किभ । स्लोभेनियालीको लेकाली क्षेत्रबाट आइरहेको चिसो बतास । त्यो पनि असाध्यै कञ्चन । यो वातावरणमा कसैले बाधा उत्पन्न गराउन सक्थ्यो भने ती चराचुरुङ्गीले मात्र हो । तर तिनका चिरबिर आवाजले पनि खेलाडीको ध्यान किन मोड्न सक्थ्यो र ?
यही वातावरणमा विश्वकप छनोटका लागि अभ्यास गरिरहेका छन् युक्रेनी खेलाडीहरू । साह्रै सुन्दर वातावरणमा अभ्यास गर्न पाइरहे पनि डिमिट्रो रिज्निकको मन शान्त छैन । उनी हरदम आफ्नो परिवार र देश सम्झिरहन्छन् ।
|
‘मेरो मन तब शान्त हुन्छ, जब युक्रेनमा शान्ति फर्कन्छ, युद्ध रोकिन्छ । हामी यहाँ छौं, तर हाम्रो मन युक्रेनमै छ । हामीलाई विश्वास छ युक्रेनमै रहेका हाम्रा दाजुभाइ दिदीबहिनीले आफ्नो भूमिको सुरक्षा गर्नेछन्,’ युक्रेनी राष्ट्रिय टिमका चार गोलरक्षकमध्ये एक रिज्निकले भने ।
रुसले हमला सुरु गरेको चौथो दिनसम्म रिज्निक प्रसूति अस्पतालमा थिए । श्रीमती र भर्खरै जन्मेको छोरासँग । उनलाई आफ्नो परिवार छाडेर राष्ट्रिय टिमसँग देश छाड्न कम्ती गाह्रो भएन । उनी अरू २२ युक्रेनी खेलाडीसँगै २० घण्टाको बस यात्रापछि बन्द प्रशिक्षणका अहिलेको ठाउँसम्म आइपुगेका हुन् ।
रिज्निकले युक्रेनकै भोर्सक्लाबाट युक्रेनी प्रिमियर लिग खेल्ने गरेका थिए । राष्ट्रिय टिममा अरू अधिकांश खेलाडीचाहिँ डिनामो किभ र साख्तार डोनेस्कका हुन् । डिनाभो र साख्तारले युरोपका विभिन्न ठाउँमा च्यारिटी खेल खेले । आफ्ना देशका युद्धपीडितका लागि चन्दा उठाए । तर रिज्निकले गत दुई महिना एक्लै अभ्यास गरे । किनभने उनको क्लबले डिनामो वा साख्तारले जस्तो आफ्नो गतिविधि जारी राख्न सकेन ।
रिज्निकको अधिकांश समय सेल्टर लिएको ठाउँमा यताउति गरेरै बित्यो । बाहिर निस्किँदा सुनिने एम्बुलेन्सको साइरनले उनलाई दिक्क लगाउँथ्यो । विश्वकप छनोटका लागि तयारी गरिरहनुपर्ने खेलाडी अन्डरग्राउन्ड सेल्टरमा सीमित भएका थिए । ‘अबको हाम्रो लक्ष्य एउटै छ, देशको इज्जत राख्ने अनि समस्त युक्रेनीलाई खुसी हुने एउटा बहानाको मौका दिने,’ रिज्निक भन्छन् ।
|
कतार विश्वकपमा पुग्न युक्रेनले दुई टिमलाई हराउन आवश्यक छ । प्लेअफको सेमिफाइनलमा युक्रेनको भेट स्कटल्यान्डसँग हुँदै छ । स्कटल्यान्डलाई हराए युक्रेनले निर्णायक प्लेअफमा वेल्सको सामना गर्नेछ । वेल्सलाई पनि पन्छायो युक्रेनले पहिलो पटक खाडीमा हुन लागेको विश्वकपको अनुभव बटुल्ने छ ।
‘यी खेलाडीमाथि बढी दबाब सिर्जना गर्ने पक्षमा म छैन । किनभने अहिले जस्तो स्थितिमा खेल्न नै गाह्रो छ । त्यसमाथि विश्वकप छनोटको लक्ष्यको बोझले त यी खेलाडीलाई चिचिहाल्छ नि,’ युक्रेनी टिमका मुख्य प्रशिक्षक अलेक्जान्डर पेट्राकोभ भन्छन् ।
पेट्राकोभ ६४ वर्षका भए । उनले सोचेका थिए मैले ती जीवनमा धेरैथोक भागेको छु, देखेको छु । तर उनलाई के थाहा आजको दिन यसरी बित्छ भनेर । जब उनी राष्ट्रिय टिमको बस चढेर युक्रेनबाट हंगेरीको सीमातर्फ लागिरहेका थिए, उनले मानिसहरू अत्यावश्यक वस्तु खरिद गर्न लाइनमा लागेको देखिरहेका थिए । जब उनी हंगेरी पुगे, युक्रेनमा जस्तो लाइन थिए । ‘त्यसपछि मलाई अनुभव भयो, मैले के गुमाइरहेको छु भनेर,’ पेट्राकोभ भन्छन् ।
