भाद्र २५, २०८१ मंगलबार | १७:१९:५१
अवार्डलाई केल्मीको साथ निरन्तर विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा ब्राजिलियन क्लब कोरिन्थियन्स पुगे डिपे क्यानाडा जाने क्रिकेट टोलीको बिदाइ टमाटा क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त काठमाडौं स्पाइकर्सले सार्वजनिक गर्यो लागो दोस्रो जितको लक्ष्यमा आर्मी हाल्यान्डको निर्णायक गोलमा नर्वे विजयी इटालीको विजयी यात्रा जारी फ्रान्सको पहिलो जित अवार्डलाई केल्मीको साथ निरन्तर विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा ब्राजिलियन क्लब कोरिन्थियन्स पुगे डिपे क्यानाडा जाने क्रिकेट टोलीको बिदाइ टमाटा क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त काठमाडौं स्पाइकर्सले सार्वजनिक गर्यो लागो दोस्रो जितको लक्ष्यमा आर्मी हाल्यान्डको निर्णायक गोलमा नर्वे विजयी इटालीको विजयी यात्रा जारी फ्रान्सको पहिलो जित
शनिबारको दिन दीपा शाही

छोरीले खेल्नुहुँदैन भन्ने समाजबाटै अहिले स्याबासी पाइरहेछुः दीपा शाही

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख खेलाडी दीपा शाही अहिले भारतीय आई–लिग खेल्न बेङ्लोरमा छिन् । किक स्टार्सबाट आई–लिग खेल्दै गरेकी २० वर्षीया मिडफिल्डर वर्तमान नेपाली महिला फुटबलकी मेरुदण्ड हुन् । नेपाली महिला फुटबलको सुन्दर भविष्य पनि ।

राष्ट्रिय महिला टोलीले भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाएर दोस्रो स्थान हासिल गर्यो । फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा दुर्भाग्यजनक हार भोगेका कारण ३८ वर्षे अन्तर्राष्ट्रिय सहभागिताको इतिहासमा महिला फुटबल टोली पहिलो उपाधि जित्नबाट वञ्चित भयो । अन्तर्राष्ट्रिय प्रतियोगिताको समग्र यात्राको ११औं फाइनलमा हार भोगेपछि खेलाडी डटकमका लागि अजय फुयालले दीपा शाहीसँग गरेको कुराकानीको सम्पादित अंश:

वाफ च्याम्पियनसिपको अनुभव कस्तो रह्यो ?समग्रमा सबै राम्रो भयो । पहिलो पटक वेस्ट एसियन फेडेरेसन (वाफ)ले हामीलाई निमन्त्रणा गर्‍याे ।  नेपाली राष्ट्रिय महिला टिमले पहिलो पटक त्यहाँ खेल्ने मौका पायो । त्यहाँ बलिया बलिया टिम थिए । टिम र हामी खेलाडीलाई राम्रो अनुभव बटुल्ने मौका मिल्यो ।

फेरि पनि एकपटक नेपाल फाइनल पुगेर पराजित भयो । कहाँनिर चुकिरहेका छौं हामी ?यसपालि हामीले खेलेका सबै टिम बलिया थिए । जोर्डन झनै बलियो थियो । वरीयतामा हामीभन्दा माथिको टिम हो । तर हामी जोर्डनलाई हराएर उपाधि जित्नेमा विश्वस्त थियौं । हामीले निकै राम्रो खेलेका पनि हौं । हामीले प्रशिक्षक (राजेन्द्र तामाङ)को योजनाअनुसार विपक्षीलाई दबाबमा राखेर खेलेका थियौं । त्यहीअनुसार पहिलो हाफमा अग्रता लियौं । तर पहिलो हाफमै हाम्रो टिमकी स्ट्राइकर रश्मी दिदी (रश्मिकुमारी घिसिङ) घाइते हुनुभयो । त्यसपछि हाम्रो प्रदर्शन विस्तारै खस्किँदै गयो । त्यसपछि फेरि प्रीति (प्रीति राई) घाइते भइन । त्यसपछि धेरैबेर हामीले विपक्षी ११ विरुद्ध १० जनाले खेल्यौं । दुई जना घाइते भएपछि हाम्रो मनोबल अलि कमजोर भयो । जोर्डनले त्यसैको फाइदा उठायो । त्यसका बावजुद हामीले इन्जुरी समयमा गोल गरेर खेल बराबरीमा ल्यायौं । टाइब्रेकरसम्म पुर्यायौं । तर दुर्भाग्य पेनाल्टीमा सोचेजस्तो नतिजा ल्याउन सकिएन । पेनाल्टीमा जहिले पनि भाग्यकै खेल हुँदोरहेछ ।

