मंसिर ६, २०८१ बिहीबार | १५:२०:३७
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन फिफा विश्वकप छनोट

घरेलु भूमिमा दर्शक बाक्लो, प्रदर्शन फितलो

काठमाडौं । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको आग्रहसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानको अन्तर्राष्ट्रिय खेल नियमित समयभन्दा साढे एक घण्टा ढिला सुरु गरायो ।

सन्दर्भ, फिफा विश्वकप र एएफसी एसियन कप प्रारम्भिक छनोटको दोस्रो चरणमा नेपालले यमनविरुद्ध खेल्दा हो ।  एन्फा यो निर्णयमा पुग्नुअघि एनेस एउटै अडान लिएर बसेका थिए । उनी भन्थे, ‘७ बजे गर्दा टोलीलाई धेरै फाइदा पुग्छ ।’

एक त जाडो मौसम अनि त्यसमाथि ढिला भएपछि दर्शकलाई घर फर्कन सवारी साधन नपाउने पीडा हुन्थ्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यति ठूलो खेलमा समर्थकको महत्व नजरअन्दाज गर्ने विषय थिएन ।

त्यसैले एन्फाले घर फर्कन सजिलो होस् भनेर यसपालि दर्शकका लागि बस सुविधा उपलब्ध गराएको थियो । लोकप्रिय खेल फुटबल, त्यसमाथि घरमै हुन गइरहेको विश्वकप छनोट खेल । बाक्लो संख्यामा समर्थक रंगशाला ओइरिए । रंगशाला धेरै पछि दर्शकले भरिभराउ भयो । उनीहरूले घर फर्कन बस सुविधा त पाए तर, आफ्नो राष्ट्र जितेको हेर्न पाएनन् ।

खेलमा नेपाली टोली सबै पक्षमा चुक्यो । प्रदर्शन एकदमै खराब रह्यो । करिब १३ हजार ७ सय समर्थकलाई निरास बनाउँदै यमनले २–० को सहज जित हासिल निकाल्यो । सँगै महत्त्वपूर्ण ३ अंक । दोस्रो हाफमा दुई वैकल्पिक खेलाडीको गोलमा यमनले दोहोरो अग्रता लिएको थियो ।

खेलपछि पोस्टम्याचको सुरुआती केही क्षण एनेसको मुखबाट केही शब्द नै निस्केन । भनौं, उनी कसरी आफ्नो प्रतिक्रिया दिने भन्नेमै सोचमग्न थिए । तर जब मुख खोले, लामै बोले ।

‘म मेरो खेलाडीबाट यस्तो प्रदर्शनको अपेक्षा गर्दिनँ । हामीले एकदमै नराम्रो खेल्यौं । खेलाडीबाट बल पोसेसनको अपेक्षा गरेको थिएँ, बलसँग खेलोस् भन्ने चाहना थियो तर, त्यस्तो भएन । हारको सबै जिम्मेवारी म लिन चाहन्छु अनि नेपाली समर्थकसँग माफी माग्न चाहन्छु,’ एनेस भट्भटाए ।

नेपाली खेलाडी शारीरिक पक्षमा कमजोर रहनु हारको मुख्य कारण रहेको बताउँदै उनले थपे, ‘यमनका खेलाडी शारीरिक रूपमा हाम्रा खेलाडीभन्दा बलिया थिए । आधुनिक फुटबलमा शारीरिक पक्षले एकदमै महत्त्व राख्छ ।’

नेपालको प्रशिक्षण सम्हालेयता एनेसले अहिलेसम्मकै लामो गुनासो पोखे । हारको जिम्मेवारी आफूले लिन्छु भनिरहँदा उनले नेपालले हार्नुका एकपछि अर्को कारण सुनाउँदै गए ।

दोस्रो चरणको पहिलो खेल युएईविरुद्ध थियो । जसले एक पटक विश्वकप खेलिसकेको छ । एसियामा युएई वरीयताका हिसाबले शीर्ष १० भित्र पर्छ । त्यसैले युएईविरुद्ध मात्र सम्मानजनक प्रदर्शन अपेक्षा गरिएको थियो । पहिलो हाफमा चार गोल खाएको नेपालले दोस्रो हाफमा कुनै गोल हुन दिएन ।

तर, यमन नेपालभन्दा मात्र १७ स्थान माथि छ । यमनसँग प्रतिस्पर्धा गरिरहँदा सबैको अपेक्षा सम्मानजनक प्रदर्शनमात्र नभइकन स्पष्ट ३ अंक हासिल गरोस् भन्ने थियो । तर, अपेक्षाअनुसार प्रदर्शन भएन । एकदमै खराब खेल्यो नेपालले ।

खेलाडीको प्रदर्शनप्रति गुनासो गर्दै एनेसले भनेका थिए, ‘हामीले सुरुआती ४५ मिनेट लामो बलमात्र खेल्यौं, पछाडिबाट कहिल्यै खेलेनौं ।’

यमनसँगको खेलमा नेपाललाई खेलाडीको चोटले पनि सतायो नै । युएईविरुद्ध खेल्दा घाइते युवा मिडफिल्डर लाकेन लिम्बू यमनविरुद्ध खेल्दा अनुपस्थित रहे । सोही खेलमा सामान्य चोट बोकेका फरवार्ड मनीष डाँगी समय सकिन १० मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका थिए । युएईसँगको खेल गुमाएका अनन्त तामाङ दोस्रो हाफको अन्त्यतिर पुनः घाइते हुँदै मैदान छाड्न बाध्य भए ।

