मंसिर ६, २०८१ बिहीबार | १५:४२:५१
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन नेपाली क्रिकेट

क्रिकेटको व्यस्त र मस्त वर्ष

काठमाडौं । नेपाली क्यालेन्डरमा आजबाट वर्ष २०८१ को रूपमा नयाँ पात्रो फेरिएको छ । स्वभाविक रूपमा नयाँ आशा र उत्साहको सञ्चार गराउँदै नयाँ वर्षको स्वागत गरिरहँदा जुन कुनै क्षेत्रको बितेको वर्षको समीक्षा सान्दर्भिक हुन्छ । बितेको वर्ष भएका कमजोरीबाट पाठ सिक्दै हासिल गरेका उपलब्धिलाई अझ फराकिलो पार्न समीक्षा जरुरी पनि रहन्छ ।

बितेका १२ महिनातिर फर्किने हो भने क्रिकेट एउटा यस्तो खेल हो, जसले पूरा वर्षभरी नै नेपाली खेलकुदलाई उर्जा प्रदान गरिरह्यो । ठूला अन्तर्राष्ट्रिय मञ्चहरूमा सधैं नेपाली झण्डाको उपस्थिति सार्थक र गौरवमय बनाइरह्यो । बितेको वर्षतिर फर्कंदा सधैं सम्झिइरहूँ जस्तो लाग्ने उपलब्धि बनायो ।

इतिहासमै दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट हुने उपलब्धि नेपाली क्रिकेटलाई वष २०८० ले नै प्रदान गर्यो । भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका सदाबहार महारथी छिमेकीहरूसँग खेल्न भनेर नेपाली क्रिकेटले दशकौंदेखि देखेको सपना पनि वर्ष २०८० ले नै पूरा गर्यो । त्यो पनि सम्मानजनक तरिकामा ।

यो वर्ष नेपालको पुरुष टोलीले मुख्य रूपमा एसिसी प्रिमियर कप, आइसिसी एकदिवसीय विश्वकप छनोट, आइसिसी ट्वान्टी–२० विश्वकप छनोट, एसिसी इमर्जिङ टिम्स एसिया कप, एसिसी एसिया कप, एसियन गेम्स र आइसिसी विश्वकप लिग २ को पहिलो शृंखलाजस्ता अति विशिष्ट प्रतियोगिताहरू खेल्यो ।

त्यसमध्ये एसिसी प्रिमियर कपमा च्याम्पियन बन्नुका साथै आइसिसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको फाइनल पुगेर नेपाली टोली विश्वकपलाई छानियो । नेपाल यसअघि सन २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपमा सहभागी भएको थियो । यसपालि विश्वकप अमेरिका र वेस्ट इन्डिजमा जुन ४ देखि सुरु हुनेछ ।

यसबीचमा केही अन्तर्राष्ट्रिय तथा अनौपचारिक शृंखलाहरूमा नेपाली टोलीको सहभागिता रह्यो । मैदानभित्र नेपाली क्रिकेट इतिहासमै पहिलो पटक नेपाल ‘ए’ टिम स्थापना गरियो । त्यसले केही शृंखलामा पनि सहभागिता जनायो ।

नेपाली पुरुष टोलीका लागि वर्ष २०८० ले एउटा अनौठो संयोग पनि प्रदान गर्यो । टोलीका लागि बितेको वर्ष एसिसी प्रिमियर कपबाट सुरु भएर सोही प्रतियोगिताबाट समाप्त भएको छ । अर्को अझै रमाइलो संयोग वर्षको पहिलो र अन्तिम खेलको प्रतिद्वन्द्वी पनि उही मलेसिया ।

नेपालले वर्षको पहिलो अन्तर्राष्ट्रिय खेल वैशाख ५ मा मलेसियासँग खेलेको थियो । वर्षको अन्त्य पनि नेपालले मलेसियासँगै चैत ३० गते खेलेर गर्यो ।

एसिसी प्रिमियर कप नेपालले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्ने अवसर प्राप्त गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानमा वैशाख ५ देखि १९ सम्म भएको प्रतियोगितामा १० टोली सहभागी थिए । समूह ‘ए’ मा नेपालसँगै मलेसिया, ओमान, साउदी अरेबिया र कतार तथा समूह ‘बी’ मा युएई, कुवेत, हङकङ, बहराइन र सिंगापुर थिए ।

