चैत्र १, २०८१ शुक्रबार | १३:०३:५२
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा टोटनहमको जितमा विल्सन ओडोबर्टको उत्कृष्ट प्रदर्शन इन्टर मियामी क्वार्टरफाइनलमा हङकङकको सामना गर्दै नेपाल युनाइटेडको सहज जितमा ब्रुनो फर्नान्डेसको ह्याट्रिक फ्रेन्च टोलीमा एमबाप्पेको पुनरागमन जोशुआ किमिच सन् २०२९ सम्म बायर्नमै रहने हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा टोटनहमको जितमा विल्सन ओडोबर्टको उत्कृष्ट प्रदर्शन इन्टर मियामी क्वार्टरफाइनलमा हङकङकको सामना गर्दै नेपाल युनाइटेडको सहज जितमा ब्रुनो फर्नान्डेसको ह्याट्रिक फ्रेन्च टोलीमा एमबाप्पेको पुनरागमन जोशुआ किमिच सन् २०२९ सम्म बायर्नमै रहने
शनिबारको दिन नेपाली क्रिकेट

एनपिएल फाइनलः जनकपुरको बदला कि सुदूरपश्चिम ह्याट्रिक ?

काठमाडौं । नेपाली क्रिकेटका लागि आजको दिन विशेष हो । किनभने नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) ले आफ्नो पहिलो विजेता पाउँदै छ ।

एनपिएलको पहिलो संस्करण फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजे सुरु हुनेछ ।

कागज र व्यवहारिक दुवैमा सुदूरपश्चिम उपाधिको प्रबल दाबेदार हो । किन ? सुदूरपश्चिमले अंकतालिकाको शीर्षस्थानमा रहेर प्लेअफ समीकरणमा आफ्नो स्थान पक्का गरेको थियो ।

यो यात्रामा सुदूरपश्चिमसँग आफ्नो फाइनल प्रतिद्वन्द्वी जनकपुरमाथि पाएको ७२ रनको फराकिलो जित पनि थियो । यो जित किन पनि खास रह्यो भने टस हारेर ब्याटिङ निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा १२३ रनको सामान्य योगफल खडा गरेको थियो । जवाफी ब्याटिङ गरेको जनकपुर लज्जास्पद रूपमा ५१ र

पहिलो क्वालिफायर्समा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिमका ओपनर विनोद भण्डारी, तस्विर सौजन्यः एनपिएल ।

नमै अलआउट हुन पुग्यो । यो खेलको अर्को विशेषता के थियो भने जनकपुरले त्यसअघिका सबै खेलमा शतप्रतिशत जित निकालेको थियो ।

पहिलो क्वालिफायरमा यी दुई टिम दोस्रो पटक भिडेका थिए । जनकपुर टोलीले बदला लिने मनसाय बनाएर कीर्तिपुर मैदान ओर्लिएका थिए । तर, दोस्रो पटक पनि उनीहरू निराश बने । जनकपुरलाई हराउन सुदूरपश्चिमलाई कुनै पनि कठिनाइ भएन । ८ विकेटको विजय नतिजा निकाल्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो ।

जनकपुरले पछि दोस्रो क्वालिफायरमा कर्णाली याक्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्दै फाइनलमा स्थान बनायो । त्यसैले फाइनलको प्रबल दाबेदार जगत टमाटाको प्रशिक्षणमा रहेको सुदूरपश्चिम नै रहेको मान्न सकिन्छ ।

सुदूरपश्चिम जनकपुरभन्दा धेरै पक्षमा अगाडि छ । सुदूरपश्चिमलाई ब्याटिङ र बलिङ कुनैमा पनि समस्या छैन । सैफ जैब र विनोद भण्डारीको जोडी एनपिएलकै सबैभन्दा बलियो ओपनिङ जोडी हो । क्वलिफायरकै कुरा गर्दा यी दुईले पहिलो विकेटमा अर्धशतकीय साझेदारी गरेका थिए । तेस्रो नम्बरका ब्याटर ब्रेन्डन म्याकमुलेन पनि सुदूरपश्चिमका भरपर्दा खेलाडी हुन् । अलराउन्डर तथा कप्तान दीपेन्द्रसिंह ऐरी त एनपिएलकै सर्वोत्कृष्ट खेलाडी बन्ने दौडमा अगाडि छन् । मध्यक्रमका ब्याटर उनी टोलीका सर्वाधिक रनकर्ता हुन् । उनले ८ खेलमा २१८ रन बनाइसकेका छन् । जैब २०६ रनसहित दोस्रो स्थानमा छन् । समान खेलबाट विनोदले १९४ र म्याकमुलेनले १८७ रन जोडेका छन् ।

बलिङतर्फ तीव्र गतिका बलर स्कट कुगुलेइन सर्वाधिक विकेटकर्ताको दौडमा शीर्षस्थानमा छन् । उनको नाममा १६ विकेट छ । जैब ११ विकेटसहित शीर्ष आठमा छन् । फाइनलमा दीपेन्द्रसिंहबाट पनि विकेटको अपेक्षा गर्न सकिन्छ । अहिलेसम्म ८ विकेट आफ्नो नाममा लेखाइसकेका दीपेन्द्रले लिग चरणमा जनकपुरविरुद्ध दुई विकेट लिएका थिए । जहाँ सुदूरपश्चिमको टोली सन्तुलित छ, जनकपुरमा एकाधबाहेक अन्य खेलाडीहरू चल्न सकिरहेका छैनन् ।

