले निर्णय लिए, नखेल्ने । उनीसँगै पूरै अजेन्टिनी टिम ड्रेसिङ रूम हानियो । 

सुरु भएको पाँच मिनेट बितेपछि ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेल स्थगित भयो । खेल त स्थगित भयो । तर, मेसीले आफू लिडर भएको पुनः प्रमाणित गरे । मैदानमा मात्र होइन, मैदानबाहिरका समस्यासँग जुध्न पनि उनी क्षमतावान देखिए । किनभने आइतबारको घटना मैदानभित्रबाट सिर्जित समस्या थिएन । 

लामो समयदेखि अर्जेन्टिनाको फुटबल एउटा बलियो लिडरको खोजीमा थियो । त्यो खोजीको अन्त्य भएको छ । किनभने अर्जेन्टिनासँग मेसी छन् । खासमा डिएगो म्याराडोनापछि अर्जेन्टिनासँग मैदानभित्र र बाहिर लड्ने खेलाडी नेता थिएन । 

यस्तोमा प्रश्न उठ्छ, के मेसी र म्याराडोनाबीच तुलना गर्न सकिन्छ ? तुलना गर्ने भए उनीहरूबीचको फरक के हो ? जबकि दुवै खेलाडी फुटबलका जादुगर हुन् । उस्तै प्रतिभावान छन् । खेल्ने शैली पनि लगभग उस्तै । उही दक्षिण अमेरिकी फुटबल वास्ना । 

कोलम्बियाका पूर्वप्रशिक्षक फ्रान्सिस्को माटुरानोले गज्जबको तुलना गरेका छन् । ‘मेसी मैदानमा हुँदा हामी उनको तारिफ गर्न सदैव तयार हुन्छौं । किनभने उनको खेल नै त्यस्तो छ । तर, म्याराडोना मैदानमा हुँदा हामी खुसी मनाउन तयार हुन्थ्यौं,’ माटुरानोले कुनै बेला भनेका थिए । 

‘म्याराडोना आफैंमा एक उत्सव हुन् । मेसी भने गम्भीर छन् । मेसीलाई विज्ञान भन्न मनलाग्छ । कहिलेकाहीं यस्तो लाग्छ मेसी सबैभन्दा वास्नादार अत्तर हुन् । म्याराडोनाले चाहिँ आफूलाई सधैं लिडरका रूपमा प्र्रस्तुत गरे । उनी सबैका मित्र थिए । उनी आफ्ना मित्रको रक्षामा उत्रन्थे । म्याराडोना र मेसीबीच ठूलो फरक छ । मुख्यतः स्वभावमै ठूलो फरक हो,’ माटुरानो थप्छन् । 

लामो समय मेसी चुपचाप रहे । खासै बोलेनन् । तर, सन् २०१९ मा उनले दिएको अभिव्यक्तिले विश्व फुटबल स्तब्ध भयो । ‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट छ,’ मेसीले ब्राजिलमा हुँदै गरेको कोपा अमेरिकाका क्रममा भनेका थिए । मेसी किन बेलाबेलामा आक्रोशित हुन्छन् ? किनभने उनी फुटबललाई माया गर्छन् । जसरी म्याराडोना फुटबल भनेपछि भुतुक्कै हुन्थे, मेसी पनि त्यस्तै छन् । फेरि उनी कसैबाट भएको अपमान सहँदैनन् । आफ्ना साथीहरूलाई ब्राजिलका स्वास्थ्य अधिकारीहरूले नियन्त्रणमा लिन खोजेपछि उनले प्रतिकार गरेका हुन् । 

मेसी सन् २०११ मा अर्जेन्टिनी कप्तान बने । त्यसअघि जाभियर मास्चेरानोको काँधमा टिमको कप्तानी थियो । कप्तानी मेसीका लागि छाडे पनि मास्चेरानो नै टिमका लिडरका रूपमा रहे । तर, सन् २०१८ को विश्वकपपछि अर्जेन्टिनाको टिममा व्यापक परिवर्तन भयो । मास्चेरानो लगायतका पाका खेलाडीले संन्यास लिए । लियोनल स्कालोनीले मेसीवरिपरि युवा टिम निर्माण गर्ने योजना बनाए । त्यसपछि त टिममा सबैभन्दा अनुभवी खेलाडी स्वतः मेसी नै रहे । 