नेपाल अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बन्यो । प्रतियोगितामा नेपालले ६ खेल खेल्दा ४ जित निकालेको थियो । दुई खेल भने विना नतिजा टुंगियो । नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले पराजित गरेको थियो । साउदी अरेबियासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यसैगरी कुवेतविरुद्धको सेमिफाइनल पनि वर्षाका कारण सम्भव नभएपछि नेपाल समूह विजेताको हैसियतमा फाइनल प्रवेश गरेको थियो । फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्यो । च्याम्पियन बनेसँगै नेपाल एसिसी एसिया कपका लागि छनोट भएको थियो ।

यसैगरी यो प्रतियोगिताका शीर्ष तीन टोली नेपाल, युएई र ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि पनि छानिए । प्रतियोगिताअघि वैशाख २ मा भएको अभ्यास खेलमा पनि नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको थियो । यो खेलले भने अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन ।

आइसिसी एकदिवसीय विश्वकप छनोट नेपालले जेठ ४ देखि २६ सम्म जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोबल क्वालिफायर)मा सहभागिता जनाएको थियो । नेपालले आइसिसी विश्वकप लिग २ मा तेस्रो स्थानमा रहँदै सिधै विश्वकप छनोट खेल्ने अवसर पाएको हो ।

१० राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा श्रीलंका, स्कटल्यान्ड, ओमान, आयरल्यान्ड र युएई थिए ।

प्रतियोगितामा नेपालले ६ खेल खेल्दा २ जित र ४ हारको नतिजा निकाल्यो । समूह चरणमा जिम्बावेसँग ८ विकेट, वेस्ट इन्डिजसँग १०१ रन र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।

यसैगरी प्लेअफमा युएईलाई ३ विकेटले हराएको नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित भयो । प्रतियोगिताअघिको अभ्यास खेलमा नेपालले युएईलाई ३ र ओमानलाई २ विकेटले पराजित गरेको थियो ।

एसिसी इमर्जिङ टिम्स कप  असार २८ देखि साउन ७ सम्म श्रीलंकाले एसिसी इमिर्जिङ टिम्स एसिया कपको आयोजना गरेको थियो । नेपाल एसिसी प्रिमियर कपको शीर्ष स्थानमा रहँदै यो प्रतियोगिताका लागि छनोट भएको थियो ।

प्रतियोगितामा ८ टोली सहभागी थिए । समूह ‘बी’मा नेपालसँगै भारत, पाकिस्तान र युएई तथा समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान थिए । प्रतियोगितामा नेपालबाहेक अन्य देशका ‘ए’ टोलीले सहभागिता जनाएको थियो ।

नेपालले ३ खेल खेल्दा २ हार र १ जितको नतिजा निकाल्यो । पाकिस्तानसँग ४ र भारतसँग ९ विकेटले पराजित नेपालले युएईलाई ३ विकेटले हराएको थियो ।

एसिसी एसिया कप नेपालले भदौ १३ देखि २१ सम्म पाकिस्तान र श्रीलंकामा भएको एसिसी एसिया कप बितेको वर्ष नेपाली क्रिकेटले स्मरण गरिरहने प्रतियोगिता बन्यो ।

सन् २००१ मा नै नेपाल यो प्रतियोगिताका लागि छनोट भएको थियो । तर, दक्षिण एसियाको खराब भू–राजनीतिक अवस्थाका कारण उतिबेला प्रतियोगिता स्थगित हुँदा भारत र पाकिस्तानजस्ता महारथीसँग खेल्ने नेपाली क्रिकेटको सपना अधुरै रहेको थियो । जुन यसपालि पूरा भयो । नेपालले एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कप खेलेको हो ।

६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, पाकिस्तान र भारत तथा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान थिए । प्रतियोगितामा नेपालले खेलेका दुवै खेलमा पराजित भयो । नेपालले पाकिस्तानसँग २३८ रन र भारतसँग १० विकेटको पराजय बेहोरेको थियो ।

पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २४२ रन बनाएको थियो । बाबर आजम १५१ र इफ्तिखर अहमदले १०६ रन बनाएका थिए । नेपालका लागि सोमपाल कामीले २ तथा करण केसी र सन्दीप लामिछानेले समान १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो । नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुलसन झाले १३ रन बनाए । पाकिस्तानबाट शादब खानले सर्वाधिक ४ विकेट लिए ।

श्रीलंकाको पाल्लेके अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए ।  भारतबाट मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान २ विकेट लिए ।

वर्षा बाधक बन्दा २३ ओभरमा झारिएको खेलमा भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो ।  उक्त लक्ष्य भारतले २०.१ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन बनाएका थिए ।

एसियाली खेलकुद  असोज ६ देखि २१ सम्म चीनमा भएको हाङचाउ एसियाली खेलकुदअन्तर्गत पुरुष ट्वान्टी–२० क्रिकेटमा नेपालले ३ खेल खेल्दा २ जित र १ हार नतिजा निकाल्यो ।