प्लेअफका लागि यी खेलाडीलाई तयार पार्नु आफ्नो करियरकै सबैभन्दा ठूलो चुनौती रहेको मान्छन् पेट्राकोभ । ‘म उनीहरूलाई फ्रेस राख्न चाहन्छु । उनीहरूलाई जोक सुनाउँछु । उनीहरूको मनोबल कसरी कायम राख्ने भनेर अनेक जुक्ति लगाउँछु,’ पेट्राकोभको भनाइ छ ।
|
तर उनलाई चिन्ता छ, खेलाडीहरू विश्वकप प्लेअफका लागि शतप्रतिशत तयार हुन सक्दैनन् भनेर । उनले हिम्मत भने हारेका छैनन् । प्लेअफ अगाडि युक्रेनले केही मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । ती खेलको केही समयअघि मात्रै अलेक्जान्डर जिनचेन्को र आन्द्रे यार्मोलेन्को जस्ता खेलाडी राष्ट्रिय टिमसँग जोडिने छन् ।
युक्रेनले जुन १ मा स्कटल्यान्डको सामना गर्नेछ । त्यसका लागि तयारीस्वरुप उसले जर्मनीको क्लब बोरुसिया मन्चुनग्लाडबाचसँग मैत्रीपूर्ण खेल खेल्नेछ । पेट्राकोभ विश्वकप प्लेअफ अगाडि एउटा बलियो अफ्रिकी टिमसँग मैत्रीपूर्ण खेल खेल्न पाइयोस् भन्ने चाहिरहेका छन् ।
युक्रेनको अवस्था अहिले पनि फेरिएको छैन । त्यहाँ रुसी आक्रमण जारी छ । युक्रेनी सुरक्षा फौजले रुसी आक्रमणको प्रतिरोध गरिरहेकै छन् । उनीहरू युद्धमोर्चामा भए पनि राष्ट्रिय टिमको प्रदर्शन र विश्वकप छनोटप्रति पनि चिन्तित छन् । त्यसैकारण उनीहरू युक्रेनी टिमलाई बारम्बार सन्देश पठाइरहन्छन् ।
‘जसरी हुन्छ हाम्रो देशलाई विश्वकपमा पुर्याउँ,’ युक्रेनी राष्ट्रिय टिमका सबैभन्दा पाका खेलाडी टारास स्टेपानेन्कोले आफ्ना साथीहरूलाई सन्देश सुनाउँदै भन्छन्, ‘विश्वकप छनोट समस्त देशकै लागि महत्त्वपूर्ण छ । हामी विश्वकपमा छनोट हुँदा पीडामा रहेको युक्रेनी अवश्य पनि हर्षित हुने नै छन् ।’
फुटबल युक्रेनी संस्कृतिको हिस्सा हो । रुस युक्रेनी संस्कृति मेट्न चाहन्छ । यसकारण पनि हाल युक्रेनीका लागि फुटबल र विश्वकपको महत्व बढेको छ । यसकारण विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा पुगेर रुसलाई देखाउनु छ युक्रेनीले । फेरि यो सफलता युक्रेनी फुटबल बचाउने एउटा कडी पनि हुनेछ ।
विश्वकप छनोटको तयारीमा रहेको युक्रेनी टिममा जोडिएका सेरही सिडोरचुक डिनामोसँग पोल्यान्डको भ्रमणमा थिए । युक्रेनबाट ४७ खेल खेलिसकेका उनी डिनामोका मुख्य खेलाडीमध्ये एक हुन् । डिनामोले पोलिस टिम लेगिया वार्सासँग च्यारिटी खेल खेल्दा उनी पनि युक्रेनी टिमको हिस्सा बनेका थिए । यो खेलपछि डिनामोको टिम स्थानीय एक उद्योगमा पुग्यो । जहाँ युक्रेनी शरणार्थीहरूलाई राखिएको छ ।
त्यहाँ डिनामोका खेलाडीहरूले शरणार्थी बालबालिकालाई खेलौना बाँडे । अधिकांश बालबालिका आफ्ना हजुरबुवा, हजुरआमा वा आमासँग त्यहाँ रहिरहेका थिए । सिडोरचुकको ध्यान एक सात वर्षीय बालकतर्फ गयो । जो आफ्नो मोबाइल फोनमा भएको चित्रको नक्कल कोरिरहेका थिए । उनको चित्रमा युक्रेनी घर थिए अनि तिनका माथि फरफराइरहेका रुसी झण्डा ।
