मंसिर ६, २०८१ बिहीबार | १५:४२:३८
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन

विश्वकपमा टिम हाँक्ने ३२ देशका कप्तान

विश्वकप फुटबल २०२२ को २२औं संस्करण नोभेम्बर २१ देखि कतारको दोहामा सुरु हुँदै छ । जसका लागि आयोजक कतारसहित ३२ टिमको नै टुंगो लागिसकेको छ ।

विश्व फुटबलका महान खेलाडीहरू यस प्रतियोगिताका लागि तयारी अवस्थामा छन् ।

स्टार खेलाडी लियोनल मेसीदेखि क्रिस्टियानो रोनाल्डो र रोबर्ट लेवान्डोवस्की अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संघारमा छन् । कति खेलाडीका लागि यो विश्वकप अन्तिम हुनसक्ने भएकाले कप्तानको जिम्मेवारी बहन गर्दै आफ्नो देशलाई विश्वकप उपाधि जिताउन चाहन्छन् ।

विश्वकपका ३२ टिमका कप्तान

१. म्याथ्यु रायन (अस्ट्रेलिया)क्लब : रियाल सोसिडाड

विश्वकप छनोटको प्लेअफमा पेरुलाई सडनडेथमा पराजित गर्दै विश्वकपमा स्थान बनाएको अस्ट्रेलियाको नेतृत्व गोलकिपर रायनले गर्नेछन् । सन् २०१३ देखि लगातार युरोपेली फुटबल खेलिरहेका अनुभवी गोलकिपर हुन् रायन । रायनसँग आर्सनल, भ्यालेन्सिया, ब्राइटनलगायत ठूला क्लबबाट खेलेको अनुभव पनि छ ।

२. ऐसान हसाफी (इरान)क्लब : एइके एथेन्स

एसियाली फुटबल महासंघको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने अर्को राष्ट्र इरानको कप्तानी हसाफीले गर्नेछन् । हाल ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेका हसाफी २००६ यता लगातार युरोपेली फुटबलमै छन् । इरानबाट १ सय १९ खेल खेलिसकेका हसाफीले ७ गोलसमेत गरेका छन् ।

३. माया योसिदा (जापान)क्लब : साम्पडोरिया

साउथह्याम्पटनबाट इंग्लिस प्रिमियर लिग खेलेका ३३ योसिदाले कतारमा हुने विश्वकपमा जापानको नेतृत्व गर्नेछन् । सन् २०१२ देखि २०२० सम्म साउथह्याम्पटनमा बिताएका सेन्टर ब्याक योसिदा त्यसयता इटालियन क्लब साम्पडोरियाबाट खेलिरहेका छन् ।

४. हसन अल-हेदोस (कतार)क्लब : अल साद

कतारलाई सन् २०१९ मा पहिलो पटक एएफसी एसियन कप च्याम्पियन बनाएका कप्तान हुन् हसन । पहिलो पटक घरेलु मैदानमा हुने विश्वकपमा कतारको कप्तानी उनै हसनले गर्नेछन् । सन् २००७ मा सिनियर फुटबलमा टिममा डेब्यु गरेका हसन २०१६ मा कतारको कप्तान बनेका थिए ।

५. सलमान अल-फराज (साउदी अरेबिया)क्लब : अल-हिलाल

सन् २०१२ मा साउदीको राष्ट्रिय टिममा डेब्यु गरेका सलमान छिमेकी देशमा हुने विश्वकपमा आफ्नो टिमको कप्तानी गर्नेछन् । साउदीकै अल हिलाल क्लबबाट व्यावसायिक फुटबल खेल्ने ३२ वर्षीय मिडफिल्डर सलमान अनुभवी कप्तान हुन् । उनी २०२० मा साउदीको कप्तान नियुक्त भएका थिए ।

६. सन ह्युङ-मिन (दक्षिण कोरिया)क्लब : टोटनहम

इंग्लिस क्लब टोटनहमका चर्चित खेलाडी सनले विश्वकपमा दक्षिण कोरियाको नेतृत्व गर्दैछन् । यसअघि रुसमा २०१८ मा भएको विश्वकपमा पनि उनैले कोरियाको नेतृत्व गरेका थिए । सोही विश्वकपको समूह चरणमा साबिक विजेता जर्मनीलाई पराजित गर्दा कोरियाका लागि सनको प्रदर्शन महत्त्वपूर्ण थियो ।

