काठमाडौं । ललितपुर मेयर कप महिला क्रिकेट च्याम्पियनसिपमा गत साता सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई हराउँदै उपाधि जित्यो । कान्छो विभागीय टोलीले उपाधि पक्का गर्दा फाइनलमा ज्योति पाण्डेले खेलेको इनिङ्स लोभलाग्दो थियो ।
|
फाइनलको त्यो इनिङ्समात्र होइन टोली मैदान उत्रिएको हरेक खेलमा ज्योतिको प्रभाव उज्यालो थियो । त्यसैले त प्रतियोगितामा अर्धशतक प्रहार गर्ने एक्लो खेलाडी बनेकी ज्योति फाइनलको दिन प्लेयर अफ द म्याचसँगै थप दुई अवार्डको हकदार बनिन् ।
सुदूरपश्चिमविरुद्धको फाइनलमा सर्वाधिक ४३ रनको योगदान गरेकी ज्योति प्लेयर अफ द म्याच हुनु जायज थियो । सँगै प्रतियोगिताभर गरेको प्रभावशाली प्रदर्शनका आधारमा उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटरको हकलाग्दो पुरस्कारबाट पनि विभूषित भइन् ।
नेपाली क्रिकेट पछिल्ला वर्षहरूमा खास सक्रिय छैन । अझ महिलाका प्रतियोगिता त झनै कम हुन्छन् । त्यसमाथि पछिल्लो साढे दुई वर्ष कोभिड १९ को महामारीले झनै खेलकुदलाई कोमामा पुर्यायो ।
खेलकुद व्यावसायिक भइनसकेको नेपालजस्तो देशमा सामान्यतया प्रतियोगिताको वरिपरि खेलाडीहरू जुर्मुराउने गर्छन् । तर केही यस्ता खेलाडी पनि हुन्छन्, जो क्यालेन्डर नहेरी सधैंभरि आफूलाई फिट राखिरहन्छन् । जुनसुकै बेला पनि मैदान उत्रिनका लागि आफूलाई तयार राखिरहन्छन् । ज्योति त्यस्तै खेलाडी हुन् ।
कोभिड महामारीको बीचमा पनि एक्लै व्यायाम तथा अभ्यासमा रहने गरेकै कारण अहिले उनलाई फाइदा पुगेको छ । कोभिडको महामारी नियन्त्रणमा आउन थालेसँगै बढ्न थालेका प्रतियोगितामा ज्योतिको प्रभाव देखिन थालेको छ । घरेलु प्रतियोगिताहरूमा उनको ब्याट मज्जासँग घुम्न थालेको छ ।
‘म सधैं तयारी अवस्थामा नै हुन्छु । घरेलु प्रतियोगिता धेरै खेलिसकेकी छु । गत वर्ष पनि राम्रो खेलेकी थिएँ । त्यही आत्मविश्वासले यसपालि पनि राम्रो भयो,’ नेपाली राष्ट्रिय टोलीसँगै एपिएफकी ओपनर भन्छिन्, ‘पहिलाभन्दा धेरै प्रतियोगिता हुन थालेको छ । दुई महिनाअघि पिएम कप थियो । अब फेरि हुन्छ भन्ने सुनेको छु । प्रतियोगिताहरू भइरहेको हुनाले हामीले दिनहुँ एकै ठाउँमा प्रशिक्षण गर्छाैं । त्यसले गर्दा हामीलाई लगातार उपाधि जित्न सजिलो भएको छ ।’
विराटनगरमा जन्मिएकी ज्योति बाल्यकालदेखि नै खेलकुदमय वातावरणमा हुर्किइन् । सुरुमा ब्याडमिन्टन र टेबलटेनिस खेल्दै खेलकुदमा प्रवेश गरेकी ज्योति पछि आफ्नै बुबाको पाइला पछ्याउँदै क्रिकेटमा एकोहोरिइन् ।