पहिलो क्वालिफायर्समा जनकपुर बोल्ट्सविरुद्ध विकेट लिएपछि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, तस्विर सौजन्यः एनपिएल ।

सुरुआती चरणमा म्याच विनिङ इनिङस खेलिरहेका तेस्रो नम्बरका ब्याटर लाहिरु मिलिन्थाबाट पछिल्लो ४–५ खेलमा रन निस्किरहेको छैन । ओपनर आसिफ शेखले ९ खेलमा औसतले १४ रन बनाएका छन् । उनका ओपनिङ जोडी अनिल शाहले फाइनल नखेल्ने यसअघि नै पक्का भइसकेको छ । हातमा चोट बोकेका अनिल पछिल्ला दुई खेलयता अनुपस्थित छन् । अनिलको स्थानमा ओपनिङ गर्न आएका शुभ कंशाकारले पनि पहिलो विकेटका लागि बलियो साझेदारी गर्न सकेका छैनन् । जहाँ विनोद र जैबले ५८ रनको साझेदारी गरेका थिए । दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध जनकपुरले मात्र ९ रनमा पहिलो विकेट गुमाएको थियो । ब्याटिङ पावर प्ले (सुरुआती ५ ओभर) जनकपुरले २६ रन जोड्दा तीन विकेट गुमाएको थियो । ११९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरका लागि पछि मध्यक्रमका ब्याटर जिम्मी निसमले ४५ रनको इनिङस खेले । त्यसपछि बल्ल जनकपुरले फाइनल यात्रा तय गरेको हो । यस हिसाबमा न्युजिल्यान्डका निसम जनकपुरको ब्याटिङमा वानम्यान आर्मी साबित भइरहेका छन् ।

सर्वाधिक रनकर्ताको दौडमा तेस्रो स्थानमा रहेका निसमले २४३ रन बनाइसकेका छन् । पहिलो क्वालिफायरमा पनि उनले ४५ रनको योगदान गरेका थिए । यस्तोमा शनिबार सुदूरपश्चिमले निसमलाई सस्तैमा पेभिलियन फर्काउन सके उपाधि जित्ने सम्भावना बलियो हुनेछ । एक हिसाबले शनिबारको फाइनल खेल टाइगरविरुद्ध वानम्यान आर्मी अर्थात दीपेन्द्रसिंह ऐरीविरुद्ध जिम्मी निसम ।

पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको जनकपुरको चिन्ता गर्नुपर्ने अर्को पक्ष हो खराब फिल्डिङ । खराब फिल्डिङका कारण टोलीले अनावश्यक रन खर्चिरहेको छ । जसले गर्दा विपक्षीलाई फाइदा पुग्दै आएको छ ।

दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध विकेट लिएपछि जनकपुर बोल्ट्सका मध्यक्रमका ब्याटर जिमी निसम, तस्विर सौजन्यः एनपिएल ।

निसमको ब्याटिङबाहेक जनकपुरमा सकारात्मक पक्ष नै नभएको भने पक्कै होइन । स्पिनर ललितनारायण राजवंशीको सानदार बलिङप्रेरित जनकपुरले विपक्षी टोलीलाई कम रनमा रोक्न सफल भएको छ । सर्वाधिक विकेटकर्ताको दौडमा कुगुलेइनलाई पछ्याइरहेका ललितको नाममा पनि १६ विकेट छ । ललित एनपिएलकै हाइलाइटेड खेलाडी हुन् । शनिबार सुदूरपश्चिमका ब्याटर ललितको ओभरमा सतर्क रहन आवश्यक छ । ललित जनकपुरका लागि कतिसम्म भरपर्दा खेलाडी हुन् भने कर्णालीविरुद्ध दोस्रो ओभर फ्याँक्न आएका ललितले आफ्नो पहिलो बलमै विकेट लिए । जनकपुरले भर गर्न सक्ने अर्का खेलाडी हुन् हर्ष ठाकर । ११ विकेट आफ्नो नाम गराइसकेका ठाकरबाट जनकपुरलाई फाइनलमा पनि विकेटको अपेक्षा रहनेछ ।

कागज र व्यवहारमा बलियो देखिए पनि रोयल्सका कप्तान दीपेन्द्रसिंह जनकपुरलाई हल्का रूपमा नलिएको प्रतिक्रिया दिन्छन् । फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले जनकपुरविरुद्ध दुई खेलमा शतप्रतिशत जित निकालेका छौं । तर, फाइनल भनेको फाइनल हो । जे पनि हुनसक्छ । जनकपुर राम्रो टोली हो । हामीले जनकपुरलाई हल्का रूपमा लिएका छैनौं ।’

कप्तानमा अनिललाई प्रतिस्थापन गरेका जनकपुरका आसिफले पनि पछिल्ला खेलमा भएका कमजोरीलाई सुधार्दै शनिबार राम्रो खेल प्रस्तुत गर्ने बताए । आसिफले भने, ‘हामीले लगातार दुई खेलमा सुदूरपश्चिमविरुद्ध हार बेहोरेका छौं । तर, हामी आत्तिएका छैनौं । यी दुई खेलमा हाम्रो ब्याटिङ चल्न सकेको थिएन । यसलाई हामी फाइनलमा सुधार्ने छौं । फाइनल प्रतिस्पर्धात्मक बन्ने अपेक्षा छ ।’