७. भिन्सेन्ट अबुबकर (क्यामरुन)क्लब : अल नसार

सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको क्यामरुनको आगामी विश्वकपमा अबुबकरले गर्दैछन् । समूह ‘जी’मा परेको क्यामरुनले स्विट्जरल्यान्ड, सर्बिया र ब्राजिलसँग खेल्नेछ । युरोपेली फुटबलको लामो अनुभव बोकेका ३७ वर्षीय डिफेन्डर अबुबकरको सम्भवत: यो अन्तिम विश्वकप हो ।

८. एन्ड्रे एयु (घाना)क्लब : अल साद

कतारकै क्लब अल सादबाट व्यावसायिक फुटबल खेल्दै आएका एयुले विश्वकपमा घानाको नेतृत्व गर्दैछन् । सन् २०१४ पछि घानाले पहिलो पटक विश्वकप खेल्न लागेको हो ।

९. रोमेन सैस (मोरक्को)क्लब : उल्भरह्याम्पटन

इंग्लिस क्लब वोल्भसबाट गत सिजन खेलेका प्रभावशाली मिडफिल्डर÷डिफेन्डर सैसले विश्वकपमा मोरक्कोको नेतृत्व गर्दैछन् । फ्रान्समा जन्मिए पनि मोरक्कोबाट खेल्ने निर्णय गरेका सैसको नेतृत्वमा मोरक्कोको यो पहिलो विश्वकप हुनेछ ।

१०. कालिडौ कौलिबाली (सेनेगल)क्लब : नेपोली

इटालियन क्लब नेपोलीबाट व्यावसायिक फुटबल खेल्दै आएका कौलिबालीले विश्वकपमा सेनेगलको कप्तानी गर्दैछन् । ३१ वर्षीय कौलिबालीकै नेतृत्वमा सेनेगलले गत वर्ष अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो ।

११. युसुफ मसक्नी (ट्युनिसिया)क्लब : अल दुहेल

कतारकै अल अरबी क्लबबाट गत वर्ष लोनमा व्यावसायिक फुटबल खेलेका मसक्नीको नेतृत्वमा यो वर्ष ट्युनिसियाले विश्वकप खेल्दै छ । ३१ वर्षीय विंगर मसक्नी कतारमै फुटबल खेलिरहेकाले उनको कप्तानीले टिमलाई धेरै फाइदा हुने निश्चित छ ।

१२. अतिबा हचिन्सन (क्यानडा)क्लब : बेसिक्टास

टर्किस क्लब बेसिक्टासबाट व्यावसायिक फुटबल खेलिरहेका हचिन्सन ३९ वर्षीय अनुभवी मिडफिल्डर हुन् । उनको कप्तानीमा क्यानडा सन् १९८६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो । विश्वकपमा क्यानडाको यो दोस्रो सहभागिता हुनेछ ।

१३. ब्रायन रुइज (कोस्टारिका)क्लब : अलाजुलेन्स

प्रिमियर लिगमा फुलहमबाट खेल्दा विश्वभर चर्चा कमाएका फरवार्ड रुइजकै कप्तानीमा कोस्टारिकाले दोस्रोपल्ट विश्वकप खेल्दै छ । यसअघि २०१४ मा पनि कोस्टारिकाले उनकै नेतृत्वमा विश्वकप खेलेको थियो ।

१४. आन्द्रेस ग्वार्डाडो (मेक्सिको)क्लब : रियाल बेटिस

प्रिन्सिपिटोको उपनामले चर्चित मिडफिल्डर ग्वार्डाडोको नेतृत्वमा मेक्सिकोले विश्वकप खेल्दै छ । स्पेनिस फुटबलमा लामो समय बिताएका ग्वार्डाडोले रियाल बेटिस अगाडि डिपोर्टिभो एलाभेसबाट ५ वर्ष स्पेनमा फुटबल खेलेका थिए ।

१५. क्रिस्टियन पुलिसिच (अमेरिका)क्लब : चेल्सी

अमेरिकाले इंग्लिस क्लब चेल्सीका युवा फरवार्ड पुलिसिचको कप्तानीमा कतारमा हुने विश्वकप खेल्ने छ । जर्मन बुन्डेसलिगाको क्लब डर्टमन्डबाट चेल्सी पुगेका पुलिसिचको नेतृत्वमा अमेरिकाले गत वर्ष कन्काकाफ नेसन्स लिगको उपाधि जितेको थियो ।

१६. लियोनल मेसी (अर्जेन्टिना)क्लब : पेरिस सेन्ट जर्मेन (पिएसजी)