फाइनलमा सावित्रा भण्डारी नहुनुले पनि समस्या भएको हो ?होइन । पक्कै पनि सावित्रा दिदी हुनुभएको भए झनै राम्रो हुन्थ्यो । सावित्रा दिदी नभए पनि खेल हाम्रो नियन्त्रणमा थियो । फाइनलमा रश्मी दिदी र प्रीति घाइते हुनु सबैभन्दा ठूलो समस्याको रूपमा रह्यो ।

फाइनलमा हारेपछि तपाईंलाई कस्तो लाग्यो ?पहिला त फाइनलमा हार्दा हामी निकै दुखी छौं । त्योभन्दा पनि दुःख त मलाई साउदीमा हामीलाई समर्थन गर्न रंगशाला आउनुभएका समर्थकलाई उपाधि उपहार दिन सकिएन, त्यसमा छ । रोजगारी गर्न गएका उहाँहरू दिनरात नभनी त्यतिका दिनसम्म बिदा लिएर खाईनखाई हामीलाई समर्थन गर्न आउनुभएको थियो । नेपालका लागि उहाँहरू धेरै त्याग गरेर आउनुभयो । साउदीजस्तो ठाउँमा नेपालको झण्डा फरफराएर हामीलाई साथ दिइरहनुभयो । त्यति नजिक पुगेर पनि टाइब्रेकरमा चुक्दै उहाँहरूलाई उपाधि दिन नसकेको सम्झँदा चाहिँ अहिले पनि दुःख लाग्छ ।

सावित्रा फ्रेन्च लिगमा अनि तपाई सहित ६ खेलाडी भारतीय आई–लिगमा हुनुहुन्थ्यो । सात खेलाडीसँग विदेशी लिगको अनुभव हुनुको फाइदा केही भयो ?मुख्य कुरा त प्रशिक्षकको रणनीति नै यसपालि निकै राम्रो थियो । प्रशिक्षकले आफूसँग बढीभन्दा बढी बल राखेर खेल्नुपर्छ, बिल्डअप गर्दै खेल्नुपर्छ भन्ने तरिकाले हामीलाई तयार गर्नुभएको थियो । त्यसअनुसार हामीले निरन्तर रूपमा खेल्न सक्यौं । टिममा टिमभावना पनि छ । हामीमध्ये केहीसँग विदेशी लिगको अनुभव पनि हुँदा प्रशिक्षकको रणनीतिअनुसार गर्न सजिलो भयो ।

तर, तपाईंहरू सात जना विदेशी लिगको फरक क्लबबाट खेल्ने हुनुहुन्छ । बाँकीले दुई वर्षदेखि घरेलु फुटबलमा खुट्टा चलाउन पाएका छैनन् । यस्तो अवस्थामा प्रशिक्षकको रणनीतिअनुसार तालमेल मिलाउन गाह्रो भएन ?यो नेपाली महिला खेलाडीहरूको विशेष गुण हो । दुई वर्षदेखि देशमा लिग हुँदैन, खेलाडीले अभ्यास गर्न पाएको छैन । यस्तो अवस्थामा भिज्न त गाह्रो हुन्छ नै । तर प्रशिक्षकले ‘तिमीहरूले सक्छौं । तिमीहरूले गर्दा नै यहाँसम्म पुगेको हो’ भनेर मोटिभेट गर्नुहुन्थ्यो । यही कारण हामीले उहाँले भनेजस्तो प्रदर्शन गर्न सक्यौं ।

घरेलु फुटबल यही तरिकाले अगाडि बढ्दा नेपालको महिला फुटबलको भविष्य कस्तो देख्नुहुन्छ ?यो सम्झँदा निकै दुःख लाग्छ । एन्फा भनेको हाम्रो अभिभावक हो । अभिभावकले केही नगर्दा धेरै दुःख त लाग्छ । अभिभावकले बच्चालाई नहेरे जस्तै हो यो अवस्था । बर्सेनि लिग र अरू प्रतियोगिता भएन, ग्रासरुटको अभ्यास भएन, उमेर समूहका प्रतियोगिताहरू भएन भने चाहिँ भविष्यमा नेपालमा महिला फुटबल खेलाडीको अभाव पर्दै जानेछ ।