भारतको जुनियर टिमसँग खेल्ने मौका पाएकाले नेपालका लागि त्यो प्रतियोगिताको सहभागिता महत्त्वपूर्ण साबित भयो । समूह चरणमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको नेपाल क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित भएपछि पदकको नजिक पुग्न सकेन । यद्यपि नेपालले थुप्रै विश्व कीर्तिमान स्थापित गरेको थियो ।

त्रिकोणात्मक ट्वान्टी–२० शृंखला नेपालले कात्तिक १ देखि १० सम्म त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला आयोजना गरेको थियो । कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा भएको शृंखलामा नेपालसँगै युएई र हङकङ सहभागी थिए ।

शृंखलामा नेपालले ५ खेल खेल्दा ४ जित र १ हारको नतिजा निकाल्यो । नेपालले लिग चरणमा युएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो । फाइनलमा भने नेपाल युएईसँग ४ विकेटले पराजित भयो ।

आइसिसी ट्वान्टी–२० विश्वकप, एसिया छनोट  नेपालले कात्तिक १३ देखि १९ सम्म आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको आयोजना गरेको थियो । कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा भएको प्रतियोगितामा ८ टोलीले सहभागिता जनाएका थिए ।

समूह ‘ए’ मा नेपाल, ओमान, मलेसिया र सिंगापुर तथा समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत थिए । नेपालले प्रतियोगितामा ५ खेल खेल्दा ३ जित र २ हारको नतिजा निकाल्यो । समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाली टोली ओमानसँग भने ५ रनले पराजित भयो ।

सेमिफाइनलमा युएईलाई ८ विकेटले हराएको नेपाल फाइनलमा भने फेरि ओमानसँग सुपर ओभरमा पराजित भयो । फाइनलमा पराजित भए पनि नेपालले ट्वान्टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो । विश्वकप जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ ।

नेपाल–क्यानडाबीच एकदिवसीय शृंखला नेपालले कीर्तिपुरस्थिति क्रिकेट मैदानमा क्यानडासँग ३ खेलको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला खेलेको थियो । माघ २५ देखि २९ सम्म भएको शृंखला नेपालले ‘क्लिन स्विप’ गर्यो । नेपालले शृंखलामा ७ रन, ४ विकेट र ९ विकेटको जित निकाल्यो ।

आइसिसी विश्वकप लिग–२ आइसिसी विश्वकप लिग २ को पहिलो त्रिकोणात्मक अन्तर्राष्ट्रिय शृंखला नेपालमा भएको थियो । फागुन ३ देखि १३ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको शृंखलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी थिए ।

शृंखलामा नेपालको प्रदर्शन सन्तोषजनक रहन सकेन । नेपालले ४ खेल खेल्दा १ मात्र जित निकाल्यो । नेपालले नेदरल्याड्ससँग ८ विकेट र २ रनको पराजय बेहोर्यो । नामिबियासँग पहिलो खेलमा २० रनले पराजित हुँदा नेपाल दोस्रो खेलमा ३ रनको जित निकाल्न सफल भयो ।  

त्रिकोणात्मक ट्वान्टी–२० शृंखला नेपालले आइसिसी विश्वकप लिग–२ लगत्तै नेदरल्यान्ड्स र नामिबियासम्मिलित अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला आयोजना गरेको थियो । फागुन १५ देखि २२ सम्म भएको प्रतियोगितामा ५ खेल खेल्दा नेपालले २ जित र ३ हारको नतिजा निकाल्यो ।

लिग चरणको सुरुआती दुई खेलमा नेपाल नामिबियासँग २० रन र नेदरल्याड्ससँग २ रनले पराजित भएको थियो । पछिल्ला दुई खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो ।  फाइनलमा भने नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले निराश बन्यो ।

हङकङसँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल  

नेपालले फागुन २६ मा घरेलु टोली हङकङसँग एकमात्र ट्वान्टी–२० खेल खेलको थियो । त्यसमा नेपाल ७३ रनले पराजित भयो । त्यसपछि नेपाल, हङकङ, पपुवा न्युगिनी (पिएनजी) बीच ट्वान्टी–२० शृंखला भएको थियो ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण हुन सकेन । दोस्रो खेलमा नेपालले पिएनजीलाई ८५ रनले पराजित गर्दा फाइनलमा पिएनजीसँगै ८६ रनको हार बेहोरेका थियो । यी दुई खेल अन्तर्राष्ट्रिय मान्यताप्राप्त भने थिएन ।

