मंसिर ६, २०८१ बिहीबार | १५:२२:३२
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन युरोपियन फुटबल

गज्जबको नापोली

काठमाडौं । युरोपका पाँच ठूला लिगका चार यस्ता टिम छन्, जसले च्याम्पियन्स लिग र घरेलु लिगमा एकै खेल हारेका छैनन् । तीमध्ये तीन टिम, आ-आफ्ना लिगका च्याम्पियन हुन् । पछिल्ला पाँच सिजनमा चार पटक इङ्लिस प्रिमियर लिग जितेको म्यानचेस्टर सिटी, फ्रेन्च लिगको पेरिस सेन्ट जर्मेन (पिएसजी) र गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगा जितेको रियल मड्रिड । चौथो टिम इटालीको नापोली हो ।

ती तीन टिमले जसरी उपाधि जितिरहेका छन्, त्यसरी नापोलीले केही जित्न सकेको छैन । यो टिमले पछिल्लो ३० वर्षमा जितेको भनेको तीन वटा इटालियन कप हुन् । यद्यपि आजको दिनमा नापोली युरोपका तीन धनी क्लबसँग दाँजिन आइपुगेको छ । र यसको कारण उसको वर्तमान लय हो ।नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा छ । एकै खेल हारेको छैन । च्याम्पियन्स लिगमा पनि नापोलीको जित दर शतप्रतिशत छ । बुधबार राति मात्रै नापोलीले आयाक्सललाई उसको घरमै गएर ६-१ ले हरायो । अब अर्को छक्क पार्ने तथ्यांक सुनौँ, नापोलीले दुई प्रतियोगिताका ११ खेलमा ३१ गोल गरिसकेको छ ।

यी सबै सफलता नापोलीले अत्यधिक खर्च गरेर पाइरहेको होइन । बरु खर्च कटौती गर्नाका बाबजुद आफूलाई अब्बल साबित गर्न सकेको हो । नापोलीले आफ्नो तलब खर्चमा ३० प्रतिशत कटौती गरेको छ । गएको सरुवा बजारमा खर्चभन्दा बढी आम्दानी गरेको छ । त्यसरी एक करोड ३० लाख युरो नाफा कमाउन नापोलीले टिममा स्थापित खेलाडीलाई बेच्यो, सित्तैमा अन्त जान दियो ।

जस्तै लोरेन्जे इन्स्गिन्या, जो नापोली सहरमै जन्मिएका, हुर्किएका हुन् । उनले करिब १० सिजन लगातार आफ्नो सहरको क्लबको सेवा गरेका थिए । उनलाई सित्तैमा अमेरिकी लिग एमएलएस खेल्ने टोरोन्टो एएफसीतर्फ जान दिइयो ।

इन्स्गिन्या जस्तै समर्थकमाझ लोकप्रिय कालिडौ कौलिबेलीलाई पनि नापोलीले टिम छाड्न कुनै अवरोध गरेन । नापोलीमा आठ सिजन खेलेपछि उनले चेल्सी रोजे । अरु त अरु नापोलीको इतिहासमै सर्वाधिक लिग गोल गर्ने द्रिइस मार्टिन्सले पनि यसैपाली नयाँ यात्रा सुरु गर्ने निर्णय लिए । उनलाई टर्कीको गालाटासारे जान दिइँदा मिडफिल्डर फाबियन रुइजलाई पिएसजीले अनुबन्ध गर्यो ।

यी खेलाडी बेचिनु वा अन्त सरुवा हुन दिनुको मुख्य कारण खर्च कटौती नै हो । फेरि इन्स्गिन्या, कौलीबाली र मार्टिन्स त ३० कटिसकेका खेलाडी हुन् । रुइज चाहिँ भर्खर २६ का भए । तर उनको सम्झौता सकिन मात्र एक वर्ष बाँकी थियो । यसकारण उनलाई अहिल्यै बेच्नु बुद्धिमानी ठान्यो, नापोलीले ।

