काठमाडौं । एक समय नेपालमा बास्केटबल लोकप्रिय खेलमध्ये एक थियो । त्यहीं लोकप्रियताले प्रतीक्षा मगरलाई बास्केटबलतिर आकर्षित गरायो ।
रहरै रहरमा लागेको खेलले उनलाई सानै उमेरमा ठूलो व्यक्तिगत सफलता दिलाएको छ । २० वर्षकी प्रतीक्षा राष्ट्रिय टोलीमा परेको पनि धेरै भइसक्यो । अहिले त उनी नेपाली राष्ट्रिय टोलीकी महत्त्वपूर्ण सदस्य हुन् । तथापि अहिले आएर उनलाई यो खेलप्रति सामान्य वितृष्णा पलाउन थालेको छ । केही वर्षअघि जस्तो पूर्ण सन्तुष्टि छैन ।
नेपाली बास्केटबलकी उदीयमान स्टार प्रतीक्षालाई किन यस्तो लाग्यो त ?
जवाफ धेरै जटिल छैन, ‘नेपाली बास्केटबलले खेलाडीलाई दीर्घकालीन तरिकाले आकर्षित गर्न सकेको छैन । म आफैंले खेल्न थालेको धेरै भइसक्यो, तर खेलेकै कारण केही नपाउँदा मिहिनेत र लगानी खेर गएजस्तो लाग्छ । यही अवस्था कायम रहने हो भने खेल्नुको अर्थ रहन्न ।’
समग्रमा बास्केटबलको प्रतियोगिता कम हुने गर्दा खेलाडी प्रभावित छन् । त्यसमाथि पुरुषको तुलनामा महिलाका लागि झनै कम प्रतियोगिता हुँदा आफूहरू झनै पीडित बनेको उनको गुनासो छ ।
पछिल्लो समय कोभिड-१९ को महामारीले लामो समय सबै खेल सुस्ताउँदा बास्केटबल पनि अछुतो रहन सकेन । यसबाट पनि प्रतीक्षाको २० वर्षे कलिलो मस्तिष्कमा वितृष्णा पलाएको हुनसक्छ । तथापि विश्व महामारीबाट मुक्त हुन खोज्दा खेलकुद पुनःस्थापित हुने प्रयासमा छ ।
नेपाली बास्केटबल पनि पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको अस्वस्थताका कारण पछिल्लो चार वर्ष अन्योलको भूमरीमा थियो । शेर्पाको निधनपछि भीमसिंह गुरुङको कार्यबाहक नेतृत्वमा नेपाली बास्केटबल पनि पुनःस्थापित हुने प्रयासमा छ । र त, प्रतीक्षा आगामी दिनमा बास्केटबलको अवस्थामा सुधार आउने आशावादी छिन् ।
‘अवस्थामा सुधार भए यही खेललाई निरन्तरता दिन्छु, नत्र विकल्प सोच्नुपर्छ,’ उनी भावुक हुन्छिन् ।
नेपालको हकमा पुरुषको तुलनामा महिला खेलाडीको संख्या कम हुनाले सम्भावना धेरै हुने उनलाई थाहा छ । आफूले मेहनत गर्यो भने स्थापित हुन र नाम कमाउन धेरै समय नलाग्ने उनले बुझेकी छन् ।
‘तर, महिलाका लागि हत्तपत्त कोर्ट उपलब्ध हुँदैन, क्लब पनि छैन । प्रायः सबै एउटै क्लबमा छन् । त्यसैले खेल्नका लागि गाह्रो नै छ । यही कारण राम्रा खेलाडीहरू पनि भविष्य नदेखेर विदेशिनु परेको अवस्था छ,’ उनी गुनासो पोख्छिन् ।
उदयपुर, कटारी स्थायी घर भएकी प्रतीक्षाले स्कुलेजीवनदेखि नै बास्केटबल खेल्न सुरु गरेकी थिइन् । त्यसबेला बास्केटबल सहरी क्षेत्रमा निकै लोकप्रिय थियो । उनी पढ्ने काठमाडौंको भ्याली पब्लिक स्कुलमा बास्केटबल धेरै खेलिन्थ्यो । त्यही कारण प्रतीक्षा बास्केटबलतर्फ आकर्षित भएकी हुन् ।