आयरल्यान्ड ‘ए’ विरुद्ध अनौपचारिक ट्वान्टी–२० शृंखला 

नेपाली क्रिकेटको व्यस्त तालिका त्यतिमै सीमित रहेन । टोलीले चैत १२ र १३ मा आयरल्यान्ड ‘ए’ विरुद्ध दुई खेलको अनौपचारिक ट्वान्टी–२० शृंखला खेल्यो । त्यसमा नेपाल ६ विकेट र ७१ रनले विजयी भयो ।

 एसएमएस फ्रेन्डसिप कप

नेपालले चैत १८ देखि २५ सम्म भारतमा गुजरात र बरोडा क्रिकेट संघसँग एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेलेको थियो । विश्वकप खेल्ने तयारीमा रहेको नेपालले कमजोर प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिँदा प्रतियोगिताका ५ खेलमा ४ जित र १ हारको नतिजा निकाल्यो ।

समूह चरणमा नेपालले गुजरातलाई ८ विकेट र ८ रनले पराजित गरेको थियो । बरोडा क्रिकेट संघलाई २७ रनको नतिजामा हराएको नेपाल समूह चरणको अन्तिम खेलमा भने बरोडासँगै ३७ रनले निराश बनेको थियो । फाइनलमा गुजरातमाथि १८ रनको जित निकाल्दै नेपाल च्याम्पियन बन्यो ।  

नेपाल ‘ए’ टिम निर्माण 

नेपाली क्रिकेटमा राष्ट्रिय टोली छनोटको पुल फराकिलो पार्ने उद्देश्यका साथ पहिलो पटक नेपाल ‘ए’ को अवधारणा यही बितेको वर्ष स्थापित भयो ।

भेट्रान विनोद भण्डारीको कप्तानीमा बनेको इतिहासकै पहिलो नेपाल ‘ए’ क्यानडाको सिनियर टोली र आयरल्यान्ड ‘ए’ सँग गरी दुई शृंखला खेल्यो ।

कुल ९ खेल खेल्ने क्रममा नेपाल ‘ए’ ले राष्ट्रिय टोलीको विकल्पका रूपमा लिइने दोस्रो टिम स्थापनाको दुई महिनामै ९ खेल खेल्यो । ५० ओभरका ६ र २० ओभरका तीन खेल खेल्ने क्रममा नेपालको नतिजा २ जित र ७ हारको थियो । नेपाल ‘ए’ ले ५० ओभरको शृंखलामा क्यानडा तथा २० ओभरको शृंखलामा आयरल्यान्ड ‘ए’ लाई एक÷एक खेलमा हराएको थियो । बाँकी सबै खेलमा नेपाल ‘ए’ पराजित भयो ।

नेपाल ‘ए’ ले मूलपानी क्रिकेट मैदानमा फागुन ६ देखि १० सम्म क्यानडासँग ३ खेलको एकदिवसीय शृंखला खेलेको थियो ।

विश्वकपको तयारीमा रहेको क्यानडाविरुद्धको शृंखला नेपालले २–१ को नतिजामा गुमायो । पहिलो खेलमा ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा २ विकेटको जित निकाल्यो । तर शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ४ विकेटले मात खाएको थियो ।

नेपाल ‘ए’ ले त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ सँग समान तीन खेलको ट्वान्टी–२० र एकदिवसीय शृंखला खेल्यो । चैत १६ देखि १९ सम्म भएको ट्वान्टी २० शृंखला नेपालले २–१ ले गुमायो ।

सुरुआती दुई खेल २१ रन र ४० रनको नतिजामा गुमाएको नेपालले तेस्रो तथा अन्तिम खेलमा भने ३ रनको रोमाञ्चक जित निकाल्यो । चैत २१ देखि २५ सम्म भएको एकदिवसीय शृंखलामा भने नेपालले ‘क्लिन स्विप’ बेहोरेको थियो । शृंखलामा नेपाल २१ रन, ११४ रन र ६९ रनले पराजित भएको थियो ।

महिला क्रिकेट  

महिला राष्ट्रिय टोली पनि विगत वर्षमा भन्दा यो वर्ष बढी व्यस्त रह्यो । समग्रमा वर्ष २०८० मा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले कुल २४ अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेल खेल्दा १६ जित हासिल गर्यो । ७ खेलमा नेपाल पराजित भयो भने एक खेल वर्षाका कारण हुन सकेन ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोट, एसिसी प्रिमियर कपका साथै मलेसिया र हङकङमा शृंखला खेल्यो ।

