विश्वकपका हालसम्मका संस्करण

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको आठौं संस्करण आइतबारदेखि वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । १० मैदानमा हुने प्रतियोगितामा २० टोलीले सहभागिता जनाउँदैछन् । ट्वान्टी-२० विश्वकपमा पहिलो पटक २० टोलीले सहभागिता जनाउन लागेका हुन् ।

हालसम्म विश्वकपका आठ संस्करण सकिँदा वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई तथा भारत, पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले समान  १ पटक उपाधि उचालेका छन् ।

प्रतियोगितामा ११ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयरल्यान्ड तथा ९ एसोसिएट राष्ट्रय, अमेरिका, नेपाल, क्यानाडा, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, नामिबिया, ओमान र स्कटल्यान्डले सहभागिता जनाउने छन् ।

अमेरिका, क्यानाडा र युगान्डका लागि यो डेब्यू विश्वकप हो । यस्तै अघिल्लो संस्करण खेलेका जिम्बावे र युएई अनुस्थित हुँदा नेपाल ३ तथा पपुवा न्युगिनी १ संस्कणपछि विश्वकपमा फर्किएका छन् ।

हालसम्म विश्वकपका आठ संस्करण सकिँदा वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई तथा भारत, पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले समान  १ पटक उपाधि उचालेका छन् ।

यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपका हालसम्मका संस्करण

पहिलो संस्करण
ट्वान्टी-२० विश्वकपको पहिलो संस्करण आयोजना गर्ने जिम्वेवारी दक्षिण अफ्रिकाले पाएको थियो । प्रतियोगिता सन् २००७ को सेप्टेम्बर ११ देखि २४ सम्म भएको थियो । तीन मैदानमा भएको प्रतियोगितामा १२ राष्ट्रले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा १० टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र जिम्बावे तथा दुई एसोसिएट राष्ट्र केन्या र स्टकल्यान्डले सहभागिता जनाए ।

प्रतियोगिताको उपाधिका लागि चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिडेका थिए । किंग्समीड क्रिकेट मैदानमा भएको फाइनल निकै रोमाञ्चक बनेको थियो ।

पाकिस्तानलाई ५ रनले पराजित गर्दै भारत पहिलो संस्करणको च्याम्पियन बन्यो । भारतले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको पाकिस्तान तीन बल बाँकी छँदा १५२ रनमै समेटियो ।

कुल २७ खेल भएको प्रतियोगितामा १ शतक र २१ अर्धशतक प्रहार भए । एक मात्र शतक वेस्ट इन्डिका क्रिस गेलले उद्घाटन खेलमा घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध प्रहार गरेका थिए ।

प्रतियोगितामा पाकिस्तानका साहिद अफ्रिदी सर्वोकृष्ट खेलाडी घोषित भए । यसैगरी अस्ट्रेलियाका म्याथ्यु हाइडेन उच्च रन तथा पाकिस्तानका उमर गुल उच्च विकेटकर्ता बने ।

दोस्रो संस्करण 
दोस्रो संस्करणको आयोजना गर्ने जिम्मेवारी क्रिकेटको जन्मदाता इङ्ल्यान्डले पायो । प्रतियोगिता सन् २००९ जुन ५ देखि २१ सम्म तीन मैदानमा भएको थियो ।

प्रतियोगितामा ९ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश रे तथा तनि एसोसिएट राष्ट्र स्टकल्यान्ड, नेदरल्यान्ड्स र आयरल्यान्डले सहभागिता जनाए ।

पहिलो संस्करणमा सहभागी जिम्बावे केन्या उनुपस्थित हुँदा नेदरल्यान्ड्स र आयरल्यान्डका लागि यो डेब्यू विश्वकप थियो । प्रतियोगिताको उपाधिका लागि पाकिस्तान र श्रीलंका प्रतिस्पर्धा गरेका थिए ।

पाकिस्तानले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउँदा श्रीलंका पहिलो पटक उपाधि नजिक पुगेको थियो । लर्डस क्रिकेट मैदानमा श्रीलंकाविरुद्ध आठ विकेटको जित निकाल्दै पाकिस्तान पहिलो पटक विश्व च्याम्पियन बन्यो ।

श्रीलंकाले प्रस्तुत गरेको १३९ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । कुल २७ खेल भएको प्रतियोगितामा २८ अर्धशत प्रहार भए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र उच्च रनकर्ता श्रीलंकाका तिलकरत्ने दिलसन चुनिए । यसैगरी पाकिस्तानका उमर गुल उच्च विकेटकर्ता बने ।

तेस्रो संस्करण
तेस्रो संस्करणको आयोजना जिम्मेवारी वेस्ट इन्डिजलाई दिइएको थियो । प्रतियोगिताका तीन मैदानमा २०१० अप्रिल ३० देखि मे १६ सम्म भएको थियो ।

प्रतियोगितामा १० टेस्ट राष्ट्र, दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र जिम्बावे तथा दुई एसोसिएट राष्ट्र अफगानिस्तान र आयरल्यान्डले सहभागिता जनाए ।

अघिल्लो संस्करणमा सहभागी स्कटल्यान्ड र नेदल्यान्ड्स अनुस्थित हुँदा जिम्बावे र अफगानिस्तान थपिएका थिए । जिम्बावे एक संस्करण अनुस्थितिपछि फर्किदाँ अफगानिस्तानका लागि यो डेब्यू विश्वकप थियो । प्रतियोगिताको उपाधिका लागि इङ्ल्यान्ड र अस्ट्रेलिया भिडेका थिए । दुवै टोलीले पहिलो पटक फाइनलमा स्थान बनाएका थिए ।

अस्ट्रेलियाविरुद्ध ७ विकेटको जित निकाल्दै इङ्ल्यान्ड पहिलो पटक विश्व च्याम्पियन बन्यो । केन्सिङ्टन ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४८ रनको लक्ष्य इङ्ल्यान्डले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

प्रतियोगितमा कुल २७ खेल हुँदा २१ अर्धशतक र २ शतक प्रहार भए ।  श्रीलंकाका माहेला जयवर्दनेले जिम्बावे र भारतका सुरेश रैनाले दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेका थिए ।

प्रतियोगितामा इङ्ल्यान्डका केभिन पिटरसन सर्वोकृष्ट खेलाडी घोषित भए । यसैगरी श्रीलंकाका माहेला जयवर्दने उच्च रन तथा अस्ट्रेलियाका ड्रिक नानेस उच्च विकेटकर्ता बने ।

चौथो संस्करण 
चौथो संस्करण सन् २०१२ मा श्रीलंकाले आयोजना गरेको थियो । प्रतियोगिता सेप्टेम्बर १८ देखि अक्टोबर ७ सम्म तीन मैदानमा भएको थियो । प्रतियोगितामा १० टेस्ट राष्ट्र, दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र जिम्बावे तथा दुई एसोसिएट राष्ट्र आयरल्यान्ड र अफगानिस्तानले सहभागिता जनाए । 

प्रतियोगिताको उपाधिका लागि श्रीलंका र वेस्ट इन्डिज भिडेका थिए । श्रीलंका दोस्रो र वेस्ट इन्डिज पहिलो पटक फाइनलमा पुगेका थिए । आरप्रेमादासा क्रिकेट मैदानमा घरेलु टोली श्रीलंकाविरुद्ध ३६ रनको जित निकाल्दै वेस्ट इन्डिज पहिलो पटक विश्व च्याम्पियन बन्यो ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको १३८ रनको लक्ष्य पछ्याएको श्रीलंका १८.४ ओभरमा १०१ रनमै समेटियो । कुल २७ खेल भएको प्रतियोगितामा २९ अर्धशतक र १ शतक प्रहार भए । एक मात्र शतक न्युजिल्यान्डका ब्रेन्डन म्याकुलमले बंगलादेशविरुद्ध प्रहार गरेका थिए ।

अस्ट्रेलियाका सेन वाट्सन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र उच्च रनकर्ता घोषित भए । श्रीलंकाका अजन्था मेन्डिस उच्च विकेटकर्ता बने ।

पाँचौं संस्करण
पाँचौं संस्करण सन् २०१४ मार्च १६ देखि अप्रिल ६ सम्म बंगलादेशमा भएको थियो । तीन मैदानमा भएको प्रतियोगितामा १० टेस्ट र ६ एसोसिएट राष्ट्रयले सहभागिता जनाएका थिए ।

१६ राष्ट्रले सहभागिता जनाएको यो पहिलो विश्वकप हो । अघिल्ला चार संस्करणमा १२ राष्ट्र सहभागी थिए । टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र जिम्बावे तथा एसोसिएट राष्ट्र नेपाल, आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, हङकङ र युएईले सहभागिता जनाए ।

अघिल्लो संस्करण खेलेका टोलीमा नेपाल, नेदरल्यान्ड्स, हङकङ र युएई थपिएका थिए । नेदरल्यान्ड्स दुई संस्करणपछि फर्किदा नेपाल, हङकङ र युएईका लागि यो डेब्यू विश्वकप थियो ।

नेपालले डेब्यूमै राम्रो प्रदर्शन गरे पनि पहिलो चरणमै सिमित बन्यो । पहिलो चरणमा नेपालले हङकङलाई ८० र अफगानिस्तानलाई ९ रनले पराजित गर्दा बंगलादेशसँग ८ विकेटको हार ब्यहोरेको थियो ।

उपाधिका लागि श्रीलंका र भारत आमने सामने भए । श्रीलंका तेस्रो र भारत दोस्रो पटक फाइनलमा पुगेका थिए । 

शेर- बंगाल राष्ट्रिय क्रिकेट मैदानमा भारतलाई ६ विकेटले पराजित गर्दै श्रीलंका पहिलो पटक च्याम्पियन बन्यो । भारतले प्रस्तुत गरेको १३१ रनको लक्ष्य श्रीलंकाले १७.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

प्रतियोगितामा कुल ३५ खेल हुँदा ३० अर्धशतक र दुई शतक प्रहार भए । इङ्ल्यान्डका एलेक्स हेल्सले श्रीलंका र पाकिस्तानका अहमद शेहजादले बंगलादेशविरुद्ध शतक प्रहार गरे ।

भारतका विराट कोहली प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र उच्च रनकर्ता चुनिए । यसैगरी दक्षिण अफ्रिकाका इम्रान ताहिर उच्च विकेटकर्ता बने ।

छैटौं संस्करण
छैटौं संस्करणको आयोजना गर्ने जिम्मेवारी भारतले प्राप्त गरेको थियो । प्रतियोगिता २०१६ मार्च ८ देखि अप्रिल ३ सम्म ७ मैदानमा भएको थियो ।

१० टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र जिम्बावे तथा  ६ एसोसिएट राष्ट्र आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, हङकङ, नेदरल्यान्ड्स र ओमानले सहभागिता जनाए ।

स्कटल्यान्ड तीन संस्करणको अनुस्थितिपछि फर्किदा ओमानका लागि यो डेब्यू विश्वकप थियो ।अघिल्लो संस्करण खेलेका नेपाल र युएईले भने यस पटक विश्वकपमा स्थान बनाउन सकेनन् ।

प्रतियोगिताको उपाधिका लागि वेस्ट इन्डिज र इङ्ल्यान्ड भिडेका थिए । दुवै टोलीले दोस्रो पटक फाइनलमा स्थान बनाएका थिए ।

इडेन गार्डेन क्रिकेट मैदानमा इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै वेस्ट इन्डिज दुई पटक उपाधि जित्ने पहिलो राष्ट्र बन्यो ।

इङ्ल्यान्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य वेस्ट इन्डिजले २ बल बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

कुल ३५ खेल भएको प्रतियोगितामा २६ अर्धशतक र २ शतक प्रहार भए । बंगलादेशका तमिम इक्बालले ओमान र वेस्ट इन्डिजका क्रिस गेलले इङ्ल्यान्डविरुद्ध शतक प्रहार गरेका थिए ।

भारतका विराट कोहली प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । यसैगरी बंगलादेशका तमिम इक्बाल उच्च रन तथा अफगानिस्तानका मोहम्मद नाबी उच्च विकेटकर्ता बने ।

सातौं संस्करण
सातौं संस्करणको आयोजना गर्ने जिम्मेवारी पनि भारतले नै पाएको थियो । तर कोरोना महामारीका कारण प्रतियोगिता युएई र ओमानमा सन् २०२१ अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म भयो ।

प्रतियोगितामा ११ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, आयरल्यान्ड र अफगानिस्तान तथा ५ एसोसिएट राष्ट्र स्कटल्यान्ड, ओमान, पपुवा न्युगिनी, नेदरल्यान्ड्स र नामिबियाले सहभागिता जनाए ।

अघिल्लो संस्करणमा सहभागिता जनाएका जिम्बावे र हङकङले यसपटक स्थान बनाउन सकेनन् । नयाँ टोलीका रूपमा थपिएका नामिबिया र पपुवा न्युगिनिका लागि यो डेब्यू विश्वकप थियो ।

प्रतियोगिताको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्ड भिडेका थिए । अस्ट्रेलिया दोस्रो र न्युजिल्यान्ड पहिलो पटक फाइनल पुगेका थिए ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्यान्डलाई  आठ विकेटले पराजित गर्दै अस्ट्रेलिया पहिलो पटक विश्व च्याम्पियन बन्यो ।

न्युजिल्यान्डले प्रस्तुत गरेको १७३ रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

४५ खेल भएको प्रतियोगितामा ३९ अर्धशतक र १ शतक प्रहार भए । प्रतियोगिताको एक मात्र शतक इङ्ल्यान्डका जोस बट्लरले श्रीलंकाविरुद्ध प्रहार गरेका थिए । 

प्रतियोगितामा अस्ट्रेलियाका डेविड वार्नर सर्वोकृष्ट खेलाडी घोषित भए । यसैगरी पाकिस्तानका बाबर आजम उच्च रनकर्ता तथा श्रीलंकका वानिन्दु हसरंगा उच्च विकेटकर्ता बने ।

आठौं संस्करण

आठौं संस्करणको विश्वकप सन् २०२२ अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा भएको थियो । ७ मैदानमा भएको प्रतियोगितामा १२ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, आयरल्यान्ड, जिम्बावे र अफगानिस्तान तथा चार एसोसिएट राष्ट्र स्कटल्यान्ड, युएई नेदरल्यान्ड्स र नामिबियाले सहभागिता जनाए ।

अघिल्लो संस्करण खेलेका ओमान र पपुवा न्युगिनी अनुपस्थित हुँदा युएई र जिम्बावे विश्वकपमा फर्किएका थिए ।

प्रतियोगिताको उपाधिका लागि इङ्ल्यान्ड र पाकिस्तान प्रतिस्पर्धा गरेका थिए । दुवै टोली तेस्रो पटक फाइनल पुगेका थिए ।

मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्ड दोस्रो पटक च्याम्पियन बन्यो ।

पाकिस्तानले प्रस्तुत गरेको १३८ रनको लक्ष्य इङ्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

४५ खेल भएको प्रतियोगितामा ४१ अर्धशतक र २ शतक प्रहार भए । न्युजिल्यान्डका ग्लेन फिलिप्सले श्रीलंका र दक्षिण अफ्रिकाका राइली रुसोले बंगलादेशविरुद्ध शतक प्रहार गरेका थिए ।

प्रतियोगितामा इङ्ल्यान्डका साम करन सर्वोकृष्ट खेलाडी चुनिए । भारतका विराट कोहली उच्च रनकर्ता र श्रीलंकका वानिन्दु हसरंगा उच्च विकेटकर्ता बने ।

 

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar