काठमाडौं । पेले भन्नेबित्तिकै आउँछ, ब्राजिली फुटबल । अनि सँगै सान्तोस क्लब । जति बेला सन् ६० को दशकमा पेले सान्तोसबाट खेल्थे, यो क्लबले ब्राजिलमात्र होइन, पूरा दक्षिण अमेरिकामै तहल्का मच्चाएको थियो ।
त्यतिमात्र होइन, सान्तोसको ख्याति पूरा विश्वमै फैलिएको थियो । यही क्लब भर्खरै रेलिगेसनमा परेको छ । त्यो पनि कस्तो समयमा भन्दा जतिबेला पेलेको निधन भएको भर्खर एकै वर्षमात्र भएको छ । अझ सान्तोसको १ सय ११ वर्ष लामो इतिहासमा रेलिगेसनमा परेको पनि यो पहिलोपल्ट हो ।
कुल २० टिमसम्मिलित लिगको अन्तिम अंक तालिकामा सान्तोस १७ औं स्थानमा रह्यो । टोलीले प्राप्त गरेको कुल अंक थियो ४३ मात्रै ।
ब्राजिलको माथिल्लो डिभिजनको अन्तिम खेलमा सान्तोस भने फोरटालेजाको हातबाट २-१ ले पराजित रह्यो । यो खेलमा विजयी रहेको भए पनि सान्तोस घटुवामा पर्ने थिएन । यो खेल हेर्न कम्तीमा २० हजार दर्शक सान्तोसको घरेलु मैदानमा आएका थिए ।
यो त्यही मैदान हो, जहाँ पेलेको निधन हुँदा अन्त्येष्टिको कार्यक्रम आयोजना गरिएको थियो । पेलेका समर्थकहरू आएर त्यहाँ उनलाई अन्तिम श्रद्धान्जली दिएका थिए ।
सान्तोस पेलेको मात्र क्लब थिएन, यो अहिलेका स्टार नेयमारको र रोड्रिगोको पनि क्लब हो । कुल २० टिमसम्मिलित लिगको अन्तिम अंक तालिकामा सान्तोस १७ औं स्थानमा रह्यो । टोलीले प्राप्त गरेको कुल अंक थियो ४३ मात्रै । यो रेलिगेसन सान्तोसका कोही पनि समर्थकका लागि सह्य रहेन । त्यसैले त रिसाएका समर्थकहरू सहरको बाटो-बाटोमा ओर्लिएर लगभग लुटपाटको स्थिति सिर्जना गरे । यस्तोमा पूरा सहरमा सुरक्षा प्रहरी तैनाथ गर्नुपरेको थियो ।
सान्तोस रेलिगेसनमा पर्नुको कारण के होला त ? यसको पनि विश्लेषण आवश्यक छ । खासमा जति-जति बेला कुनै क्लबको सञ्चालन ठीक ढंगले हुन्न, क्लबको गति हुने भनेकै यस्तै हो ।
पछिल्ला दुई सिजनमा पनि सान्तोसको प्रदर्शन राम्रो रहेन । यी दुवै लिगमा पनि सान्तोस बल्लतल्ल रेलिगेसनबाट बचेको थियो । यसपल्ट भने जतिसक्दो गर्दा पनि टोलीले घटुवाबाट आफूलाई जोगाउन सकेन । नतिजा अब सान्तोसले अर्को सिजन दोस्रो डिभिजनमा खेल्न बाध्य हुनेछ ।
यो क्लब रेलिगेसनमा पर्नु पछाडि दुई थप कारण छन् । त्यसमध्ये एक कारण हो, क्लबमाथि चर्को ऋण । ब्राजिली मिडियाका अनुसार क्लबमाथि केही नभए पनि दसौं करोड डलरको ऋण छ । चर्को ऋणका कारण क्लबले राम्रा खेलाडीहरू उत्पादन गर्न सकेन, न त किन्न नै सक्यो ।
अब दोस्रो कारण । त्यही ब्राजिलियन मिडियाका अनुसार क्लबभित्र राजनीतिक ध्रुवीकरण चर्को न चर्को छ । त्यहाँ फुटबलमात्र चल्दैन, राजनीति उत्तिकै हुन्छ । त्यो पनि फरकधारको ।
त्यसैले त सान्तोस रेलिगेसनमा पर्याे । भन्नेहरू के भन्छन् भने स्थिति यत्तिकै रह्यो भने क्लबको स्थिति अझ नाजुक हुनेछ । कतिसम्म भने सान्तोस क्लब अझ धेरै पछाडि जान बेरे छैन ।
तर अर्कोथरी के पनि मान्छन् भने सायद अर्को सिजन नै सान्तोस माथिल्लो डिभिजनमा उक्लने छ, किनभने यो वास्तवममै निकै ठूलो क्लब हो । यो जत्तिको क्लबलाई बढुवा पाउन गाह्रो हुन्न । अहिले तत्कालका लागि भने पेलेको क्लब रेलिगेसनमा परेर स्तब्ध जस्तै छ ।