मलेसियासँग ट्वान्टी–२० शृंखला नेपाली महिला टोलीले असार १४ देखि १९ सम्म घरेलु टोली मलेसियासँग ५ खेलको अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला खेल्यो । जसमा नेपाल ३–२ ले शृंखला जित्न सफल भयो । पहिलो खेल ५ विकेटले गुमाएको नेपालले त्यसपछिका दुई खेलमा ७ विकेट र २७ रनको विजय नतिजा आफ्नो पक्षमा पर्यो ।

चौथो खेल भने नेपालले ४ विकेटले गुमायो । पाँचौं तथा निर्णायक खेलमा ३ विकेटको जित निकाल्दै नेपालले शृंखलामाथि कब्जा जमाएको थियो ।

नेपालले मलेसियामै भदौ ५ देखि ९ सम्म चार देशसम्मिलित अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला खेल्यो । उक्त शृंखलामा नेपाल, मलेसिया, हङकङ र कुवेत सहभागी थिए । प्रतियोगितामा ४ खेल खेल्दा ३ जित र १ हारको नतिजासहित नेपाल च्याम्पियन बन्यो ।

लिग चरणमा हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको नेपाल मलेसियासँग ६ विकेटले पराजित भयो ।  फाइनलमा हङकङलाई १३ रनले हराउँदै नेपाल च्याम्पियन बन्यो ।

आइसिसी ट्वान्टी–२० विश्वकप छनोट 

नेपाली महिला टोलीले भदौ १४ देखि २३ सम्म मलेसियमा आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा सहभागिता जनाएको थियो ।

प्रतियोगितामा सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपाल, युएई, भुटान, मलेसिया, बहराइन र कतार तथा समूह ‘बी’ मा थाइल्यान्ड, हङकङ, कुवेत, चीन र म्यानमार थिए ।

प्रतियोगितामा ६ खेल खेल्दा नेपालले ४ जित र १ हारको नतिजा निकाल्यो । १ खेल भने विना नतिजा टुंगिएको थियो । समूह चरणमा नेपालले मलेसियालाई ५ रन, बहराइनलाई १० रन, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गरेको थियो । युएईसँगको खेल भने वर्षाका कारण हुन सकेन ।

नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएको थियो । सेमिफाइनलमा पराजित भएपछि विश्वकप खेल्ने नेपाली महिला टोलीको अभियानमा तत्कालका लागि तगारो लाग्यो ।

चार देशसम्मिलित ट्वान्टी–२० शृंखला नेपालले कात्तिक ३० देखि मंसिर ३ सम्म हङकङमा ४ देशसम्मिलित अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला खेल्यो । प्रतियोगितामा ४ खेल खेलेको नेपालले समान २ जित र २ हारको नतिजा निकाल्यो ।

समूह चरणमा तान्जानियासँग २७ रन तथा हङकङसँग ९ विकेटले पराजित भएको नेपालले जापानलाई ६७ रनले हराएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपालले जापानलाई ४५ रनले पराजित गरेको थियो ।

एसिसी महिला प्रिमियर कप मलेसियाले माघ २६ देखि फागुन ६ सम्म एसिसी महिला प्रिमियर कप ट्वान्टी–२० प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो ।

समूह ‘ए’ मा थाइल्यान्ड, कुवेत, म्यानमार र सिंगापुर तथा ‘बी’ मा युएई, जापान, चीन र ओमान थिए । समूह ‘सी’ मा मलेसिया, इन्डोनेसिया, कतार र बहराइन तथा समूह ‘डी’ मा नेपाल, हङकङ, भुटान र माल्दिभ्स थिए ।

समूह चरणमा नेपालले हङकङ र भुटानलाई समान ८ विकेट तथा माल्दिभ्सलाई २१४ रनले पराजित गरेको थियो । क्वाटरफाइनलमा नेपालले कुवेतालाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८ विकेटले हरायो । सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित हुँदा नेपालको यात्रा अघि बढ्न सकेन ।

नेपाली महिला एसिया कपमाएसिसीले  प्रिमियर कपको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुने प्रवाधान बनाएको थियो थियो ।

प्रतियोगितामा सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो । उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मलेसिया र युएईले सीधै एसिया कप खेल्ने अवसर पाएका थिए । तर, चैत १३ गते एसीसीले एसिया कपमा प्रतिस्पर्धा गर्ने टिमको संख्या ८ पुर्याएपछि प्रिमियर कपको सेमिफाइनल पुगेका नेपाल र थाइल्यान्ड एसिया कप खेल्ने अवसर पाएका हुन्।

यो प्रतियोगिता अगामी साउन ४ देखि १३ सम्म हुँदैछ ।