वर्षौसम्म महत्वपूर्ण साबित भएका खेलाडीलाई एकैचोटी टिम छाड्न दिनु पुन: निर्माण प्रक्रियाको हिस्सा हो । गत सिजन लिगमा तेस्रो भएको नापोलीले आफ्नो यात्रालाई फरक तरिकाले अगाडि बढाउन चाहेको पनि हो । र यसमा नापोली सफल हुने बाटोमा छ।  समर्थक पनि दंग छन् । जबकि उनीहरु गएको सिजन अध्यक्ष आउरेलियो डे लाउरेन्टिससँग आक्रोशित थिए ।युरोपका करिब एक दर्जन टिमबाहेक अन्यका लागि एकैपटक मुख्य खेलाडीलाई बर्हिगमनका लागि स्वीकृति दिनु र पुनः निर्माणमा होमिनु उति सजिलो छैन । पुनः निर्माण आफैँमा खतरामुक्त काम होइन । किनभने पुनः निर्माणका कारण केही समय टिमले स्वाभाविक प्रदर्शन नगर्न सक्छ । नयाँ प्रशिक्षक, नयाँ खेलाडी, त्यसमा पनि युवा खेलाडीको उपस्थिति बाक्लो हुने भएपछि टिम संयोजनमा केही असर त पर्छ नै ।

ठ्याक्कै यही भय नापोलीलाई थियो । अनि च्याम्पियन्स लिगमा उसको विपक्षी आयाक्सलाई पनि । किनभने आयाक्सले पनि आफ्ना कमसेकम ६ मुख्य खेलाडीलाई बेच्दै नयाँ सिजनको सुरुआत गरेको हो । बिक्री सूचीमा लिसान्द्रो मार्टिनेज, एन्टोनी, सेबेस्टियन हेलर, रायन ग्राभेनबेर्च आदि छन् । तर पनि आयाक्स जारी डच लिगमा खस्किएको छैन । शीर्ष स्थानबाट मात्र एक अंकले पछािड छ । आयाक्सले खेलाडी बिक्रीबाट उठेको रकममध्ये १० करोड युरो सरुवा बजारमा खर्च गरेको थियो । आयाक्सकको यो निर्णय सही साबित भएको छ ।

उता नापोलीको तरिका भने फरक छ । नापोलीले नयाँ खेलाडी त किनेको छ तर ती खेलाडी हाई प्रोफाइलका होइनन् । नापोलीले अनुबन्ध गरेको दक्षिण कोरियाली रक्षक मिन जाई किम गत सिजन फेनेरबासेमा थिए । त्यसअघि चिनियाँ सुपर लिगमा । लेफ्ट ब्याक माथिएस ओलिभेरा ला लिगमा १४औँ भएको टिम गेटाफेबाट सिरी ‘ए’ मा सरुवा भएका हुन् ।

अर्का रक्षक लियो ओस्टिगार्ड सिरी ‘ए’ कै जेनोआमा लोनमा थिए । मिडफिल्डमा नापोलीले टान्गुए एनडोम्बेलेलाई छान्यो । जो टोटनहममा असफल साबित भएका खेलाडी हुन् । टोटनहममा सोचे अनुसारको प्रदर्शन गर्न नसके पनि उनको प्रतिभामाथि शंका गर्ने ठाउँ भने छैन । त्यहीकारण नापोलीले खतरा मोलेको हो, खराब लयबाट गुज्रिरहेका यी फ्रेन्च मिडफिल्डरलाई ऋण स्थान्तरणमा अनुबन्ध गरेर । नापोलीसँग सजिलो विकल्प छ, खराब लय जारी रहे, उनलाई टोटनहम फिर्ता पठाइदिने ।

