एएफसी कप

होडमा मनाङ र मछिन्द्र

काठमाडौं । दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल निकै रोचक मोडमा पुगेको छ । तत्काल उपाधि छिनोफानो हुने भएकाले यसको रोमाञ्च बढेको होइन । न त रेलिगेसनमा परेर शीर्ष डिभिजनको हैसियत गुमाउने दुई टोलीकै निर्णय हुँदैछ ।

हुँदै छ त रौनक शीर्षस्थानका लागि प्रतिस्पर्धारत दुई टोलीको खेलले । त्यसका लागि साबिक विजेता मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदै छ । अनि यही खेलले यसपालि नेपाली लिग च्याम्पियनको हैसियतमा देशको प्रतिनिधित्व गर्दै एएफसी कप छनोटमा सहभागिता जनाउने टोली छनोट गर्नेछ ।

लिग च्याम्पियन बन्न प्रतियोगिता सकिनुपर्छ । लिग नै नसकिए पनि कम्तीमा बाँकी रहेका खेलको नतिजाले कुनै प्रभाव नपर्ने गरी शीर्षस्थानको टोलीले आवश्यक अंक जोडिसकेको हुनुपर्छ ।

तर, जारी लिगमा त्यस्तो केही भएको छैन । शीर्षस्थानको मनाङको खातामा ५ खेलमा १३ अंक छ । दोस्रो स्थानको मछिन्द्रले ५ खेलबाट ११ अंक जोडेको छ । अनि पुछारको फ्रेन्ड्स क्लबको खातामा २ अंकमात्र छ ।

अंकतालिकाको यो समीकरणले फ्रेन्ड्स क्लबले जारी लिग जित्ने र मनाङ रेलिगेसनमा पर्ने दुवै खाले सम्भावनाको गणित जीवित राखेको छ । तर सम्भावनाको खेल फुटबलमा लिग चलिरहँदै च्याम्पियनको हैसियतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने टोलीको टुंगो लगाइँदै छ । आधा बाटो पार नगर्दै म्याराथन दौडका विजेता घोषणा गरेजसरी ।

त्यसो त, नेपाली फुटबल इतिहासमा यस्तो हुन लागेको यो पहिलो पटक भने होइन । यसअघि नै दुई पटक लिग नजिते पनि दुई फरक क्लबले नेपाली लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोटमा देशको प्रतिनिधित्व गरिसकेका छन् ।

२०७० सालको लिगमा न्युरोड टिम (एनआरटी) ले मध्य सिजनमा लिग तालिकाको शीर्षस्थानमा बस्दै पहिलो पटक नेपाली लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेलेको थियो ।

२०७६ सालमा लिग च्याम्पियन मछिन्द्र थियो भने उपविजेता त्रिभुवन आर्मी क्लब । आर्मीलाई लिग विजेता बन्न अन्तिम खेलमा मात्र १ अंक आवश्यक थियो । मछिन्द्रलाई भने लिग उपाधि उचाल्न ३ अंक नै आवश्यक पथ्र्यो । अन्ततः आर्मीका खेलाडीले दिएको आत्मघाती गोल उपहारमा मछिन्द्रले लिगको उपाधि उचाल्यो ।

स्वाभाविक थियो, मछिन्द्रले लिग विजेताको हैसियतमा नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेल्ने । तर, विडम्बना एएफसीले सोही वर्षबाट एएफसी कप छनोट खेल्ने टोलीले अनिवार्य रूपमा एएफसी क्लब लाइसेन्स प्राप्त गर्नुपर्ने नियम लागू गर्यो ।

मछिन्द्र लिग च्याम्पियन थियो, तर उनीहरूसँग एएफसी क्लब लाइसेन्स थिएन । उपविजेता बनेको आर्मी भने एएफसीको लाइसेन्स प्राप्त गर्ने एकमात्र नेपाली क्लब थियो । त्यसैले आर्मी नै नेपाली लिग विजेताको हैसियतमा एएफसी कप छनोट खेल्न गयो ।

एएफसी कप छनोटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो चरणको खेलमा श्रीलंका पुलिस क्लबलाई हराएको आर्मी दोस्रो चरणमा भने भारतीय क्लबसँग पराजित भयो ।

