सहाराले आयोजना गरेको पहिलो संस्करणको प्रतियोगिताको नाम थियो, क्याराभान गोल्डकप । वर्ष थियो, ०५८ । यो प्रतियोगितालाई सम्झनु पर्ने धेरै कारण छन् र त्यसमध्ये एक हो, दोस्रो सेमिफाइनलमा देखिएको दुर्लभ घटना । नेपाली घरेलु फुटबलमा मात्र होइन्, विश्व फुटबलमै पनि यस्तो घटना विरलै मात्र सुनिन्छ । त्यति बेला भएको के थियो त ?
प्रतियोगिताको इतिहास समेटिएर एउटा किताब प्रकासित हुन लागेको छ र त्यसको नाम रहेको छ, ‘सहारा दुई दशकको फुटबल यात्रा २०५८-२०७७’ । त्यही किताबबाट वर्ष ०५८ को त्यस सेमिफाइनलबारे लेखिएको पुस्तक अंश यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं । यो सेमिफाइनल वास्तवमै कति सनसनीपूर्ण रहेको छ, सजिलै अनुमान गर्न सकिन्छ ।
पुस्तक अंश:
प्रतियोगिताको पहिलो सेमिफाइनलमा मनाङले भारतको इस्टर्न रेलवेलाई हरायो । यो धेरै अर्थमा स्वाभाविक नतिजा थियो । तर, दोस्रो सेमिफाइनल नतिजा भने निकै अस्वाभाविक रह्यो । त्यो सेमिफाइनल पुलिस र सहारा ‘ब्लु’ बीच थियो । यस्तो खेल नेपाली फुटबल इतिहासमै कहिल्यै पनि भएको थिएन, न त हुनेछ । सायद यस्तो अवसर विश्व फुटबलमै कमैमात्र बनेको छ होला । के भएको थियो त त्यस खेलमा ? खेलपछि धेरैको प्रतिक्रिया थियो, ‘यस्तो दुर्लभ स्थिति फेरि नदोहोरियोस् ।’
सहारा ‘ब्लु’ ले खेलमा नीराजनको गोलले अग्रता लिएको थियो, तर लगत्तै हरिले पुलिसका लागि गोल फर्कायो । यस्तोमा निर्धारित समयको खेल १-१ को बराबरीमा रह्यो । पछि थपिएको समयमा पनि गोल भएन । त्यतिबेला विश्व फुटबलमा गोल्डेन गोलको नियम चलिरहेको थियो । त्यस नियमअनुसार थपिएको समयमा जसले पहिले गोल गथ्र्यो, त्यही टिम जित्यो । तर गोल्डेन गोलको अवसर नै बनेन । यस्तोमा खेल सनसनीपूर्ण रूपमा टाइब्रेकरमा गयो ।
आहा-रारा गोल्डकपको इतिहासमा खेल टाइब्रेकरमा गएको यो पहिलो अवसर थियो, तर टाइब्रेकरको निर्णय कहिल्यै पनि आएन । नेपाली घरेलु फुटबल इतिहासमा यही एकमात्र त्यस्तो खेल रह्यो, जसमा न कुनै टिम विजेता रह्यो, न त कुनै टिम पराजित रह्यो । तर, एउटा टिम भने फाइनल पुग्यो । टाइब्रेकरका सुरुआती ५-५ प्रहारपछि स्थिति ४-४ को बराबरीमा रहेको थियो । त्यसो भनेको यही अवसरमा दुवै टिम एक-एक प्रहारमा गोल गर्न चुकेका थिए ।
यी खेलाडी थिए, पुलिसका नरोत्तम गौतम अनि सहारा ‘ब्लु’ का दीपेन्द्र तामाङ । त्यसपछि पेनाल्टी सुटआउट सडनडेथमा गएको थियो । त्यसमा पनि दुवै टिमका एक एक खेलाडी गोल गर्न चुके । को थिए त ती ? थि त पुलिसका राकेश श्रेष्ठ र सहारा ‘ब्लु’ का बालगोपाल महर्जन । त्यसपछि भने लगातार गोल भयो र यो अन्तत: ९-९ को बराबरीमा रोकियो । दुवै टिमका सबै ११ खेलाडीले पेनाल्टी प्रहार गरे । तर नतिजा निस्केको थिएन ।
त्यतिबेलासम्म पोखरा रंगशालामा पूर्णत: अन्धकार छाइसकेको थियो । स्थिति निकै तनावपूर्ण बनेको थियो । सहारा ‘ब्लु’का गोलरक्षक रहेका उपेन्द्रमान सिंह मान्छन्, ‘के हुन्छ र के हुने छैन, कसैले भन्न सकिरहेका थिएनन् । दुवै टिमका खेलाडी तनावमा थिए । दर्शक उत्तिकै तनावमा थिए । टाइब्रेकर रोकि“दा बल राम्रोसँग देख्न पनि सकिने अवस्था थिएन ।’ तर खेल भने जुनसुकै मूल्यमा सिध्याउनु थियो, किनभने त्यस खेलपछि पराजित टिमका खेलाडीलाई अन्यत्र नै खेल्न जानुपर्ने थियो ।
खेलका रेफ्री थिए, दिलीप रजक । उनी पनि भन्छन्, ‘मैल यस्तो स्थिति जीवनमा कहिल्यै पनि सामना गर्नुपरेन ।’ अन्त्यमा उनले एउटा उपाय निकाले, फाइनल पुग्ने टिमको निर्णय टसबाट गर्ने । दर्शक भने फेरि खेल दोहोर्याउनुपर्ने माग गरिररहेका थिए, तर त्यो सम्भव थिएन नै । रेफ्री रजकले गरेको टस भने पुलिसको पक्षमा गयो । यो टिम पुग्यो फाइनलमा । सहारा ‘ब्लु’ का खेलाडी र समर्थकसामु निराश हुनुबाहेक अन्य केही विकल्प थिएन, त्यसैले धेरैले भनेका थिए, ‘यस्तो दुर्लभ स्थिति फेरि नदोहोरियोस् ।’