मेसीले आफ्नो भूमिका राम्ररी निर्वाह गरेका छन् । युवा खेलाडीहरूले भरिएको टिममा सन्तुलन ल्याएका छन् । यही टिम कोपा अमेरिका च्याम्पियन बनेको छ । विश्वकप २०२२ का लागि छनोट हुन मेसी नेतृत्वको अर्जेन्टिनालाई खासै गाह्रो छैन । यतिमात्र होइन, अर्जेन्टिनाले विश्वकप जित्नसक्ने टिमको परिचय नै बनाएको छ ।   

हो, मेसी अझै पनि अर्जेन्टिनाका सबैभन्दा प्रतिभाशाली खेलाडी हुन् । अर्जेन्टिनालाई विश्वकपको सम्भावित विजेताका रूपमा लिइने मुख्य कारण पनि मेसी हुन् । तर, मेसीको परिचय यतिमै सीमित छैन । उनी टिमका लिडर हुन् । लिडर पनि ठिकठाक खेल्ने होइनन्, प्रत्येक खेलमा विश्वस्तरीय प्रदर्शन गर्ने लिडर । 

‘कोपा फाइनलअघि मेसीले आफ्नो कुरा राखे । उनले बोलेका सबै शब्द मलाई याद छैन । जब उनी बोल्न थाले, मेरा आखाँबाट आँसु झरे । उनको बोली, शब्द, व्यवहारमा तागत छ । उनी हाम्रा लिडर हुन् । सबै अर्थमा कप्तान हुन् । उनी हाम्रा लागि उदाहरण हुन् । हो, मानिसहरु उनलाई म्याराडोनासँग तुलना गर्न खोज्छन् । मेसी पनि ठूलो स्वरमा चिच्याउन्, मैदानमा झगडा गरुन् भन्ने चाहन्नन् । मेसी फरक छन् । मेसीले आफ्ना सहकर्मीलाई केही भन्नुपरे पर्दा पछाडि भन्छन्,’ अर्जेन्टिनाका फरवार्ड अलोसान्द्रो पापु गोमेजले आफ्ना कप्तानबारे भनेका छन् । 

सन् १९८० वा ९० को दशकमा अर्जेन्टिना म्याराडोनाको कप्तानीमा एकबद्ध थियो । अहिलेको अर्जेन्टिनी टिममा पनि उही मानसिकता छ । सबै खेलाडीबीच एकताको भावना छ । अनि सबैले मेसीलाई टिम लिडरका रूपमा स्विकारेका छन् । अर्जेन्टिनाका लागि खेल्न खेलाडीहरू कति आतुर छन् भन्ने त इमिलियानो मार्टिनेज र क्रिस्टियानो रोमेरो क्लबको सुझाव विपरीत विश्वकप छनोटका लागि राष्ट्रिय टिमको क्याम्प पुगेर देखाइसकेका छन् । 

बेलायत सरकारको कडा क्वारेन्टाइन नियम भएका कारण प्रिमियर लिगका क्लबहरूले आ–आफ्ना दक्षिण अमेरिकी खेलाडीलाई अन्तर्राष्ट्रिय ब्रेक दौरान राष्ट्रिय टिमबाट खेल्न अनुमति दिएको थिएन । तर मार्टिनेज र रोेमेरोले अर्जेन्टिनाबाट खेल्न रिस्क लिए र दक्षिण अमेरिका पुगे । 

अघिल्लो आइतबार मेसीले नेतृत्वदायी भूमिका नखेलेको भए अर्जेन्टिनाका रोमेरो र जियोभानी लो सेल्सो ब्राजिलियन अधिकारीहरूको नियन्त्रणमा पर्थे । अर्जेन्टिनाको प्लेइङ इलेभेनमा रही ब्राजिलविरुद्ध भिडिरहेका उनीहरूमाथि आरोप थियो, बेलायतबाट ब्राजिल आएको भन्ने सूचना लुकाएको । तर मेसीकै सक्रियताका कारण उनीहरू कारबाहीको भागिदार बन्नुपरेन । 

करिब तीन दशकपछि अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय प्रतियोगिता जिताएका मेसीप्रति घरेलु समर्थकको पक्कै पनि सम्मान बढेको छ । स्टाडियो मोनुमेन्टलमा हुने जुनसुकै खेलमा पनि मेसीको नाममा नारा लाग्नेछ । समर्थककले सिठी फुक्नेछन् । यस्तो नारा फगत नारामात्र होइन, यो त आफ्नो टिम लिडरप्रतिको स्नेह हो । जो म्याराडोनाले जस्तै सारा अर्जेन्टिनीको भार आफ्नो काँधमा बोक्न तयार भएका छन्  ।