मंसिर ६, २०८१ बिहीबार | १५:३४:१९
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन कप्तान परिषद

के हो कप्तान परिषद् ?

काठमाडौं । ‘सामूहिक नेतृत्व’ नयाँ पदावली होइन । राजनीतिक दलमा होस् वा सामाजिक कार्य गर्दा, यो पदावली प्रयोग गरिन्छ । अभ्यास कहाँ, कति हुन्छ, यसको लेखाजोखा गर्न सजिलो छैन । फुटबलमा पनि ‘सामूहिक नेतृत्व’ को अभ्यास हुन्छ ।

तर यहाँ फुटबलको नियामक संस्थाबारे चर्चा गर्न खोजिएको होइन । अखिल नेपाल फुटबल संघ (एन्फा) को त झनै होइन । बरु विश्व क्लब फुटबलका ठूला क्लबहरुबारे चाहिँ चर्चा गर्न खोजिएको हो । जहाँ सामूहिक नेतृत्वको अभ्यास मज्जाले हुन्छ ।

क्लबहरुको हकमा सामूहिक नेतृत्वको अर्थ के ? कप्तानहरुको समूह । तीन देखि चार खेलाडीलाई कप्तानको जिम्मेवारी दिइन्छ । तर तिनको पनि वरीयता हुन्छ । जस्तै, पहिलो कप्तान, दोस्रो कप्तान आदि । पहिलो कप्तान मैदानमा नभए, कप्तानीको जिम्मेवारी दोस्रो कप्तानले लिने ।

झट्ट सुन्दा यो चलिआएको चलन झैँ लाग्छ । तर ठ्याक्कै त्यस्तो पनि होइन । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बालाई इन्डियन वुमन्स लिगको टोली सेथु एफसीले कप्तान परिषदको सदस्य बनाएपछि नेपाली फुटबलमा पनि सामूहिक नेतृत्वको चर्चा सुरु हुन थाल्यो । सेथुले टिममा ६ जना कप्तान चयन गर्दा एन्जिलालाई पनि परिषदमा समावेश गरेको थियो ।

विशेषगरी कप्तानको समूह बनाउने प्रचलन स्पेनिस र जर्मन लिगका क्लबहरुमा छ । त्यहाँका क्लबहरुमा ‘कप्तान परिषद्’ नै बनाइन्छ । तोकिएका एक कप्तानले क्लब छाडे, अर्काले प्रतिस्थापन गर्छन् । बाँकी लिगहरुमा भने ‘कप्तान परिषद्’ को गठन र अभ्यास अनिवार्य प्रचलन होइन ।

कप्तान परिषद्लाई कतिपय क्लबमा खेलाडी समूह वा नेतृत्व समूह पनि भनिन्छ । नाम जे जे राखिए पनि, उद्देश्य लगभग एकै हो, सामूहिक नेतृत्व । कप्तानको मुख्य जिम्मेवारी, मैदानमा मात्र होइन ड्रेसिङ रुम र मैदानबाहिर पनि नेतृत्व गर्ने हो । सबैभन्दा उम्दा खेल्ने खेलाडी कप्तान भए त सुनमा सुगन्ध नत्र मेहनत गरेर खेले मात्र पनि बाँकी खेलाडीका लागि उदाहरण बन्न सकिन्छ । आखिर कप्तानको काम उदाहरण ‘सेट’ गर्ने पनि त हो ।

फेरि कप्तानका आ-आफ्ना स्वभाव हुन्छन् । जोन टेरीलाई ‘भोकल’ कप्तान मानिन्थ्यो । बार्सिलोनाका कार्लोस पुयोल पनि यही वर्गमा पर्थे । यी दुई आफैँमा क्षमतावान् खेलाडी त छँदै थिए, साथी खेलाडीहरुसँग ‘कम्युनिकेसन’ गर्न, प्रशिक्षकले खेलको बीचमा गर्ने रणनीति परिवर्तनलाई सफल बनाउन पनि भूमिका खेल्थे । टेरी र पुयोल जस्तै भोकल केही हदसम्म भर्जिल भान डाइक छन् । जो नेदरल्यान्ड्सका कप्तान हुन् ।  

कोही कप्तान कम बोल्ने खालका हुन्छन् । जस्तै, स्टेभन जेरार्ड । बोलेरभन्दा राम्रो खेलेर नेतृत्व गर्न सकिन्छ भन्ने उदाहरण जेरार्डले लिभरपुल र वायन रुनीले म्यानचेस्टर युनाइटेडमा देखाए । तर त्यही युनाइटेडमा कुनैबेला असाध्यै भोकल कप्तान थिए, रोय किन । त्यसबेलाको युनाइटेड र आर्सनल इङ्लिस प्रिमियर लिगका सबैभन्दा ठूला प्रतिद्वन्द्वी थिए । युनाइटेडका किन जस्तै थिए आर्सनलका कप्तान प्याट्रिक भिएरा । यी दुईबीच हुने घम्साघम्सी, दुईमा देखिने आक्रामकता अहिलेका कप्तानमा बिरलै देख्न पाइन्छ ।

कप्तानको बाँकी जिम्मेवारी......

युरोपका ठूला क्लबमा फरक-फरक देशबाट पुगेका खेलाडी हुन्छन् । जसको भाषा अलग-अलग हुन्छ । ती खेलाडीलाई क्लबमा अभ्यस्त गराउन उनीहरुकै भाषा बोल्ने कप्तान भए सजिलो हुने गर्छ । कप्तान परिषद् गठन गरिनुका कैयौँ कारणमध्येको एक यो पनि हो ।

युरोपका ठूला क्लब घरेलु लिगमा मात्र होइन युरोपेली क्लब फुटबलमा पनि व्यस्त हुने भएकाले खेलाडीको ‘रोटेसन’ भइरहन्छ । कतिपय अवस्थामा कप्तान नै टिममा नपर्ने पनि हुन्छ । जसकारण मैदानमा नयाँ कप्तानको आवश्यकता पर्छ । साविकका कप्तानले खेल्न नपाउने खेलमा नयाँ कप्तान चुनिरहनुभन्दा कप्तान परिषद्का अन्य सदस्यले ‘आर्मब्यान्ड’ लगाउँदा सजिलो हुने भइगयो ।

कुनै पनि क्लबको प्रदर्शन सधै एकनाशको हुन्छ भन्ने छैन । यही सिजनको उदाहरण लिभरपुल र चेल्सी हुन् । जब लगातार खराब प्रदर्शन हुन्छ, तब क्लब ‘क्राइसिस’ मा पर्छ नै । यस्तोबेला प्रशिक्षकले कप्तान परिषद्का सदस्यसँग छलफल गर्न सक्छन् । कप्तानहरुसँगको ‘क्राइसिस टक’ बाट निस्किएको निष्कर्स बाँकी टिममा प्रवाह गर्ने चलन पनि अहिलेको फुटबलमा छ ।  

कप्तान परिषद्को गठन कसरी हुन्छ ? क्लबपिच्छे फरक परिपाटि छन् । जस्तै बार्सिलोनामा हाल तीन कप्तानको परिषद् छ । खासमा यसका चार सदस्य थिए, जेरार्ड पिकेले क्लब छाड्नुुअघिसम्म । बाँकी तीन सर्जियो बुस्क्वेट्स, मार्क आन्द्रे स्टेगन र सेर्गी रोबर्टो । यी तीन खेलाडी टिमका बाँकी खेलाडीको मतका आधारमा कप्तान चुनिएका हुन् ।

कुनै समय यस्तो पनि थियो, जब बार्सिलोनाको कप्तान परिषद् आइकनिक थियो । जसको सदस्य थिए, हालका प्रशिक्षक जाभी हर्नान्डेज, आन्द्रेस इनियस्टा, लियोनल मेसी र बुस्क्वेट्स ।

बार्सिलोनाको प्रतिद्वन्द्वी रियाल मड्रिडको भने तरिका बेग्लै छ । त्यहाँ पनि कप्तान परिषद् त छ, तर सदस्य मतदानमार्फत चुनिँदैनन् । बरु क्लबमा को कति समयदेखि छ, त्यसकै आधारमा कप्तान घोषणा गरिन्छ ।

रियालमा हाल चार कप्तान छन् । तीमध्ये पहिलो रोजाईका कप्तान पाका स्ट्राइकर करिम बेन्जेमा हुन् । उनीपछि लुका मोड्रिच, टोनी क्रुस र नाचो फर्नान्डेज छन् ।

स्पेनको अर्को ठूलो क्लब एट्लेटिको मड्रिडमा हाल तीन कप्तान छन् । यी तीनै कप्तान प्रशिक्षक डिएगो सिमोनका रोजाइ हुन् । पहिलो कप्तान मिडफिल्डर कोके छन् भने स्टेफन साभिच र यान ओब्लाक दोस्रो तथा तेस्रो रोजाइका कप्तान हुन् । सन् २०१९ मा डिएगो गोडिनले क्लब छाडेपछि कोकेको दोस्रो रोजाइको कप्तानबाट बढुवा भएको थियो । कोके एट्लेटिकोका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् ।

