काठमाडौं । गत वर्ष पुसमा सम्पन्न एन्फा राष्ट्रिय लिगमा वालिङ नगरपालिकाबाट खेल्दा स्ट्राइकर मीना देउवाले एक गोल मात्र गरेकी थिइन् । मीनाको त्यो गोल सुपर स्टेजअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध भएको थियो ।
ठूलो विपक्षीविरुद्ध गरेकाले मात्र होइन, त्यो गोल आफैंमा मन लोभ्याउने खाले थियो । सुपर स्टेजमा वालिङले ८ खेलमा ४९ गोल खाँदा ५ गोलमात्र गर्न सकेको थियो । दयनीय अवस्थाबाट गुज्रिइरहेको वालिङका लागि मीनाले आर्मीकी गोलकिपर अञ्जना रानामगरलाई काउन्टरमा बिट गरेकी थिइन् । सजना रानाको पासमा मीनाले सुरुमा विपक्षी रक्षक सुस्मिता चौधरीलाई छक्याएर लडाइन् अनि त्यसपछि अञ्जना बिट भइन् ।
आर्मीविरुद्धको उक्त गोल वास्तवमै गजबको थियो । त्यस किसिमको गोल कुनै जब्बर स्ट्राइकरबाट मात्र सम्भव हुने गर्छ । कैलाली अत्तरियाकी १७ वर्षीया मीना त्यस्तै खेलाडीमा पर्छिन् । छरितो अनि काउन्टर आक्रमणमा विपक्षी रक्षापङ्क्तिलाई गाह्रो बनाउन सक्ने खुबी मीनाका विशेषता हुन् ।

‘हाम्रो टोली साँच्चिकै कमजोर थियो । खेलाडीहरू राम्रा थिए । तर, आवश्यक तयारी नभएकाले लिगमा सोचेअनुरुप प्रदर्शन गर्न सकेनौं,’ मीना सुनाउँछिन्, ‘मैले ठूलो खेलाडी बन्ने लक्ष्य बोकेको छु । आर्मीविरुद्धको त्यो गोलले मलाई प्रेरणा मिलेको छ ।’
डेढ दशक अगाडि नेपाली महिला फुटबल बामे सर्दै गर्दादेखि अहिलेको चलायमान अवस्थासम्म आइपुग्दा, राष्ट्रिय टोलीले स्ट्राइकरको अभाव कहिल्यै महसुस गर्नुपरेको छैन ।
ठ्याक्कै चार महिनापछि मीनाले आर्मीको पोस्टमा अर्को गोल गरिन् । यसपालि अवसर थियो, बाँकेस्थित नेपालगञ्ज रंगशालामा भएको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेल । अनि मीना थिइन्, विभागीय टोली नेपाल पुलिस क्लबको जर्सीमा ।
पहिलाे खेलमा पुलिसले भारतको सिलिगुढी एफसीविरुद्ध ४-० को जित हासिल गर्दा मीनाले एक गोल गरिन् । नाटकीय सेमिफाइनलमा पुलिस सडनडेथमा विजयी भएको थियो । निर्धारित समयमा मीनाले नै पुलिसलाई अग्रता दिलाएकी थिइन् ।

डेढ दशक अगाडि नेपाली महिला फुटबल बामे सर्दै गर्दादेखि अहिलेको चलायमान अवस्थासम्म आइपुग्दा, राष्ट्रिय टोलीले स्ट्राइकरको अभाव कहिल्यै महसुस गर्नुपरेको छैन ।
पूर्वकप्तान अनु लामा गजबकी स्ट्राइकर थिइन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी अनु आफ्नो अन्तर्राष्ट्रिय करियरको उत्तरार्धमा रहँदा सावित्रा भण्डारीले आफ्नो जादु देखाउन थालिसकेकी थिइन् । अनुलाई नै आइडल मान्ने सावित्रा दक्षिण एसियामा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । पछिल्लो समय रेखा पौडेल र रश्मिकुमारी घिसिङ जनमानसको मनमा बस्न सफल खेलाडी हुन् ।
मीनाको उपस्थितिले पुलिसलाई फाइदा पनि भइरहेको छ । लुम्बिनी कप मीनाका लागि पुलिस क्लबबाट तेस्रो प्रतियोगिता प्रतियोगिता हो ।
अनुले गत वर्ष पुस महिनामा सम्पन्न एन्फा राष्ट्रिय महिला लिगबाट व्यावसायिक फुटबलबाट संन्यास लिइसकेकी छन् । सावित्रा र रेखा देशबाहिर व्यावसायिक फुटबल खेलिरहेका छन् । रश्मिले भने एपिएफ क्लबको प्रतिनिधित्व गरिरहेकी छन् । घरेलु फुटबलमा अहिले हेर्नलायक स्ट्राइकर भनेको उही रश्मि नै हुन् । लिगमा ३५ गोल गरेकी रश्मि उच्च गोलकर्ताको निर्विकल्प दाबेदार थिइन् । रश्मिपछि नाम आउँछ आर्मीकी चन्द्रा भण्डारी । लिगमा १७ गोल गरेकी चन्द्रा पछिल्लो समयकी उदीयमान फरवार्ड हुन् ।