स्तरका हिसाबले पनि यमनका खेलाडी नेपाली खेलाडीभन्दा माथि नै थिए । त्यसैले त खेलमा दुई स्तरीय गोल निस्केको थियो । यमनले गरेका गोल वास्तवमै विश्वस्तरीय थिए । पेनाल्टी बक्सबाहिरबाट तीन नेपाली रक्षकलाई बिट गर्दै ओमार अब्दुल्ला अल–दाहीले टप राइट कर्नर उत्कृष्ट गोल गर्दा यमनले अग्रता लिएको थियो । दोस्रो गोल मिडफिल्डर मोहम्मद अब्दुल्ला अल–दाहीले गरेका हुन् । करिब ३५ यार्डबाट लेफ्ट विंग्स हुँदै एक्लै बल अगाडि बढाएका मोहम्मदले बक्सभित्र फ्लिक गरे । जुन फ्लिकले किरण लिम्बूलाई कुनै मौका नदिई दोस्रो बारको जाली भत्काएको थियो ।

एकाएक खेलाडीको फेरबदलले पनि टोलीमा नकारात्मक असर परेको देखिन्छ । युएईविरुद्धको खेलका लागि छनोट गरिएको अन्तिम टोलीमा ८ नयाँ अनुहार थिए, जो डेब्यूको प्रतीक्षामा थिए । सोही खेलमा तीन रक्षक छिरिङ गुरुङ, योगेश गुरुङ र अन्जन राईले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाए । यमनविरुद्ध डेब्यु गर्ने खेलाडी थिए फरवार्ड राजेश परियार ।

प्रत्येक खेलमा खेलाडी फेरबदल भएर पनि नेपाली टोलीले सकारात्मक नतिजा दिन गाह्रो भइरहेको मान्न सकिन्छ । यो विषयमा पनि प्रशिक्षक एनेसले मुख फोरेका थिए ।

‘मैले सम्हालेका भारतीय क्लबहरूको स्थिति पहिला कस्तो थियो, अहिले पनि त्यस्तै छ । खेलाडी सबै पुराना छन् । तर नेपालको स्थिति भने ठ्याक्कै उल्टो छ,’ एनेसले सुनाए ।

राजेशपछि अब को ?

यमनविरुद्ध समय सकिन ११ मिनेट बाँकी छँदा अञ्जन विष्टलाई प्रतिस्थापन गरेका राजेश एन्फा एकेडेमीका उत्पादन हुन् । यमनविरुद्ध राजेशका ब्याचमेट एरिक विष्ट, सेसेहाङ आङदङ्बे, दिनेश हेन्जन सुरुआती रोजाइमै थिए । राजेशका अन्य ब्याचमेट हुन् अभिषेक रिजाल, विकास खवास, सुमन अर्याल, रेजिन सुब्बा आदि । सबैले देशका लागि खेलिसकेका छन् । कोही सुरक्षित भविष्यका लागि अस्ट्रेलिया पलायन पनि भइसके ।  ६ वर्ष अगाडि भुटानमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो । भुटानमा नेपालको प्रतिनिधित्व यिनै खेलाडीले गरेका हुन् । २०१९ मा घरमै भएको दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणमा नेपालले भुटानलाई हराएर स्वर्ण जितेको थियो । त्यतिबेला पनि उनीहरु टोलीमा थिए ।

अब प्रश्न आउँछ, आउने दिनमा हामीसँग ग्रासरुटबाट आएका खेलाडी होलान् ? जसले भोलिको दिनमा देशको प्रतिनिधित्व गरोस् । राजेशको ब्याचपछि एन्फासँग बाकी रह्यो दर्शन गुरुङको ब्याच । दर्शनले डेब्यू गरिसके तर उनी अहिले अस्ट्रेलियामा छन्  । उनका ब्याचका विशाल सुनार, रन्दीप पौडेललगायत केही नाम कहलिएका खेलाडी नेपालमै छन् ।

देशको प्रतिनिधित्व गर्न एकेडेमीकै खेलाडी चाहिने भन्ने पटक्कै होइन । आयुष घलान, मनीष, हिसुब थपलिया, यी कहाँ एकेडेमीका कहाँ हुन् र । तर, एउटा कुरा राजेशको डेब्यूले एन्फा एकेडेमीको महत्त्व छर्लङ्ग पारिदिएको छ । राजेश नहुँदो हो त को ? उनीसँग क्षमता थियो उनी टोलीमा परे । अब पालो कस्को त ?

नेपालमै बस्न चाहेका एनेस

एनेसको कार्यकाल यही फागुनमा सकिँदै छ । एन्फाले इटालियन प्रशिक्षक एनेसलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

एनेसको सम्झौता नवीकरणका विषयमा एन्फाको योजना के छ भन्ने प्रश्न तेर्सिएको छ । नेपाली फुटबलमा एनेसको भविष्य के होला त ?

समर्थक चाहन्छन् नेपालले फुटबलमा उन्नति गरेको । सम्झौता नवीकरण गरे एनेससँग नेपाली फुटबल उकास्ने कस्ता योजना छन् ?,  के नेपालको भविष्य एनेसको हातमा सुरक्षित छ त ?

अहिले उनी भन्छन्, ‘म नेपालमै बस्न चाहन्छु । मलाई नेपाली जनता मनपर्छ र उहाँहरूको साथ चाहिन्छ ।’