२०७७ मा कोभिड–१९ महामारीका कारण लिग हुन सकेन । वर्ष २०७८ मा पनि अखिल नेपाल फुटबल संघले पटक–पटक लिगको मिति सार्यो । अन्ततः मंसिर ३ देखि लिग सुरु गरेको छ, जुन जारी नै छ ।

एन्फाले क्लबबीच सहमति भइसकेको भन्दै नवौं चरणको खेल समाप्तिसम्म शीर्षस्थानमा रहने टोलीले नेपालको लिग विजेता हैसियतमा एएफसी कप छनोट खेल्ने जनाएको थियो । एन्फाले त्यसमा परिवर्तन गर्दै सातौं चरणको समाप्तिसम्ममा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने घोषणा गरिसकेको छ ।

यस सिजनका लागि आर्मीको एएफसी क्लब लाइसेन्सको नवीकरण हुँदा मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, मछिन्द्र र एपिएफ गरी अन्य चार क्लबले एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन् ।

पाँचौं चरणको खेल समाप्तिसम्म मनाङ १३ अंकसहित शीर्षस्थानमा छ भने मछिन्द्र समान खेलमा ११ अंकसहित दोस्रो स्थानमा छ । आर्मी भने ९ अंक बटुल्दै तेस्रो स्थानमा छ ।

त्यसैले सातौ चरणसम्मको समाप्तिमा शीर्षस्थानमा रहँदै एएफसी कप छनोट खेल्न मनाङ र मछिन्द्रबीच नै तीव्र प्रतिस्पर्धा देखिएको छ ।

त्यसैले शनिबार दशरथ रंगशालामा मनाङ र मछिन्द्रबीच हुने खेलले पूरा लिगलाई रोमाञ्चक मोडतिर पुर्याएको छ । किनकि यही खेलको नतिजाले शीर्षस्थानमा रहने टोलीबारे थप प्रस्ट पार्नेछ । सातौं चरणमा मनाङले ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दा मछिन्द्रले भने नेपाल पुलिस क्लबको सामना गर्र्दै छ ।

अहिले मनाङ र मछिन्द्र शीर्ष दुईको भिडन्तमा छन् । सम्भवतः यी दुई टोलीमध्ये एक क्लबले एएफसी कप छनोट खेल्नेछ । तर लिगको अन्त्यमा यी दुई टोलीलाई उछिन्दै अन्य कुनै क्लबले लिग उपाधि जितेमा सो क्लबको हकमा के हुने भन्ने प्रस्ट व्यवस्था छैन ।

‘कोभिड–१९ महामारीका कारण समयमा लिग गराउन सकिएन,’ लिग निर्देशक सञ्जिव मिश्र भन्छन्, ‘त्यसैले यस सिजन हामीले सातौं चरण समाप्तिसम्म शीर्षस्थानमा रहने टोलीलाई नेपालको लिग विजेता हैसियतमा एएफसी कप छनोटमा देशको प्रतिनिधित्व गराउने निर्णय गरेका छौं । यसबारे क्लबहरूबीचको सहमतिमै निर्णय लिइएको हो ।’

तर, सातौं चरणमा शीर्षस्थानमा रहने टोलीलाई उछिन्दै अन्य कुनै क्लबले उपाधि जितेमा सो क्लबले अर्को वर्ष लिग विजेताको हैसियतमा एफसी कप छनोट खेल्न पाउँछ वा पाउँदैन भन्नेमा मिश्र भन्छन्, ‘क्लबहरूबीच सहमति भइसकेको छ । यस पटकको लिग विजेताले अर्को वर्ष एएफसी कप छनोट खेल्नेछ । यसले कुनै समस्या निम्त्याउला जस्तो मलाई लाग्दैन ।’

मिश्रले भनेजस्तो यसपालिको विजेताले अर्को वर्षको एएफसी कपको छनोट खेल्ने हो भने अर्को वर्षको विजेताले कहिले खेल्ने ? कि सधैं आधा बाटो हिँड्दा जो अघि हुन्छ उसैलाई विजेता मानिरहने ? एएफसीसँग नबाझ्ने गरी नेपाली फुटबलको क्यालेन्डर बनाउनुपर्दैन ? सहमति र राजनीतिक निर्णयकै भरमा फुटबल चलाउने प्राविधिक विषय अगाडि बढ्न सम्भव छ ?

एन्फाले जवाफ दिनुपर्ने अरू पनि थुप्रै प्रश्न छन् । के एन्फा त्यसका लागि तयार छ ?