किक स्टार्सबाट आई–लिग खेलिरहनुभएको छ । त्यहाँ र यहाँको महिला फुटबललाई कसरी दाँज्नुहुन्छ ?त्यहाँ चाहिँ बर्सेनि आई–लिग हुन्छ । पहिला दुई महिना हुन्थ्यो, अहिले चार महिना चल्छ । त्यहाँ निकै स्तरीय पारामा हुन्छ । युरोपको जस्तै गरी हुन्छ । बाहिरबाट राम्रा राम्रा खेलाडी बोलाउँछन् । त्यहाँको प्रदेशदेखि राष्ट्रिय स्तरसम्म थुप्रै प्रतियोगिता हुन्छन् । बाह्रै महिना खेलाडी व्यस्त भइरहन्छन् । नेपालमा त्यस्तो वातावरण नै छैन । दुई वर्षमा एक पटक पनि लिग हुँदैन । क्यालेन्डर बनाउँछ, त्यो पनि विवादमा आउँछ । क्यालेन्डर घोषणा गर्छ, त्योअनुसार केही कार्यक्रम हुँदैन ।

तपाईं खेल्ने किक स्टार्सबाट नेपालमा नपाउने कस्तो सुविधाहरू पाउनुहुन्छ ?त्यहाँ हामी जम्मा दुई जना विदेशी खेलाडी छौं । म र प्रीति । बंगलादेशकी कप्तान सविना खातुन हुनुहुन्थ्यो । तर उहाँ पारिवारिक समस्या भएर बीचमै छाडेर जानुभयो । अब प्रीति पनि घाइते भएपछि उनको ठाउँमा अनिता केसीलाई क्लबले अनुबन्ध गरेको छ । जहाँसम्म सुविधाको कुरा छ । त्यो हामी नेपाली खेलाडीका लागि सोचेभन्दा धेरै माथिल्लो स्तरको छ । उनीहरूको फुटबल व्यवस्थापन गर्ने सोच नै फरक छ । हाम्रै क्लबमा दुई-तीन वटा खेल खेल्नेबित्तिकै नयाँ जर्सीहरू दिन्छ । चेन्जिङ रुम पनि निकै राम्रो छ । प्रशिक्षक पनि उच्चस्तरीय छन् । क्लबको आफ्नै एकेडेमी छ । एकेडेमीमा महिला फुटबलका लागि पनि प्रत्येक उमेर समूहका टिम छन् । नियमित प्रशिक्षण र मैत्रीपूर्ण खेल हुन्छ । बसोबासका लागि स्तरीय होटल छन् । विज्ञहरूले भनेबमोजिम खुराक हुन्छ । जिम पनि हामीले देखेभन्दा धेरै राम्रो छ । जुन नेपालमा छैन ।

तपाईंले भारतबाट खेल्ने मौका कसरी पाउनुभयो ?त्यहाँ पोखराको एकजना लक्ष्मण भट्टराई भन्ने सर हुनुहुन्छ । उहाँ उताको सिइओ हुनुहुन्थ्यो । उहाँले नै हामीलाई बोलाउनुभएको हो । पहिला रेनुका दिदी (रेनुका नगरकाेटे ) र सरु दिदी (सरु लिम्बू) पनि त्यहींबाट खेल्नुभएको थियो । लक्ष्मण सरले दिदीहरूलाई सोध्नुभएछ । दिदीहरूले हाम्रो नाम लिएपछि उहाँले हामीलाई बोलाउनुभएको हो ।

किक स्टार्सका सुरुआती दिन कस्ता रहे ?नेपालमा वर्षौंदेखि खेल्न पाइएको थिएन । नयाँ टिम, नयाँ ठाउँ र नयाँ टिममेटहरू भएकाले के गर्ने होला, कस्तो हुने होला भन्ने सोचले सुरुमा त निकै नर्भस थिएँ । तर, गएपछि त्यहाँको माहोल धेरै सजिलो । प्रशिक्षक, व्यवस्थापक र खेलाडीहरू पनि धेरै सहयोगी रहेछन् । एक्लो फिल हुनै नदिने । गफ गरिरहने । त्यसले गर्दा धेरै सजिलो भयो । एक दुई दिनमै उहाँहरूले मलाई पनि आफ्नै ठाउँमा भएजस्तो, त्यो टिमको पुरानो सदस्य भएजस्तो फिल गराउनुभयो ।