स्कुलस्तरीय प्रतियोगिता खेल्दै प्रतीक्षाले १५ वर्षको उमेरमा राष्ट्रिय यु-१६ बास्केटबल टोलीबाट जुनियरतर्फ ‘डेब्यु’ गरिन् । उनकै कप्तानीमा नेपाली टोलीले युवा एसियन खेलकुदमा सहभागिता जनाएको थियो । स्कुले जीवनमै अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको नेतृत्व गर्न पाउनु चानचुने उपलब्धि थिएन । त्यसले स्वाभाविक रूपमा उनलाई उत्साह र उर्जा दिने गर्थ्यो ।
तर सुरुआती दिनको त्यो उत्साह उमेर बढ्दै जाँदा कम हुँदै गएको उनको अनुभव छ । ‘सानो छँदाजस्तो परिवारको साथ पनि ठूलो भएपछि कम हुने रहेछ । घरबाट दबाब हुन्छ, पढाइको चिन्ता हुन्छ । त्यसमाथि खेलको क्रेज कम हुँदा र यसमै लागेर जीवन यापन गर्न सकिन्छ भन्ने विश्वास नहुँदा झनै गाह्रो हुँदोरहेछ,’ उनी थप्छिन् ।
तीन वर्षअघि नेपालमै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा प्रतीक्षासम्मिलित राष्ट्रिय टोलीले बास्केटबलमा रजत पदक जितेको थियो । त्यही प्रतियोगिताबाट उनले सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी थिइन् ।
उमेर समूहदेखि नै अब्बल खेलाडीका रूपमा आफूलाई प्रमाणित गर्दै आएकी प्रतीक्षाले राष्ट्रिय टोलीमा पनि पहिलो खेलमै छाप छोडिन । राष्ट्रिय टोलीमा स्मल फरवार्डको भूमिकामा देखिने प्रतीक्षा १३औं सागपछि घरेलु प्रतियोगिताका लागि रोयल बास्केटबल एकेडेमीतिर लागिन् ।
नेपाली बास्केटबलमा लामो समयपछि भएको ‘लामा टेण्डी शेर्पा स्मृति पुरुष तथा महिला बास्केटबल प्रतियोगिता’ मा प्रतीक्षाले रोयलबाटै खेलेकी थिइन् । उनकै उत्कृष्ट प्रदर्शनमा रोयल प्रतियोगिताको उपविजेता बन्यो ।
यो प्रतियोगितामा प्रतीक्षाले कुनै व्यक्तिगत पुरस्कार जित्न सकिनन् । तर, यसअघि मंसिरमा सम्पन्न ‘थ्री बाइ थ्री’ खुला महिला बास्केटबल प्रतियोगिता’ ‘मोस्ट भ्यालुएबल प्लेयर’ को उपाधि जितेकी थिइन् ।
प्रतीक्षाले बास्केटबलसँगै रग्बीको पनि अनुभव सँगालेकी छिन् । तीन वर्षअघि प्रतीक्षासम्मिलित बास्केटबल टोली कलेजबाट यु-१८ रग्बी प्रतियोगिता खेल्न भारत गएको थियो । आवश्यक प्रशिक्षणविना नै भारत पुगेको टोलीबाट नतिजा राम्रो नआए पनि प्रतीक्षाका लागि फरक अनुभव बटुल्न त्यो महत्त्वपूर्ण अवसर बन्यो ।
भारत भ्रमणबाट फर्केपछि प्रतीक्षाले बास्केटबलभन्दा पनि रग्बीको अवस्था दयनीय रहेको महसुस गरिन् ।
ग्लोबल कलेजमा ‘ट्राभल एन्ड टुरिजम’ विषयमा स्नातक तह पहिलो वर्ष अध्ययनरत प्रतीक्षालाई चटक्कै बास्केटबलसँग माया मार्न मन हैन । तर, बास्केटबलको अवस्था र स्थितिले गर्दा उनलाई छोड्ने सोच बनाउन बाध्य बनाएको छ । अचेल प्रतियोगिता आउँदा पहिलाजस्तो उत्साह मिल्दैन । तर, मनलाई थाम्न पनि सक्दिनन् ।
‘बललाई नछुँदासम्म खेल्ने मन हुँदैन । खेल्न कोर्टमा उत्रिएपछि आफैं प्रेरणा मिल्छ । आखिरमा आफ्नो मनपर्ने खेल हो,’ उनले सुनाइन् ।