काठमाडौं । अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चाले नछोएका सायदै कोही नेपाली क्रिकेट समर्थक छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको यस प्रतियोगिताको तयारी हेर्दा सहजै भन्न सकिन्छ, यो पक्का नेपाली खेलकुदकै सबैभन्दा बृहत घरेलु प्रतियोगिता बन्नेछ ।
आठ फ्रेन्चाइज टिमबीचको यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण बहुचर्चित भारतीय टेलिभिजन स्टार स्पोर्ट्समा हुने भएपछि नेपालमा यसले झनै क्रिकेटमय माहोल बनाएको छ ।
प्रतियोगिताका निम्ति आठ टिमले भित्र्याएका केही चर्चित विदेशी अनुहार पनि यो चर्चाको अर्को प्रमुख आयाम हो । पूर्वभारतीय ब्याटर शिखर धवन, न्युजिल्यान्डका जिम्मी निसम, मार्टिन गुप्टिल, वेस्ट इन्डिजका चान्डविक वाल्टन चर्चित विदेशी नाममा पर्छन् । तर, यी अनुहारमात्रै नेपाली घरेलु क्रिकेट प्रतियोगिताले पाएको ठूला विदेशी नाममा पर्दैनन् । यसअघि निजी कम्पनी जोरा स्पोर्टस म्यानेजमेन्टको आयोजनामा भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा पनि केही चर्चित विदेशी खेलाडीले खेलेका थिए ।
शिखर धवन (भारत), एनपिएल-२०२४ (कर्णाली याक्स)
भारतीय टिमका पूर्व ओपनर ब्याटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्नेछन् । उनी नेपालको फ्रेन्चाइज क्रिकेट खेल्न लागेका भारतीय टिमबाट खेलिसकेका पहिलो क्रिकेटर समेत हुन् । यसअघि भारतीय राज्य स्तरका खेलाडीले नेपालको फ्रेन्चाइज प्रतियोगितामा सहभागिता जनाए पनि त्यसमध्ये कसैले पनि राष्ट्रिय टिमबाट खेलेका थिएनन् ।
धवन उमेरले ३९ वर्ष पुग्दैछन् । बायाँहाते ब्याटर धवनले भारतीय टिमबाट सन् २०१० मा डेब्यू गरेका थिए । उनले १४ वर्षे लामो अन्तर्राष्ट्रिय करियर यसै वर्ष टुंग्याउने निर्णय गर्नुअघि भारतीय टिमबाट ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यसक्रममा उनले टेस्टमा २ हजार ३१५, एकदिवसीयमा ६ हजार ७ सय ९३ र टी-२० मा १ हजार ७५९ रन बनाएका छन् ।
उनीसँग डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स र पन्जाब किंग्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको अनुभव छ ।
मार्टिन गुप्टिल (न्युजिल्यान्ड), एनपिएल-२०२४ (विराटनगर किंग्स)
धवनकै स्तरका अर्को चर्चित खेलाडी हुन्, न्युजिल्यान्डका पूर्व ओपनर ब्याटर मार्टिन गुप्टिल । गुप्टिललाई एनपीएलको पहिलो संस्करणका निम्ति विराटनगर किंग्सले अनुबन्ध गरेको छ ।
सन् २०१४ को एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजविरुद्ध दोहोरो शतकसहित अविजित २३७ रन बनाएपछि गुप्टिल चर्चाको शिखरमा आएका थिए ।
गुप्टिलले न्युजिल्यान्डबाट ४७ टेस्ट, १९८ एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियका १२२ खेल खेलेका छन् । यसक्रममा उनले टेस्टमा २ हजार ५८६, एकदिवसीयमा ७ हजार ३४६ र टी–२० मा ३ हजार ५३१ रन बनाएका छन् । गुप्टिलले न्युजिल्यान्डबाट सन् २००३ मा डेब्यू गर्दा २०२३ मा संन्यास लिएका थिए ।
३८ वर्ष पुगिसकेका गुप्टिलसँग भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), पाकिस्तान सुपर लिग (पिएसएल), बिग बास लिग (बिबिएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल) जस्ता विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिगको अनुभव छ ।
शाहिद अफ्रिदी (पाकिस्तान), एभरेस्ट प्रिमियर लिग-२०२१ (काठमाडौं किंग्स इलाभेन)
नेपालको फ्रेन्चाइज क्रिकेट खेल्न आउने सबैभन्दा ठूलो नाममध्ये पर्छन्, पाकिस्तानका शाहिद अफ्रिदी । सन् २०२१ मा भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा अफ्रिदीलाई काठमाडौं किंग्स इलाभेनले अनुबन्ध गरेको थियो । छोटो समयका निम्ति नेपाल आएका अफ्रिदीले प्रतियोगितामा दुई खेलमात्र खेलेका थिए ।
सन् १९९६ देखि २०१८ सम्म पाकिस्तानका लागि खेलेका अफ्रिदीले कयौं पटक कप्तानी जिम्मेवारी पनि सम्हालेका थिए । उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा नै शतक पूरा गरेर तत्कालीन समयमा सबैभन्दा छिटो शतक बनाउने विश्व कीर्तिमान बनाएका थिए ।
उनले पाकिस्तानबाट २७ टेस्टमा १ हजार ७१६ रन र ४८ विकेट, ३९८ एकदिवसीयमा ८ हजार ६४ रन र ३९५ विकेट तथा ट्वान्टी-२० अन्तर्राष्ट्रियका ९९ खेलमा १ हजार ४१६ रन र ९८ विकेट लिएका छन् ।
उनले डेक्कन चार्जर्सबाट आइपिएलसमेत खेलेका थिए । उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र बिगबास लिगसमेत गरी विश्वभरका चर्चित फ्रेन्चाइज लिग खेलेका छन् ।
तमिम इकवाल (बंगलादेश), इपिएल-२०२१ (भैरहवा ग्लाडियटर्स)
बंगलादेशका ओपनर ब्याटर तमिम इकवालले पनि सन् २०२१ मा भएको एभरेस्ट प्रिमियर लिग खेलेका थिए । उनले इपिएलको उक्त संस्करणमा भैरहवा ग्लाडियटर्सबाट खेलेका थिए ।
३५ वर्षीय तमिम नेपालमा फ्रेन्चाइज क्रिकेट खेल्ने निकै कम बंगलादेशी क्रिकेटरमध्ये पर्छन् । तमिमले इपिएलमा भैरहवाबाट ५ खेल खेल्दा कुल ७५ रन बनाएका थिए । उनले इपिएलसँगै आइपिएल र क्यारेबियन प्रिमियर लिगसमेत खेलिसकेका छन् ।
बंगलादेशबाट सन् २००७ मा डेब्यू गरेका तमिमले पछिल्लो पटक सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले बंगलादेशबाट ७० टेस्ट, २४३ एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका ७८ खेल खेलेका छन् । त्यसमा तमिमले टेस्टमा ५ हजार १३४, एकदिवसीयमा ८ हजार ३५७ र टी-२० मा १ हजार ७५८ रन बनाएका छन् ।
उपुल थरंगा (श्रीलंका), इपिएल-२०२१ (भैरहवा ग्लाडियटर्स)
श्रीलंकाका अनुभवी पूर्व विकेटकिपर ब्याटर उपुल थरंगाले पनि नेपालको फ्रेन्चाइज क्रिकेटको अनुभव लिएका छन् । उनले सन् २०२१ मै भएको इपिएलमा भैहरवाबाट नै नेपालमा खेलेका थिए । प्रतियोगिताको उक्त संस्करणमा उपुल सबैभन्दा धेरै रन बनाउने तेस्रो ब्याटरसमेत बने । उनले भैरहवाबाट ६ खेल खेल्दा एक अर्धशतकसहित १८५ रन बनाएका थिए ।
थरंगाले सन् २००५ मा श्रीलंकाको राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गर्नुअघि उनले श्रीलंकाबाट ३१ टेस्ट, २३५ एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका २६ खेल खेलेका थिए । यसक्रममा उनले टेस्ट क्रिकेटमा १ हजार ७५७, एकदिवसीयमा ६ हजार ९५१ र टी-२० मा ४०७ रन बनाएका छन् ।
उनले इपिएलसँगै विश्वका अन्य फ्रेन्चाइज क्रिकेट लिग पनि खेलेका छन् ।