‘त्यो दृश्यले मलाई असाध्यै चोट पुर्याएको छ । आशा छ भविष्यमा सबै ठीक हुन्छ, ती बालकले सामान्य जीवन जिउने छन्,’ सिडोरचुकले भने ।
युक्रेनी राष्ट्रिय टिमका सदस्य अन्य युक्रेनीभन्दा भाग्यमानी हुन् । किनभने यी खेलाडी देशबाहिर निस्किन पाएका छन् । ‘हामीसँग हाल जे छ, त्यो सबै युक्रेनीसँग छैन । उनीहरू बन्धक बनेका छन्,’ सिडोरचुक भन्छन् ।
रुसी आक्रमण सुरु भएको केही दिन सिडोरचुक र उनको परिवारले आफ्नै घरमा रहेको अन्डरग्राउन्ड पार्किङमा बास बसे । त्यहाँ युक्रेनका अरू केही खेलाडी पनि आइपुगे । त्यो अन्डरग्राउन्ड पार्किङबाट विमानस्थल नजिकै थियो । जहाँ रुसी सेनाले निरन्तर बम झारिरहेका थिए । बम विष्फोटको आवाजले पार्किङमाथि घरको सिसा फुटेर झर्थे । कयौं रात उनीहरूले खुला आकाशमा पनि बिताए । त्यसबीच पाएको दुःख र पीडाको त हिसाब–किताब नै छैन ।
|
पीडाबाहेक क्रोध पनि छ युक्रेनीको मनमा र मस्तिष्कमा । पेट्राकोभ रुसले अन्तर्राष्ट्रिय समुदायबाट कडा दण्ड पाएको हेर्न चाहन्छन् । कमसेकम खेलकुद क्षेत्रले रुसलाई माफ गर्नु नहुने बताउँछन् उनी । ‘विश्वकप, युरो, युरोपेली क्लब प्रतियोगिताबाट रुस र रुसी क्लबहरूलाई कम्तीमा पनि ५ वर्षका लागि प्रतिबन्ध लगाउनुपर्छ,’ प्रशिक्षक पेट्राकोभ भन्छन्, ‘उनीहरूले हाम्रो सहरहरू ध्वस्त बनाएका छन् । बालबालिका, महिलामाथि गोली ठोकेका छन् । उनीहरूले विश्व खेलकुदमा भाग लिने अधिकार गुमाएका छन् । यदि उनीहरूलाई रोक्न सकिएन भने उनीहरूले युरोपका अरू भागमाथि पनि कब्जा जमाउने कोसिस गर्नेछन् ।’
राष्ट्रिय टिमको अभ्यास सुरु हुनुअघि रिज्निक र सिडोरचुक केही समय स्वयंसेवी भएर अस्पताल तथा शरणार्थी सिविरमा खटिएका थिए । समस्त युक्रेनीले यो घडीमा आफूले सकेको सहयोग गर्नुपर्ने बताउँछन् सिडोरचुक । ‘हामी सबै एक हुन जरुरी छ । यदि तपाईं पत्रकार हो भने पत्रकारितामार्फत देशको सेवा गर्नुस् । फुटबलर हो भने देशको नामका लागि खेल्नुस् । हामीसँग व्यावसायिक सेना छ, जो युद्धमोर्चामा छन् । तर बाँकी पनि आ–आफ्नो ठाउँबाट देशका निम्ति खटिन सक्छन्,’ सिडोरचुक भन्छन् ।
युक्रेनी टिम जहाँ अभ्यास गर्छ, त्यो मैदानका अगाडि ठुल्ठूला होर्डिङ बोर्ड टाँगिएका छन् । जसमा युक्रेनमा बनेका वस्तुहरूको विज्ञापन गरिएको छ । यी विज्ञापन देख्दा युक्रेनी खेलाडी भावुक बन्छन् । ‘स्लोभेनियामा पनि युक्रेन छ । हाम्रो लक्ष्य युक्रेनलाई कतारमा पुर्याउने हो,’ रिज्निक भन्छन् । जो आफैं कतार जाने युक्रेनी टिममा पर्न संघर्षरत छन् ।
मुख्य प्रशिक्षक पेट्राकोभका लागि विश्वकप छनोट कहिल्यै पनि अनिवार्य सर्त थिएन । तर, जब रुसी आक्रमण सुरु भयो, तब उनका लागि विश्वकप छनोट अनिवार्य सर्त बन्यो । ‘म यस्तो स्थितिमा छु, जहाँ मलाई कुनै प्रकारको सम्पत्ति चाहिएको छैन । न घर चाहिएको छ न त नयाँ गाडी । अहिलेको लागि मेरो इच्छा एउटै छ, त्यो हो विश्वकप । यदि मैले युक्रेनलाई विश्वकपमा पुर्याउन सकें भने मेरो जीवन सार्थक बन्ने छ,’ पेट्राकोभ भन्छन् ।