कार्तिक २, २०८१ शुक्रबार | १३:०३:४८
दोस्रो टेस्टमा पाकिस्तान विजयी इन्डोनेसियामा अभिषेकलाई रजत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो दोस्रो टेस्टमा पाकिस्तान विजयी इन्डोनेसियामा अभिषेकलाई रजत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो
शनिबारको दिन काउन्टर अट्याक

संकटग्रस्त फुटबलमा एपिएफको ‘पत्र’

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै संकटग्रस्त नेपाली फुटबल अर्को एउटा गम्भीर मोडमा पुगेको छ ।

गत साता लिगका सबै खेल सकिँदा नवप्रवेशी टोली चर्च ब्वाइज शीर्ष डिभिजनमा बढुवा भएकै वर्ष च्याम्पियन बन्यो । लगातार दुई पटकको साबिक विजेता मछिन्द्र एफसी उपविजेतामा सीमित भयो भने निकै दयनीय सुरुआतका बावजुत विदेशी खेलाडी भित्र्याएपछि लय समाएको नेपाल पुलिस क्लब तेस्रो भयो । सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफ एफसी र नवप्रवेशी खुमलटार एफसी पुछारको दुई स्थानमा सीमित भएपछि दोस्रो डिभिजनमा घटुवा भए ।

शीर्ष डिभिजनको हैसियत गुमाएलगत्तै एपिएफ एफसीले दुई गम्भीर विषयको उठान गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)मा ध्यानाकर्षण पत्र बुझायो । पत्रमार्फत नेपाली फुटबलको सर्वोच्च निकाय एन्फासँग एपिएफले अन्यायपूर्वक आफ्नो हैसियत गुमेको भन्दै जोगाइदिन गुहार माग्यो ।

एपिएफको दलिल छ, मिलेमतोमा केही क्लबले लिगका खेलहरू प्रभावित गरे । जसका कारण आफू रेलिगेसनमा पर्नुपर्यो । यतिमात्र होइन । थ्री स्टार क्लबका दुई खेलाडी देश र एन्फाको कानुनविपरीत मैदान उत्रिए । जसले सम्बन्धित खेलको नतिजासँगै पूरा लिगको समीकरणमै फेरबदल ल्यायो ।

एपिएफले यी दुई विषयमा खरो र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न एन्फामा ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझाउने क्रममा एपिएफले चेतावनी पनि दिएको छ, ‘हामी यो विषयमा निकै गम्भीर छौं । यदि यी विषयमा सही छानबिन गरेर न्यायोचित निष्कर्ष ननिकाले हामी फिफा, एएफसी र अदालतको ढोकामा जानेछौं ।’

हारेपछि अरूलाई दोष लगाउनु नेपाली खेलकुदको पुरानो रोग हो । एपिएफ त रेलिगेसनमै परेको छ । विना प्रतिस्पर्धा सोझै पाएको शीर्ष डिभिजनको हैसियत १९ वर्षपछि गुमाउँदा एपिएफबाट यो खालको प्रतिक्रिया स्वाभाविक हो । यस्तै ठानेर होला, नेपाली फुटबलको सर्वोच्च निकायमा एपिएफको चासोले महत्व पाएको छैन । अझभन्दा व्यावहारिक रूपमा प्रवेशसमेत पाएको छैन ।

एन्फा त अचेल अर्को महिना अस्ट्रेलियामा सुरु हुने महिला विश्वकपका लागि प्राप्त टिकट भागबण्डामा व्यस्त छ । ट्राभल एजेन्सी जस्तै । नेपाली फुटबललाई दीर्घकालीन प्रभाव पार्न सक्ने विषयमा औपचारिकताबाहेक एन्फाका पदाधिकारीहरूको ध्यान पुगेको छैन । उनीहरू त प्रकरण सामसुम पारेर मिलाउने दाउ खोज्दैछन् । षडयन्त्रका तानाबुना बुन्दैछन् ।

एपिएफको दलिललाई अन्तिम सत्य मानेर तत्काल निष्कर्षमा पुग्न पक्कै पनि सकिन्न । यो रेलिगेसनपछिको प्रतिक्रिया हुनसक्छ । तर, यसो भनेर मात्र सर्वोच्च निकाय पन्छिन सक्दैन । किनकि यो भनेको समग्र नेपाली फुटबल भविष्यको विषय बन्न सक्छ । फुटबलमात्र होइन, नेपाली खेलकुदलाई नै यो प्रकरणले प्रभावित गर्न सक्छ ।