हुम्लाबाट सुरु भएको तपाईंको करियर आई–लिगसम्म पुग्दा हुम्लालाई कसरी सम्झनुहुन्छ ?हुम्ला चाहिँ निकै दुर्गम जिल्ला । त्यहाँ फुटबल खेल्नुहुँदैन भन्ने मान्यता थियो । अझ एउटा छोरीका लागि त झन कठिन थियो । फुटबलबारे कसैलाई केही थाहा थिएन । फुटबल टेलिभिजनमा देखिन्थ्यो, तर खेल्नुपर्छ भन्ने भावना कसैमा थिएन । मलाई चाहिँ सबै खेलमा निकै रुचि थियो । सबै खेल खेल्थें । केटा साथीहरू स्कुलमा फुटबल खेल्थे । म पनि उनीहरूसँग खेल्न जान्थें । केटाहरूले पनि मलाई बीच–बीचमा खेलाउँथे । नखेल भन्दैनथे । तर परिवारको साथ थिएन । समाज नै त्यस्तै थियो । ‘तेरो छोरीलाई लात्ता लाग्छ । केटाहरूसँग हिँड्छ । केही नराम्रो होला’ जस्ता कुरा भनेर परिवारलाई पनि निरुत्साहित गर्थे । त्यही भएर परिवारको कहिल्यै साथ पाइएन । फुटबल खेलेर घर आउँदा पनि ‘तेरो छोरी यस्तो र उस्तो’ भनेर सुनाइसकेका हुन्थे । सधैं गाली खाइन्थ्यो । पिटाइ खाइन्थ्यो ।

हुम्लाबाट काठमाडौंको फुटबलसँग कसरी जोडिनुभयो ?हुममा १० कक्षा सकेपछि पढ्न काठमाडौं आएँ । होस्टेल बसेर पढिरहेको थिएँ । दुई वर्ष फुटबल नै खेलिनँ । त्यसपछि १२ कक्षा सकिएपछि ६ महिनाको ग्यापमा साथीहरू÷दाइहरूले ‘फुटसल खेल्न जान्छस्’ भन्नुहुन्थ्यो । म उहाँहरूसँग फुटसल खेल्न जान्थें । त्यसपछि एउटा साथीले केटीहरूको फुटसल लिग हुन लागेको जानकारी गराए । उनैको आग्रहमा मैले झापामा भएको एउटा प्रतियोगिता खेलें । त्यहाँ झापा कन्काई नगरपालिकाका प्रशिक्षकले मैले खेलेको देख्नुभएछ । त्यसपछि काठमाडौंमा उपमेयर कप फुटबल प्रतियोगिता हुँदै थियो । कन्काईका प्रशिक्षकले मलाई उपमेयर कप खेल्न प्रस्ताव गर्नुभयो । मैले खेलें । त्यो प्रतियोगितामा मेरो प्रदर्शन राम्रो भयो । त्यो प्रतियोगितामा म उत्कृष्ट खेलाडी घोषित भएँ । त्यसपछि म यु–१८ राष्ट्रिय टिममा छनोट भएँ । बंगलादेशमा यु–१८ को प्रतियोगिता थियो । तर मेरो हात भाँचिएका कारण खेल्न सकिनँ । त्यसपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग आबद्ध भएँ । लगत्तै यु–१९ साफ च्याम्पियनसिप खेलें । त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सिविरमा परें ।

अहिले राष्ट्रिय टिमको महत्त्वपूर्ण खेलाडी भइरहँदा र आई–लिगसम्म पुगिसक्दा पहिला हुम्लामा खेल्नुहुँदैन भन्ने समाज र परिवारको व्यवहार कस्तो छ ?अहिले त सबैजना गर्व गर्नुहुन्छ । पहिला त हुम्लामा थाहा नै थिएन नि त । अहिले त मैले प्रमाणित गरें । अब उहाँहरूलाई पनि केटीले पनि फुटबल खेल्दारहेछन् । फुटबल खेलेरै छोरीले पनि जीवनयापन गर्न सक्दोरहेछ । देश र समाजका लागि योगदान गर्न सक्दोरहेछ । इज्जत, प्रतिष्ठा कमाउन सक्दोरहेछ भन्ने थाहा भयो नि । यही कारण अहिले परिवार र पूरा समाजको राम्रो साथ छ । अब मलाई देखेपछि फुटबल खेलेर पनि छोराछोरीले केही गर्न सक्ने रहेछन् भन्ने थाहा पाउनुभयो । अचेल खेल्न प्रेरित गर्नुहुन्छ । स्याबासी दिनुहुन्छ । एकदमै खुसी लाग्छ ।