उनका बुबा प्रदीपराज पाण्डे पूर्वाञ्चल क्रिकेटका प्रशिक्षक हुन् । एसएलसी दिएपछिको तीन महिना छुट्टीमा उनले बुबासँगै क्रिकेटका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल हेरिन् । त्यसबाट उनमा पनि क्रिकेटको नशा लाग्दै थियो । नेपालमा महिला क्रिकेट टोली पनि छ भन्ने थाहा पाइन् । त्यसपछि ब्याडमिन्टन र टेबलटेनिसलाई पाखा लगाउँदै उनी क्रिकेटमा होमिइन् । १७ वर्षको उमेरमा उनले क्रिकेटलाई एकमात्र लक्ष्य बनाएर मिहिनेत गरिन् ।
ज्योतिले क्रिकेट खेल्न सुरु गरेदेखि भारतीय क्रिकेटर मिथाली राज उनको आदर्श हुन् । सुरुआती दिनमा ज्योतिका लागि मिथालीको सिडी र बुबालाई प्रशिक्षकको रूपमा पाउनु पनि भाग्यकै कुरा थियो । त्यही कारण हो मैदानमा उनले आफूलाई अन्य खेलाडीभन्दा फरक रूपमा प्रस्तुत गर्न सकिन् । किनकि बाँकी खेलाडीभन्दा धेरै सिक्ने र खेल सुधार्ने मौका पनि उनैले पाएकी थिइन् ।
‘क्रिकेटमा आउन सजिलो कहाँ हुन्छ र ? आफ्नो प्रदर्शनबाट आउने हो । तर, बाँकी खेलाडीको तुलनामा सिक्ने मौका धेरै पाएँ । आफ्नै बुबा प्रशिक्षक भएपछि सानातिना गल्तीहरू पनि थाहा भयो,’ उनले सुनाइन्, ‘बुबाले घरमा पनि क्रिकेटको बारेमा सिकाउनुहुन्थ्यो । मलाई ‘एक्स्ट्रा’ समय दिनुहुन्थ्यो ।’
बुबाको मार्गनिर्देशन र मिथालीको सिडी हेरेर खारिएकी उनलाई विराटनगरको महिला टोलीमा छानिन खासै गाह्रो भएन । विराटनगरको टोलीमा परेपछि ज्योतिको पाइला सधैं अगाडिमात्र बढेको छ । विराटनगर टोलीपछि उनी जिल्लास्तरीय प्रतियोगिता र राष्ट्रिय प्रतियोगिता हुँदै २०६९ सालमा एपिएफमा आबद्ध भइन् । त्यसपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट दुई–तीन पटक फालिइन् । तर २०७२ सालमा उनी बन्द प्रशिक्षणबाट निराश भएर फर्किनुपरेन । पहिलो पटक राष्ट्रिय टोलीको हिस्सा बन्न सफल भइन् ।
त्यही वर्ष हङकङमा भएको एसियन रिजनल क्वालिफायरमा हङकङविरुद्धको खेलबाट ज्योतिले नेपालको जर्सीमा ‘डेब्यु’ गरिन् । क्रिकेटमा लागेपछि ज्योतिको करियरमा सबैभन्दा खुसीको क्षण त्यही थियो ।
‘राष्ट्रिय टोलीबाट खेल्नु भनेको एउटा खेलाडीका लागि ठूलो उपलब्धि हो । आफ्नै नाम लेखेको नेपालको जर्सी लगाएर पहिलो पटक खेल्दाको त्यो क्षण मेरा लागि अहिलेसम्मको सबैभन्दा ठूलो खुसीको क्षण हो,’ उनी भावुक भइन् ।
ज्योतिले क्रिकेट खेल्न सुरु गरेको एक दशक बितिसक्यो, तर उनलाई यो समय निकै छोटो लागेको छ । भन्छिन्, ‘खुसी छु । आफ्नै इच्छाले क्रिकेटमा लागेको हो । जुन कुरामा रुचि छ, त्यो गर्न पाउँदा जो पनि खुसी हुन्छ ।’
