काठमाडौं । क्यानाडा र अमेरिका भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । अमेरिका र क्यानाडामा रहँदा नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ का दुई त्रिकोणात्मक एकदिवसीय शृंखला, एक त्रिकोणात्मक ट्वान्टी-२० शृंखला र अमेरिकासँग तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो ।
गत भदौ २५ गते क्यानाडा प्रस्थान गर्दा नेपाली क्रिकेट खेलाडीहरू निकै उत्साहित थिए । लिग-२ अन्तर्गत घरेलु टोली क्यानाडा र ओमानसँगको शृंखलामा नेपालको लक्ष्य उत्कृष्ट प्रदर्शन गर्दै बढीभन्दा बढी अंक बटुल्नु थियो । तर, शृंखलामा नेपालको प्रदर्शन निकै खराब रह्यो । शृंखलाका चारमध्ये तीन खेलमा पराजय बेहोरेको नेपालले वर्षा बाधक बन्दा एक खेलमा अंक बाँडेको थियो ।
क्यानाडा शृंखलामा भन्दा अमेरिकामा केही सुधारिएको प्रदर्शन गरे पनि त्यो नेपालको स्वाभाविक लयअनुसार थिएन ।
क्यानाडा भ्रमणलगत्तै नेपाल अमेरिका पुगेको थियो । त्यहाँ नेपालले घरेलु टोली अमेरिकासँगै स्कटल्यान्डको सामना गरेको हो । अमेरिका शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई मेन्टरको रूपमा नियुक्त गरेको थियो । अमेरिकाको अवस्थाबारे राम्रोसँग जानकार दासानायकेको आगमनपछि नेपाली टोलीको प्रदर्शनमा परिवर्तन आउने अपेक्षा गरिएको थियो । तर, उनको आगमन खासै प्रभावकारी देखिएन ।
क्यानाडा शृंखलामा भन्दा अमेरिकामा केही सुधारिएको प्रदर्शन गरे पनि त्यो नेपालको स्वाभाविक लयअनुसार थिएन । अमेरिकामा त्रिकोणात्मक शृंखलाका ४ खेल खेल्दा नेपालले २ हार र एक जितको नतिजा निकाल्यो भने एक खेल रद्द भएको थियो ।
चार नेपाली खेलाडीले पाँच अर्धशतक प्रहार गरेका थिए । अनिल साहको नाममा दुई, कप्तान रोहितकुमार पौडेल, आसिफ शेख र आरिफ शेखको नाममा समान एक अर्धशतक रह्यो । कप्तान रोहितले ९६ रन बनाउनु नै नेपालका लागि व्यक्तिगत उच्च प्रदर्शन रह्यो ।
बलिङमा भने नेपालको प्रदर्शन केही कमजोर देखियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६ विकेट लिए । नेपाली टोलीका रोहितकुमार पौडेल पनि क्यानाडा र अमेरिकामा सोचेअनुसार प्रदर्शन हुन नसकेको स्वीकार्छन् । ‘क्यानाडा र अमेरिकामा हामीले सोचेअनुसार प्रदर्शन गर्न सकेनौं । पछिल्लो समयमा ट्वान्टी-२० मा बढी केन्द्रित हुँदा एकदिवसीयमा केही समस्या देखिएको छ । तर यसो भन्दैमा पन्छिन मिल्दैन । हारको जिम्मेवारी लिनुपर्छ,’ रोहितले भने, ‘क्यानाडामा भन्दा अमेरिकामा राम्रो प्रदर्शन भयो तर सुर्धानुपर्ने धेरै कुरा छन् ।’
टोलीले सुरुआती तीन शृंखलामा १२ खेल खेल्दा मात्र दुई जित निकाल्न सकेको छ ।
कप्तान रोहित अब एकदिवसीयमै केन्द्रित हुनुपर्ने बताउँछन् । ‘ब्याटरले पनि आफूलाई एकदिवसीयका लागि तयार पार्नुपर्छ । सुरुआती तीन शृंखलामा राम्रो प्रदर्शन नहुँदा केही दबाब बढेको छ । अघिल्लो संस्करणमा पनि हामीले अत्यतिर उत्कृष्ट प्रदर्शन गरेका थियौं । त्यसैले आस अझै मरिसकेको छैन । अब बाँकी खेलमा केन्द्रित हुनुपर्छ । अब बढीभन्दा बढी एकदिवसीय खेल खेल्नुपर्छ,’ रोहितले थपे ।
नेपाली टोलीका सल्लाहकार प्रशिक्षक जगत टमाटा पनि क्यानाडा र अमेरिकाको कन्डिसनमा खेल्न नसकेको बताउँछन् । ‘विशेष गरी क्यानाडामा बढी गाह्रो भयो । हामीले त्यहाँको कन्डिसनलाई बुझ्नै सकेनौं । ब्याटरको प्रदर्शन सोचेअनुसार हुन सकेन,’ टमाटाले भने, ‘यता अमेरिकाको घाँसे पिचमा खेल्न पनि चुनौती थियो । तर, खेलाडीले भइसकेपछि परिस्थितिअनुसार आफूलाई तयार पार्नुपर्छ । क्यानडाको तुलनामा उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा भने हाम्रो पक्षमा आएन । यस शृंखलाबाट हामीले धेरै कुरा सिक्ने अवसर पाएका छौं । त्यसलाई आगामी खेलमा लागू गर्नुपर्छ ।’
अघिल्लो संस्करणमा अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै मुस्किलले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको नेपाल अहिले खराब लयबाट गुज्रिइरहेको छ । टोलीले सुरुआती तीन शृंखलामा १२ खेल खेल्दा मात्र दुई जित निकाल्न सकेको छ । नेपालले ८ हार बेहोर्दा २ खेलमा अंक बाँडेको छ । नेपाल ५ अंक जोेड्दै तालिकामा सातौं स्थानमा छ । नेपालभन्दा पछि युएईमात्र छ ।