तपाईं र प्रीतिबीच राष्ट्रिय टिम र किक स्टार्सको मिडफिल्डमा पनि राम्रो तालमेल थियो । अब उनको अनुपस्थितिले कस्तो असर गर्ला ? एउटा राम्रो खेलाडी घाइते हुँदा टिम सहयात्री र टिमलाई अप्ठ्यारो पक्कै पर्छ । अभाव सधैं महसुस भइरहन्छ । हामीले प्रीतिको चोट त्यति गम्भीर नहोस भन्ने कामना गरेका थियौं । तर, अब उनले यो सिजन खेल्न नसक्ने नै भइन् । उनको अभाव खट्किन नदिन टिमले पक्कै राम्रो व्यवस्था गर्नेछ । अनितालाई अनुबन्ध गरिसकेको छ । गर्नुपर्ने बाँकी जति सबै गर्ने नै छ ।

भारतमा राम्रै खेलिरहेको छ । आगामी वर्षमा पनि आई–लिगमै निरन्तरता हुन्छ कि अझ माथिको लिग खेल्ने लक्ष्य हो ?तलबाट माथि हेर्ने हो । हुम्लाबाट झापाको बाटो हुँदै काठमाडौं पुगेर अहिले आई–लिगसम्म पुगेकी छु । अझै माथिको लिग हेर्ने हो । त्यसका लागि आफ्नो तर्फबाट मिहिनेत गर्ने हो । हेर्दै जाउँ कहाँसम्म पुग्छु । तत्कालका लागि किक स्टार्समै प्रतिबद्ध छु । आगामी दिनका लागि उहाँहरूले कस्तो निर्णय गर्नुहुन्छ । अरू क्लबले कसरी प्रस्ताव गर्छन् । धेरै कुरा हुन्छ, अगाडि बढ्ने बाटो निर्धारण हुन । म पनि धैर्यसाथ प्रतीक्षा गरिरहन्छु ।

एन्फाले २०२७ को फिफा महिला विश्वकप खेल्ने मिसन बनाएको छ । तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?त्यसपछि हामीले कुनै प्रतियोगिता खेल्न पाएका छैनौं । योजना बनाएर मात्र केही हुँदैन । त्यसलाई पछ्याउनु पनि पर्छ । योजनाचाहिँ बनायो, तर त्यसमा केही काम नगरी कसरी हुन्छ । घरेलु लिग भएन, मैत्रीपूर्ण खेल भएन, एकेडेमी भएन अनि कसरी हुन्छ । खेल्नलाई एउटा घाँसे मैदान पनि छैन । त्यही एउटा एन्फाको टर्फ मैदान छ । अस्ति हामी साउदीमा वाफ च्याम्पियनसिप खेल्न जाँदा पनि अभ्यास टर्फमा ग¥यौं । तर साउदीमा घाँसे मैदानमा खेल्नु थियो । अनि गाह्रो त परिहाल्छ नि । एन्फाले आफ्नै मैदान बनाएको भए, घाँसे मैदान भएको भए केही त हुन्थ्यो नि । त्यही एउटा रंगशालामा खेल्न पनि ज्यू हजुर गर्नुपर्छ अनि कसरी हुन्छ । 

राम्रो मैदान भएको भए, लिगहरू नियमित भएको भए, एकेडेमी र खेलाडी उत्पादनका लागि अन्य ट्रेनिङ सेन्टरहरू भएको भए, खेलाडीलाई राम्रो खुराक, पारिश्रमिक र अन्य सुविधा हुने भए मेरै करियरमा हामीले विश्वकप खेल्न सक्छौं । तर, फुटबल खेलेर परिवारलाई केही योगदान गर्न नसक्ने अवस्था निरन्तर भइरह्यो भने चाहिँ सम्भव छैन । विश्वकप खेल्ने सपना देख्न पहिला देशभित्र जताततै महिला फुटबलको माहोल हुनुपर्छ । जहाँ गए पनि छोरीहरूले खेलिरहेको देख्न पाइने वातावरण बनाउनुपर्छ ।

भिडियो लिङ्क: