ट्वान्टी २० विश्वकप: नेपालबाट कस्ले देखायो उत्कृष्ट प्रदर्शन ?

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटमा नेपाल जितविहीन हुँदै स्वदेश फर्के पनि टोलीले विश्व क्रिकेट मञ्चमा आफ्नो प्रभावकारिता देखाएको छ ।

एक दशकपछि ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपालको यात्रा भने समूह चरणबाट अगाडि बढ्न सकेन । अमेरिका र वेस्ट इन्डिजमा भइरहेको प्रतियोगितामा नेपाल बलियो समूहमा परेको थियो ।

सशक्त टोली दक्षिण अफ्रिकासँग जित सामुन्ने पुगेर नेपालले १ रनको सनसनीपूर्ण पराजय सामना गर्नुपर्यो । यो खेलका कारण नेपालले फेरि विश्व क्रिकेटको ध्यान आफूतिर तानेको थियो । नेपाली टोलीको प्रदर्शनले चारैतिर चर्चा र प्रशंसा पाएको थियो ।

दक्षिण अफ्रिकासहित समूह ‘डी’ मा नेदरल्यान्ड्ससँग ६ विकेट र बंगलादेशसँग २१ रनको पराजय बेहोरेको नेपालले वर्षाका कारण श्रीलंकासँग अंक बाँड्नुपरेको थियो । त्यही एक अंक लिएर नेपाली टोलीले विश्वकप यात्रा टुंग्याएको हो ।

कप्तान रोहित पौडेल पनि आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसेकेको स्वीकार्छन् । ‘बलिङमा हामीले उत्कृष्ट प्रदर्शन गर्यौं । ब्याटिङमा भने धेरै सुधार गर्नुपर्ने देखियो । विशेष गरी शीर्षक्रमका ब्याटरले अझै राम्रो गर्न सक्थे । जिम्मेवारीपूर्ण ब्याटिङ आवश्यक छ । खेलको अवस्थाअनुसार रन बनाउन सक्नुपर्छ,’ रोहितले बंगलादेशसँग खेलेपछि भनेका थिए ।  

नेपाली टोलीको प्रदर्शनले मात्र नभएर उल्लेखनिय दर्शकको उपस्थितीले पनि चारै तिर चर्चा बटुलेको थियो । डालासमा नेपाल र नेदरल्यान्ड्सबीको खेलमा सबै टिकट विक्री भएका थिए । यसैगरी न्युयोर्कमा भारी वर्षाका कारण खेल हुन नसके पनि दर्शकको उपस्थिती बाक्लो थियो । वेस्ट इन्डिजमा भएका २ खेलमा पनि उल्लेखनिय दर्शक पुगेका थिए ।

डालासमा नेपालको खेल हेर्न पुगेका दर्शक

बलिङमा उत्कृष्ट प्रदर्शनका बाबजुत ब्याटिङमा पुरानै समस्या दोहोरिँदा नेपाल जितविहीन हुनुपरेको यथार्थता टड्कारो छ ।  नेपालका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । टिकेर मोर्चा सम्हाल्न सकेनन् । सोमपाल कामीबाहेक सबैको यो पहिलो विश्वकप सहभागिता थियो ।

निकै आस गरिएका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेलको ब्याटबाट गतिलोसँग रन निस्किन सकेन । उनीहरूले ३ खेलमा क्रमशः ३६, ३२ र २४ रन मात्र बनाउन सकेका थिए ।

नेपालका लागि सबैभन्दा बढी रन बनाउने ब्याटर आरिफ शेख रहे । उनले ३ खेलमा ७१ बल खेल्दा ९ चौका र १ छक्काको सहयोगमा ६३ रन बनाएका थिए । आरिफले नेदरल्यान्ड्सविरुद्ध ४, दक्षिण अफ्रिकाविरुद्ध ४२ र बंगलादेशविरुद्ध १७ रन बनाएका थिए ।  

दोस्रो स्थानमा रहेका अनिलकुमार साहले ३ खेलमा ३८ बल खेल्दा ३ चौका र १ छक्कासहित ३९ रन जोडे । उनले नेदरल्यान्ड्ससँग ११ र दक्षिण अफ्रिकासँग २७ रन बनाउँदा बंगलादेशसँग भने खाता खोल्न सकेनन् । 

तेस्रो स्थानमा कुशल मल्ल रहे । उनले ३ खेलमा ५२ बल सामना गर्दा समान १ चौका र छक्का मद्दतमा ३८ रन बनाए । उनले नेदरल्यान्ड्सविरुद्ध १२, दक्षिण अफ्रिकाविरुद्ध २४ र बंगलादेशविरुद्ध २ रन बनाए ।

आरिफ शेख

कप्तान रोहित पौडेल पनि आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसेकेको स्वीकार्छन् । ‘बलिङमा हामीले उत्कृष्ट प्रदर्शन गर्यौं । ब्याटिङमा भने धेरै सुधार गर्नुपर्ने देखियो । विशेष गरी शीर्ष क्रमका ब्याटरले अझै राम्रो गर्न सक्थे । जिम्मेवारीपूर्ण ब्याटिङ आवश्यक छ । खेलको अवस्थाअनुसार रन बनाउन सक्नुपर्छ,’ रोहितले बंगलादेशसँग खेलेपछि भनेका थिए ।  

ब्याटिङमा केही समस्याका बाबजुत नेपाली ब्याटरले मुस्ताफिजुर रहमान, तस्किन अहमद कागिसो रवाडा, एनरिच नोत्जे, तावरेज शाम्सी जस्ता विश्वमा नाम चलेका बलविरुद्ध बाउन्ड्री प्रहार गरे ।

यता बलिङमा सन्दीप लामिछानेले खास उपलब्धि हासिल गरे ।  अमेरिकाले भिषा नदिएका कारण वेस्ट इन्डिजमा भएको दुई खेलमा मात्र मौका पाएक सन्दीप ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बने । 

उनले अन्तिम खेलमा बंगलादेशविरुद्ध दुई विकेट लिएसँगै यो उपलब्धि हासिल गरेका हुन् । सन्दीपले तान्जिम हसन सकिब र जाकिर अलीको विकेट लिए ।

उत्कृष्ट प्रदर्शन गरेका नेपाली बलरले सकिब अल हसन, लिटोन दास, क्विनटन डी कक, हेनरिच क्लासेन, डेविड मिलर जस्ता उत्कृष्ट ब्याटरको विकेट लिए ।

नेपालका लागि सर्वाधिक विकेट लिनेमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहे । ३ खेलमा ९.३ ओभर बलिङ गरेका दीपेन्द्रले ४९ रन खर्चिंदै ६ विकेट लिए । उनले नेदरल्यान्ड्ससँग १, दक्षिण अफ्रिकासँग ३ र बंगलादेशसँग २ विकेट लिएका थिए ।

कुशल भुर्लेलले २ खेलमा ८ ओभर बलिङ गर्दै ४१ रन खर्चेर ४ विकेट लिए । कुशलको चारै विकेट दक्षिण अफ्रिकासँग थियो । दक्षिण अफ्रिकाविरुद्धको प्रदर्शन उनको करिअरकै उत्कृष्ट थियो । बंगलादेशसँग विकेटविहीन बनेका कुशलले नेदरल्यान्ड्ससँग बलिङ गरेनन् ।

रोहित पौडेल र सोमपाल कामी

३ खेलबाट ३ विकेटका साथ सोमपाल कामी तेस्रो स्थानमा रहे । ९ ओभर बलिङ गरेका सोमपालले ३४ रन खर्चिए । नेदरल्यान्ड्ससँग १ र बंगलादेशसँग २ विकेट लिएका सोमपाल दक्षिण अफ्रिकासँग भने विकेटविहीन बने ।

यसैगरी रोहित अमेरिका र वेस्ट इन्डिजको वातावरणमा खेल्न केही गाह्रो भएको बताउँ छन् ।

‘विश्वकपमा जानुअघि हाम्रो लक्ष्य सुपर ८ मै पुग्ने थियो । तर अमेरिका र वेस्ट इन्डिजको फरक वातावरणमा हामीलाई खेल्न केही गाह्रो भयो । हामी जित नजिक पुगेर पनि हार्न पुग्यौं । खेलाडीमा अनुभवको पनि कमी देखियो । यो वातावरणमा हामीलाई मात्र होइन विश्वका उत्कृष्ट ब्याटरलाई पनि गाह्रो भइरहेको थियो । राम्रा टोलीसँग नियमित खेल्न पायौं भने अझै राम्रो गर्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ,’ रोहितले भने ।  

भलै स्कोर कार्डमा रन कम देखिए पनि पर्याप्त सुविधा र अवसर प्राप्त गरे नेपाली टोलीले पनि टेस्ट राष्ट्रलाई हराउन सक्छ भन्दै सन्देश छाडेर फर्किएको छ ।

रोहित

नेपालले विश्वकपमा बेहोरेको हारबाट पाठ सिक्दै अबका खेलका लागि योजना बनाउनुपर्छ । नेपाली क्रिकेटका सफल प्रशिक्षकमध्ये एक जगत टमाटा नेपालले सन् २०२६ को विश्वपका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने धारणा राख्छन् ।

‘अब हामीले सन् २०२६ को विश्वकपको तयारीका जुट्नुपर्छ । अहिलेको घरेलु तथा भौतिक संरचनाले पुग्दैन । नेपालले ग्रासरुट मात्र नभएर पहिलो श्रेणीको क्रिकेटमा पनि ध्यान दिनुपर्छ । कम्तीमा पनि एउटा फ्लडलाइट भएको मैदान चाहिन्छ । ठुल्ठूला राष्ट्रसँग खेल्ने वातावरण मिलाउनुपर्छ । अब विश्वकप खेल्न अर्को १० वर्ष कुर्नु नपरोस्,’ टमाटाको कामना छ ।

 

 

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar