काठमाडौं । श्रीलंकाली क्रिकेट समर्थकलाई आजभोलि गाह्रै छ । श्रीलंकाली टिम हारेको हार्यै हुने समाचारले उनीहरूका कान पक्कै दुख्दो हो । भर्खरै मात्रै यस्तै विजोग समाचार आएको छ श्रीलंकाली क्रिकेट टिमसँग जोडिएर । भएको के हो भन्दा श्रीलंकाको नाममा एक यस्तो कीर्तिमान जोडिएको छ, जसमा कोही कसैलाई मज्जा आउँदैन्, लज्जा हुन्छ ।
भर्खरै श्रीलंका भारतसँगको तीन एकदिवसीय शृंखलामा ह्वाइटवास भयो । त्यसको अन्तिम खेलमा श्रीलंका रनको आधारमा सबैभन्दा ठूलो अन्तरले पराजित भएको थियो ।
भारतको त्रिवन्तपुरममा भएको उक्त खेलमा श्रीलंकाको हार अन्तर थियो ३ सय १७ । यसअघि कोही पनि टिम रनको आधारमा यति ठूलो अन्तरले पराजित भएको थिएन । पहिले ब्याटिङ गरेको भारतले ३ सय ९० रन बनाएको थियो । त्यसको जवाफमा श्रीलंका २२ ओभरमात्र टिकेको थियो । टोली ७३ रनमै अलआउट भयो । जहाँ भारतीय ब्याटरहरू शतकमाथि शतक बनाइरहेका थिए, त्यहीं श्रीलंकाली ब्याटर एक-एक रन जोड्न पनि संघर्ष गरिरहेका थिए ।
किन यस्तो भएको होला, क्रिकेटप्रति अलिकति रुचि भएकालाई कौतूहल लाग्दो हो । यसको उत्तर भने जटिल छैन । जतिबेला कुनै पनि देशको क्रिकेट भताभुंग स्थितिमा हुन्छ, त्यतिबेला त हो टिमको प्रदर्शन खराब हुने । मैदानबाहिर सबथोक खराब छ भने मैदानभित्र मात्र कसरी राम्रो हुन्छ र ? खासमा कुनै देशको क्रिकेट किन खराव हुन्छ भन्ने एउटा अर्को दरिलो उदाहरण बनेको छ श्रीलंका । यो सबैका लागि पाठ त हुन्छ नै ।
सबैभन्दा पहिले त्यहाँ श्रीलंकाली क्रिकेट बोर्ड र खेलाडीबीच नै गम्भीर मतभेद रहेको छ । आर्थिक अभाव देखाएर बोर्डले खेलाडीको पारिश्रमिक सर्लक्क काटेको छ, तर खेलाडी यसमा सहमत हुन सकेका छैनन् । भारतविरुद्धको एकदिवसीय सिरिज गुमाउनुअगाडि श्रीलंका बंगलादेशसँग पनि पराजित रहेको थियो । श्रीलंका बंगलादेशको हातबाट एकदिवसीय सिरिजमा पराजित भएको त्यो नै पहिलोपल्ट थियो । सन् २०२३ को एकदिवसीय विश्वकपमा श्रीलंकालाई सिधै छनोट हुन अब गाह्रो भएको छ ।
श्रीलंकाका पूर्वकप्तान हुन् मारवान अत्तापट्टु । उनी पनि श्रीलंकाली क्रिकेटको अहिलेको स्थिति देखेर दिक्क मानिरहेका छन् । उनले भनेका छन्, ‘म त अहिले तत्काल श्रीलंकाली क्रिकेटमा केही राम्रो हुनेछ भनेर विश्वास गर्न सकिरहेको छैन । मैले त श्रीलंकाली क्रिकेटमा कुनै प्रकारको उज्यालो छाउने संकेत नै देख्दिनँ ।’
उनी त श्रीलंकाली क्रिकेटकै भविष्यलाई लिएर चिन्तित छन् । यो सबै स्थितिको प्रमुख कारण त आर्थिक अवस्था नै हो । पूरा श्रीलंका मात्र होइन, त्यहाँको क्रिकेट बोर्ड पनि आर्थिक रूपमा टाट पल्टिएको स्थितिमा छ । देशमै आर्थिक रूपमा कमजोर भएपछि त्यसको सिधा प्रभाव बोर्डमा पर्ने त भयो नै । तर, मूल कारण यो पनि होइन । श्रीलंकाली क्रिकेट बोर्डमा चरम आर्थिक अनियमितता भएको आरोप छ । त्यहाँ सफा ढंगले केही हुँदैन, त्यसैले त बोर्ड आर्थिक रूपमा कमजोर भएको । यस्तो स्थितिमा बोर्ड खेलाडीलाई कसरी चित्त बुझ्दो तलब दिन सक्षम हुन्छ ?
बोर्डमाथि राजनीतिक दबाब र हस्तक्षेप पनि उत्तिकै छ । बोर्डलाई आफूले चाहे जस्तो काम गर्ने छुट छैन । बोर्डको चुनाव हुँदा चरम राजनीति हुन्छ । यिनै कारणले श्रीलंकाली क्रिकेट ढाँचा निकै कमजोर बनेको छ । घरेलु प्रतियोगिताहरू ढंगले चल्न छाडेका छन् । त्यसको अर्थ श्रीलंकामा अचेल राम्रा खेलाडी उत्पादन हुने सम्भावना अझ झन् दुर्लभ हुन थालेको छ । यी सबै पृष्ठभूमिमा श्रीलंकाली क्रिकेट टिमको प्रदर्शन कसरी पो राम्रो हुन सक्छ र ?
खाली सम्झाउने प्रयासमात्र हो, श्रीलंकाले सन् १९९६ मा एकदिवसीय विश्वकप जितेको थियो । सन् २००७ र २०११ मा श्रीलंकाले लगातार दुई विश्वकपमा फाइनल खेल्यो, अनि उपविजेता रह्यो । श्रीलंका सन् २०१४ का ट्वान्टी-ट्वान्टी विश्वकपको विजेता हो । ती त्यस्तै दिन थिए, जतिबेला श्रीलंकाली टिममा माहेला जयावर्धने र कुमार सांगकारा जस्ता खेलाडी थिए । ती त सबै इतिहास भए । अहिले त श्रीलंकाली क्रिकेट पहिरोमा परेको स्थिति मात्रै हो ।