काठमाडौं । एएस रोमा इटालीको सिरी ‘ए’ मा लय समाउन संघर्ष गरिरहेको एउटा क्लबमा पर्छ । त्यसैले त यो रोमन क्लब कहाँनिर छ भनेर अंकतालिकामा खोज्दा बीचतिर जानुपर्ने हुन्छ । लिगले १२औं चरणमा छुँदा रोमा १३ अंकमै सीमित छ । क्लब १२औं स्थानमा छ । यो त रोमा जत्तिको क्लबलाई सुहाउने भएन, यो त समृद्ध इतिहास भएको क्लब पो हो ।
यस्तोमा रोमाले त्यस्तो प्रशिक्षकलाई सम्झेको छ, जसले संन्यास नै लिएसकेका छन् । ती हुन्, क्लाउडियो रेनेरी । ६ महिना अगाडि एउटा समाचार आएको थियो, यी सदाबहार जस्तै देखिने प्रशिक्षक अब आफ्नो प्रिय काममा देखिने छैनन् । उनी ७३ वर्षका भए । त्यसैले आराम लिन चाहन्छन् । उनले आफू थाकेको भनिरहेका थिए ।
फेरि सबैलाई थाहा छ, प्रशिक्षकको काम फुटबलमा कति गाह्रो हुन्छ । तर जतिबेला रोमाले ती आफ्ना प्रशिक्षकलाई क्लबको उद्दार गर्न के अनुरोध गरे, उनले त्यसलाई अस्वीकार नै भन्न सकेनन् । अब क्लबसँग भएको अनुबन्धअनुसार उनले सिजनको अन्त्यसम्म रोमा हेर्नेछन् । उनको काम यत्तिकैमा सकिन्न । उनलाई अर्को जिम्मेवारी पनि छ, क्लबका लागि एक नियमित प्रशिक्षक खोज्ने ।
रेनेरी भनेपछि सबैको ध्यान खिच्ने भनेको सन् २०१५/०१६ को सिजन हो, जतिबेला उनको नेतृत्वमा लेस्टर सिटीले अचम्मले इङ्लिस प्रिमियर लिग जितेको थियो ।
रेनेरी यसअघि पनि दुईपल्ट रोमाका प्रशिक्षक भइसके । उनी यो क्लबको नाम आउने बित्तिकै भावुक हुन्छन् र यसको कारण पनि स्पष्ट छ । उनी रोमाकै हुन्, यही क्लबको खेल हेर्ने हुर्केबढेका हुन् । यो क्लबका समर्थक पनि हुन् । उनले क्लबको दुर्दशा हेरिरहन सकेनन्, त्यसैले संन्यास फिर्ता लिने निर्णय गरे, किनभने रोमा साँच्चै समस्यामै छ ।
यसै सातामात्र रोमाले आफ्नो प्रशिक्षक इभान जुरिचलाई बर्खास्त गरेको थियो । उनी १२ खेलका लागि प्रशिक्षकको रूपमा रहे । त्यसअघि डानियल डी रोसी क्लबका प्रशिक्षक थिए । उनी पनि लामो समय टिकेनन् । यसअघि त प्रशिक्षकमा जोसे मोउरिन्हो थिए, यो त सबैलाई थाहा भएकै कुरा भयो । मोउरिन्हो आएपछि क्लबमा राम्रै हल्लाखल्ला चल्यो । के-के न हुने जस्तै थियो ।
तर, मोउरिन्होले पनि रोमाको पुनरुत्थान गर्न सकेनन् । अचेल रोमा उपाधिको होडमा रहने क्लब नै रहेन । खालि अंकतालिकाको बीचमा रहेर रेलिगेसन बचाएर खुसी मनाउने टिम मात्रै भएको छ । सायद रेनेरी आएपछि अब क्लबको प्रदर्शनमा सुधार आउने छ, आफ्नो छविअनुसार खेल्नेछ । फेरि उनलाई अनुभवको के नै कमी छ र ?रेनेरी भनेपछि सबैको ध्यान खिच्ने भनेको सन् २०१५/०१६ को सिजन हो, जतिबेला उनको नेतृत्वमा लेस्टर सिटीले अचम्मले इङ्लिस प्रिमियर लिग जितेको थियो । यसलाई विश्व फुटबलमा अहिलेसम्मकै सबैभन्दा ठूलो आश्चर्य मानिन्छ । जसरी लेस्टरले उपाधि आफ्नो बनाएको थियो, त्यसरी रोमाले तिनै रेनरीलाई फेरि एकपल्ट विश्वास देखाएको हो ।