जर्मनीको बायर्न म्युनिख र बोरुसिया डर्टमन्डमा पनि एकभन्दा बढी कप्तान छन् । बायर्नमा शीर्ष दुई कप्तान गोलरक्षक म्यानुएल नुयुर र फरवार्ड थोमस मुलर हुन् । नुयुर हाल मैदानबाहिर छन् भने मुलर पहिलो रोजाइको खेलाडी होइनन् । यस्तोमा युवा जर्मन जोसुआ किमिचलाई तेस्रो कप्तान बनाइएको छ । बायर्नमा खेलाडी परिषद् पनि छ । जसको पाँच सदस्यमा तीन कप्तानसँगै किङ्स्ले कोम्यान र लियोन ग्रोएज्का छन् ।

बायर्नमा पनि कप्तान चुन्ने अधिकार प्रशिक्षकको हुन्छ । जर्मन अखबार बिल्डका अनुसार बायर्नमा कयौँ यस्ता खेलाडी छन् जो कप्तानीका लागि इच्छुक छैनन्, जबकि उनीहरु टिमका मुख्य खेलाडी हुन् । यस्ता खेलाडीको सूचीमा लेरियो साने, डायोट उपमेकानो लगायत छन् । सर्ज जिनाब्री, लुकास हर्नान्डेज जस्ता खेलाडी भने परिषद्मा बढुवा पाउन पालो पर्खिरहेका छन् ।

बार्सिलोना जानुअघि रोबर्ट लेवान्डोवस्की पनि कप्तान परिषद्का सदस्य थिए ।  यसको कारण चाहिँ उनको नेतृत्वदायी क्षमता नभई विशुद्ध खेल क्षमता थियो ।

१९ वर्षीय इङ्लिस मिडफिल्डर ज्युड बेलिङघमले गत अक्टोबरमा बोरुसिया डर्टमन्डको कप्तानी गरे । जसले उनलाई जर्मन फुटबलको इतिहासमा सबैभन्दा कान्छो कप्तान बनायो । डर्टमन्डका पहिलो र दोस्रो रोजाइका कप्तान मार्को रुइस र माट हुमेल्स हुन् । बेलिङहमलाई जुलाई, २०२२ मा मात्र खेलाडी परिषदमा राखिएको थियो । परिषदमा तीन कप्तानसहित पाँच खेलाडी छन् । परिषद्का अन्य दुई खेलाडीमा एम्रे क्यान र निकलस सुल छन् । डर्टमन्डमा खेलाडी परिषद् र कप्तान छान्ने काम प्रशिक्षकको हो ।

इङ्ल्यान्डको म्यानचेस्टर सिटीमा पनि कप्तान समूह छ । जसको सदस्य एल्काई गुन्डोवान, केभिन डी ब्रुयना, रुबेन डियास, काइल वाल्कर र रोड्रि छन् । यीमध्ये गुन्डोवान कप्तान हुन् भने बाँकी उपकप्तान हुन् । गुन्डोवान नहुँदा ब्रुयनाले कप्तानी गर्ने गर्छन् । यी खेलाडी मतदानमार्फत कप्तानको समूहमा चुनिएका हुन् ।

बेलायती अखबार द टेलिग्राफका अनुसार प्रशिक्षक एरिक टेन हागले चार खेलाडीसम्मिलित नेतृत्व समूह बनाएका छन् । जहाँ कप्तान ह्यारी मग्वायर छन् । मग्वायरको अनुपस्थितिमा कप्तानी गर्ने ब्रुनो फर्नान्डेजसँगै दुई गोलरक्षक डेभिड डे हाया र टोम हिटन छन् ।

लिभरपुलमा भने नेतृत्व समूहमा ६ खेलाडी छन् । जसमध्ये तीन कप्तान हुन्, जोर्डन हेन्डरसन, जेम्स मिल्नर र भर्जिल भान डाइक हुन् । यी तीनबाहेक समूहका अरु सदस्य ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, एन्डी रोबर्टसन र एलिसन छन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले खेलाडी समूह वा कप्तान परिषद् बनाएको छैन । तर त्यहाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले कप्तानमा मार्किन्योसलाई निरन्तरता दिएका छन् भने उपकप्तान चाहिँ चार नियुक्त गरेका छन् । सुन्दा अचम्म लाग्न सक्छ, लियोनल मेसी यी चार खेलाडीमध्ये पर्दैनन् । मुख्य उपकप्तान किलियन एमबाप्पे हुने भने वरीयतामा उनीपछि सर्जियो रामोस, प्रेसनेल किम्पेम्बे र मार्को भेराटी छन् । गाल्टिर प्रशिक्षक बन्नुअघि किम्पेम्बे मुख्य उपकप्तान थिए । तर एमबाप्पेलाई त्यो जिम्मेवारी दिइएपछि फ्रेन्च रक्षक किम्पेम्बेले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।