सन् २०१४ को विश्वकपदेखि अर्जेन्टिनाको नेतृत्व सम्हाल्दै आएका मेसीको नेतृत्वमा अर्जेन्टिनाले सोही संस्करणको विश्वकपमा फाइनलसम्म यात्रा तय गरेको थियो । त्यसयता चार फाइनल खेलेको अर्जेन्टिनाले गत वर्ष महादेशीय च्याम्पियनसिप कोपा अमेरिका जितेको थियो ।

१७. थियागो सिल्भा (ब्राजिल)क्लब : चेल्सी

सन् २०१९ को कोपा अमेरिकाको उपाधि दिलाएका कप्तान सिल्भाको सम्भवत: यो अन्तिम विश्वकप हुन सक्नेछ । हाल चेल्सीबाट व्यावसायिक फुटबल खेलिरहेका सिल्भाले सन् २०१३ देखि ब्राजिलको कप्तानी सम्हाल्दै आएका छन् ।

१८. इन्नर भ्यालेन्सिया (इक्वेडर)क्लब : फेनरवाचे

टर्किस क्लब फेनरवाचेबाट व्यावसायिक फुटबल खेल्दै आएका भ्यालेन्सियाको नेतृत्वमा इक्वेडरले नोभेम्बर-डिसेम्बरमा कतारमा हुने विश्वकप खेल्ने छ । पूर्वकप्तान एन्टोनियो भ्यालेन्सियाले फुटबलबाट संन्यास लिएसँगै इन्नर भ्यालेन्सिया इक्वेडरका कप्तान बनेका थिए ।

१९. डिएगो गोडिन (उरुग्वे)क्लब : भिलिज सार्सफिल्ड

एथलेटिको मड्रिडमा लामो समय बिताएर अर्जेन्टिनी क्लब सार्सफिल्ड पुगेका गोडिनकै नेतृत्वमा उरुग्वेले कतारमा हुने विश्वकप खेल्दैछ । यसअघि २०१८ को विश्वकपमा पनि उरुग्वेको कप्तानी गोडिनले नै गरेका थिए ।

२०. इडेन हाजार्ड (बेल्जियम)क्लब : रियाल मड्रिड

सन् २००८ मा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका हाजार्डले राष्ट्रिय टिमबाट एक सय २० क्याप जितेका छन् । हाजार्डले सन् २०१५ मा बेल्जियमको कप्तानी पाएका थिए ।

२१. लुका मोड्रिच (क्रोएसिया)क्लब : रियाल मड्रिड

गत संस्करणको विश्वकपमा क्रोएसियालाई फाइनलसम्म डोहोर्याएका मोड्रिचले सन् २००६ मा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका थिए । मोड्रिचले सन् २०१५ मा क्रोएसियाको कप्तानी पाएका थिए ।

२२. सिमोन कायर (डेनमार्क)क्लब : एसी मिलान

गर्त वर्ष डेनमार्कलाई सनसनीपूर्ण शैलीमा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्म पुर्याएका कायरले नै विश्वकपमा पनि देशको कप्तानी गर्नेछन् । इटालियन क्लब एसी मिलानका भरपर्दा डिफेन्डर कायर अनुभवी खेलाडी र कप्तान हुन् ।

२३. ह्यारी केन (इङ्ल्यान्ड)क्लब : टोटनहम

सन् २०१८ मा रुसमा भएको पछिल्लो विश्वकपका गोल्डेन बुट विजेता केनको कप्तानीमा इंग्ल्यान्डले कतारमा विश्वकप खेल्दै छ । यसअघिको विश्वकप पनि इंग्ल्यान्डले केनकै नेतृत्वमा खेलेको थियो ।

२४. ह्युगो लोरिस (फ्रान्स)क्लब : टोटनहम

रुसमा भएको विश्वकपमा फ्रान्सलाई च्याम्पियन बनाएका लोरिस नै विश्वकपमा पनि फ्रान्सको कप्तानी गर्दैछन् । इंग्लिस क्लब टोटनहमबाट व्यावसायिक फुटबल खेल्दै आएका लोरिस फ्रान्सका लागि अनुभवी र सफल कप्तान हुन् ।

२५. म्यानुयल नोयर (जर्मनी)क्लब : बार्यन म्युनिख

सन् २०१४ मा विश्वकपको उपाधि दिलाएका म्यानुयल नोयर पनि संन्यासको संघारमा छन् । सम्भवत: यो विश्वकप नै उनको अन्तिम हुनसक्ने भएकाले नोयर उपाधिसहित जर्मन टिमबाट बिदा लिन चाहन्छन् । नोयरले सन् २००९ मा जर्मनीबाट ‘डेब्यु’ गरेका थिए ।