हङकङमा भएको एसियन रिजनल क्वालिफायरपछि उनले त्यही वर्ष थाइल्यान्डमा भएको एसियन कप क्वालिफायर, २०७३ मा थाइल्यान्डमा भएको विश्वकपको एसियाली छनोट, २०७४ मा बंगलादेशमा भएको महिला ट्वान्टी २० विश्वकप क्रिकेटको एसियाली छनोट र १३औं दक्षिण एसियाली खेलकुद (साग) लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।
राष्ट्रिय टोली र एपिएफ दुवैतिर सीता रानामगरसँग उनको जोडी खुबै जमेको छ । उनकी ओपनिङ पार्टनर सीताले हालै हङकङमा फेयर ब्रेक इन्भिटेसनल प्रतियोगितामा खेलेर नेपाली महिला खेलाडीको सम्भावना थप उजागर गरेकी छन् । राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री र सीताको त्यो उपलब्धिले नेपाली महिला खेलाडीको विदेशमा गएर खेल्ने आधार बनाएकोमा ज्योति उत्साहित छन् ।
विश्वकप खेल्ने सपना बुनेको महिला टोलीले पुरुषको जस्तै पर्याप्त अन्तर्राष्ट्रिय खेलको अनुभव बटुल्न पाए पुरुषजस्तै नेपालका महिला खेलाडीहरू पनि विदेशका थुप्रै लिगको हिस्सा बन्नसक्ने उनको विश्वास छ ।
‘घरेलु लिग खेलेर मात्र पुग्दैन । हामी देशभित्र मात्रै सीमित छौं,’ उनले भनिन्, ‘महिला टोलीको अझै स्तर बढ्न जरुरी छ । त्यो स्तरसम्म पुग्न थप परिश्रम र प्रशिक्षण आवश्यक छ । महिला क्रिकेटका लागि केही आउट अफ बक्स गर्न जरुरी छ । यति भयो भने हामी त्यो ठाउँमा पुग्छौं ।’
|
खेलाडी भएरमात्र जीवनयापन कठिन हुने बुझेकी ज्योतिले त्यही कारण उच्च शिक्षालाई गम्भीरताका साथ निरन्तरता दिइरहेकी छन् । उनी अहिले एमबिए तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । तथापि एपिएफको जागिर भएकाले आफूलाई भने तुलनात्मक रूपमा अन्य खेलाडीभन्दा सहज भएको उनी बताउँछिन् ।
‘अहिले सबैले कन्ट्रयाक्टमा पैसा दिन थालेको छ । राम्रो गर्ने खेलाडीका लागि राम्रो छ । त्यसका लागि आफूले अरूभन्दा राम्रो गर्नुपर्छ,’ उनले भनिन्, ‘विभागबाट खेल्दा सधैं प्रशिक्षण गर्न पाइन्छ । करियरका लागि चिन्ता लिनुपर्दैन । एपिएफले भविष्य बनाइदिएको छ । स्थायी जागिर भयो । जसले गर्दा मैले खेलमा मात्र ध्यान दिन सकेंं । त्यही कुरा राम्रो लाग्यो ।’
विकेटकिपर/ब्याटर ज्योतिको सुरुआती दिनमा राष्ट्रिय टोलीमा पर्ने सपना थियो । अहिले त्यो बढेर महिला विश्वकप खेल्ने लक्ष्य बनेको छ ।
‘महिला टोलीको सपना नै विश्वकप खेल्नु हो । त्योबाहेक मैले फ्रेन्चाइज लिगमा सहभागी हुने सपना पनि देखेकी छु । मेरो करियर यतिसम्म हेरेको छु,’ उनले भनिन्, ‘अझै धेरै गर्न बाँकी छ । तर मेरो ध्यान घरेलु प्रतियोगितासम्म हैन । जबसम्म विश्वकपमा पुगिँदैन, मेरो करियर माथि पुग्यो भन्न सक्दिनँ ।’