यो विषय देशको प्रमुख सुरक्षा संगठनले उठाएको हो । यस्ता सुरक्षा निकाय जसले नेपाली सेना र नेपाल प्रहरीसँगै सारथि बनेर नेपाली खेलकुदलाई डोर्याइरहेको छ । विभिन्न २४ खेलमा गरी ४ सय ८२ राष्ट्रिय स्तरका खेलाडीलाई रोजगारी दिइरहेको छ । महिला फुटबलमा कुरा गर्ने हो भने त नेपालको राष्ट्रिय टोली नै एपिएफले धानेको छ ।

एपिएफले आफूलाई अन्याय भएको ठानेर फुटबलबाट मात्र हात झिके पनि अवस्था अकल्पनीय हुनेछ । कम्तीमा चार वर्षपछि हुने विश्वकपलाई ध्यानमा राखेर एन्फाले मिसन महिला विश्वकप २०२७ नाममा निर्धारण गरेको लक्ष्य अलपत्र पर्नेछ । साँचो यही हो । आजको मितिमा पनि एपिएफले खेलाडी नदिए महिला फुटबलमा दक्षिण एसियाली फुटबलकै लागि पनि प्रतिस्पर्धात्मक राष्ट्रिय टोली कल्पना बाहिरको विषय हो । यो सत्यसँग एन्फा र नेपाली फुटबलका अरू सरोकारवाला मात्र होइन, एपिएफ पनि राम्ररी जानकार छ । सबैभन्दा गम्भीर बन्न सक्ने विषय यही हो । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल स्ययंले यसको संकेत गरिसकेका छन् । एपिएफका अन्य उच्च अधिकारीहरूका प्रतिक्रियाबाट पनि विषयको गम्भीरता बुझ्न सक्नुपर्छ ।

एन्फाको चेत बेलैमा खुल्नु जरुरी छ । एपिएफले जनाउन सक्ने थप प्रतिक्रियाले नेपाली फुटबल, विशेष गरी महिला फुटबल धेरै पछाडि धकेलिन सक्छ । एन्फा पदाधिकारीहरूको सानो स्वार्थप्रेरित वा आफूकेन्द्रित उदासीनताको मूल्य सम्पूर्ण नेपाली खेलकुदले नै चुकाउनु पर्न सक्छ । यसकारण पनि यो एन्फाको मात्र नभई राष्ट्रिय खेकलुद परिषद, युवा तथा खेलकुद मन्त्रालयको समेत चासोको विषय हो । यसलाई एपिएफ वा अन्य कुनै अमूक क्लबको सरोकारका रूपमा मात्र लिने गल्ती गर्नुहुन्न ।

एन्फाको नयाँ कार्यसमितिले निर्वाचनमार्फत नेतृत्व लिएको एक वर्ष पूरा हुन लागिसक्यो । यो एक वर्ष आपतकालीन आकस्मिक बैठककै भरमा नेपाली फुटबलको सर्वोच्च निकाय चलिरहेको छ । यसबीचमा सधैं आपसी विवाद, शक्तिसंघर्ष र आन्तरिक किचलोका कारण एन्फा कार्यसमितिको एउटै विवादरहित बैठक बस्न सकेको छैन ।

आआफ्नै स्वार्थका लागि बितेको एक वर्ष सधैं आपतकालीन बैठकको सहारामा अनियमितताका नयाँ नयाँ कीर्तिमान बनाउँदै ध्वंसको बाटोमा अग्रसर एन्फाले साँच्चै आपतकालीन बैठक बस्नुपर्ने समय अहिले आएको छ । किनकि मैदानभित्रको फुटबल अहिले आपतमा फसेको छ । विगतमा सधैं आफ्नो स्वार्थका लागि बस्ने गरेको आपतकालीन बैठक यसपालि फुटबलको हितका लागि बसेर उचित निर्णय लिने बेला आएको छ ।

देशको एउटा जिम्मेवार सुरक्षा निकायको क्लबले उठाएको विषयलाई कर्मकाण्डी छानबिनको भरमा उम्किने आस एन्फाले गरेको छ भने त्यो गलत हुनेछ । एक निमेष पनि ढिलो नगरी आकस्मिक बैठक बसेर सबैको विश्वास जित्न सक्ने खालको उच्चस्तरीय समिति बनाउने, निष्पक्ष छानबिन गरेर त्यसको प्रतिवेदन सार्वजनिक गर्ने र त्यसपछि न्यायोचित निर्णय गर्नुबाहेक एन्फासँग अरू विकल्प छैन ।