२६. भर्जिल भान डाइक (नेदरल्यान्ड्स)क्लब : लिभरपुल

पछिल्लो केही वर्षयता विश्वकै सर्वोत्कृष्ट रक्षकमध्ये एकको रूपमा पहिचान बनाएका भान डाइकले सन् २०१५ मा नेदरल्यान्ड्सबाट ‘डेब्यु’ गरेका थिए । लिभरपुलका महत्त्वपूर्ण सदस्य भान डाइकले २०१८ को मार्चमा नेदरल्यान्ड्सको कप्तानी पाएका थिए ।

२७. रोबर्ट लेवान्डोवस्की (पोल्यान्ड)क्लब : बायर्न म्युनिख

खेल करियरको उत्तराद्र्धमा पुगेका फरवार्ड लेवान्डोवस्कीको कप्तानीमा पोल्यान्डले सम्भवत: अन्तिम विश्वकप खेल्दै छ । यसअघि रुसमा चार वर्षअघि भएको विश्वकपमा पनि देशको नेतृत्व गरेका लेवान्डोवस्की अनुभवी कप्तान हुन् ।

२८. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)क्लब : म्यानेचस्टर युनाइटेड

सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलका उच्च गोलकर्ता (११७) हुन् । सन् २०१६ मा पोर्चुगललाई युरो कपको उपाधि दिलाएका रोनाल्डोकै नेतृत्वमा २०१९ मा पोर्चुगलले नेसन्स लिग जितेको थियो । रोनाल्डोले २००८ देखि पोर्चुगलको कप्तानी गरिरहेका छन् ।

२९. डुसान टाडिच (सर्बिया)क्लब : आयाक्स

३३ वर्षीय मिडफिल्डर टाडिचले सन् २००८ देखि सर्बिया राष्ट्रिय टिमबाट खेल्दै आएका छन् । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप छनोटअन्तर्गत वेल्ससँगको खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । यस्तै २०१८ को विश्वकप छनोटअन्तर्गत चार गोल गर्दै टिमलाई समूह विजेता बनाउन उनको महत्त्वपूर्ण भूमिका छ ।  

३०. सर्जियो बुस्केट (स्पेन)क्लब : बार्सिलोना

सन् २००८ मा युइएफए यु-२१ फुटबल च्याम्पियनसिपको छनोट अन्तर्गत स्विट्जरल्यान्डसँग पहिलो लेगबाट बुस्केटले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले उक्त खेलमा एक गोलसमेत गरे । त्यसपछि ३३ वर्षीय स्पेनिस मिडफिल्डर बुस्केटले २००९ मा भएको इंग्ल्यान्डसँगको मैत्रीपूर्ण खेलबाट सिनियर टिममा डेब्यु गरेका हुन् ।

सन् २०१५ मा मेसीको अनुपस्थितिमा पहिलो पटक बार्सिलोनाको कप्तानी सम्हालेका बुस्केटले मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि नेतृत्व सम्हाल्दै आएका छन् । उनले बार्सिलोनाबाट ६ सय खेल खेलिसकेका छन् । नोभेम्बर-डिसेम्बरमा हुने विश्वकपमा स्पेनको कप्तानी उनै बुस्केटले गर्नेछन् ।

३१. ग्रेनिट जाका (स्विट्जरल्यान्ड)क्लब : आर्सनल

२९ वर्षीय मिडफिल्डर जाकाले सन् २०१६ देखि आर्सनलबाट खेल्दै आएका छन् । उनले सन् २०११ देखि स्विट्जरल्यान्डको राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै आएका छन् । जाकाले सन् २०१९ बाट स्विस टिमको कप्तानी सम्हालेका थिए । विश्वकपमा पनि स्विस टिमको कप्तानी उनले नै गर्नेछन् ।

३२. गारेथ बेल (वेल्स)क्लब : ....

सन् २००६ देखि राष्ट्रिय टिममा परेका ३२ वर्षीय फरवार्ड बेलले लामो समयदेखि वेल्सको कप्तानी सम्हाल्दै आएका छन् ।  २०२१-२२ को सिजन सकिएपछि रियाल मड्रिड छाड्ने निर्णय लिएका बेल हाल क्लबविहीन छन् । सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको वेल्सले बेलकै कप्तानीमा कतारमा हुने विश्वकप खेल्दै छ ।