लिगमा यसपालि उच्च गोलकर्ताको दौडमा पुलिसका खेलाडी शीर्ष १० भित्र पनि अटाउन सकेनन् । यसको कारण थियो भरपर्दो स्ट्राइकरको कमी । यद्यपि पुलिस उपविजेता बनेको थियो । नियमित फरवार्ड रेखा नहुँदा पुलिसले सुपर स्टेजमा गोल गर्न निकै संघर्ष गरेको थियो । कप्तान निरु थापाको प्रेरणाले नथेग्दो हो त पुलिसले फाइनलसम्म यात्रा गर्नु असम्भव जस्तै थियो । लिग पनि यसपटक प्लेअफ ढाँचामा सञ्चालन भएको थियो । नियमित डबल लिगमा पुलिसले अंकतालिकाको तेस्रो स्थानमा रहेर लिग टुंग्याएको थियो ।
यही संघर्षबीच मीना पुलिसमा जोडिन पुगेकी हुन् । मीनाको उपस्थितिले पुलिसलाई फाइदा पनि भइरहेको छ । लुम्बिनी कप मीनाका लागि पुलिस क्लबबाट तेस्रो प्रतियोगिता प्रतियोगिता हो ।
लिगलगत्तै राष्ट्रिय टोलीले लेवनान, किर्गिस्तान र म्यानमारसम्मिलित अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेलेको थियो । लिगमै देखाएको कलाका आधारमा मीना ३९ सदस्यीय प्रारम्भिक टोलीमा छनोट भइन् । तर, छनोटको पहिलो चरणबाटै बाहिरिन पुगिन् । अन्तर्राष्ट्रिय च्याम्पियनसिपपछि मोफसलमा महिला फुटबल निकै तातेको छ । कुनै बेला एउटा खेल खेल्न वर्षौंसम्म कल्पिनुपर्ने महिला खेलाडीलाई अचेल भ्याइनभ्याई छ ।

फागुन अन्तिम साता इलाममा भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपदेखि मीना पुलिसको जर्सीमा देखिँदै आएकी छन् । पुलिसको यो एक्सपोजरले आफ्नो खेल स्तरमा वृद्धि भइरहेको मीना बताउँछिन् । भन्छिन्, ‘मैले पुलिस आएर धेरै कुरा सिक्न पाइरहेको छु । विभागमा हामीले नियमित प्रशिक्षण गर्छौं । जसले गर्दा हाम्रो खेलमा आवश्यक सुधार ल्याउन मद्दत पुगिरहेको हुन्छ ।’
फुटबल खेल्नुभन्दा अगाडि मीना दौडिन्थिन् । विस्तारै स्कुलका दाइहरूले फुटबल खेलेको देखेर उनलाई पनि फुटबल खेल्ने जोस जाग्यो । अत्तरियाकै साइपल युवा क्लबमा जोडिन पुगेपछि मीनाको फुटबल खेल्ने मोहले थप गति लिन थाल्यो । पछिल्लो एक वर्षयता भने मीना ‘अल स्टार्स स्पोर्टस एकेडेमी’ मा आबद्ध थिइन् ।
अल स्टार्समै प्रशिक्षण गरिरहँदा एन्फा राष्ट्रिय लिगको छनोट प्रतियोगिता खेल्ने सुदूरपश्चिम टोलीमा मीना छनोट भएकी थिइन् । कैलाली जिल्ला छनोट हुँदै प्रदेश छनोटमा पनि सफल भएपछि मीना सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रतिनिधित्व गर्न सफल भइन् । सुर्खेतमा सम्पन्न छनोटमा सुदूरपश्चिमले अंकतालिकाको दोस्रो स्थानमा रहँदै राजधानीमा हुने राष्ट्रिय लिगको टिकट काटेको थियो । सात प्रदेशको सहभागिता रहेको छनोट प्रतियोगितामा मीनाले कुल ६ गोल गरेकी थिइन् ।

लिग मीनाका लागि आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर थियो । तर, सुदूरपश्चिम फुटबलको राजनीतिका कारण मीनाले लिग खेल्ने अवसर गुमाउन पुगिन् । मीनासँगै त्यतिबेला बिर्सना चौधरी, अस्मिता चौधरी, अञ्जली चन्द जस्ता युवा प्रतिभामाथि राजनीति भयो । सुदूरपश्चिमबाट नखेल्ने भएपछि यी खेलाडीलाई अन्य टोलीले अनुबन्ध गर्न चाहेका थिए । तर, संघबाट रिलिज पत्र नपाउँदा खेलाडी थप मारमा परे ।
पुलिसका मुख्य प्रशिक्षक सुमन सुवेदीको बुझाइमा मीना लामो रेसको घोडा बन्न सक्ने खेलाडी हुन् ।
दोस्रो चरण अर्थात् सुपर स्टेजमा भने सुदूरपश्चिमले उनीहरूलाई फुकुवा गरिदियो । त्यसपछि मीना र उनका साथीहरू मैदानमा फर्कन पाएका हुन् । अस्मिता र अञ्जली बागमती युवा क्लबको जर्सीमा देखिए भने विर्सनालाई पुलिसले अनुबन्ध गर्यो । मीनाले भने वालिङबाट खेलिन् ।
अहिले एक वर्षको अन्तरालमै मीनाले पुलिसका लागि महत्वपूर्ण खेलाडीका रूपमा आफूलाई स्थापित गर्न सफल भएकी छन् । पुलिस पनि मीना जस्तो खेलाडी पाउँदा दंग छ । मुख्य प्रशिक्षक सुमन सुवेदीको बुझाइमा मीना लामो रेसको घोडा बन्न सक्ने खेलाडी हुन् ।

‘मीना करियरको सुरुआती समयमा छ । उसले सिक्न बाँकी धेरै कुरा छन् । ऊसँग स्ट्राइकरमा हुनुपर्ने सबै गुण छ । उसको गति तीव्र छ । जसले रक्षापंक्तिलाई गाह्रो बनाउँछ । मुख्य कुरा मलाई मीनाको कन्फिडेन्स मनपर्छ,’ सुवेदी भन्छन्, ‘मीनाले पुलिसको अग्रपंक्तिको समस्यामा मलम लगाएकी छन् ।’