स्ट्राइकर जियोभानी सिमओने पनि नापोलीसँग यसैपाली अनुबन्धित भएका खेलाडी हुन् । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमओनेका पुत्र जियोभानी हेलास भेरोनाबाट ऋण स्थान्तरणमा नापोली पुगेका हुन् । भेरोनाका लागि उनले गत सिजन १७ गोल गरेका थिए । नापोलीमा उही लय देखाउन सकेनन् भने पनि उनको उपस्थितिमाथि प्रश्न उठ्ने छैनन् । किनभने उनी भिक्टर ओसिमहेनका ब्याकअप हुन् । उसो त आफू नापोलीको पहिलो एघारमा पर्न सक्षम रहेको सन्देश जियोभानीले दिइसकेका छन् ।

उनले ‘डेब्यु’ खेलमै लिभरपुलविरुद्ध गोल गरेका थिए । खुसीयाली मनाउने क्रममा उनले १३ वर्षको उमेर छँदा खोपेका च्याम्पियन्स लिगको लोगोको टाटुमा चुम्बन गरेका थिए । उनले आयाक्ससँगको खेलमा पनि गोल गरे । यसकारण उनी नापोलीका लागि उपयोगी साबित हुन सक्छन् । नभए उनलाई नापोलीले भेरोना फिर्ता पठाउनेछ ।

नापोलीले नयाँ सिजनका लागि भित्र्याएको अर्का खेलाडी हुन्, जियाकोमो रास्पाडोरी । उनलाई पनि नापोलीले ऋणमै अनुबन्ध गरेको हो । यद्यपि सिजनको अन्त्यमा उनको स्थान्तरण स्थायी हुनेछ । र नापोलीले सासौलोलाई करिब तीन करोड ५० लाख युरो तिर्नेछ । २२ वर्षका यी फरवार्डले नापोलीका लागि लिगमा एक गोल गरिसकेका छन् । इटालीको राष्ट्रिय टिमबाट नेसन्स लिगमा पनि गोल गरिसकेका उनले नापोलीको अग्रपंक्तिलाई बलियो बनाएका छन् ।  

ठूला क्लबको नजरमा नपरेका खेलाडी अनुबन्ध गर्ने नीति लिएको नापोलीले फेला पारेको अर्का खेलाडी चिभा भाराटसेखेलिया हुन् । जर्जियाका २१ वर्षीय मिडफिल्डर भाराटसेखेलिया विगतमा विभिन्न साना क्लबसँग जोडिँदै आएका थिए । लामो समय रुसी क्लब रुबेन काजानबाट खेलेका उनले नापोलीका लागि आठ लिग खेलका पाँच गोल गरिसकेका छन् ।

उसो त नापोली नयाँ खेलाडीको भरमा मात्रै छैन । टिममा रहेका पुराना सदस्यहरुको प्रदर्शन उत्तिकै सशक्त छ । मिडफिल्डर पिओटर जेलेन्स्की, स्ट्राइकर ओसिमहेन (घाइते हुनुअघि), जियोभानी डे लोरेन्जे, गोलकिपर एलेक्स मेरेट लगायतले नापोलीमा नेतृत्वदायी प्रदर्शन गरिरहेका छन् ।

खेलाडीको तारिफ गरिरहँदा प्रशिक्षक लुसियानो स्पालेट्टीलाई छुटाउनु हुँदैन । उनले टिमलाई मात्र नभई पूरै नापोली सहरलाई उत्साहित बनाउन सकेका छन् । टिममा रहेका खेलाडी अनुसारको रणनीति बनाउन माहिर उनले गत सिजन संयम अपनाएका थिए । तर टिममा युवा जोस थपिएसँगै उनले यसपाली आक्रामक खेल्ने रणनीति अख्तियार गरेका छन् । हुन त हामी सिरी ‘ए’ सिजनको सुरुआती चरणमै छौँ ।

भर्खर आठ खेल सकिएका छन् । मिलान सहरका दुई टिम, युभेन्टस, एएस रोमा पछाडि परे पनि आगामी साता/महिना अंक तालिकामा व्यापक फेरबदल हुन सक्ने तथ्यलाई नकार्न सकिँदैन । यद्यपि अहिलेका लागि यति चाहिँ भन्न सबैलाई छुट छ, नापोलीले जे गरिरहेको छ, गज्जब गरिरहेको छ ।